बौद्धदर्शनका तात्विक आधार र सञ्चार

person explore access_timeपुस ५, २०७८ chat_bubble_outline0

बौद्धदर्शनको शाश्वत आधार भनेको दुःख हो । यसका कारण नै कारक हुन्, दुःखको उन्मुक्तिका उपाय र आधारहरू तत्व मीमांसा हुन् । यसले ज्ञान मीमांसामा पञ्चस्कन्ध, द्वादसायतन र अष्टदस धातुलाई आधार मानेको छ । प्रज्ञा, शील र समाधिअन्तर्गत अष्टांगिक मार्ग मूल्यशास्त्रमा निहित छन् । यी नै निर्वाणका आधार हुन् । बौद्धदर्शनमा निहित तत्वहरूको लोकप्रियता र व्यापकताको निम्ति समसामयिक सञ्चारको महत्वपूर्ण भूमिका रह्यो, जुन आधुनिक कालमा पनि सञ्चारको भूमिका उत्तिकै छ र भविष्यमा पनि रहने छ ।


बौद्धदर्शन र सञ्चार अलग–अलग विषयवस्तुजस्तो लागे पनि यी विषयको अन्योन्याश्रित सम्बन्ध छ । सञ्चार मानवका लागि रक्तसञ्चार जस्तै हो । समाजमा असल विचार सञ्चारित हुँदा सभ्य समाज निर्माण हुन्छ । जहाँ सभ्य समाज हुन्छ, त्यहाँ शान्ति हुन्छ । आजको विश्वमा बौद्धदर्शन मानवकल्याण र शान्तिको पथप्रदर्शकका रूपमा स्थापित छ । यसलाई आमजनमानसमा प्रभावकारी सञ्चार गराउन सक्दा मानिसमा सकारात्मक सोच र चिन्तनको विकास भई विश्वशान्ति स्थापना हुन सक्ने देखिन्छ ।



बौद्धदर्शनको विकासमा सञ्चार



गौतम बुद्धले आफ्नो जीवनकालमै विश्वकल्याणकारी विचारलाई मानव समाजमा सम्प्रेषित गरी सकारात्मक प्रभाव दिन सफल भएका थिए । महापरिनिर्वाण पछि उनका जीवित शिष्य एवम् अनुयायीहरूले उनका विचारलाई मानव समाजमा पुर्याउने कोशिस गरे । फलस्वरूप बुद्धका विचारको प्रभाव समाजमा बढ्दै गयो । बौद्ध धर्म दर्शनको विकास एवम् विस्तार तीब्रगतिमा अगाडि बढिरहेको अवस्थामा सन् ११९३ मा अली वख्तियार मोहम्मद खिलजीको नेतृत्वमा मुस्लिमहरूबाट बौद्धमार्गीहरूमाथि निकै ठूलो आक्रमण भयो । त्यसपछि ६ सय वर्ष भन्दा बढी नेपाल–भारतमा बौद्ध धर्म दर्शनको अवस्था विलुप्तजस्तै रह्यो ।

सन् १८०० यता मात्र नेपाल–भारतमा बौद्ध धर्म दर्शनको सञ्चारमा तीब्रता आएको पाइन्छ । बुद्धले ज्ञान प्राप्त गरेपछि ४५ वर्षसम्म विश्वकल्याणकारी उपदेश जीवनपर्यन्त दिइरहे । बुद्धका विचारलाई संरक्षित गर्ने क्रममा विभिन्न संगायनहरू गरिए । गौतम बुद्ध महापरिनिर्वाण भएको पहिलो वर्षमै सम्पन्न प्रथम सङ्गायनदेखि छैठौँ संगायन (सन् १९५६) सम्म आइपुग्दा बौैद्ध धर्मदर्शनको विकास एवम् विश्वमा यसको प्रभाव विस्तार भएको पाइन्छ । यसको विकास र विस्तारमा प्राचीनकालदेखि चलिआएका सञ्चारका विभिन्न तरिका एवम् साधन तथा आधुनिक सञ्चार माध्यमका रूपमा विकसित छापादेखि इलेक्ट्रोनिक मिडियाजस्ता नयाँ सूचना प्रविधिको प्रयोगले विश्वमा बौद्ध धर्म दर्शनको प्रचारप्रसारमा तीब्रता आएको पाइन्छ ।

बौद्धदर्शन मानवकल्याण र शान्तिका लागि अपरिहार्य तत्वको रूपमा रहेको छ । बौद्धदर्शनबाट प्रभावित भई अनुयायी बनेका बुद्धकालीन सम्राटहरू र बुद्धको महापरिनिर्वाण पछि सम्राट अशोक आदिका माध्यमबाट बौद्ध धर्मदर्शनको विकासमा योगदान पुगेको पाइन्छ ।

बौद्धदर्शन मानवकल्याण र शान्तिका लागि अपरिहार्य तत्वको रूपमा रहेको छ । बौद्धदर्शनबाट प्रभावित भई अनुयायी बनेका बुद्धकालीन सम्राटहरू र बुद्धको महापरिनिर्वाण पछि सम्राट अशोक आदिका माध्यमबाट बौद्ध धर्मदर्शनको विकासमा योगदान पुगेको पाइन्छ ।

गौतम बुद्धको जीवनकालसम्म आइपुग्दा दार्शनिक चेतनाको विकास विभिन्न ढङ्गले भएको पाइन्छ । उनको परिनिर्वाणपछि उनले प्रतिपादन गरेका चार आर्य सत्य र आर्य अष्टाङ्गिक मार्गले बौद्धदर्शनको महत्वपूर्ण आधार बनाएको पाइन्छ । चार आर्य सत्य मध्येको दुःख सत्यका बारेमा गौतम बुद्धले आफ्ना शिष्य भिक्षुहरूलाई भनेका छन्–‘दुःख प्रथम आर्य सत्य हो । जन्म दुःख हो । वृद्धावस्था र मरण पनि दुःख हो । शोक, वेदना, उदासीनता तथा अपायास–हैरान हुनु पनि दुःख हो । अप्रियसँगको साक्षात्कार, प्रियसँगको वियोग पनि दुःख  हो । साथै राग, द्वेषद्वारा उत्पन्न पञ्चस्कन्ध अर्थात् रूप, वेदना, संज्ञा, संस्कार र विज्ञान पनि दुःख नै हुन् । संसारका प्रत्येक घटनामा दुःखसत्ता अवस्थित छ ।’ त्यस्तै बुद्धले दोस्रो आर्यसत्यमा दुःखको कारण हुन्छ, तेस्रोमा त्यो दुःखको निराकरण हुन सक्छ र चौथोमा दुःख निराकरणका उपायहरू छन् र ती उपाय भनेका आर्य–अष्टाङ्गिक मार्ग–सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्मान्त, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि हुन् ।

उल्लिखित अष्टाङ्गिक मार्गलाई गौतम बुद्धले प्रज्ञा, शील र समाधि गरी तीन भागमा विभाजन गरेका छन् । प्रज्ञाअन्तर्गत सम्यक् दृष्टि र सम्यक् सङ्कल्प पर्दछन् । त्यस्तै शीलअन्तर्गत सम्यक् वचन, सम्यक् कर्मान्त र सम्यक् आजीविका पर्दछन् । त्यस्तै, समाधिअन्तर्गत–सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि पर्दछन् । बौद्ध धर्मदर्शनमा आचार–मीमांसाको चरम साधना नै अष्टांगिक मार्गको अनुसरणलाई महत्वपूर्ण आधारका रूपमा लिएको पाइन्छ ।

गौतम बुद्धको विचारमा कसैप्रति निषेध गरेर होइन, उसका सकारात्मक कुरालाई स्वीकार्दै नकारात्मक कुरालाई हटाउँदै असल कर्मलाई पछ्याउँदै मध्यम मार्गबाट अगाडि बढ्दा सफलता प्राप्त गर्न सकिन्छ भन्ने दृष्टिकोण रहेको पाइन्छ । निर्वाणपछि उनीद्वारा प्रतिपादित धर्मदर्शनलाई व्याख्या गर्ने क्रममा उनका विचारले मानव जातिका लागि मात्र नभई सम्पूर्ण प्राणीप्रति करुणाभावमा जोड दिएको पाइन्छ । उनले तर्क, बुद्धि, विवेक, न्याय र प्रज्ञामा आधारित ज्ञान÷उपदेश दिएको पाइन्छ । मानिसका लागि स्वतन्त्रता, सामाजिक न्याय र समानतामा जोड दिएको पाइन्छ । नयाँ परिभाषाको रूपमा वैभाषिक, सौत्रान्तिक र माध्यमिक मतलगायत अनेकौं मतहरूको पनि विकास भएको पाइन्छ । त्यस्तै हीनयान, महायान, वज्रयानजस्ता सम्प्रदायको पनि विकास भएको पाइन्छ । समाधि, सम्यक् संस्कार, त्रिशरण संस्कार, पञ्चशील संस्कार, परित्राण संस्कार, प्रज्ञापारमिता संस्कार र योगाचारजस्ता कुराबाट मानिसलाई सत्कर्ममा हिँडाउन खोजिएको पाइन्छ ।

गौतम बुद्धका विचारले विश्वमै महत्वपूर्ण धर्म–दर्शनको आकार र आधार प्राप्त गरेको छ । बुद्धका शान्ति र समभावका विश्वव्यापी दृष्टिकोण समयको विकासक्रमसँगै प्रयोगमा आएका छन् । यसको प्रचारप्रसारमा विभिन्न सञ्चारको उपयोग गर्दै अशोकपुत्र महेन्द्र र पुत्री संघमित्रा सिंहली दीप, कुमारजीव र परमार्थ (चीन), शान्तरक्षित र कलमशील तिब्बत पुगेका घटना यस क्रममा विशेष स्मरणीय छन् । यी त केवल दृष्टान्त मात्र हुन् । यो अभियान अनवरत चलिरह्यो । सञ्चारका विभिन्न माध्यम र सञ्चारकर्मीहरूबाट हँुदै आएको सञ्चार क्रियाले बौद्धदर्शनको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।

हिंसा र द्वन्द्वग्रस्त आधुनिक विश्वमा आणविक हातहतियारको प्रयोग गरी खोजिने शान्ति असफल भइरहेको अवस्था छ । यस अवस्थामा बौद्ध–दर्शनको औचित्य र उपयोगिता झनै बढ्दै गएको छ ।

बुद्धले प्रतिपादन गरेका चार आर्य सत्य र अष्टाङ्ग मार्गलाई बौद्ध दर्शनमा आचार–मीमांसाको रुपमा मानिन्छ । तत्कालीन समाजमा बुद्धका विचारको प्रभाव बढ्दै जानुमा उनका विचार मानव कल्याणमा आधारित हुनु हो । सञ्चारमा बुद्धका अवधारणाहरूको मौलिक स्थान रहेको छ । जीवनपर्यन्त विश्वकल्याण र शान्तिको सन्देशबाहक बनेका गौतम बुद्ध शान्ति सञ्चारको अग्रनायकका रूपमा रहेका छन् । मानव समाजको विकास क्रममा आएको महत्वपूर्ण र वैज्ञानिक दर्शनका रूपमा बौद्ध धर्म दर्शनलाई लिइन्छ ।

विश्वशान्तिका लागि सञ्चार

गौतम बुद्धको महापरिनिर्वाणपछि इसापूर्व २४९ तिर भारतका सम्राट् अशोकले विशेष गरी दक्षिणपूर्व एसियाका मुलुकहरूमा मध्यपूर्व एसिया र दक्षिण युरोपसम्म धर्मदूतहरू पठाई बौद्ध धर्मदर्शनको प्रचार गरेको पाइन्छ । सम्राट् अशोकले आफ्नै छोरा महेन्द्र र छोरी सङ्घमित्रलाई भिक्षु र भिक्षुणी बनाई धर्मप्रचारार्थ श्रीलङ्कामा पठाएपछि त्यस क्षेत्रमा बौैद्ध धर्मदर्शनको प्रभाव विस्तार भएको पाइन्छ । त्यसपछि विश्वका बौद्ध भिक्षु, भिक्षुणी, उपासक, उपासिका, बौद्ध विद्वान, बौद्ध सङ्घ—संस्था एवम् अनुयायी र सञ्चारका विभिन्न माध्यमले खेलेको भूमिकाले बौद्ध धर्म—दर्शनको प्रभाव बढेको पाइन्छ ।

दक्षिणपूर्वी एसियाका बर्मा अर्थात् म्यानमार, थाइल्याण्ड, श्रीलङ्का, लाओस्, कम्बोडिया, भियतनाम आदिमा बौद्ध धर्म–दर्शनको प्रभाव विस्तार भएपछि क्रमशः यसले विश्वव्यापी प्रभाव दिन सकेको पाइन्छ । त्यस्तै जापान, चीन, मंगोलिया, रुस, ताइवान, भुटान, सिक्किम आदि मुलुकमा पनि बौद्ध धर्मदर्शनको प्रभाव देखिन्छ । नेपाललगायतका विश्वका विभिन्न स्थानमा हीनयान (थेरवाद), महायान र बज्रयान सम्प्रदायको प्रभाव भने फरक–फरक  पाइन्छ ।

विश्व–राजनीतिमा विभिन्न दर्शन र सिद्धान्तको प्रभाव देखिन्छ । राजनीतिक प्रणालीका आधारमा सञ्चार क्षेत्र पनि प्रभावित र निर्देशित भएको पाइन्छ । त्यसको आधारमा सञ्चारका विभिन्न सिद्धान्त बनेको पाइन्छ । गौतम बुद्धका विचारले विश्वराजनीति, द्वन्द्व व्यवस्थापन र शान्तिका लागि प्रभाव पारेको देखिन्छ ।  विश्वका विभिन्न मुलुकमा बौद्ध धर्मदर्शनलाई आधार मानेर राज्य सञ्चालनको लागि मार्गदर्शनको रुपमा समेत लिएको पाइन्छ । विश्वशान्तिको सवाल आउने वित्तिकै बुद्धका विचारको महत्वबारे स्वभाविक चर्चा हुने गर्दछ ।

संयुक्त राष्ट्र संघले समेत बुद्धका विचारलाई मार्गदर्शनका रुपमा स्वीकारेको पाइन्छ । विश्व–शान्तिका बारेमा विभिन्न सिद्धान्तको चर्चा, व्याख्या र विवेचना भएको त पाइन्छ । तर  बौद्ध दर्शनको आलोकमा शान्तिका लागि सञ्चारले खेल्दै आएको भूमिकाबारे उच्च महत्वका साथ आवश्यक चर्चा र विवेचना नभएको ठहर गरी लुम्बिनी बौद्ध विश्वविद्यालयले विद्यावारिधिका शोधार्थीमार्फत अनुसन्धान गराई  ‘सञ्चारमा शान्ति सिद्धान्त’ को  प्रतिपादन र औचित्य पुष्टी गराएको छ ।  यस सिद्धान्तले विश्वका सत्ता सञ्चालकहरुबाट सञ्चार नीति बनाउँदा र सञ्चार माध्यममा विषयवस्तु प्रस्तुत गर्दा  समाजमा शान्तिका लागि योगदान पुग्न सक्ने सूचना, समाचार र विचारलाई उच्च महत्वका साथ सञ्चारित गर्नु बाञ्छनीय ठान्दछ । 

बुद्धकालमा मूलतः मौखिक सञ्चार नै सूचना, समाचार र विचार सम्प्रेषणको प्रमुख आधार थियो । यसका अतिरिक्त स्वर्णपत्र, ताम्रपत्र, शिलालेख आदि माध्यमको प्रयोग पनि भएको पाइन्छ । सञ्चारको विकास क्रममा छापा माध्यम, पत्र–पत्रिका, रेडियो, टेलिभिजन, इमेल–इन्टरनेट र अनलाइन जस्ता आधुनिक एवम् व्यावसायिक सञ्चारमाध्यमहरूको विकास भइसकेपछि बौद्धदर्शन विश्वव्यापी हुँदै गएको पाइन्छ । गौतम बुद्धको जन्मकालमा आधुनिक सञ्चारमाध्यमहरूको विकास नभए पनि सूचना सम्प्रेषण गर्ने विभिन्न तरिका थिए । पहिलो उनले अन्तर्मुखी सञ्चार, दोस्रो अन्तर्वैयत्तिक सञ्चार तथा तेस्रोमा समूह सञ्चार पद्धतिको उपयोग गरे । असीमित समुदायमा सञ्चारित गरिने विषय आमसञ्चारको परिभाषाभित्र पर्ने हुँदा बुद्धकालमा भएका धर्मसभाहरूलाई प्राचीन आमसञ्चारको रूपमा लिन सकिन्छ । हिंसा र द्वन्द्वग्रस्त आधुनिक विश्वमा आणविक हातहतियारको प्रयोग गरी खोजिने शान्ति असफल भइरहेको अवस्था छ । यस अवस्थामा बौद्ध–दर्शनको औचित्य र उपयोगिता झनै बढ्दै गएको छ ।

निष्कर्ष

हिंसा र हातहतियारको प्रयोगले मानवसमाजमा शान्ति स्थापना हुन सक्दैन भन्ने कुरा पुष्टी भइसकेको छ । त्यसका लागि मानिसले आफैभित्र शान्तिको खोजी गर्नुपर्छ । त्यो वैज्ञानिक शान्ति मार्ग बौद्ध–दर्शनमा छ । यस आधारमा आधुनिक सञ्चारका माध्यमले आममानिसलाई सरल र प्रभावकारी ढंगले वैज्ञानिक विधि र शैलीद्वारा बौद्धदर्शनबारे जानकारी गराई सकारात्मक प्रभाव दिन सक्दा विश्वमा शान्ति स्थापना हुने विश्वास गरिएको छ । 

बुद्धले मानव समाजमा समानता, स्वतन्त्रता, न्याय र विश्वबन्धुत्वका लागि महत्वपूर्ण विचार दिएका छन् । सामान्य रूपमा मारकाटको विषय ‘हिंसा’ को एउटा रूप मात्र हो, व्यापक अर्थमा बुझ्दा ‘कायिक, वाचिक र मानसिक’ रूपमा पनि हिंसा गर्नुहुँदैन । ‘घृणा’ नै हिंसाको वीज हो, अर्काको हक खोस्नु र धोका दिनु पनि एक किसिमको हिंसा नै हो । ‘शान्तिपूर्ण सहअस्तित्व’ पनि बुद्धका विचारको महत्वपूर्ण स्थान रहेको छ । संसारका सबै समस्याको शान्तिपूर्ण समाधान संभव छ र एकले अर्काको अस्तित्वलाई स्वीकार गर्नु नै सहअस्तित्व हो भन्ने बुद्धदर्शनको आधार हो । अस्तित्वको अस्वीकृति नै झगडाको जड वा मूल हो भनेका हुँदा बुद्धका ती विचारबाट आणविक हातहतियारको प्रयोगबाट विश्वमा शान्ति खोज्नेहरूलाई मैत्री, करुणा, मुदिता र उपेक्षाजस्ता चतुब्रह्मविचारको महत्व बताउँदै शान्ति–मार्गमा अघि बढ्न प्रेरित गरिएको छ । उनले समानतावादी सोच र असल विचारबाट शान्ति प्राप्त हुन सक्छ भन्ने सन्देशको सञ्चार गरेका छन् ।

विश्व–शान्तिका लागि बौद्ध–दर्शन र सञ्चार परिपूरकको रूपमा रहेका छन् । यसलाई सँगै जोडेर समान रूपमा अगाडि बढाउन आवश्यक देखिन्छ । बुद्धका विचारको प्रभावकारी सञ्चार हुँदा समाजमा शान्ति स्थापना हुने देखिन्छ । गौतम बुद्धले शान्तिको खोजी मनभित्रैबाट गरेका र मनभित्रका विकार र नकारात्मक सोच हटाई सकारात्मक चिन्तनको विकास हुँदै गएमा सुख र शान्ति प्राप्त हुने वैज्ञानिक मार्ग बताएकाले यस दिशामा विश्व मानव जातिलाई अग्रसर हुन प्रेरित गर्नु आवश्यक देखिन्छ ।  विश्वमा देखा परेको मानव–मानव बीचको वैमनस्यताको न्यूनीकरण र नैतिक जीवनका लागि प्रेरित गर्ने गरी छापादेखि सूचना–प्रविधिको विकाससँगै आएका अनलाइनलगायत न्यू मिडियाले गौतम बुद्धका विचारलाई आमजनताका बीचमा सरल र सहज ढङ्गले बुझ्ने गरी प्रचार–प्रसार गर्नु आवश्यक देखिन्छ ।

डा. चापागाईले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट ‘बौद्धदर्शन र सञ्चार’ विषयमा विद्यावारिधि गरेका छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।