प्रदेश १ पुँजीबजार विकास गर्न तयार छ : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पुँजीबजारको विरुद्धमा सरकार नरहेको बताएका छन् । उनले पुँजीबजारमा छरिएर रहेको पैसालाई समेट्ने र त्यसले व्यवसाय र अर्थतन्त्र विकासमा सहयोग पुग्ने बताए ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश १ मा पुँजीबजारको विकास र विस्तार गर्न तयार रहेको बताएका हुन् । ‘नेपालमा अहिलेको पुँजी बजारले विश्वास आर्जन गर्न सकिरहेको छैन । आम मानिसमा सचेतना र जागरण ल्याउन यस्तै खालका कार्यक्रम गरी मनोबलको विकास गर्नुपर्छ,’ उनले भने ।
प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले पुँजीबजारको विकास र विस्तारमा सघाउन मन्त्रालय सदैव तयार रहेको बताए । प्रदेश तहमा पनि शेयर बजारको सञ्चालनका लागि पूर्वाधार, नियामक र अन्य संरचना हुनुपर्नेमा उनको जोड थियो ।
यस्तै, नेपाल मर्चेन्ट बैंकर्स एशोसिएनशनका अध्यक्ष मेखबहादुर थापाले लगानीकर्तालाई सचेत भएर लगानी गर्न आग्रह गर्दै मर्चेन्ट बैंकिङले नेपालको पुँजी बजारमा पुर्याएको योगदान चर्चा गरे । उनले सेयर बजारमा लगानीका अन्य उपकरण थप गर्नुपर्ने जोड दिए । यी उपकरण केन्द्रमा मात्र नभएर प्रदेशसम्म विस्तार गरिनुपर्ने उनको भनाइ छ ।