मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी कार्यालयमा ढुङ्गामुढा, प्रदर्शनकारीमाथि ३ सेल अश्रुग्यास प्रहार

सोमबार, ०५ पुस २०७८, १३ : ३०
सोमबार, ०५ पुस २०७८

प्रहरीले दोषीलाई बचाउन खोजेको भन्दै रौतहटको विजयपुरस्थित ईलाका प्रहरी कार्यालयमा प्रदर्शनकारीहरुले ढुङ्गामुढा प्रहार गरेका छन् ।

गएराति टिपरको ठक्करबाट एकजना स्थानीय कम्युनिस्ट नेताको मृत्यु भएपछि पीडित परिवार तथा जनप्रतिनिधिहरु प्रदर्शनमा उत्रिएका हुन् । फतुवा विजयपुर–११, हिमालीबासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक खेदु चौधरीको मृत्यु भएको थियो । उनी नेकपा एमालेका स्थानीय नेता हुन् ।

उनको मृत्युपछि पीडित परिवारको रोहवरमा सर्जमिन मुचुल्का गरी पोष्टमार्टमका लागि शव पठाउनु पर्नेमा त्यसो नगरी ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख तथा प्रहरी निरीक्षक विष्णु विश्वकर्माले मनपरी गरेको स्थानीयवासीको आरोप छ ।

प्रहरी निरीक्षक विश्वकर्माले टिपर धनी र चालकलाई जोगाउन हतार हतारमा घटनालगत्तै शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाएको पीडित परिवारको आरोप छ ।

प्रहरी निरीक्षक विश्वकर्माले आफू कसैको प्रभावमा नपरेको भन्दै आफूमाथि लगाइएका आरोपको खण्डन गरेका छन् ।

पीडित परिवारसँगै सयौंको संख्यामा गाउँलेहरुले सोमबार बिहानैदेखि विजयपुरमा प्रदर्शन गर्दै बिहान ११ प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार गरेका थिए । यस क्रममा २ जना प्रहरी घाइते भएको तथा प्रहरीले स्थिति नियन्त्रणमा लिन ३ राउन्ड अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरी निरीक्षक विश्वकर्माले बताए ।

प्रहरीको लाठी प्रहारबाट प्रदर्शनकारी मुक्ति पटेलको टाउको फुटेको छ । अहिले प्रदर्शनकारीहरु प्रहरी कार्यालय अगाडि बाटो अवरुद्ध गरेर धर्नामा बसेका छन् । धर्नाको अगुवाई फतुवा विजयपुरकी उपमेयर कान्तिदेवी महतोले गरिरहेकी छन् ।

रौतहट प्रहरी प्रमुख एवं एसपी विनोद घिमिरेले दुर्घटनामा संलग्न टिपर चालक पक्राउ परिसकेकाले नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाइने बताएका छन् ।

आइतबार राति साढे ८ बजे बा३०प ८११५ नम्बरको मोटरसाइकललाई गुगल निर्माण सेवाको ना८ख ४२०२ नम्बरको टिपरले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटना लगत्तै टिपर चालक फरार भएका थिए । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप