शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जब इन्स्पेक्टरले वकीटकीबाटै हातखुट्टा भाँचेर लखेट्ने कुरा गरे...

१६ जना बालबालिकाले आत्महत्या गर्दा ११ जना पब्जीको कुलतमा
शनिबार, १० पुस २०७८, १२ : १३
शनिबार, १० पुस २०७८

‘मैले भीडलाई वार्निङ गरेको छु, मानेनन् भने म हातखुट्टा भाँचेर लखेट्छु ।’ केही समय पहिले काठमाडौँ प्रहरीको रेडियो सेट (वकीटकी)मा एकाएक यस्तो आवाज सुनियो । यो प्रहरीले बोल्ने सामान्य भाषाभन्दा फरक थियो । कन्ट्रोलमा बसेका प्रहरी लगायत अन्यले पनि यस्तो फरक शैलीको भाषा वकीटकीबाटै सुने । इन्स्पेक्टर आक्रोशित हुनुको कारण पनि खोजे ।

तर त्यहाँ न भीड भड्किएको थियो, न अन्य केही असामान्य अवस्था नै आएको थियो । तर प्रहरी अधिकारीबाटै यस्तो असामान्य कुरा आएपछि कन्ट्रोल रुमले ती प्रहरी अधिकारीलाई बोलायो । अनि किन यस्तो बोलेको, के भएको हो भनेर सोधपुछ गरे । सोधपुछका क्रममा थाहा भयो कि ती प्रहरी अधिकारी पब्जी खेल्दा रहेछन् र आफू वा आफ्नो टिमबाहेक अन्यलाई शत्रु देख्ने गर्दा रहेछन् र आवेशमै आएर यस्तो हर्कत गरेका रहेछन् ।

महानगरीय प्रहरी आयुक्त कार्यालयका डिआईजी उत्तम सुवेदीका अनुसार ती प्रहरी अधिकारीलाई तत्कालै काउन्सिलिङका लागि पठाइयो र अहिले ठीक अवस्थामा रहेका छन् ।

काठमाडौँमा मात्रै होइन, धनगढीमा पनि यस्तै घटना भयो । कैलालीमा पत्रकारहरूको सामान्य नाराबाजी र धर्ना थियो । आफ्नै पत्रकार साथी कुटिएपछि दोषीलाई कारबाहीको माग गर्दै उनीहरू शान्तिपूर्ण धर्नामा बसेका थिए । तर त्यहाँको सुरक्षामा खटिएका एक प्रहरी अधिकारीले पनि हिन्दी भाषाको प्रयोग गर्दै असान्दर्भिक गतिविधि गरे ।

 ती प्रहरी अधिकारीले पेस्तोल माथि उठाएर पोजिसनमै बसेर हिन्दी भाषामा ‘अगर आगे बढ्नेका कोसिस कि तो गोली से उडा दुङ्गा’ भने । पत्रकारहरू अचम्ममा परे । कुनै अराजक गतिविधि नगरेका उनीहरू प्रहरी अधिकारीको हर्कतले अचम्ममा परे । यसको रिपोर्ट तत्कालै भयो । किन यस्तो भाषाको प्रयोग गर्दै हर्कत गरे भनेर खोज्दै जाँदा ती प्रहरी अधिकारीले पनि पब्जी खेल्ने गरेको पाइयो । सुरक्षामै खटिँदा मनमा अनेक कुरा खेलेर उनले एकाएक यस्तो बोलेको पाइएको डिआईजी सुवेदीले बताए ।

डिआईजी सुवेदीका अनुसार दुवै घटनामा मुछिएका प्रहरी अधिकारीहरूलाई काउन्सिलिङका लागि पठाइयो । अहिले ती अफिसरहरू ठीक अवस्थामा छन् । तर त्यस्तो कुरालाई बेलैमा सम्बोधन गर्न नसकिएको भए कुनै अप्रिय घटना पनि हुन सक्ने डिआईजी सुवेदी बताउँछन् ।

प्रहरी संगठनभित्रै पब्जीले निम्ताएको यो दुई उदाहरण मात्रै हुन् । प्रहरी संगठनभित्रै यस्ता धेरै घटनाहरू छन्, जो पब्जी वा फ्रि फायरजस्ता अनलाइन गेमका कारण बेलाबेलामा असान्दर्भिक गतिविधि गर्ने, आवेगमा आउने गरेका छन् ।

 समाजचित्रण र अपराधको ट्रेण्ड

महानगरीय प्रहरी आयुक्त कार्यालयका डिआईजी उत्तमराज सुवेदी यतिबेला विभिन्न विद्यालय र कलेजमा गएर सामाजिक सञ्जालको दुरुपयोग, मोबाइलको एडिक्सन र त्यसले निम्त्याउने समस्याबारे कक्षा लिइरहेका हुन्छन् । लामो समय अपराध अनुसन्धानको क्षेत्रमा काम गरिसकेका डिआईजी सुवेदी समाजमा अपराध कसरी हुन्छ, कसले गर्छ र अपराधीकरणको सुरुवात वा ट्रेण्डबारे यसरी विश्लेषण गर्छन् :

हामी सबैको चाहना बनेका शान्त समाज, सुन्दर समाज होस् भन्ने नै हो । प्रहरीको दायित्व र चाहना भनेको पनि समाजलाई कसरी शान्त राख्ने र विकृति न्यूनीकरण गर्ने भन्ने नै हो । यसका लागि प्रहरीले समाजमा रहेका/भएका अपराधका घटनाहरूको विश्लेषण गरेर अपराध न्यूनीकरणका लागि योजना बनाइरहेको हुन्छ ।

देशभरको समग्र अपराधको अवस्था हेर्ने हो भने अघिल्ला आर्थिक वर्षहरूमा भन्दा गत आर्थिक वर्षमा अपराधका घटनामा ४ प्रतिशतले कमी आएको छ र उपत्यकाको अपराधको विश्लेषण गर्दा १७ प्रतिशतले कमी आएको छ । जनसङ्ख्या वृद्धि, बेरोजगारी र बढ्दो सहरीकरणले अपराधका घटनामा वृद्धि गराउँछ, त्यसो हुँदाहुँदै पनि अपराधका घटनामा न्यूनीकरण आउनु भनेको राम्रो कुरा नै हो । तर अपराधका प्रकृति र प्रवृत्ति हेर्ने हो भने हाम्रो समाज गलत बाटोतिर गइरहेको छ भन्न मलाई कुनै अप्ठेरो छैन ।

५/७ वर्ष अघिसम्म पनि नेपालमा हुने अपराधका ठूला घटनाहरू जस्तै जघन्य अपराध, हत्या, बलात्कार, लुटपाट आदि घटनाहरू अपरिचित व्यक्तिहरूबाट बढी हुने गरेको पाइन्थ्यो । तर २/४ वर्षदेखिको अपराधको तथ्याङ्क हेर्ने हो भनेचाहिँ ८५ प्रतिशतभन्दा बढी घटनाहरूमा आफन्त, चिनजानकै व्यक्ति, छिमेकी, सहकर्मी, सहपाठी आदिको संलग्नता रहने गरेको पाइएको छ । यो भनेको समाजमा विकृति बढेको भन्ने बुझिन्छ ।

हाम्रो जस्तो देशमा अपराधका कारणहरूमा परम्परागत रूपमा चलिआएका विभेद, जस्तै धनी र गरिब, कथित उच्च जात र तल्लो जात, महिला हिंसा, वा बालबालिका र ज्येष्ठ नागरिकमाथि हुने अपराध प्रमुख कारक देखिन्छन् । त्यसैगरी मदिराको दुर्व्यसनमा फसेपछि हुने अपराधका घटनाहरू जस्तै सामान्य कुटाकुट, ग्याङ फाइट, श्रीमान् श्रीमतीको झगडा, बलात्कार र हत्यासम्मको घटना बढिरहेका छन् ।

समाजमा हुने अपराधको अर्को प्रमुख कारण भनेको लागूऔषधको दुर्व्यसन र प्रयोग पनि हो । लागू औषध प्राप्तिका लागि लागू औषध प्रयोगकर्ताहरूले गर्ने विभिन्न प्रकारका अपराध जस्तै यसको ओसारपसार, चोरी र लुटपाटका घटना आदि पनि संलग्न भएको देखिन्छ । अर्को भनेको चाँडै धनी हुने लोभ र लालच, आधुनिक विकासका सुविधा आदि कारणले पनि मानिसहरू अपराधमा संलग्न भएका हुन्छन् ।

अहिले अर्को जल्दोबल्दो अपराधका घटना र समस्या भनेकोचाहिँ सामाजिक सञ्जालको दुरुपयोगबाट सिर्जित समस्या र अपराध नै हुन् । अहिले एकातर्फ साइबर सेक्युरिटीको चुनौती त छँदै छ, तर त्यो भन्दा पनि ठूलो चुनौती भनेको सामाजिक सञ्जालको दुरुपयोगबाट सिर्जित अपराधले समाजको टाउको दुखाएको छ ।

 आत्महत्या वृद्धिको कारक पनि सामाजिक सञ्जालको दुरुपयोग

अहिले आत्महत्यामा केही वृद्धि देखिएको छ र आत्महत्याको वृद्धि हुनुमा पनि सामाजिक सञ्जालको दुरुपयोगको घटना कारण रहेका छन् । आत्महत्याको पहिलेका कारण र अहिलेको कारण तथा तरिकामा पनि भिन्नता आएका छन् । सामाजिक सञ्जालको दुरुपयोगको केही उदाहरणहरू यस्ता छन् कि फेसबुकबाट सुरु भएको प्रेम कथा अन्तमा हत्या वा आत्महत्यासम्म पुगेको प्रशस्त उदाहरणहरू छन् ।

कैलालीमा एउटा घटना भयो । एकजना महिलाको प्रेमी थिए । उनीहरूबीच आत्मियता र शारीरिक सम्बन्ध दुवै थियो । प्रेमीले ती विवाहित महिलासँग विवाह गर्न चाहे । तर महिला ती पुरुषसँग विवाह गर्न चाहन्नथिन् । जब विवाह नगर्ने कुरा महिलाले भनिन्, तब ती प्रेमीले पटकपटक महिलालाई तनाव दिने र श्रीमानसँगै भएको बेलामा पनि रात बिताउन आउन भन्न थाले । प्रेमीको तनाव अति भएपछि महिलाले उक्त कुरा आफ्ना भाइलाई भनिन् र भाइकै सल्लाहमा आफ्नै मिल्ने केटा साथीसँग प्रेमको नाटक गरिन् । अनि त्यही प्रेमीलाई प्रयोग गरेर दुख दिने प्रेमीको हत्या गरिन् । उक्त घटनामा पनि उनीहरूको चिनजान फेसबुकबाटै भएको थियो र कुरा गर्दै जाँदा मायाप्रेममा परेका थिए ।

 मेडिकल टेष्टका नाममा नाङ्गो शरीरको भिडियो लिएर ब्ल्याकमेल

त्यसैगरी सामाजिक सञ्जालको प्रयोगबाट हुने ठगीका घटनाहरू बढिरहेकै छन् । वैदेशिक रोजगारमा लगाइदिन्छु भनेर सामाजिक सञ्जालमार्फत् प्रवेश गर्ने, आकर्षक रोजगारी र तलबको लोभलालच देखाउने, त्यसको लागि ठूलो रकमको माग गर्ने, तर पछि थोरै रकममात्रै लिएर बाँकी दिनुहोला भनेर कम्प्रोमाइज गरेको जस्तो पनि गर्ने । अनि मेडिकल टेष्टका नाममा पुरै शरीर नाङ्गो बनाएर फोटो तथा भिडियो खिच्ने गरेको पाइयो । पछि त्यही नाङ्गो फोटो र भिडियोको दुरुपयोग गरेर ब्ल्याकमेलको बाटो बनाउने र रकम असुल गर्ने गरेको धेरै उदाहरणहरू छन् । मानव तस्करी र महिलाहरूको बेचबिखनमा पनि मोबाइल तथा भाइबर, ह्वाट्सएपहरुको प्रयोग गरेर उनीहरुका फोटो तथा भिडियो विभिन्न दलालकहाँ पुराउने र अपराध गर्ने गराउने भइरहेको छ ।

 मोबाइलको लत पनि अपराधको आधारस्थल

अहिले अर्को ठूलो समस्या भनेको बालबालिकामा देखापरेको गेमको एडिक्सन नै हो । बालबालिकाहरूले पब्जी, फ्रि फायर जस्ता गेमहरू घरघरमा खेल्ने गरेको देखिन्छ र यसले बच्चाहरूमा नकारात्मक प्रभावहरू बढी पारेको देखिएको छ । अहिले हामीले हेर्‍यौँ भने समाजमा यी गेमहरूका नकारात्मक असर देखिन थालिसकेको छ ।

१६ जना बालबालिकाले आत्महत्या गर्दा ११ जना पब्जीको कुलतमा

गत वर्ष काठमाडौँमा १६ जना बालबालिकाले आत्महत्या गरे । त्यसको गहिरो विश्लेषण गर्दा ११ जनाले पब्जी गेम खेल्ने गरेको देखियो । यसको कारण भनेको छिटो आवेगमा आउने, अत्यन्तै खुसी वा दुखी हुने लगायतका कुरा जोडिएका थिए ।

जेलमा रहेका ४३ प्रतिशत १६ देखि २४ वर्षका बालबालिका

अहिले जेलहरूको भ्रमण गर्ने हो भने नयाँ थुनुवाहरू अधिकांश १६ देखि २५ वर्ष उमेर समूहका छन् । तथ्याङ्कमा सामान्य तलमाथि हुनसक्छ, तर थुनामा रहेका कैदीबन्दीको उमेर छुट्याउने हो भने ४३ प्रतिशत १६ देखि २४ वर्षका रहेका छन् । यसको अर्थ अहिले विद्यालय वा कलेजमा नै बालबालिकाहरू आपराधिक गतिविधिमा संलग्न भइसकेको बुझिन्छ । अहिले लागू औषधको कुरा गर्ने हो भने पनि जेलमा धेरै थुनुवाहरू लागू औषधसँग सम्बन्धित बन्दीहरू छन् । त्यसैगरी बलात्कारसँग सम्बन्धित कैदीबन्दीको अवस्था पनि उस्तै छ । लागू औषधमा प्रहरीले यति धेरै प्रयास गर्दागर्दै पनि दुर्व्यसनीको सङ्ख्यामा कमी आउन सकेको छैन । यसको असरको सूक्ष्म विश्लेषण गर्ने हो भने कतै न कतै सामाजिक सञ्जालको प्रयोग कारक बनिरहेको छ ।

सामाजिक सञ्जालले घरका हरेक सदस्यलाई छुट्याइदियो । पहिले टेलिभिजन हेर्ने र खाना खाने बेलामा भएपनि सामान्य कुराकानी हुन्थ्यो, अहिले त त्यो पनि हुन छाड्यो । अहिले त हातहातमा टेलिभिजन छ । बुवा आफ्नै तालमा फोनमा व्यस्त, आमा फोनमै व्यस्त, छोरा पब्जी हानिरहेको होला, छोरी कोहीसँग भिडियो च्याटमा मस्त छिन्, त्यो पनि गलत कुरा र गलत मान्छेहरूसँग च्याटिङमा ।

जब बच्चा घरबाट स्कुल जान्छ, तब उनीहरूलाई के गर्ने र के नगर्ने भन्ने कुरा पनि उनीहरूलाई सिकाइएका हुँदैन । कहिले घरको टेन्सन, कहिले पढाइको । अनि त्यही टेन्सनलाई सिनियरले खेल्ने मौका पाउँछन् र ‘एक पफ तान, सबै टेन्सन जान्छ’ भनेर भनिदिन्छन् । एकदिन अस्वीकार गर्ला, अर्को दिन अस्वीकार गर्ला । तर सँधै अस्वीकार गर्न सक्दैन । अनि बिस्तारै त्यसैको लत बन्छ । अनि बुवाको पैसा चोरेर किनेर खान थाल्छ र पछि ठूला अपराधसम्म गर्न पुग्छन् । त्यसकारण अनलाइन गेम र सामाजिक सञ्जालको दुरुपयोगले अन्ततः अपराधसम्म पुराउँछ भन्ने धेरै उदाहरणहरू छन् ।

गेमले बच्चाहरू कि एग्रेसिभ, कि डिप्रेसिभ

अनलाइन गेमले बालबालिकामा दुईखाले प्रभाव पार्दो रहेछ, त्यो भनेको बालबालिकालाई कि एग्रेसिभ बनाउने कि डिप्रेसिभ बनाउने खालको हुँदो रहेछ । एग्रेसिभ बनेको बच्चा अलि बढी स्मार्ट हुने, दिमाग तेज चल्ने, पढाइमा पनि राम्रै नतिजा ल्याउने, सबैसँग बोलचाल गर्ने र मिक्सअप प्रकृतिको हुने रहेछ । तर त्यसको एक्स्ट्रिम रुपमा जाँदाचाहिँ ऊ लागू औषधको प्रयोग वा अन्य सामाजिक अपराधमा जाने डर हुन्छ ।

डिप्रेसिभ नेचरको बच्चा भने एक्लै बस्न रुचाउने, खाना नखाने, पढाइमा पनि कमजोर हुने प्रकृतिको हुन्छ । यस्तो बच्चा एक्स्ट्रिममा गयो भने अन्तिममा डिप्रेसनमा गएर आत्महत्यातिर पनि जान सक्छ । अनि यो सबैको रिफ्लेक्सनचाहिँ अपराध तथ्याङ्कमा देखा पर्छ ।

हाम्रा अभिभावकहरू मेरो ६/७ वर्षका बच्चाले सबै डाउनलोड गर्छ, आफै फोटो र भ्वाइस मेसेज पठाउँछ भनेर गर्व गर्छन्, तर डाउनलोड गर्दा के के डाउनलोड गर्छ भनेर हामी मोनिटरिङ गर्दैनौँ ।

अहिलेको बच्चाहरू घरमा पाहुना आउँदा पनि मिक्सअप नहुने, आफन्त आउँदा पनि मिक्सअप नहुने, खाली भर्चुअल वर्ल्डमा मात्रै रमाउने, कि अनलाइन गेमहरू खेल्ने, कि त कसैसँग च्याटिङ गर्ने, कसैसँग भिडियो कल गर्ने जस्तामा रमाउने तर परिवार, आफन्त आदिसँग नरमाउने समस्या घरघरमा देखिएको छ । यसको कारण भनेको नैतिक शिक्षाको कमी पनि हो । उनीहरूले नैतिक शिक्षा नपाउनु पनि हो ।

त्यसकारण पनि यदि भोलिको लागि आफ्ना सन्तानलाई योग्य बनाउने हो भने आजैदेखि परिवारले बालबालिकालाई समय दिनुपर्‍यो । बालबालिकाले इन्टरनेटको प्रयोग गर्दा अभिभावक साथमा हुनुपर्‍यो । मोबाइलमा के के कुरा डाउनलोड गरेको छ भनेर मोनिटरिङ गर्नुपर्‍यो । अहिले बालबालिकाले खाना मानेन वा झगडा गर्‍यो भने मोबाइल दिएर वा मोबाइलमा भिडियो देखाएर फकाउने गरिन्छ, त्यो पुरै रोक्नुपर्‍यो । त्यसो भएन भने सुरुदेखि नै मोबाइलप्रतिको एडिक्सन बढ्दै जाने र पछि सामाजिक सञ्जालको दुरुपयोगतिर पनि फस्दै गरेको देखिन्छ ।

सामाजिक सञ्जालको दुरुपयोगको उमेर समूह हेर्ने हो भने ८/९ वर्षको उमेरदेखि यो बढ्दै गरेको हुन्छ । त्यसैगरी फेसबुक लगायतका सामाजिक सञ्जालको प्रयोग गरेर अनावश्यक प्रेममा पर्ने, गलत मान्छेसँग सम्बन्ध हुनेजस्ता कुराहरूचाहिँ १३/१४ वर्षको उमेरदेखि १७/१८ वर्षको उमेरको बीचमा हुने गर्दछ । त्यही कारण कतिपय देशमा १८ वर्ष नपुगी इन्टरनेटको प्रयोग ‘लिमिटेड’ गरिएको छ ।

अहिलेको तथ्यांक हेर्ने हो भने बलात्कारका ६८ प्रतिशत पीडितहरू १८ वर्ष मुनिका बालिकाहरू छन् । यसमा पनि सामाजिक सञ्जालको दुरुपयोगको अवस्था कारक रहेको देखिन्छ । यही उमेर समूहमा पनि अपराधी बन्ने सोच बनिसकेको हुन्छ ।

कोही व्यक्तिको बानी ब्यहोरा पुरै चेञ्ज भयो, जस्तो कि धेरै बोल्ने मान्छे कम बोल्न थाल्यो वा बोल्न नै छाड्यो र कम बोल्ने व्यक्ति धेरै बोल्न थाल्यो, एक्लै बस्ने व्यक्ति ग्रुपमा बस्न थाल्यो र ग्रुपमा बस्ने व्यक्ति एक्लै बस्न थाल्यो भने बुझ्नुस् कि उसमा केही मानसिक उतारचढाव वा समस्या आयो । त्यस्तो इण्डिकेटर देख्नेबित्तिकै उसलाई काउन्सेलिङ सुरु गर्नुपर्छ । मानसिक स्वास्थ्यमा उतारचढाव वा समस्या जो कसैलाई पनि हुनसक्छ । त्यस्तो इण्डिकेटर देखियो तर उपचार गरिएन भने उसले अपराध गर्ने सम्भावना ज्यादै बढी हुन्छ । कि उसले अरूलाई हानी पुराउँछ, कि आफै आत्महत्यातिर जान्छ ।

फ्रि फायर र पब्जी घातक गेम

फ्रि फायर र पब्जीजस्ता गेमले बालबालिकाको मानसिक उतारचढावलाई हेर्ने हो भने उनीहरू हिंस्रक बन्ने सम्भावना ज्यादै हुन्छ । गोली हानेर मान्छे मार्ने कुरालाई अहिले देखि नै कुनै बालबालिकाले आफ्नो खुसी र प्रगति ठान्छ भने यस्तो कुरा उसलाई बिस्तारै सामान्य लाग्दै जान्छ । मान्छे मार्नु सामान्य कुरा रहेछ भन्ने कुरा बालबालिकाको दिमागमा पर्न थाल्यो भने भविष्यमा उनीहरू कस्ता बन्लान् हामी आफै विचार गरौँ न ।

नयाँ अपराधका आरोपी क्रिमिनल रेकर्ड नै देखिँदैन

पहिले अपराध गर्नेहरूको क्रिमिनल हिस्ट्री हेर्ने हो भने कुनै हत्याको आरोपमा पक्राउ परेको व्यक्ति पहिले साधारण चोरी गर्थ्यो, अनि अलिकति ग्याङ फाइट गर्नेतिर गएको देखिन्थ्यो, अनि खुकुरी हान्नेतिर अग्रसर हुन्थ्यो र ज्यान मार्ने उद्योगमा अभियोग लागेको हुन्थ्यो, अहिलेचाहिँ ज्यानै लिएछ भन्ने हुन्थ्यो । तर अहिलेको अपराधको हिस्ट्री खोजियो भने त्यस्तो हिस्ट्री नै भेटिन छाडेको छ । अहिले अपराध गरेका ६० प्रतिशत व्यक्तिहरुको कुनै पनि क्रिमिनल हिस्ट्री भेटिँदैन । तर एकैपटक मर्डर, रेप वा लुटपाट गरेको हुन्छ । व्यक्ति कुनबेला आपराधिक गतिविधिमा संलग्न भइसकेको हुन्छ भन्ने न त्यो व्यक्तिलाई थाहा हुन्छ, न परिवार वा समाजलाई । एकैपटक ऊ जघन्य अपराध गर्नतिर लागिसकेको हुन्छ ।

अर्को एउटा ट्रेण्ड के छ भने काठमाडौँका बच्चाहरू अहिले धेरै हिन्दी भाषा बोल्छन् । उनीहरूले सिरियल पनि हेर्दैनन्, हिन्दी फिल्म पनि हेर्दैनन् तर फरर हिन्दी बोल्छन्, त्यो देखिएकै हो । त्यो भनेको कहीँ न कहीँ गेमसँग सम्बन्धित नै छ ।

अर्को इण्डिकेटर के छ भने अहिले २५ वर्ष मुनिकालाई हालखबर के छ भनेर सोध्यो भने ‘खत्तम छ’ भनिदिन्छन् । तर के मा खत्तम हो, कसरी खत्तम हो, बिग्रेको के हो भन्ने उनीहरूलाई नै थाहा छैन । यो भनेको नेगेटिभिटी नै हो ।

एउटा घटना भन्छु, एउटा स्कुलमा सँगै पढ्ने एकजना साथीले अर्को केटी साथीलाई अश्लील सामाग्री पठाए । तर पाउने व्यक्ति त्यस्तो कुरामा अनभिज्ञ नै थिइन् र उनले यो कुरा विद्यालयको प्रिन्सिपललाई भनिन् । प्रिन्सिपलले अश्लील सामाग्री पठाउने बच्चालाई कक्षाकोठामा बोलाए र त्यस्तो गर्ने हो भनेर सम्झाए । अनि तिम्रो आमालाई स्कुलमा बोलाउ भनेपछि उक्त बच्चाले विद्यालयबाटै फाल हानेर आत्महत्या गरिदियो ।

यसको अर्थ के हो भने त्यो उसको लागि सामान्य कुरा नै भयो, तर जब परिवारले थाहा पाउने अवस्था आयो, त्यसलाई फेस गर्न सक्ने अवस्थामा रहेन । अनि परिवारले थाहा पाउने अवस्था आएपछि उसले सुसाइड गरिदियो । मोबाइलको लतले एकोहोरोपन ल्याउने हुन्छ ।

लतमा फसिसकेका बालबालिकाको संसारलाई हेर्ने दृष्टिकोण पनि फरक हुन्छ । उनीहरूमा दया, माया, लोभ, लालच, लाज, घिन आदि केही हुँदैन । उनीहरूमा ‘के फरक पर्छ र’ भन्ने भान परेको हुन्छ ।

पब्जीकै कारण मेरै एकजना १६ वर्षीय आफन्त घर छाडेर हिँडेको छ । बुझ्दै जाँदा थाहा भयो कि ऊ एकजना २१ वर्षीय युवतीसँग कहीँ गएर बसेको छ । अब यहाँ कसले कसलाई लग्यो भन्ने कुरा पनि आउला, तर कुरा के हो भने उनीहरू दुवैजना पब्जी खेल्ने गर्थे र खेलकै क्रममा चिनजान र भेटघाट भयो । अनि पब्जी, माया प्रेम वा अरू नै कारणबाट घर छाडेर हिँडे ।

त्यसकारण मोबाइलको एडिक्सन, सामाजिक सञ्जालको जथाभाबी प्रयोग र अभिभावकको निगरानी नहुँदा बालबालिकाहरू भोलि अपराधी बन्ने बाटोमा गइरहेका हुन सक्छन् । घर परिवार, विद्यालय आदिमै यसबारेमा सचेत बनाउन सकिएन भने यसले भोलि ठुलो समस्या ल्याउन सक्छ । अभिभावकको पहिलो दायित्व भनेको बालबालिकाप्रति सकारात्मक हस्तक्षेप गर्नु नै हो । 

जब ९ वर्षीय बालककले आफ्नै आमामाथि छुरी हाने ...

मनोविश्लेषक बासु आचार्यका अनुसार मोबाइल एडिक्सन ३ वर्षदेखि नै सुरु हुन्छ । जब बच्चाले खाना खान मान्दैन, आमाले मोबाइलमा भिडियो देखाएर खाना खुवाउन सुरु गर्छिन् । बिस्तारै उनीहरूलाई मोबाइलको लत लागिसकेको हुन्छ र त्यो बच्चा ६/७ वर्षको भएपछि गेम खेल्न थाल्छ । गेमका कारण उनीहरू झनै बढी एडिक्सन वा लतमा परिसकेका हुन्छन् । जब ती बालबालिका ११ वर्षबाट अगाडि बढ्न थाल्छन्, उनीहरू त्यसपछि पोर्नोग्राफी कन्टेन्टतिर आकर्षित हुन थाल्छन् ।

बालबालिका पोर्नोग्राफीको लतमा

मनोविश्लेषक बासु आचार्यका अनुसार यतिबेला धेरै बालबालिकाहरू पोर्नोग्राफीको लतमा फसेका छन् । जब बालबालिकाको यौन अङ्गमा परिवर्तन आउन थाल्छ, जब हर्मोनमा परिवर्तन आउन थाल्छ, तब उनीहरूमा उत्सुकता र कौतुहलता पनि बढ्न थाल्छ । अनि यौनका बारेमा जान्ने उत्सुकता बढ्न थाल्छ । त्यसबारेमा जान्नका लागि हातमै मोबाइल छ भने उनीहरूले सजिलै त्यस्ता सामग्रीहरू प्राप्त गर्न सक्छन् र लुकीलुकी हेर्ने र डाउनलोड गर्ने गर्छन् । पोर्नोग्राफी एउटा यस्तो लत हो कि यसले उमेर पनि भन्दैन । टिन एजदेखि वृद्धवृद्धासम्म यस्तो लतमा फसेको धेरै उदाहरणहरू मसँग छन् ।

मानिस शान्तिका लागि, खुसीका लागि उद्वेलित हुन्छ । मानिसलाई जे कुराले खुसी दिन्छ त्यही कुरा वा काम गर्न लालायित हुन्छन् । पोर्नोग्राफीले मानिसलाई क्षणिकरुपमा आनन्द दिन्छ, जसका कारण पोर्नोग्राफीमा मानिसहरू चाँडै नै लतमा पर्छन् । बिस्तारै भौतिकरुपमै उनीहरूले यसको खोजी सुरु गर्छन् । अनि यही कारणले बलात्कारजस्ता अपराधहरू बढ्न थालेका छन् ।

गेमका कारण केही समयअघि भएको एउटा घटना भन्छु । जडीबुटीमा एक ९ वर्षीय बालकले आफ्नी आमालाई छुरी हान्यो । धन्न आमालाई गम्भीर चोट लागेन र उपचार भयो । किन यस्तो गर्‍यौ भनेर सोध्दा मलाई आमाप्रति एकदमै रिस उठ्यो त्यही भएर यस्तो गरेँ भन्यो । रिस किन उठ्यो भनेर बुझ्दै गर्दा त्यो बालक पब्जीको लतमा फसिसकेको रहेछ र उ तत्कालै आक्रामक भइहाल्ने स्वभावको बनिसकेको रहेछ । त्यस्तो बेलामा उसलाई सामान्य गाली गर्दा वा सम्झाउँदा पनि आक्रामक बनेर आक्रमण गर्ने अवस्थामा पुगेको हुँदो रहेछ ।

मोबाइल र इन्टरनेटको लत कस्तो हुन्छ भने ३ वर्षदेख नै उसलाई मोबाइलको लत बसिसकेको हुन्छ । ६/७ वर्ष पुगेपछि सामान्य गेम खेल्न सुरु गर्छ । ११/१२ भएपछि पोर्नोग्राफी र गेम दुवैको लतमा फस्छ । १४/१५ वर्ष भएपछि प्रेममा पर्न थाल्छ । संगत बढ्न थाल्छ र आनन्द खोज्न थाल्छ । कुनै व्यक्तिले उसलाई भनिदिन्छ कि ड्रग्सले आनन्द दिन्छ । त्यसपछि उ ड्रग्स लिन थाल्छ र त्यसकै लतमा फस्छ । ड्रग्स खान थालेपछि उसलाई पैसाको आवश्यकता पर्न थाल्छ । पनि पैसा चोरी गर्ने, लुटपाट गर्ने, र अपराध गर्नेसम्मको अवस्थामा पुग्छ ।

फ्रि फायर र पब्जी खेल्ने बालबालिकामा दया, माया, करुणा भन्ने कुरा ज्यादै कम हुन्छ । जब कुनै बालकले गोली हानेर मान्छे मार्दा वा धारिलो हतियारले मान्छे मार्दा खुसी हुने अवस्था आउँछ भने त्यो बच्चाको स्वभाव हिंस्रक नै हुन्छ । उसलाई त्यस्ता कुराहरू सामान्य लाग्न थाल्छन् र भविष्यमा ठुलो अपराध गर्न पनि सक्छ ।

त्यसकारण बालबालिकालाई यस्तो खेलबाट टाढै राख्नुपर्छ । जब बालबालिकाहरू धेरै रिसाउने, टोलाउने, एक्लै बस्न खोज्ने वा नियमित व्यवहारमा एकाएक परिवर्तन आउन थाल्छ, तत्कालै उसबारे नम्र भएर जान्ने प्रयास गर्नुपर्छ । घरमै बुझ्न सकिएन भने काउन्सेलिङका लागि लैजानुपर्छ । जब ढिलो हुन्छ, समस्या समाधान गर्न ढिलै भइसकेको हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप