शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘सत्ता गठबन्धनको आयु लामो छैन’

संसदीय गतिरोधको निकास खोज्ने काम सत्ता पक्षको : विनोद कुमार शाह
बिहीबार, ०८ पुस २०७८, ११ : १४
बिहीबार, ०८ पुस २०७८

नेकपा एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहका सामु पार्टीको पुरानो जनाधारलाई जोगाउनुपर्ने चुनौती छ । कर्णाली प्रदेशमै विकसित घटनाक्रमका आधारमा टेक्दै विकसित घटनाक्रमका कारण नेकपा विघटन र नेकपा एमाले विभाजन भइसकेको अवस्थामा प्रदेशमा एमालेको साख जोगाउनेमात्र नभइ पार्टीको राजनीतिक हैसियतलाई कायम राख्दै विभाजनको घाउ मेट्नुपर्ने दायित्व पनि उनकै काँधमा छ ।

कर्णाली प्रदेशमा एमालेको भूमिका, पार्टी विभाजनबाट भएको क्षति र हालै प्रदेशमा पार्टीको नेतृत्व गर्ने जिम्मेवारी पाएको सम्बन्धमा केन्द्रित रहेर रातोपाटीले एमालेका प्रदेश कमिटी अध्यक्ष शाहसँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :

एमालेको हालै सम्पन्न महाधिवेशनले आम जनमानसमा के सन्देश दियो ?

नेकपा एमालेको १० औं महाधिवेशनमा लाखौं जनताको सहभागिताले जनताको आशा, भरोसा, विश्वास अन्य दलको तुलनामा एमालेप्रति धेरै नै छ भन्ने प्रस्ट भएको छ । सरकारबाट बाहिरिए पनि एमालेमा अन्य दलहरूबाट नेता कार्यकर्ताहरू प्रवेश हुने लहर व्यापक रुपमा देखिएको छ । एमालेले नेपाली जनताका निमित्त लिएको नीति तथा कार्यक्रम उपयुक्त छ भनेर नै यसरी व्यापक रुपमा पार्टीमा प्रवेश गर्नेहरूको लहर चलेको हो ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अघि सार्नुभएको ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारा सही हो भन्ने कुरालाई अहिलेको जनलहरले पुष्टि गर्दछ । पार्टी विभाजन भए पनि एमालेप्रति जनताको आकर्षण हिजोभन्दा आज बढेको देखिन्छ । महाधिवेशनमा देखिएको जनलहरले पनि यसलाई पुष्टि गरिसकेको छ र, आगामी निर्वाचनमा पनि हामी पहिलो शक्ति हुने कुरा निश्चित छ ।

पार्टी विभाजनको असरलाई पार्टीको महाधिवेशनले कत्तिको मेट्यो ?

सम्पन्न विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनमा देखिएको जनसहभागिताले तथाकथित फुटको कुनै असर छैन भन्ने कुरा पुष्टि गरेको छ । विधान महाधिवेशनमा ६ हजारभन्दा बढी नेता, कार्यकर्ताको सहभागिताले देशैभरी सिङ्गो पार्टी पंक्तिलाई उत्साहित तुल्यायो । अझ, महाधिवेशनमा लाखौंको सहभागिताले पार्टीमा फुटको कुनै असर छैन भन्ने कुरा पुष्टि भएको छ । यसको अर्थ एमालेमा फुटको कुनै असर छैन भन्ने नै हो ।

माधव कुमार नेपालसँग केही कार्यकर्ताहरू बाहेक जनताको समर्थन देखिँदैन । माओवादी केन्द्र त्यसै पनि जनताको बीचमा कमजोर छ ।

अहिले समग्र राजनीतिमा दुईवटा ध्रुव देखिएको छ । अन्य दलहरू एकातिर छन् भने एमाले अर्कोतिर छ । यो अवस्थामा आगामी निर्वाचनमा एमालेलाई कत्तिको चुनौती हुने देख्नुहुन्छ ?

पहिलो कुरा त सत्तामा रहेको गठबन्धनको आयु लामो देखिँदैन । विभिन्न ‘इन्ट्रेष्ट’ बोकेका राजनीतिक दलहरू क्षणिक स्वार्थको लागि एक ठाउँमा उभिएको अवस्था रहे पनि निर्वाचनमा सबै पार्टीले कार्यकर्ताको आकांक्षा अनुरुप व्यवस्था गर्न सक्ने सम्भावना छैन । अहिले पनि चर्चामा रहेको एमसीसीको विषयले गठबन्धनमा रहेका दलहरूबीच मतभेद भएको प्रष्ट देखिन्छ ।

एमालेप्रति देखिएको जनसमर्थनले यिनीहरूलाई (अन्य दलहरूलाई) झस्काएको छ र, नेपाली काँग्रेस बाहेकका अन्य दलको जनाधार पनि देखिँदैन । यस स्थितिमा काँग्रेसले यिनीहरूसँग मिलेर निर्वाचनमा जानुपर्ला जस्तो मलाई लाग्दै लाग्दैन । अन्ततः काँग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुन्छ । यो अवस्थामा एमालेलाई आगामी निर्वाचन एउटा राम्रो अवसर हो भन्ने मेरो ठम्याई हो ।

माधव कुमार नेपालसँग केही कार्यकर्ताहरू बाहेक जनताको समर्थन देखिँदैन । माओवादी केन्द्र त्यसै पनि जनताको बीचमा कमजोर छ । अर्थात् उसलाई जनसमर्थन प्राप्त हुने अवस्था छैन । देशका एक/दुई निर्वाचन क्षेत्रबाहेक माओवादी केन्द्रले विजय हासिल गर्ने अवस्था छैन । त्यसैले एमाले आगामी निर्वाचनमा पहिलो पार्टीको रुपमा आउने निश्चित छ । एमालेको सरकारले जनताको पक्षमा गरेका कामहरूप्रति जनता सन्तुष्ट भएको देखिन्छ । र, एमाले नै जनताको निमित्त अपेक्षित विकास, शान्ति र विदेशी हस्तक्षेपको विरुद्ध जानसक्ने राजनीतिक शक्ति हो भन्ने कुरा जनताले बुझेका छन् ।  

एमालेले कर्णाली प्रदेशसभामा लगातार अवरुद्ध गरिरहेको छ, अब प्रदेशसभा चल्न नदिने नै हो त ? यसको निकास के हुन सक्छ ?

पार्टीले कारबाही गरेका प्रदेशसभाका सदस्यहरूलाई उपस्थित गराएर संसद सञ्चालन गर्नु संसदीय मर्यादा विपरीत हो । संघीय संसद र प्रदेशसभामा नेकपा एमालेले कारबाही गरेका सदस्यहरू उपस्थित रहेको अबस्थामा हामीले बैठकमा भाग लिनु संसदको मर्यादा विपरीतको कुरा नै हो । त्यसैले एमालेले संसद बैठकमा भाग नलिएको स्थिति हो ।

यो विषयलाई समाधान गर्न सत्तामा रहेका राजनीतिक दलहरूले सोच्नुपर्ने हो । तर त्यसो देखिँदैन । यदि राजनीतिक दलहरू आ–आफ्नो तरिकाले अघि बढ्ने हो भने त हामीले भन्नु के नै छ र ? संसदमा प्रतिपक्षको भूमिका पनि उत्तिकै हुन्छ नै । तर प्रतिपक्षले उठाएका एजेण्डालाई सत्ता पक्षले सोच्नुपर्ने नै हुन्छ । प्रदेशको हकमा त्यसो भएको हुनुपर्छ । सत्ता पक्षले प्रमुख प्रतिपक्षसँग वार्ता गरी संसदको नियम र प्रचलन अनुसार यसको निकास दिनुपर्छ भन्ने नै हो ।

संसदीय व्यवस्थामा सरकारले गति लिन नसक्दा न्याय माग्न सार्वभौम जनताका बीचमै जानुपर्छ । त्यस कारण एमाले संसद विघटनको बाटोमा जानुपरेको हो ।

एमाले अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटकसम्म संसद विघटन गरे पनि सर्वोच्च अदालतले त्यसलाई असंवैधानिक ठहर गरेको थियो । अहिले एमालेले यो संसदले काम गर्नै सक्दैन भनेर नै अवरोध गरिरहेको त होइन ? तपाईंहरू तत्कालै चुनावमा जानुपर्छ भन्ने सोच कै कारण त्यही खालको भूमिका निर्वाह गरिरहनुभएको त होइन ?

हामीले सरकार चलाईरहेको अवस्थामा पार्टीभित्रैबाट र बाह्य शक्तिले अस्थिरता सिर्जना गर्ने प्रयास गरे । फलस्वरुप गतिशील अवस्थामा रहेको सरकारलाई अपदस्थ गरी शक्ति हत्याउने खेलहरू भए । पार्टी अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध तथानाम आरोप–पत्र पार्टीभित्रैका नेताहरूबाट ल्याउने काम भयो ।

तत्कालीन नेकपाको सचिवालयमा जनहितका कुराहरूले स्थान पाउनुभन्दा पनि हरेक दिन तत्कालीन प्रधानमन्त्री ओलीविरुद्ध अनेक अवरोधहरू सिर्जना गर्ने प्रयास भइरह्यो । जसका कारण ओलीले पार्टी र सरकारमा काम गर्ने सहज वातावरण रहेन । फलस्वरुप संसदीय व्यवस्थाको अभ्यास र परम्परालाई पछ्याएर संसद विघटन गर्नुपर्‍यो ।

संसदीय व्यवस्थामा सरकारले गति लिन नसक्दा न्याय माग्न सार्वभौम जनताका बीचमै जानुपर्छ । त्यस कारण एमाले संसद विघटनको बाटोमा जानुपरेको हो । तत्कालीन अवस्थामा घोषणा गरिएअनुसार निर्वाचन भएको भए अहिले देखिएको अस्थिरता समाप्त भइसकेको हुन्थ्यो ।

प्रजातान्त्रिक व्यवस्थामा राजनीतिक समस्या समाधान गर्ने जिम्मा जनतालाई हुन्छ । निर्वाचनमा जानका लागि हामी तम्तयार छौं । हामीले गरिरहेको वडा अधिवेशनदेखि महाधिवेशनसम्मका कार्यक्रमहरू पनि चुनावको तयारी हो भन्दा हुन्छ । प्रदेश अधिवेशन र जिल्ला अधिवेशन सम्पन्न भएपछि हरेक तहमा एमालेको कमिटीहरू चलायमान भएको देखिनेछ ।

माओवादी केन्द्रसँग एकता गरेर नेकपा निर्माण भयो । तर पार्टीभित्र पूर्व एमाले र माओवादी केन्द्रबीच भागबण्डा गरिरहने अवस्थालाई दुरुत्साहित गर्न सकिएन ।

तपाईं अहिले एमालेको कर्णाली प्रदेश अध्यक्ष बन्नुभएको छ र कारणबस् जिल्ला र प्रदेशको अधिवेशन पनि नजिकिँदै छ । तयारी के कस्तो छ ?

प्रदेश/जिल्ला अधिवेशन सम्पन्न गर्न प्रदेश कमिटीको बैठकले कार्ययोजना बनाइसकेको छ । मैले यसलाई पहिलो कार्यको रुपमा हेरेको छु ।

त्यसपछि जिल्ला, पालिका, वडा र टोल कमिटीहरूलाई चलायमान बनाउने योजना छ । साथसाथै १० वटै जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ । जनसरोकारका विषयलाई समाधान गर्न पार्टीले कार्ययोजना बनाई लागु गर्ने प्रयत्न हुनेछ ।

 एमाले प्रदेश अधिवेशनले के सन्देश दिन खोज्दैछ ? तपाईंहरूले सम्मेलन गर्नुभन्दा पहिला हामी यी–यी कुराहरूलाई प्राथमिकता दिएर छलफल, बहस गरेर अधिवेशन सम्पन्न पार्छौैं भन्ने कुनै योजना छ ?

एमालेको १० औं महाधिवेशनले तयार गरेको नारा ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादका आधार निर्माण गरौं’ नै हाम्रो नारा हुनेछ । अधिवेशनको पहिलो उद्देश्य नीति निर्माण गर्नु र नेतृत्व चयन गर्नु हो । सात प्रदेशमध्ये कर्णाली पिछडिएको प्रदेशको रुपमा चिनिन्छ । विकासका प्रचुर सम्भावना रहे पनि हामीले विकास गर्न नसकेको अवस्था छ । यहाँको जलस्रोत, जडीबुटी र मानवस्रोतलाई प्रदेशको हितमा प्रयोग हुनुपर्छ । यसतर्फ नै पार्टीको ध्यान केन्द्रित हुनेछ ।

यसअघि कर्णालीमा एकल बहुमत भएको एमाले आफ्नै कारण प्रतिपक्षको कुर्सीमा सीमित भयो । यसलाई तपाईं नेतृत्वपंक्तिको कमजोरी ठान्नुहुन्छ ?

माओवादी केन्द्रसँग एकता गरेर नेकपा निर्माण भयो । तर पार्टीभित्र पूर्व एमाले र माओवादी केन्द्रबीच भागबण्डा गरिरहने अवस्थालाई दुरुत्साहित गर्न सकिएन । फलस्वरुप ४० सदस्यीय प्रदेशसभामा एक्लै एमालेको ५० प्रतिशत संख्यामा उपस्थिति रहे पनि माओवादीलाई सरकार जिम्मा लगाउनुपर्ने अवस्था रह्यो ।

हाम्रो शक्तिलाई मध्यनजर गर्दा कर्णालीमा एमालेकै नेतृत्वमा सरकार बनाउने अवस्था थियो । तर पार्टीभित्रैका अराजक र उच्छृङ्खल व्यक्तिहरूले संसदीय दलको ‘ह्वीप’ अवज्ञा गरी संसदीय परम्पराको धज्जी उडाए । त्यसैले एमालेको सरकार बनाउन सक्ने अवस्था रहेन । तर विगतका आफ्ना कमी कमजोरीहरूलाई ध्यानमा राखेर आगामी दिनमा सफलता हासिल गर्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ ।

जनता आगामी निर्वाचनमा एमालेको एकल बहुमत हेर्न चाहन्छन् । तसर्थ कर्णालीमा पनि एमालेको सरकार बन्छ ।

तपाईंले फुटको असर पर्दैन भनेर भन्नुभयो, अब पनि एमाले कर्णालीमा पहिलो पार्टी बन्न सक्छ भन्ने दाबी हो ?

जनताको समर्थन र माया नै हामी पहिलो हुने आधार हो । एमालेमा रहेका कुशल संगठकहरूको लगनशीलता दोस्रो आधार हो । पार्टी विभाजनबाट हामीलाई पुगेको सामान्य असरलाई ‘मेकअप’ गर्ने हाम्रो प्रयत्न हुनेछ । पार्टी चोइट्याउनुमा आधारभुत तहमा रहेका नेता, कार्यकर्ताहरूको भूमिका न्युन छ । फुटलाई उनीहरूले पचाएको स्थिति छैन । तसर्थ बाटो बिरायर पार्टीबाट बाहिरिएका साथीहरूलाई पार्टीभित्र ल्याउने हाम्रो प्रयत्न रहनेछ । विश्वास छ, एमाले निर्माण गरेका साथीहरू समयमै घर फर्किनेछन् ।

कर्णालीमा तपाईंहरूकै पूर्व साथीहरू अथवा अहिले एकीकृत समाजवादीमा लाग्नुभएका साथीहरू एमालेले आफ्नो जनाधार गुमाइसक्यो, अब एकीकृत समाजवादी पार्टी पहिलो शक्ति केन्द्रका रुपमा स्थापित हुन्छ भन्दै हुनुहुन्छ नि ?

तथाकथित समाजवादीका साथीहरूको यो भनाइ ‘उर्दु’ मा भन्ने गरिएको ‘खयाली पुलाउ’ हो । जनाधार गुमाइसकेको कुरा आसन्न निर्वाचनको परिणामले पुष्टि गर्ने नै छ । उहाँहरूको त्यस्तो जनाधारको विश्वास छ भने अन्य दलहरूको पुच्छर बन्नुपर्ने आवश्यकता किन ? र, अर्को कुरा स्पष्ट छ, हाम्रो प्रतिस्पर्धा कर्णालीमा काँग्रेससँग हुन्छ । तर काँग्रेस पनि गुट–उपगुटमा विभाजित छ । विगतका परिणाम हेर्दा पनि काँग्रेस एकतावद्ध रहेको उदाहरण छैनन् । जनता आगामी निर्वाचनमा एमालेको एकल बहुमत हेर्न चाहन्छन् । तसर्थ कर्णालीमा पनि एमालेको सरकार बन्छ । यो कुरामा कुनै दुईमत नै छैन ।

तपाईं भर्खरै एमालेको प्रदेश अध्यक्ष बन्नुभएको छ, जिम्मेवारी बढ्यो होइन त ?

हो, म झण्डै २८ वर्षपछि कार्यकारी भूमिकामा फर्किएको छु । कहिलेकाहीँ मेरा  २८ वसन्तहरू खेर गएको अनुभव हुन्छ । कर्णालीको संगठन निर्माण गर्न पुरानो अनुभव र अहिले युवाहरूले हासिल गरेको प्रविधियुक्त सीपलाई प्रयोग गर्ने मेरो इच्छा छ ।

मलाई विश्वास छ, पार्टीमा बिताएका झण्डै ५० वर्षको अनुभवलाई प्रयोग गरेर एमालेलाई पहिलो शक्तिको रुपमा उभ्याउन सफल हुनेछु । विगतका टुट–फुटका अनुभवलाई आधार बनाएर पार्टीलाई एक ढिक्का गर्न प्रयत्नरत रहनेछु । कर्णालीको विकास र समृद्धिमा सबैको साथ सहयोग लिएर अघि बढ्ने प्रयत्न गर्दछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप