ad
x
१३ औं पुन्यतिथि

‘रंगमञ्चका भीष्म पितामह थिए प्रचण्ड मल्ल’

person explore access_timeपुस १३, २०७८ chat_bubble_outline0

सुनिल पोखरेल


 



रंगमञ्चको अन्तिम कडी
मेरा गुरु ख्यातिप्राप्त नाट्यसाधक प्रचण्ड मल्लको ८८ बर्षको उमेरमा पुस २ गते दुःखद निधन भएको छ । उहाँ नाट्य क्षेत्रको पहिलो पुस्ताको अन्तिम कडीजस्तै हुनुहुन्थ्यो । उहाँको अन्त्यसँगै नेपाली रंगमञ्चको इतिहासको एउटा पाटो सकिएको छ । बालकृष्ण समका पुस्ताको इतिहास जुन थियो, मल्लको निधनसँगै त्यो इतिहास सकियो भन्दा फरक पर्दैन ।



नेपाली रंगमञ्चको नाटक निर्देशन होस् वा रंगमञ्चको डिजाइन गर्ने कुरोमा होस् । उहाँको योगदान निकै उल्लेखनीय छ । उहाँ मलाई निकै माया गर्नुहुन्थ्यो । हामीले गुरुकुलबाट उहाँको ‘कान्छा हजुरको रंगमञ्च’ नाटकको पुस्तक पनि छापिदिएका थियौं ।



मलाई एउटा गुन छ



विसं २०३६ सालको अन्त्यतिर म एकेडेमीमा नाट्य तालिम लिन गएको थिएँ । त्यो समय हरिहर शर्माले नाटक अभिनय पढाउनु हुन्थ्यो भने प्रचण्ड मल्ल सरले साताको एक दिन रंगमञ्च विषयमा कक्षा लिनुहुन्थ्यो । त्यही समयदेखि मैले उहाँलाई चिन्ने र संगत गर्ने अवसर पाएँ । २०२६ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा नाट्य संगीत विभागको नाट्य संगीत प्राविधिकका रुपमा जागिर सुरु गर्नु भएको थियो उहाँले ।



पहिलेदेखि नै उहाँ एकदमै सरल, सहज र राम्रो ब्यवहार गर्ने मानिस हुनुहुन्थ्यो । उहाँबाट मैले रंगमञ्चसम्बन्धि धेरै कुरा सिक्ने अवसर पाएँ । उहाँको मलाई ठूलो गुन पनि छ । एक समय म दिल्लीमा पढ्न जाँदै थिए । दिल्लीमा निर्देशन र अभिनयमध्ये एक बिषयमा विशेषज्ञता हासिल गर्न पाइन्थ्यो । दिल्ली जाने बेलामा उहाँले मलाई भन्नुभयो, ‘भाई तपाईं अभिनय गर्नुहुन्छ । तर निर्देशन पढेर आउनुस्,’ उहाँको त्यो कुरो मैले माने । रंगमञ्चमा म अहिले जुन स्थानमा छु, त्यो स्थान बनाउन सक्नुको एउटा कारण उहाँको त्यो असल सल्लाह पनि हो ।



स्कुल, कलेजमा नाटक

प्रचण्ड सर नाटकको एकदमै राम्रो निर्देशक हुनुहुन्थ्यो । विडम्वना उहाँको निर्देशनमा नाटक गर्ने अवसर मैले कहिलै पाइन । एकेडमीमा मैले अभिनय गरेको केही नाटकमा उहाँको सेट डिजाइन मात्र थिए । उहाँले थुप्रै नाटक पनि लेख्नु भएको छ, धेरैजसो ऐतिहासिक छन् । उहाँले लेखेको नाटकको निर्देशनसमेत मैले गर्न पाइन ।

मैले उहाँले निर्देशन गरेको नाटक भने हेरेको छु । उहाँ मूल रुपमा ऐतिहासिक नाटकमा दख्खल राख्नुहुन्थ्यो । देशभक्ति, ऐतिहासिक र राम्रो चरित्र निर्माणमा उर्जा मिल्ने खालका नाटक उहाँको हुन्थ्यो । नाटकमा उहाँको आफ्नै शैली थियो । उहाँ आफूले गरेर सिकाउने र कलाकारलाई उपयुक्त ठाउँ दिने ब्यक्ति हुनुहुन्थ्यो । उहाँले स्कुल, कलेजमा समेत प्रशस्त नाटक गर्नु भएको छ, त्यो उहाँको अर्काे ठूलो योगदान हो । पहिले पहिले स्कुल, कलेजको बार्षिकोत्सवमा नाटक हुन्थे । त्यस्तो क्रियाकलाप गराउने वातावरण पनि उहाँले सुरुवात गर्नु भएको हो जस्तो मलाई लाग्छ ।

आकर्षक स्टेजको थालनी

पछिल्लो समय नेपाली रंगमञ्च धेरै ‘चेन्ज’ भएको छ । उहाँ पुरानो पुस्ताका मानिस हुनुहुन्थ्यो । त्यसैले उहाँको अनुसरण अहिलेको रंगमञ्चमा कति भएको छ, त्यो म भन्न सक्दिन । तर उहाँका विद्यार्थी रंगकर्ममा अहिले धेरै छन्, यति चाहिं ठोकुवा साथ भन्न सक्छु । उहाँ जुनै नाटक पनि सजिलै गराउन सक्ने क्षमता राख्नुहुन्थ्यो । नेपालमा रंगमञ्चको स्टेज आकर्षक बनाउने कामको थालनी उहाँले नै गर्नु भएको हो । त्यसका लागि उहाँले रुसबाट स्टेज निर्माण पढ्नु भएको थियो ।

म भन्दा धेरै सिनियर उहाँ गुरु, म विद्यार्थी थिए, तर उहाँको ब्यवहारले उहाँ अघिल्लो पुस्ता भन्ने महसुस हुँदैन थियो । आफूभन्दा सानो ब्यक्तिसँग पनि उहाँ साथीजस्तो ब्यवहार गर्नुहुन्थ्यो ।

अलि अगाडि एक कामका लागि म र निशा उहाँकै घरमा पुगेका थियौं । त्यो समय हामीले लामो गफ गरेका थियौँ । उहाँ नाटकको विषयमा गफ गर्ने अवस्थामा भने हुनुहुन्नथ्यो । नियमित औषधी खाइ राख्नुपर्ने हुँदा बाहिर धेरै हिँड्न सक्ने अवस्था थिएन । उहाँको कोठाभरी विभिन्न किताव थिए । मैले ‘तपाईंको मृत्युपछि यो किताव मेरो है’ भनेर जिस्काउथे । उहाँको संकलनमा रंगमञ्च र नाटकसम्बन्धि पुराना पुस्तक प्रसस्त छन् ।

पितामह गुमायौं

उहाँ राम्रो लेखक हो । कान्तिपुरको रंगमञ्चको इतिहासदेखि बालकृष्ण समको बारेमा पनि उहाँले किताब लेख्नु भएको छ । उहाँको मृत्युले नेपाली नाट्य क्षेत्रले ‘पितामह’ गुमाएको छ । उहाँले एकेडेमीमा जीवनभर काम गर्नुभयो । सुरुमा नाटकको निर्देशन, त्यसपछि रंगमञ्चको प्रवर्द्धक हुनुभयो । उहाँ संगीत नाट्य एकडेमीको संस्थापक उपकुलपति पनि हुनुभयो । यसमा सरकारले राम्रै जिम्मेवारी दियो जस्तो लाग्छ ।

उहाँ एकदमै इज्जत गर्नुपर्ने मानिस हुनुहुन्थ्यो । जतिले चिन्थे, जान्दथे, ती सबैका अनुसार उहाँको मृत्य पछि चर्चा हुन सकेको छैन । इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार (अभिनय), सर्वमान सम्मान, बालकृष्ण सम सम्मान, डबली पुरस्कारका साथमा विभिन्न पुरस्कार, सम्मान उनले पाएका छन् । यसरी आफ्नो समयमा धेरै मानसम्मान पाएको ब्यक्ति उहाँ । पछिल्लो पुस्ताले उहाँलाई कतिले चिन्छन् म भन्न सक्दिन । साँच्ची भन्दा उहाँको मृत्यु गुमनाम जस्तै भयो । हरिप्रसाद रिमालको मृत्युपनि यस्तै भएको थियो । सक्रिय समय सकिएपछि सायद मानिस अलिकति छाँयामा पर्दाे रहेछन् ।

वरिष्ठ नाट्यकर्मी सुनिल पोखरेलसँग रातोपाटीकर्मी कुबेर गिरीले गरेको कुराकानीमा आधारित ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।