शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसमा ३५ खुला केन्द्रीय सदस्य निर्वाचित, देउवा पक्षका ७१ प्रतिशत

आइतबार, ०४ पुस २०७८, २० : ५९
आइतबार, ०४ पुस २०७८

नेपाली काँग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएको छ । १४ औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका ९९ जना मध्ये ३५ जना काँग्रेस केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

काँग्रेस विधान अनुसार ३५ जना खुला केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । महाधिवेशनमा शेरबहादुर देउवा र शेखर कोइराला खुला केन्द्रीय सदस्यमा प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।​

देउवा पक्षका ७१ प्रतिशत

देउवा पक्षमा २५ र कोइराला पक्षका ९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । यसपटक देउवा पक्षले ७१ प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य जितेको छ । देउवा प्यानलका गोपालमान श्रेष्ठ, एनपी साउद, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक,  शंकर भण्डारी, सुनील थापा, उदय शमशेर राणा,  गोविन्द भट्टराई, नैनसिंह महर, रामहरि खतिवडा, जिपछिरिङ लामा, जितजंग बस्नेत र पद्मनारायण चौधरी निर्वाचित भएका छन् ।

यस्तै देउवा पक्षका मोहनबहादुर बस्नेत, सुरेन्द्रराज पाण्डे, कुन्दनराज काफ्ले, गुरु बराल, राजीव ढुंगाना, मोहन आर्चाय, उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, गोपाल दहित र मदन बहादुर अमात्य केन्द्रीय सदस्य बनेका छन् ।

यता कोइराला प्यानलका अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसी, दिलेन्द्र बडू, दिपक गिरी, गोविन्द पोखरेल, सञ्जय गौतम, दिनेश कोइराला र अजयबाबु सिवाकोटी गरी ९ जना खुला केन्द्रीय सदस्य बनेका छन् ।

तत्कालीन पौडेल समूहले १३ औं महाधिवेशन २५ जना मध्ये ११ जना केन्द्रीय सदस्य जितेको थियो । देउवा समूहबाट त्यतिबेला केन्द्रीय सदस्यमा चुनाव जितेका मध्ये १४ जना थिए । तर अहिले ३५ जना खुला केन्द्रीय सदस्य आउँदा पनि कोइराला समूह ९ जनामै सीमित भएको छ ।

शशांकलाई सर्वाधिक मत, एनपीले मारे १६ स्थानमाथि फड्को

१४ औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यतर्फ निवर्तमान महामन्त्री शशांक कोइरालाले सर्वाधिक मत प्राप्त गरेका छन् । देउवा–कोइराला दुवै पक्षको प्यानलमा समेटिएका उनी सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका हुन् । कोइरालाले ३८३६ मत पाएका हुन् । 

यस्तै नेता एनपी साउदले  दोस्रो नम्बरको मत पाएका छन् । १३ औँ महाधिवेशनमा २५ खुला केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा साउदले १८ नम्बरमा मत पाएका थिए । १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुन नपाएपछि केन्द्रीय सदस्य बनेका साउदले २९३७ मत पाए ।

सभापति शेरबहादुर देउवा समूहबाट उनी सबैभन्दा बढी मत ल्याउने नेता बनेका छन् । गृहमन्त्री बालकृष्ण खाँणले तेस्रो लोकप्रिय मत पाएका छन् । उनले २८७९ मत प्राप्त गरेका हुन् । १३ औँ महाधिवेशनमा उनी ८ नम्बरमा मत पाएका थिए । ​यस्तै १३ औँ महाधिवेशनमा झिनो मतले केन्द्रीय सदस्यमा पराजित भएका उदय शम्शेर राणा र रामहरि खतिवडाले सानदार मत ल्याएर केन्द्रीय सदस्यमा नयाँ प्रवेश पाएका छन् । राणाले चौथो र खतिवडाले पाँचौँ नम्बरको लोकप्रिय मत पाएका छन् । १३ औँ महाधिवेशनमा ९ नम्बरमा मत पाएका लेखक तीन स्थान अगाडि सर्दै यसपटक छैटोँ लोकप्रिय मत पाएका छन् ।


सातौँमा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की र आठौँमा हिन्दुवादी नेता शंकर भण्डारीले स्थान जमाए । १३ औँ महाधिवेशनमा कार्कीले २१ र भण्डारी १७ नम्बरमा खुला केन्द्रीय सदस्य बनेका थिए । यस्तै नौ नम्बरमा जिपछिरिङ लामा र १० औँमा अर्जुननरसिंह केसीले मत ल्याएका छन् ।

१३ औँमा केसी महामन्त्रीमा पराजित भएका थिए भने लामा केन्द्रीय सदस्यमा । यस्तै नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर र तरुण दलका अध्यक्ष जितजंग बस्नेतले पनि राम्रो संस्थानका साथ काँग्रेस समितिमा प्रवेश पाएका छन् । यस्तै राप्रपा परित्याग गरी काँग्रेसमा आएका काँग्रेसका निवर्तमान सहमहामन्त्री सुनिल थापाले पनि राम्रो मत पाएका छन् ।

लगातार दुई महाधिवेशनमा हार्ने चर्चित नेताहरू

काँग्रेसका केही चर्चित नेताहरू १४ औँ महाधिवेशनमा पनि पराजित भएका छन् । ट्रेड युनियन काँग्रेसका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेत, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का, पूर्वसांसद त्रैलोक्य प्रताप सेन पनि पराजित भएका हुन् । यस्तै नेविसंघको राजनीति गरेका पर्यटन व्यवसायी राजेन्द्र बजगाईं पनि पराजित भएका छन् । 

बेलायतको राजदूत भएका डा. सुरेन्द्रचन्द्र चालिसे र लोकेश ढकाल पनि पराजित भएका थिए । उनीहरू १३ औँ महाधिवेशनमा पनि पराजित भएका थिए । यस्तै १३ औँ महाधिवेशनमा पराजित भएका चर्चित नेताहरू पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वमन्त्री चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी र मनमोहन भट्टराई यसपटक उम्मेदवार समेत भएनन् । यद्यपि जोशीलाई काँग्रेसले कारबाही गरेकाले उनी १४ औँ महाधिवेशनको चुनावी प्रक्रियामा सामेल नै हुन पाएनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप