शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘आगामी चुनावमा देउवाको ‘फेस’ले काँग्रेसलाई फाइदा हुन्छ’

देउवा ‘आउट गोइङ’ सभापति हो : सहमहामन्त्री डिना
शुक्रबार, ०९ पुस २०७८, ११ : ४७
शुक्रबार, ०९ पुस २०७८

नेपाली काँग्रेसकी नवनिर्वाचित सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ शेरबहादुर देउवाको प्यानलबाट निर्वाचित एक्ली महिला पदाधिकारी हुन् । उनी सभापति देउवाको दोस्रो कार्यकाल सुखद र उत्साहजनक हुने बताउँछिन् । देउवा ‘आउट गोइङ’ सभापति भएकाले कसैले पनि उहाँसँग असहमति नराख्ने र संगठन मजबुद बनाउनतिर लाग्ने उपाध्यायको भनाइ छ ।

रातोपाटीसँगको कुराकानीमा उपाध्यायले भनिन्, ‘पार्टीमा रुपान्तरण र पुस्तान्तरण पनि भएको छ । पार्टीको हरेक तहमा सोचेको जस्तो युवा पंक्ति आएको छ । यसमा पार्टीको पुरानो पुस्ता पनि समावेश छ । शेरबहादुर देउवाको दोस्रो कार्यकाल स्वर्णिम कार्यकाल हुनेछ ।’

महिलातर्फ सहमहामन्त्री निर्वाचित भएकी उनले आगामी महाधिवेशनमा आरक्षण नचाहिने गरी काम गर्ने बताइन् । उपाध्यायले भनिन्, ‘भोलि सबैमा प्रतिस्पर्धा हुने, आरक्षण नचाहिने अवस्था पनि आउँछ । हामीले त्यो बाटो तय गर्ने हो भन्ने मलाई लाग्छ । म त्यसमा काम गर्छु ।’

रातोपाटीले उपाध्यायसँग १४ औं महाधिवेशनपछिको काँग्रेस, देउवाको दोस्रो कार्यकाल र उनको योजनाबारे कुराकानी गरेको छ । प्रस्तुत छ– सहमहामन्त्री उपाध्यायसँगको कुराकानी –

१४ औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित हुनुभएको छ । आगामी कार्ययोजना के छन्, कसरी अगाडि बढ्दै हुनुहुन्छ ?

समावेशी समानुपातिकरुपमा पार्टीलाई लैजान हामीले विधान परिमार्जन गर्यौं । त्यतिबेला पार्टीको निर्णायक तह (पदाधिकारी) पनि समावेशी हुनुपर्छ भन्ने आवाज थियो । पार्टीको निर्णायक तह समावेशी बनाउन संविधानले व्यवस्था गरेको ८ वटा क्लस्टर अनुसार सहमहामन्त्रीको व्यवस्था गर्यौं ।

त्यतिबेला हामीले पदाधिकारीमा एक तिहाइ महिलाको सुनिश्चता गर्यौं भन्ने माग थियो । क्लस्टरअनुसार सहमहामन्त्री दिने कुरा सर्वसम्मत भयो । तर, पदाधिकारीमा एक तिहाई महिला दिने भन्ने कुरा पास हुन सकेन । त्यसमा हामीले असहमति पनि दर्ज गरेका थियौं ।

पुरानो विधानमा ५ पदाधिकारीमा कोषाध्यक्षमा महिला निर्वाचित भएर आएको अवस्था थियो । तर अहिले आज १३ जना पदाधिकारी हुँदा पनि एकजना मात्र महिला पदाधिकारी भएको अवस्था छ । सभापति ज्यूले भोलि कोषाध्यक्षमा महिलालाई नै मनोनित गर्नु हुन्छ होला ।

त्यसो हुँदा दुई जना हुन्छौं । तर त्यो १५ प्रतिशत मात्र हुनु जान्छ । त्यस कारण निर्णायक तहमा महिलाको सहभागिता एक तिहाइ बनाउने मेरो एजेण्डा हो । यो एजेण्डा अगाडि लैजान्छु । पहिला–पहिला  पार्टीमा एक तिहाइ महिलाको उस्थिति चाहन्छ भन्दा कहाँबाट ल्याउने भन्ने थियो । तर आज पार्टीमा सक्रिय महिला प्रशस्त रहेछन् भनेर १४ औं महाधिवेशनमा देखियो ।

अहिले देशरभरीबाट आएका महिला हेर्दा सबै केन्द्रीय सदस्य हुन लायक आउनुभयो । प्रत्येक जिल्लामा सशक्त महिला हुनुहुन्छ । निर्णायक तहमा उनीहरुको पनि भूमिका रहोस् चाहना हो । हामीले पदाधिकारीमा आरक्षण हुनुपर्छ भनेका छौं । तर भोलि पदाधिकारीमा आरक्षण नभएपछि लड्ने सक्ने क्षमता र अवस्था सिर्जना गर्ने मैले योजना बनाएको छु ।

सहमहामन्त्रीको काम र अधिकार विधानमै प्रस्ट छैन । ८ जना सहमहामन्त्री अधिकारविहीन हुनुहुन्छ । अरुको अधिकारका लागि लड्छु भन्दै गर्दा तपाईंको आफ्नै अधिकारको के हो भन्ने अन्योल छ नि ?

पार्टीमा धेरै काम छन् । म अहिले महिला सहमहामन्त्री बन्दै गर्दा देशभरि महिलाको समग्र परिस्थितिबारे काम गर्न सकिन्छ । महिलालाई पार्टीको मूलधारमा कसरी स्थापित गर्न सकिन्छ, वडादेखि केन्द्रसम्म महिलालाई कसरी समावेश गर्ने भन्ने कुरामा पनि काम गर्न सकिन्छ । त्यो पनि काम हो नि त  । त्यो पनि मेरो जिम्मेवारी हो । सबै वर्ग र क्षेत्रबाट आएका सहमहामन्त्रीका लागि धैरै काम छ ।

तपाईले भनेजस्तो पार्टी विधानले सहमहामन्त्रीको यो काम भनेर तोकेको छैन । तर, पदाधिकारी स्वतः संसदीय बोर्ड र कार्यसम्पादन समितिमा रहने व्यवस्था छ । पार्टीको आधिकारिक निर्णय अब त्यहाँबाट हुन्छ । किनभने केन्द्रीय समिति पनि ठूलो भइसकेको छ । साथै अबको समहमहामन्त्रीको अधिकार पनि तोक्ने कुरामा पार्टी पदाधिकारी तहमा छलफल भइरहेको छ ।

तपाई पदाधिकारीमा लड्ने क्षमता र अवस्था सिजर्ना गर्छु भन्नुहुन्छ । यो महाधिवेशनमा एकजना पनि महिला खुला केन्द्रीय सदस्य निर्वाचित हुन सक्नुभएन । ९९ जनामा एकजना महिलाले मात्र उम्मेदवार दिनुभयो । तपाईले भनेका तलबाट आएका सक्षम महिला खुला प्रतिस्पर्धामा किन डराइराख्नुभएको छ ?

डराएको होइन । केन्द्रीय समितिमा एक तिहाइ महिला भइसक्यो भनेर खुलामा प्रतिस्पर्धा नगर्नुभएको होला । अब १५ औं महाधिवेशनमा सिन फरक हुने छ । १४ औं महाधिवेशनमा धेरै साथीहरुले पार्टीमा रुपान्तरण र पुस्तान्तरणको कुरा गर्नुभयो । हिजो लामो समय पार्टीलाई जीवनतता दिँदै आउनुभएको, पार्टी सांगठिक स्वरुपलाई बचाउँदै लगेको नेतृत्वलाई सम्मान गर्नुपर्छ भन्ने थियो ।

अब नयाँ आउने पुस्तालाई पनि पार्टीमा स्थान दिँदै जानुपर्छ भन्ने मेरो अवधारण थियो । यो दुईवटैको समायोजनबाट पार्टी बन्छ भन्ने मेरो सिद्धान्त हो । अहिले पुस्तान्तरण र  रुपान्तरण पनि भएको छ ।

योसँग सँगै १५ औं महाधिवेशनमा आरक्षण कोटामा न महिला रहन्छन्, न दलित रहन्छन् न अरु क्लस्टर रहन्छन् । हामी सबैले अन्य तहमा जान सक्ने दक्षता विकास भइरहेको छ । भोलि सबै प्रतिस्पर्धा हुने आरक्षण नचाहेन अवस्था पनि आउँछ । हामीले त्यो बाटो तय गर्ने हो भन्ने मलाई लाग्छ ।

७६ वर्षको मान्छेलाई सभापतिमा दोहोर्याएर पार्टीमा कसरी रुपान्तरण र पुस्तान्तरण भयो भन्नुहुन्छ ?

१४ औं महाधिवेशनमा रुपान्तरण र युवा पुस्ताको समायोजन भएको छ । लामो समयदेखि पार्टीलाई सम्हाल्दै आउनु भएका नेताबाट हामीले संरक्षण पनि पाएका छौं । पुराना नेताहरु पनि आउनुभएको छ । कोही सदस्य भएर बस्नुभएको छ । कोही सभापति हुनुभएको छ । कोही उपसभापति हुनुभएको छ ।  आजसम्म पार्टीलाई बचाउनुभएका नेताहरु पनि हुनुहुन्छ र युवा साथीहरु पनि नेतृत्वमा आइराख्नुभएको छ ।

१४ औं महाधिवेशनले के सन्देश दिएको जस्तो लाग्छ ?

 १४ औं महाधिवेशनले सबैको सहभागिता र समावेशितालाई स्वीकारेको छ । काँग्रेसमा मात्र सबैको हक स्थापित हुँदोरहेछ भन्ने कुरालाई आम नेपाली जनताले बुझ्नुभएको छ । यो सन्देशले भोलिको आम निर्वाचनलाई फरक पार्न सक्छ । यसले नेपाली काँग्रेसप्रतिको आकर्षण बढाउँछ र आम निर्वाचनामा हामीलाई राम्रो हुन्छ भन्ने मेरो बुझाइ छ ।

तर, शेरबहादुर देउवाको अनुहार देखाएर काँग्रेस चुनावमा जाँदा घाटा हुन्छ भन्ने निष्कर्षमा काँग्रेसकै नेताहरु पुगेको अवस्था छ । पार्टी समावेशी हुँदैमा भोट आउला र ?

कसरी घाटा हुन्छ ? बरु फाइदा हुन्छ । पार्टी सभापति शेरबहादुर देउवा समावेशी सिन्द्धान्त पक्षपाती नेता हो । उहाँ पार्टी नेतृत्वमा हुँदा होस् वा सरकारमा हुँदा उहाँले समावेशी राजनीतिलाई अगाडि बढाउनुभएको छ । समावेशी राजनीतिका सवालमा हामी बीपीलाई सम्झन्छौं । उहाँले लिखित विधान नहुँदा पनि पार्टीमा दलित, महिला, मुस्लिम लगायतलाई समावेश गरेर लानुभयो । राष्ट्रको सबै अंगमा त्यो पचिानलाई स्वीकार गर्नुभयो । त्यसैलाई आधार मानेर पार्टी सभापति शेरबहादुर देउवाले हरेक तहमा सबैलाई समावेश गर्न वातावरण सिर्जना गर्नुभएको छ । त्यो ‘फेस’ सबैका लागि राम्रो होला नि । सबैका लागि फाइदाजनक होला नि । अब उहाँ ‘आउट गोइङ’ हो । अब उहाँ पार्टीको विधानका कारण सभापति बन्न आउनुहुन्न । त्यस कारण उहाँ जत्तिको सिनियर नेतृत्वलाई अगाडि सारेर निर्वाचनमा जाँदा हाम्रा लागि अत्यन्तै फाइदाजन हुन्छ ।

महामन्त्रीमा जुझारु युवा आउनुभएको छ । कार्यसमितिमा अनुभवी र उर्जावान नेताहरु आउनु भएको छ । वर्तमान कार्यसमिति ऐतिहासिक छ । वर्तमान नेतृत्व नै मुलुकको वर्तमान आवश्यता हो । त्यो कुरा पार्टीमा महाधिवेशन प्रतिनिधिले ठानेर नै शेरबहादुर देउवालाई पुनः सभापति बनाउनुभएको हो ।

शेरबहादुर देउवालाई ०७४ को आम चुनावमा देखेकै हो । ०७२ सालमा सभापति भएपछि उहाँले चलाएको पार्टी पनि नदेखेको होइन । त्योभन्दा फरक के हुन्छ ? केही युवा पदाधिकारीमा आउँदैमा के कायापलट होला र ?

हामीले पार्टीमा युवा पुग्नुपर्छ, महिला पुग्नुपर्छ भन्दै गर्दा एउटा परिपक्व नेतृत्व आएको छ । उहाँमा कुनै उर्जाको पनि कमी छैन । मतदानमा राति म उहाँभन्दा २ घण्टा अगाडि घर आएकी थिएँ । बिरामी भएर सुतेँ । उहाँ दुई घण्टापछिसम्म त्यो चिसोमा बस्नुभयो । उहाँ जस्ताको त्यस्तै हुनुहुन्छ । त्यसकारण उमेरले मात्र काम गर्दैन । उहाँमा जुन दक्षता छ, त्यसले पार्टीलाई अगाडि बढाउँछ । हामी निराश हुनुपर्ने ठाउँ छैन ।

१४ औं महाधिवेशनको प्रतिस्पर्धाबाट वडादेखि केन्द्रसम्म पार्टीमा उत्पन्न अन्तरविरोधलाई कसरी मिलाएर जाने सोचमा हुनुहुन्छ ?

सभापति शेरबहादुर देउवाले आफ्नो टीममा राख्नुभएका ८० प्रतिशत मान्छे जितेर आउनुभएको छ । त्यसमा सधैं उहाँकै साथमा रहेका माान्छे मात्र छैनन् । हिजो अर्को टिममा काम गर्नुभएका साथीहरु समावेश गरेर टीम बनाउनुभएको थियो । पार्टीमा धेरैलाई समेट्ने वातावरण बनेको छ ।

पार्टी सभापतिले आफ्ना प्रत्यासीलाई भेटिसक्नुभएको छ । काँग्रेस केन्द्रीय समितिमा रहेका नेताहरुलाई पनि समेटेर जाने कुरामा पार्टी सभापति उदार हुनुहुन्छ । उहाँलाई पार्टीमा अप्ठ्यारो हुन्छ जस्तो लाग्दैन । सबैले आ–आफ्नो स्थानमा बसेर पार्टी निर्माणमा लाग्नु हुन्छ । ०७९ को आम निर्वाचमा सबै एक भएर लाग्नुहुन्छ । पार्टी सभापतिका उम्मेदवार भएका नेताहरुबाट पनि यो कुरा आइसकेको छ । सबै सँगै मिलेर जाने वातावरण तय हुन्छ ।

१३ औं महाधिवेशनपछि साढे पाँच वर्ष देउवाको नेतृत्वमा काँग्रेस अस्तव्यस्त अवस्थामा चल्यो । फेरि देउवा नै आउनुभएको छ  । पदाधिकारी तहबाट लथालिङ्ग अवस्थामा रहेका पार्टीका निकाय र भ्रात संस्थामा केही सुधार हुन्छ ?

साढे पाँच वर्षको त्यो दौडानमा आपसी अन्तरद्वन्द्व धेरै भए । निर्णय गर्न सभापतिलाई केही असहज भयो । एकपक्षीय ढंगले अगाडि जान सभापतिज्यू चाहनुभएन । सबैलाई मिलाएरै जान्छु भन्दा यस्तो अवस्था भएको हो । अहिले पदाधिकारीमा युवा आउनुभएको छ । पार्टीलाई चुस्त दुरुस्त बनाउन हामी सबै लाग्छौं । अब पार्टीका विभाग, मनोनित र भ्रातृ संस्थालाई चलायमान बनाउँछौं । विभाग बनाउने र मनोनित गर्ने कुरा यथाशीघ्र हुन्छ ।

 १३ औं महाधिवेशनपछि सहमतिका नाममा समयमा निर्णय गर्न सक्नुभएन । अहिले पनि सहमतिका नाममा त्यो अवस्था दोहोरिन सक्छ । रामचन्द्र पौडेल जस्तै अब शेखर कोइरालासँग भागबण्डा मिलाउन गर्नुपर्ला । समयमै काम हुन्छ भनेर कसरी विश्वास गर्नु ?

आदरणीय शेखर कोइरालाज्यूले कुनै भागबण्डाको राजनीति गर्दिनँ भन्नुभएको छ । उहाँले म मिलेरै जान्छु भन्नुभएको छ । भोलिका दिनमा सहज हुन्छ भन्ने मलाई लागेको छ । म फेरि पनि भन्छु– शेरबहादुर देउवा ‘आउट गोइङ’ पार्टी सभापति हो । उहाँसँग झगडा गरेर जानु कसैका लागि फाइदा हुँदैन । हिजो आजका लागि ब्रेक गर्नु थियो र त्यहाँ अन्तरकलह बढ्यो ।  अब उहाँलाई ब्रेक गर्नुपर्छ भन्ने छैन । पार्टीमा सभापतिलाई असहयोग कसैले गर्छ जस्तो मलाई लाग्दैन । १५ औं महाधिवेशनमा उहाँलाई पार्टी विधानले नै सभापति हुन दिँदैन ।

 विधान संशोधन गरेर फेरि सभापति बन्न सक्नुहुन्छ होला नि ?

त्यो हुँदै हुँदैन । त्यो कल्पनाभन्दा बाहिरको कुरा हो ।

 काँग्रेसमा वर्तमान विधानले सभापतिलाई पंगु बनाउँछ, पदाधिकारी निर्वाचित हुने व्यवस्था हटाउन विधान संशोधन गर्नुपर्छ भन्ने आवाज पनि उठिरहेको छ नि ?

तपाईंले भनेको सही हो । हिजोका दिनमा पार्टी सभापति पक्षीय मान्छे थोरै आए भने पंगु हुन्छ भन्ने थियो । तर, अहिले ८० प्रतिशत सभापति पक्षका मान्छेले जितेका छन् । अब सभापति कसरी पंगु हुनुहुन्छ ? हुँदै हुँदैन नि । सभापतिले मनोनित गर्नु होला । चुनाव जितेर आएको हुनाले सहयोग हुन्छ । आउट गोइङ सभापतिसँग कसैले असहमति राख्नुहुँदैन । बरु आफ्नो संगठन बनाउनतिर लाग्नुहुन्छ । यो कार्यकाल हिजोको भन्दा धेरै बेटर हुन्छ ।

यहाँले लामो समयदेखि शेरबहादुर देउवासँग नजिक भएर काम गरिराख्नुभएको छ । उहाँको यो कार्यकालमा के के उपलब्धी हासिल गर्नुहुन्छ जस्तो लाग्छ ?

शेरबहादुर देउवाको अन्तिम कार्यकाल स्वर्णिम हुन्छ ।

यसका आधार के के हुन् ?

एउटा, रुपान्तरण भएको छ । दोस्रो, पुस्तान्तरण पनि भएको छ । पार्टीको हरेक तहमा सोचेको जस्तो युवा पंक्ति आएको छ । त्यसमा पार्टीको पुरानो पुस्ता पनि समावेश छ । यो समायोजनले पार्टीलाई सशक्त रुपमा नयाँ ढंगले अगाडि लैजान्छ । शेरबहादुर देउवाको दोस्रो कार्यकाल स्वर्णिम कार्यकाल हुन्छ ।

देउवाको यो कार्यकालमा हुन्छ चाँहि के के ? काँग्रेसमा बदलाव के हुन्छ ?

के हुने भन्ने कुरा सभापतिज्यूले भनिसक्नुभएको छ । उहाँले पार्टीलाई बहुमत दिलाउँछु भन्नुभएको छ । उहाँ त्यो बाटोमा लाग्नुहुन्छ । त्यसमा सबैले साथ दिन्छु भन्नुभएको छ । हाम्रा युवा नेताले पनि त्यही भन्नुभएको छ । हामी पनि त्यसैमा लाग्ने हो । उहाँको यो कार्यकाल सुखद र उत्साहजनक हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप