बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडाको ठिटो यसरी स्थापित बने गीत–संगीतमा

बुधबार, ०७ पुस २०७८, ११ : ११
बुधबार, ०७ पुस २०७८

विवाह होस् वा कुनै उत्सव तथा मेला–पर्व, ‘काले दाइ, काले दाइ’, ‘पहिलो नम्बरमा’ जस्ता गीत बज्ने गर्दछन् । ती गीत नबज्ने उत्सव बिरलै भेटिन्छ । एउटा गीत चर्चित हुन त्यसका हरेक पक्ष उत्कृष्ट हुनुपर्छ । गीत उत्कृष्ट हुनुमा त्यसको संगीत, गायन, लिरिक्स तथा अरेन्ज पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।

मिठा शब्द, सुमधुर संगीत अनि लयबद्ध पंक्ति, त्यसमाथि गायक/गायिकाको दमदार आवाज उत्कृष्ट गीतको बलियो पक्ष हो । गीतका सबै पक्षलाई उत्तिकै महत्व दिएमात्र उत्कृष्ट गीत निर्माण हुन्छ ।

‘काले दाइ, काले दाइ’, ‘पहिलो नम्बरमा’ जस्ता उत्कृष्ट गीत निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका एक पात्र हुन् अरेन्जर उदयराज पौडेल । सरल र लजालु स्वभावका पौडेलको जन्म २०४० को दशकमा तत्कालीन हेटौँडा नगरपालिका–३ (हाल हेटौँडा उपमहानगरपालिका वडा नम्बर–२) हरामी टोलमा बुबा भास्करराज पौडेल र आमा मिरा शर्मा पौडेलको कोखबाट भएको हो ।

हेटौँडामै आफ्नो बाल्यकाल बिताएका पौडेलको पारिवारिक पृष्ठभूमि भने सांगीतिक क्षेत्रसँग सम्बन्धित छैन । यद्यपि उनको परिवारमा भने गीत–संगीतका पारखी नभएका होइनन् । त्यसैले पनि आफ्नो रुचि संगीत क्षेत्रतर्फ बढेको उनी बताउँछन् ।

चित्र कोर्ने कलासँगै गितार मोह

स्कुले जीवनमा रहँदा उनी चित्रकलातर्फ रुचि राख्थे । सानोमा उनी विभिन्न चित्र कोर्ने गर्थे । सानैदेखि एउटा कलाकारमा हुनुपर्ने गुण आफूमा रहेको उनी स्मरण गर्छन् । त्यही गुणका कारण आफूलाई संगीतमा लाग्न प्रेरित गरेको उनको भनाइ छ ।

पहिला रेडियो तथा क्यासेटमा गीत बज्ने बित्तिकै उनी त्यसलाई गुनगुनाउँथे । जुन गीत बज्छ, त्यसलाई हुबहु कपी गर्न खोज्ने उनको बानी थियो ।

संगीत क्षेत्रमा गितारको धुन असाध्यै मन पराउँछन् उनी । उनी गितारको पारखी नै हुन् । उनी भन्छन्, ‘स्कुल पढ्दै गर्दा एक जना साथीले गितार ल्याएको थियो । त्यही गितारको धुनमा म मन्त्रमुग्ध हुने गर्थेँ ।’

गितारको धुनले आफूलाई संगीत क्षेत्रतर्फ तानेको उनी महसुस गर्छन् । त्यसपछि उनले गितार बजाउने कला सिक्दै गए । गितारमा हात हालेपछि उनी विस्तारै गीत लेखन, गायन र कम्पोज गर्न केन्द्रित भए । त्यतिबेला उनी कक्षा ९/१० मा पढ्थे । त्यसै समयमा उनले केही गीत पनि निर्माण गरे ।

स्कुले जीवनमा संगीतको ज्ञान खासै नलिएका उनी हेटौँडामै करिब ३ महिना संगीत कक्षामा सहभागी भए । त्यही समयमा गितारको प्रशिक्षण लिएका उनले काठमाडौं गएर ४ महिना संगीत कक्षा लिए ।

संगीत सिक्ने क्रममा कोरियन कलेजमा पनि खासै उपलब्धी नहुने देखेपछि उनी व्यक्तिहरूसँग संगीत सिक्नतर्फ लागे । उनले केही समय सिक्ने र छोड्ने गर्दै संगीतको थोरबहुत ज्ञान आर्जन गरे । गीत–संगीत सुन्दै, त्यसलाई पछ्याउँदै उनले संगीत क्षेत्रको यात्रामा पाइला अघि बढाएका थिए ।

स्कुलमै रहँदा ब्याण्ड तथा गायन प्रतियोगितामा सहभागी हुँदै गएपछि संगीतमा लाग्ने रहर बढ्दै गएको उनको भनाइ छ । पछि आएर उनी संगीतलाई नै आफ्नो कार्यक्षेत्र बनाउने सोचमा पुगे । प्रवेशिका परीक्षा दिएपछि उनी एल्बम निकाल्नका लागि काठमाडौं आए ।

काठमाडौं आएपछि नेपाली संगीत क्षेत्रका हरेक विधामा उनले काम गरे । नेपाली संगीतका कुनै पनि विधा उनका लागि नौलो छैन । नेपाली संगीत क्षेत्रमा चल्ने प्रायः सबै प्रकारका गीत–संगीतमा उनले आवाज तथा संगीत भर्ने तथा एरेन्ज गर्ने काम गरेका छन् । लोक, आधुनिक र पप संगीतमा उनले आफ्नो कला प्रस्तुत गरेका छन् । चलचित्र क्षेत्रका गीतहरूमा पनि उनले आवाजसँगै संगीत संयोजन गरेका छन् ।

उनले डिजराज पौडेलको ‘सुनैको दरवारमा’, शिव परियारको ‘दिल चोरेर फरार भो’, ‘धेरै अगाडिको कुरा’, महेश काफ्लेको ‘माया बिरानी’ मेलिना राई र सरोज वलीको ‘माछी ले खाने खोलीको लेउ’ जस्ता गीतमा आफ्नो कला प्रस्तुत गरेका छन् । अन्ततः पछिल्लो समय उनी नेपाली सांगीतिक जगतमा स्थापित हुन सफल भएका छन् ।

‘सुनैको दरवारमा’ उनको पहिलो हिट गीत हो । त्यसो त उनी आफैले गाएको पहिलो गीत भने ‘जन्मे यहीँ मलाई यही माटोले हुर्कायो’ बोलको गीत हो । यही गीतबाट ब्याण्ड प्रतिस्पर्धामा भाग लिएका उनले ‘बेष्ट भोकलिष्ट अफ दि ब्याण्ड’को उपाधि हासिल गरे ।

उनले हेटौँडामा रहेर मकवानपुरगढीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘मकवानपुरगढी’ बोलको गीत बजारमा ल्याएका छन् भने ‘नखोज एक मान्छे’ बोलको उनको गीत हेटौँडामा हुने जुनसुकै सभा समारोह, मेला तथा मनोरञ्जनात्मक कार्यक्रममा घन्कने गर्दछ ।

चलचित्र क्षेत्रको गीत–संगीतहरूमा ‘काले दाइ काले दाइ’, ‘कसम हो कसम’, ‘लै लै लै लै’, ‘वनकी चरी’, ‘जिन्दगीनै भन्दिन’ जस्ता चर्चित गीतमा उनले अरेन्जरको भूमिका निर्वाह गरेका छन् ।

नेपाली गजलमा पनि उनले संगीत तथा अरेन्ज गर्न भ्याएका छन् । पूर्वदेखि पश्चिमसम्मका लोकगीत तथा काठे भाकामा उनको संगीतले स्थान पाएको छ भने ती गीत उत्कृष्ट पनि भएका छन् ।

यस्ता थिए संघर्षका दिन

गीत गाउन होस् वा संगीत भर्न वा अरेन्ज नै किन नहोस्, उनी हरेक समय आनन्दित मुद्रामा हुन्छन् । हरेक दिन १५/१६ घण्टा संगीत निर्माण तथा गायनमा सक्रिय रुपमा लाग्ने गरेका उनले यस क्रममा न रात अनुभव गरे, न दिन । संगीतको काम गर्ने शिलशिलामा उनले दिन र रात एकै ठान्ने गर्छन् ।

संगित क्षेत्रमा काम सुरु गरिसकेपछि धेरै स्टुडियोमा गितार बजाउने, प्राविधिकको रुपमा रेकर्डिङ गर्ने, मिक्सिङ गर्नेसम्मको अनुभव छ उनमा । सामान्य तहको सहयोगी बनेर काम गर्दा पनि ती दिनमा खासै असहजता भने भोग्नु परेन उनले ।

सुरुवाती दिनमा बिहान घरबाट निस्केपछि काम सकेर अबेरमात्र घर फर्किने गरेका थिए । दिनभर स्टुडियोमै रहेर रमाइलोसँग संगीतको काम गर्ने बानीले नै सफलता हासिल भएको उनी स्मरण गर्छन् । आफूले मनपराएको, रोजेको र जानेको क्षेत्रमा काम गर्दा अहिले पनि खुसी अनुभूति गर्छन् उनी ।

संगीत क्षेत्रको सबैको ज्ञान बटुलेका हाल उनी अन्य काम छोडेर अरेन्जमा मात्र केन्द्रित भए । संघर्षका दिनमा सहयोग गर्ने परिवारका हरेक सदस्य उनको सहयोगी पात्र बनेका छन् । घरको सहयोग बिना यो स्थान हासिल गर्न निकै कठिन हुने उनी बताउँछन् ।

सुरुवाती दिनमा काठमाडौं बाहिरको व्यक्तिलाई गीत र संगीतमा स्थापित हुन निकै कठिन थियो । २०५८ सालतिरको कुरा हो, जति बेला एउटा गीत निकाल्न ४०/५० हजार रुपैयाँ खर्च लाग्ने गर्थ्यो । त्यतिबेला ४०/५० हजार रुपैयाँ जम्मा गर्नु निकै चुनौतीपूर्ण कुरा थियो ।

उनी स्मरण गर्छन्, ‘त्यतिबेला ममीको साथ पाएरै आज यहाँ छु ।’ त्यो समयमा उनलाई गीत निकाल्न ममीले पैसा दिएर पठाएकी थिइन् । परिवारको यस्तै साथ र सहयोगका कारण आज यो स्थान हासिल गर्न सकेको उनको भनाइ छ ।

उनी प्रेरणाको स्रोतको रुपमा आफ्नै परिवारलाई लिन्छन् । दिदीहरू र साथीभाइको सहयोग पनि त्यत्तिकै पाएको भन्दै उनी खुसी व्यक्त गर्छन् ।

उनी गायन, संगीत भर्ने, गीतार बजाउने, रेकर्डिङ, पार्स्व गायन, अरेन्ज गर्नेजस्ता गीत–संगीत क्षेत्रका सबै कुरामा पोख्त छन् । नयाँ होस् वा पूराना, पूर्वका हो्स् वा पश्चिमका, आधुनिक होस् वा रक जुनसुकै विधाका संगीतमा झुम्दै उनी आफ्नो कर्म गरिरहेका छन् । उनी भन्छन्, ‘मेरो लागि संगीत ध्यान हो । त्यसैले न रात, न बिहान । हरेक समय यसैको सेवामा तल्लीन छु ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप