बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सम्भव होला अन्तरीक्षमा बस्तीविकास ?

मङ्गललाई थप मङ्गल बनाउने प्रयास
बिहीबार, ०८ पुस २०७८, १० : ४२
बिहीबार, ०८ पुस २०७८

मङ्गल ग्रहको नाम हामी सबैले सुनेका छौँ । पृथिवीको नजिक रहेर सूर्यलाई परिक्रमा गर्ने ग्रहहरूमा मङ्गल पनि पर्छ । यिनीहरूको आपसी दूरी भने परिवर्तन भइरहन्छ । नजिक हुन पुगेको अवस्थामा पृथिवी र मङ्गलबीचको दूरी पाँच करोड ६० लाख किलोमिटर हुन्छ । टाडा हुन पुगेको अवस्थामा दूरी बढेर ४० करोड २३ लाख किलोमिटरसम्म हुन पुग्छ । नजिक रहेको अवस्थामा यात्रा गर्ने हो भने पनि पृथिवीबासीलाई त्यहाँसम्म पुग्न २६० दिन लाग्ने अनुमान छ । मङ्गलको सतहमा औषत तापक्रम माइनस ६३ डिग्री सेल्सियस पाइएको छ । गुरुत्वाकर्षण चाहिँ पृथिवीको ३८ प्रतिशत रहेको अनुमान गरिएको छ तर पृथिवीभन्दा आधा सानो यस ग्रहको दिनमान भने पृथिवीको जस्तै साँढे २४ घन्टा रहेको हुन्छ । 
सौर्यआँधी लगायत अनेक कारणले मङ्गल ग्रह मानव बस्तीलायक छ भनिहाल्न सकिने अवस्था छैन । तथापि केही सकारात्मक पक्ष भने फेला परेका छन् । यसैका आधारमा अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले सन् २०३० को आसपासमा त्यहाँ अन्तरिक्षयात्री पठाउने योजना बनाएको छ । उता मङ्गलको कक्षमा भूउपग्रह स्थापना गर्न सफलता पाएको संयुक्त अरब इमिरेट्सले भने आगामी सय वर्षभित्र मानववस्ती विकास गर्ने योजना बनाएको छ । यस कार्यमा चीन पनि जोडतोडले लागिपर्दै आएको छ । हाल चीनले यसबारे जुन दीर्घकालीन योजना अघि सारेको छ त्यस अनुसार काम हुन सकेमा सन् २०५० सम्ममा १० लाख मानिस त्यहाँ पुगिसकेका हुनेछन् । 

कस्ता हुन्छन् अन्तरिक्षमा जन्मेका मानिस ? 
हाल अन्तरिक्षमा मानवबस्ती विकासका लागि जोडतोडले काम भइरहेको छ । यस सम्बन्धी मानवीय प्रयास सफल होलानहोला आफ्नै स्थानमा छ । सफल भए पनि प्रजननका लागि भने त्यति सहज मानिएको छैन । वैज्ञानिकहरूका अनुसार प्रजननमा खासै समस्या नभए पनि भारहिनताका कारण पृथिवीमा जस्तो त्यहाँ जन्मेका मानिस स्वस्थ र सामान्य चाहिँ हुने छैनन् । गुरुत्वाकर्षणको प्रभाव नपर्ने भएकाले त्यहाँ जन्मने बच्चालाई शारीरिक विकास हुन गाह्रो पर्नेछ, जसले गर्दा त्यहाँ जन्मने बालकमा खुट्टा सानो हुने, दृष्टि कमजोर हुने, आँखा सुन्निने र मांसपेशी कमजोर हुने जस्ता समस्या देखिने छन् । दृष्टि सन्तुलनमा राख्न मुख्य योगदान गर्ने कर्ण प्रणालीले राम्रोसँग काम गर्न नसक्ने हुँदा भ्रान्तिको शिकार हुनुपर्ने सम्भावना अधिक देखिन्छ । सोभियतसङ्घले सन् १९८३ मा अन्तरिक्षमा पठाएको गर्भिणी मुसाबाट जन्मेको बच्चाको आधारमा वैज्ञानिकहरूले यस्तो निस्कर्ष निकाले हुन् । 

पृथ्वीले घुम्न छाडेमा के होला ?
कदाचित् पृथिवीले घुम्न छाडेमा त्यसपछिको अवस्था कस्तो होला भन्नेबारे डर लाग्दो तथ्य बाहिर आएको छ । वैज्ञानिकहरूका अनुसार पृथिवीले घुम्न छाड्यो भने धु्रवबाहेक पृथिवीमा सबै कुरा त्यसैगरी घुम्नेछन्, जसरी हाल घुम्दै आएका छन् । यतिबेला भूमध्य रेखामा हुनेहरूको शरीर पूर्वतिर ४६५ मिटर प्रति सेकेन्डको दरले हुत्तिनेछन् । जीवन धु्रवविन्दुमा मात्र सम्भव हुनेछ त्यो पनि केही सेकेन्डका लागि मात्र । पृथिवीमा भयङ्कर सुनामी उत्पन्न भएर पानीको गति धु्रवतिर सोझिनेछ । पृथिवीको आधाभाग सूर्यको दिशामा फर्कने भएकाले त्यहाँको तापक्रम बढ्नेछ भने आधा भाग चिसोले जम्नेछ । परमाणु बमको सकवेब भन्दा पनि जोरले हावा चलेर पृथिवीमा आगोको लप्का फैलिनेछ । पृथिवीको केन्द्रमा रहेको तरल फलामले समेत काम गर्न छाड्नेछ र पृथिवीलाई सुरक्षा दिने चुम्बकीय कवच समाप्त भई सूर्यका हानिकारक किरण सोझै पृथिवीको सतहसम्म आइपुग्नेछ ।   
  पृथ्वीको टुप्पो
आजको युग विज्ञान र प्रविधिको युग हो । वैज्ञानिकहरूले बरोबर अनेक खाले प्राकृतिक रहश्य पत्ता लगाएर संसारलाई आश्चर्यचकित गराउँदै आएका छन् । यस्तैमा एक पृथिवीको टुप्पो पनि पर्छ । उनीहरूका अनुसार पृथिवीको टुप्पो अर्थात् पृथिवीको मानिस बस्नलायक स्थानबाट सबैभन्दा टाडा रहेको स्थानलाई प्वाइन्ट निमो भनिन्छ । यस स्थानबाट पृथिवीको बसोबासयोग्य स्थानभन्दा अन्तरिक्ष यात्री नजिक पर्ने गर्छन् । प्वाइन्ट निमोबाट बसोबासयोग्य क्षेत्र दुई हजार ६८७ किलोमिटर टाडा पर्छ भने अन्तरिक्षमा बसेर पृथिवीको परिक्रमा गरिरहेका अन्तरिक्ष यात्री प्वाइन्ट जम्माजम्मी ३१५ किलोमिटर टाडा पर्छ ।
स्रोतः युवामञ्च मासिक 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप