शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : स्थानीय तहको निर्वाचन गर्न आयोगद्वारा दुई मिति प्रस्ताव

शुक्रबार, ०९ पुस २०७८, २१ : ३३
शुक्रबार, ०९ पुस २०७८

आज मिति २०७८ साल पुस महिनाको ९ गते शुक्रबार । आज देशभर भएका घटनाक्रमलाई रातोपाटीको नियमित बुलेटिन ‘रातोपाटी ब्रिफिङ’मा समेट्ने प्रयास गरिएको छ ।

१. स्थानीय तहको चुनावको मिति प्रस्ताव

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि दुई वटा मिति प्रस्ताव गरेको छ । शुक्रबार प्रधानमन्त्रीसँगको छलफलमा आयोगले स्थानीय तहको निर्वाचन एकै दिन गर्नु उपयुक्त हुने भन्दै २०७९ वैशाख १४ गते बुधबारका दिन मिति तोक्न सुझाएको छ ।   यदि एकै दिन निर्वाचन गर्न सम्भव नभए पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरणमा  वैशाख २२ गते बिहिबारका दिन चुनावको मिति तोक्न प्रस्ताव गरेको हो ।

२ माओवादी राष्ट्रिय सम्मेलनको तयारी

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पार्टी स्थायी कमिटी बैठकमा पेश गरेका छन् ।

शुक्रबार बिहान पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन छलफलका लागि पेश गरेका हुन् । राष्ट्रिय सम्मेलन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।

३. माओवादी केन्द्र–मसला एकता

नेकपा माओवादी केन्द्र र नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको नेकपा मसाल (सम्पर्क केन्द्र)बीच पार्टी एकता भएको छ । शुक्रबार काठमाडौमा आयोजित कार्यक्रममा दुवै पार्टीका नेताबीच एकता पत्रमा हस्ताक्षर गरेर एकता घोषणा गरिएको हो । माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सम्पर्क केन्द्रका तर्फबाट संयोजक लोकेन्द्र लम्सालले संयुक्त विज्ञप्ति जारी गर्दै एकता घोषणा गरेका हुन् ।

४. प्रदेश २ को नाम

प्रदेश २ को नामकरणका सम्बन्धमा नेकपा एकीकृत समाजवादी पार्टीले गरेको प्रस्तावमा नेकपा एमालेले समर्थन जनाएको छ । सुरुमा नेकपा एमालेले प्रदेशको नाम ‘जनक प्रदेश’ राख्न प्रस्ताव दर्ता गराएको थियो । तर नेकपा एकीकृत समाजवादीले ‘जानकी प्रदेश’ राख्न प्रस्ताव गरेपछि एमाले पनि जानकी प्रदेशकै पक्षमा उभिएको हो।

भारत पिथौरागढको जोलजीविमा नेपाल–भारतका सुरक्षा अधिकारीबीच समन्वयात्मक बैठक बिहीबार बसेको छ । सीमामा हुने गतिविधि र सीमा अपराध नियन्त्रणलगायतका विषयमा दुवै देशका अधिकारीबीच समन्वयात्मक बैठक बसेको हो ।

जोलजीविस्थित सीमा सुरक्षा बल (एसएसबी) को क्याम्पमा भएको बैठकमा सातवटा एजेण्डामा छलफल गरिएको थियो । बैठकको पहिलो एजेण्डा नेपाल–भारत प्रवेश गर्नेहरुको परिचयपत्र पहिचान गर्नुपर्ने राखिएको छ । तेस्रो मुलुकका नागरिक भित्रिए÷नभित्रिएको जानकारीका लागि दुवै देशका सुरक्षा निकायले सीमामा परिचयपत्र निगरानीमा कडाइ गर्नुपर्ने प्रस्ताव गरिएको हो ।

पछिल्लो २४ घण्टामा २६० जना कोरोनाभाइरस संक्रमित पुष्टि भएका छन् । सोही अवधिमा ३४९ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ८९८ जनाको नमुना परीक्षण भएको थियो । यसैबीच पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मुत्यु भएसँगै ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५८२ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ५०४८ जना रहेको मन्त्रालयले जनाएको छ।

७. मन्त्रिपरिषद बैठकका निर्णय

सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ ।  शुक्रबार मन्त्रीपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।  त्यस्तै सरकारले क्रिसमस डेको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अब भाडामा बस्नेलाई पनि विद्युत् मिटर उपलब्ध गराउने बताएकी छन् ।  मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएकी हुन् । मन्त्री भुसालले भनिन्, ‘अब घरभाडामा बस्नेले पनि प्राधिकरणको छुट्टै मिटर लिइ ग्राहक बन्न सक्ने र अपार्टमेन्ट तथा कोलनीमा बस्नेले समेत छुट्टै मिटर लिएर ग्राहक बन्न सक्नेछन् ।

बागमती प्रदेश सरकारमा तीन मन्त्री र तीन राज्यमन्त्री थपिएका छन् । शुक्रबार नेपाली काँग्रेसका तर्फबाट प्रदेश सरकारमा ६ सदस्य थपिएका हुन् ।

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गरेको सिफारिसअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्रीमा दीपेन्द्र श्रेष्ठ र भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम पौडेललाई नियुक्त गरेका हुन् ।

​१०. यो पनि

वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई सहजरूपमा खोप उपलब्ध हुन थालेको छ । सरकारले वैदेशिक रोजगारीमा जानेलाई प्राथमिकता दिएर काठमाडौँका विभिन्न अस्पतालबाट जोन्सन एन्ड जोन्सनको खोप दिन सुरु गरेको हो ।

यसैगरी दाङको घोराही कारागारका कैदीलाई भगाउन सहयोग गर्ने थप एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सो घटनामा तीन जनाको संलग्नता रहेकोमा अहिलेसम्म दुई जना पक्राउ परेका छन् ।

​नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमा शुक्रबार झुण्डिएको अवस्थामा फेला परेका छन् । अन्य प्रहरी कर्मचारीहरु खाजा खान गएको बेला

संघीय प्रहरी इकाई कार्यालय भैरहवामा कार्यरत यादव झुण्डिएको अवस्थामा फेला परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । 

नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले १४ औं महाधिवेशनमा अपेक्षाअनुसार आफ्नो पक्षमा नतिजा नआएको बताएका छन् । उनले आफूले के कारणले हारेँ भन्नेबारे समीक्षा भइरहेको भन्दै पराजित भएपनि हैसियतअनुसार पार्टी र देशका लागि काम गरिरहने बताए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप