बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी आठौँ महाधिवेशन : बन्दसत्र ११ बजेदेखि प्रज्ञा भवनमा

सोमबार, १२ पुस २०७८, ०९ : ४९
सोमबार, १२ पुस २०७८

नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्र प्रज्ञा भवनमा सोमबार बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।

बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहार्ल  प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने स्थायी समिति सदस्य जनार्दन शर्माले बताए ।
 
सो राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुने जनाइएको छ । बन्दसत्रमा कूल एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । सबै क्लस्टर मिलाउँदा त्यो सङ्ख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् ।

माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको थियो । हलको क्षमताभन्दा बढी प्रतिनिधि भएपछि व्यवस्थापनमा चुनौती थपिएको छ ।
 
राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो ।
 
केन्द्रीय समितिको बैठकले शनिबार स्थायी समितिले गरेको निर्णयलाई अनुमोदन गरेको थियो । नेपाली मौलिकतासहितको समाजवाद निर्माण गर्ने जनाएको माओवादीले बन्दसत्रलाई व्यवस्थित बनाउन आवश्यक तयारी गरिएको उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप