बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

म ‘लास्ट बेञ्चरवाला’ हुँ तर आत्तिएको छैन : गगन थापा

‘दुवै महामन्त्री मिल्छौँ, सभापतिलाई सफल बनाउँछौँ’
बिहीबार, १५ पुस २०७८, ०७ : २३
बिहीबार, १५ पुस २०७८

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले महामन्त्रीको भूमिकामा खरो रूपमा उत्रिएर सभापतिलाई बल पुर्‍याउने बताएका छन् । पार्टी संरचनामा सभापति शेरबहादुर देउवाको वर्चश्व भए पनि महामन्त्रीका रूपमा काम गर्न चुनौती नहुने थापाको भनाइ छ ।

महामन्त्री विश्वप्रकाश शर्मा र आफूबीच पार्टीलाई विधानसम्मत सञ्चालन, आगामी स्थानीय निर्वाचन र सरकार सञ्चारका सन्दर्भमा छलफल भइरहेको थापाले बताए । १४ औँ महाधिवेशनपछि केन्द्रीय कार्यसमितिको पहिलो बैठकपछि रातोपाटीसँग कुराकानीमा थापाले सभापति देउवा र सभापतिका प्रत्याशी शेखर कोइरालाको अभिव्यक्तिले आफू उत्साहित भएको बताए ।

महामन्त्री भएपछि  कुनै पनि विषयमा राय आउन ढिला भए पनि अडान भने नबदलिने थापाले बताए । उनले रातोपाटीसँग भने, ‘अब मेरो राय कतिपय कुरामा हिजोको भन्दा ढिलो आउन सक्छ । तर, राय बदलिन्छ भन्ने होइन । म बदलिन्छु भन्ने होइन । आफू उभिएको ठाउँमा पार्टीलाई उभ्याउने कोसिस गर्छु ।’

महाधिवेशनपछिको काँग्रेस, महामन्त्री हुँदाको अनुभूति, वरीयता विवाद र देउवाको दोस्रो इनिङको सङ्केतलगायतका विषयमा महामन्त्री थापासँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ –

१४ औँ महाधिवेशनपछि केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा तपाईंमा खुसी देखिएको थिएन । महामन्त्री भएपछि पदाधिकारीको हैसियतले अग्रपङ्क्तिमा बस्दा केही असहज फिल गर्नुभएको हो ? सिनियर नेतालाई तल देख्दाको अनुभूति के रह्यो ?

म १२ औँ महाधिवेशनबाट नेपाली काँग्रेसको केन्द्रीय समितिमा केन्द्रीय सदस्यका रूपमा प्रवेश गरेँ । त्यो बेलामा पनि पार्टीको वरीयता क्रममा कनिस्ट सदस्य थिएँ । मेरो बसाइ पनि छेउको कुर्सीमा हुन्थ्यो । त्योबेला मैले पार्टी सभापति र पदाधिकारीलाई आफ्नो विषय सुनाउन प्रयास गर्थेँ । तर, कहिल्यै पनि पार्टीका पदाधिकारी वा निर्णयकर्ताहरुले महत्त्व दिएको महसुस नै गर्न पाइनँ ।  त्यसले मेरो मनमा पदाधिकारी बसेकै ठाउँमा जाने हो भन्ने लाग्यो र मैले एउटा अठोट गरेँ । त्यहीअनुसार १३ औँ महाधिवेशनमा महामन्त्रीको प्रत्याशी भएँ  ।

त्यसपछिको पाँच वर्ष फेरि मेरो अनुभव केन्द्रीय सदस्यकै रूपमा रह्यो । अनि १४ औँ महाधिवेशनमा महामन्त्री बनेपछि पदाधिकारीको पङ्क्तिमा बसेर अस्ति (पुस १० गते) केन्द्रीय समितिको पहिलो बैठकमा सहभागी हुने मौका पाएँ । मलाई एउटा खालको गौरवको अनुभूति पनि भइरहेको थियो ।

म त पार्टीको केन्द्रीय सदस्य भएर मात्र बसेको मान्छे । संसद् र पार्टीको वरीयता क्रममा पनि पछाडि थिएँ । सँगसँगै मेरो बानी पनि पछाडि बस्ने बनिसकेको थियो । म लास्ट बेञ्चरवाला हो । पछाडि बस्ने र आफ्ना कुरा स्पष्ट राख्ने गर्थेँ । म आफूले आफैँलाई लो प्रोफाइलमा राखेको थिएँ ।

नेपाली काँग्रेसजस्तो पार्टीको बैठकमा यत्रो नेताहरूको बीचमा पार्टीको महामन्त्रीको रूपमा प्रस्ताव पेस गर्न पाउने कुरा मेरा लागि एकदमै गौरवको अनुभूतिको कुरा थियो । म एकदम सन्तोष पनि मानिराखेको थिएँ । तर, कताकता मनमा एकखालको डर, अलिअलि अप्ठ्यारो थियो । अगाडि हेर्दै गर्दा नेता नै नेता हुँदा अलिअलि असहजजस्तो लागिरहेको थियो । म अलिअलि आत्तिएको पनि थिएँ ।

महामन्त्रीमा निर्वाचित भएपछि तपाईंमा देखिएको चमक केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा प्रकट नहुनुमा केही असन्तुष्टि पनि थियो कि ?

त्यस्तो केही थिएन । त्यो बेला मैले तल हेरेँ । यो केन्द्रीय समितिमा आइपुग्नैपर्ने थुप्रै साथीहरू बाहिर छुट्नुभएको छ । योपटक केन्द्रीय समितिमा आउन चाहनुहुन्थ्यो । आइपुग्न पनि पर्थ्यो, आइपुग्न पनि सक्नुहुन्थ्यो । उहाँहरूको रिक्तताले मलाई एक किसिमको खल्लो लागेको थियो । तर, तपाईंले भने जस्तो अलिअलि असहज लागेकै हो ।

म त पार्टीको केन्द्रीय सदस्य भएर मात्र बसेको मान्छे । संसद् र पार्टीको वरीयता क्रममा पनि पछाडि थिएँ । सँगसँगै मेरो बानी पनि पछाडि बस्ने बनिसकेको थियो । म लास्ट बेञ्चरवाला हो । पछाडि बस्ने र आफ्ना कुरा स्पष्ट राख्ने गर्थेँ । म आफूले आफैँलाई लो प्रोफाइलमा राखेको थिएँ ।

यही असहजताका बीच शीर्ष नेतालाई पनि समेटेर जाने दायित्व छ । कोही सभापतिका प्रत्याशी हुनुहुन्छ । कोही महाधिवेशनको मैदानमा नआएर बाहिरै छुट्नु भएको छ । अब उहाँहरूलाई कसरी समेटेर लिने कुरामा पार्टीभित्र के तयारी भइरहेको छ ?

यसमा मुख्य निर्णय लिने काम पार्टी सभापति हो । हामीले यसमा पार्टी सभापतिलाई मदत गर्ने हो । मैले यसमा तीनवटा कुरा ख्याल गर्नुपर्छ भनेको छु ।  एउटा पार्टीको विधानलाई अक्षरशः पालना गर्ने सन्दर्भमा यस पटक हामी चुक्नुहुन्न । हामी महामन्त्रीका रूपमा सभापतिलाई पूर्णरुपमा मदत गर्छौँ । हामीले गर्न चाहेको कुरा पनि पार्टी सभापतिले मान्नुपर्छ ।

विधानको अक्षरशः पालना गर्दा कतिपय ठाउँमा पार्टी शीर्ष नेता छुट्नुहुन्छ । विधानको परिपालना गर्दा विगतमा गर्दै आएको अभ्यास भन्दा फरक पनि हुन्छ । नेताहरूसँग बस्ने कुराकानी गर्ने अभ्यास छ । तर, यसमा कम्प्रोमाइज गर्नुहुन्न ।

दोस्रो, पार्टीको महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसक्नुभएका थुप्रै नेताहरू पार्टीको एउटा शक्ति हो । सभापतिले उहाँलाई  ढिलोचाँडो केन्द्रीय समितिभित्र ल्याइ नै हाल्नुहुन्छ । उहाँको अधिकारको कुरा हो । उहाँले मनोनीत गरेर ल्याउने कुरा गर्नु पनि भएको छ । मनोनीत गरेर ल्याइसकेपछि पार्टी सभापतिले उहाँसँग परामर्श गर्ने, तर विधानअनुसार काम गर्ने गर्नुपर्छ । परामर्श गर्ने नाममा विधानले राखेको शक्ति त्यहाँ लिएर जाँदा समस्या ल्याउँछ ।

तेस्रो कुरा, पार्टी सभापतिले पदभार ग्रहण गर्दै गर्दा म मलाई मत नहाल्ने मान्छेको पनि सभापति भएको कुरा फिल गराउँछु । कसैले पनि न्यायका लागि  अन्ततिर जानुपर्दैनभन्नुभएको छ । पार्टी सभापतिको निर्णयमा पनि त्यो देखिनुपर्छ  । त्यसमा हामीले पनि मद्दत गर्नुपर्छ ।

बिहानीले दिउँसोको सङ्केत गर्छ भनेजस्तै सभापति निर्वाचित भएको दुई सातामा भयो । योबीचको दुई हप्ताले त्यो सङ्केत गर्छ ? उहाँले जे बोल्नुभएको छ, त्यहीअनुसार अभ्यासमा जान खोज्नुभएको छ ?

उहाँको दोस्रो इनिङ्स भरखर मात्र प्रारम्भ हुँदैछ । केन्द्रीय समितिको पहिलो बैठक बस्यो । बैठकपछि केही वरीयताका इस्यु आएका छन् । पार्टीको पुरानो नेताहरूलाई मनोनयन गर्ने कुरा आएका छन् । त्यसप्रति पार्टी सभापतिको ध्यान गएको छ भन्ने म ठान्दछु । उहाँले यसलाई नजिकबाट हेर्नुभएको छ । पार्टीका साथीहरूको विचार पनि बुझिराख्नुभएको छ । उहाँले जुन कुरा भन्नुभएको छ, त्यो कुरालाई पुष्टि गर्ने गरी निर्णय गर्नुहुन्छ भन्ने मेरो अपेक्षा छ । त्यही गर्ने कुरामा उहाँलाई मद्दत गर्ने हो । अहिले नै कुनै पनि टिप्पणी गर्ने कुरा एकदमै हतारो हुन सक्छ ।

वरीयता जस्ता कुरामा पार्टी सभापतिले विगतको परम्परा र अभ्यासलाई हेरेर एकदम उदार हुनुपर्छ । पार्टीमा आफूसँग प्रतिस्पर्धा गरेका नेताहरूलाई पनि ठाउँ दिएर जाने कुराले उहाँलाई फाइदा हुन्छ । सिंगो पार्टीलाई फाइदा हुन्छ ।

तपाईंले वरीयताको इस्यु आएको कुरा बताउनुभयो । शेखर कोइरालालाई २० औँ नम्बरको वरीयतामा राखिएको कुरालाई कसरी हेर्नुभएको छ ?

सभापति गिरिजाप्रसाद कोइराला हुँदा १० औँ महाधिवेशनमा धेरै सिनियर नेता हुनुहुन्थ्यो । त्यतिबेला पनि शेरबहादुर देउवालाई तेस्रोमा राख्नुहुन्छ कि हुँदैन भन्ने कुरामा गिरिजाप्रसाद कोइरालासँग रहेका नेताहरूले प्रश्न उठाएका थिए । हामी उहाँभन्दा सिनियर हो, हामी मान्दैनौँ भन्ने कुरा उठेको थियो । तर, गिरिजाप्रसाद कोइरालाले मसँग प्रतिस्पर्धा गरेको मान्छेलाई तेस्रो वरीयतामै राखेर जान्छु भन्नुभयो । तर, पछि त्यो निर्णय गरेर जाने कुरा ठीक पनि भएन । त्यसपछि हाम्रो पार्टी फुट्यो ।

आखिर वरीयता क्रमले मात्र नहुँदो रहेछ । तर, त्यसपछि १२ औँ महाधिवेशनमा देउवा पराजित हुँदा पनि सुशील कोइरालाले दोस्रो वरीयता दिनुभयो । १३ औँ महाधिवेशनमा शेरबहादुर देउवासँग रामचन्द्र पौडेल पराजित हुँदा पनि त्यही अभ्यास भएको थियो ।

सभापतिमा दोस्रो मत प्राप्त गर्ने उम्मेदवार स्वतः केन्द्रीय सदस्य हुने पार्टी विधानमा व्यवस्था भए पनि वरीयताबारे विधानमा कुनै उल्लेख छैन । हाम्रो विधानले दोस्रो वरीयतामा राख पनि भन्दैन, नराख पनि भन्दैन । वरीयता कसरी राख्ने भन्ने काँग्रेसमा परम्परा जस्तो बनेको छ । यो मूलतः पार्टी सभापतिको निर्णय हो । वरीयता जस्ता कुरामा पार्टी सभापतिले विगतको परम्परा र अभ्यासलाई हेरेर एकदम उदार हुनुपर्छ । पार्टीमा आफूसँग प्रतिस्पर्धा गरेका नेताहरूलाई पनि ठाउँ दिएर जाने कुराले उहाँलाई फाइदा हुन्छ । सिंगो पार्टीलाई फाइदा हुन्छ ।

काँग्रेसलाई स्थायी भागबण्डावाला गुटरिहत बनाउन उहाँ लाग्नुपर्छ । हाम्रो मद्दत रहन्छ । पार्टीमा गुट रहन्छ, तर भागबण्डावाला गुटरहित पार्टी बनाउन निर्णयमा न्याय देखिनुपर्छ, महसुस हुनुपर्छ । वरीयताका विषयमा बाहिर जे आएको छ, पार्टी सभापतिले विगतको अभ्यासलाई निरन्तरता दिएर जानुभयो भने नै उपयुक्त हुन्छ । यस्तै, पार्टी सभापतिमा प्रतिस्पर्धा गरेका नेताहरूलाई तत्कालीन पार्टीको केन्द्रीय समितिभित्र ल्याउनुपर्छ । विधानलाई सङ्गतिपूर्ण बनाएर उहाँहरूसँग पार्टीका महत्त्वपूर्ण निर्णयमा परामर्श लिने र सल्लाह गर्ने परम्पराका रूपमा जानुपर्छ ।

पार्टी सभापतिलाई एउटा अभूतपूर्व मौका आएको छ । जुन समूहबाट उहाँ सभापति हुनुभयो, त्यो समूहको केन्द्रीय समिति, अरू संरचनामा वर्चश्व देखिएको छ । त्यसबाट उहाँले अभूतपूर्व शक्ति प्राप्त गर्ने अनुकूलता छ । 

१० औँ महाधिवेशनपछि तेस्रो वरीयतामा राखिएका देउवा प्रधानमन्त्री भइसकेका थिए । १२ औँ र १३ औँ महाधिवेशनमा सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेल समकालीन थिए । शेखर कोइरालाको हकमा त्यो आधार नभएर २० औँ नम्बरमा राखिएको भन्ने पनि छ नि ?

यो कुरा पार्टी सभापतिकै विवेकमा छोडिदिनुपर्छ । यसमा मैले धेरै टिप्पणी गर्ने कुरा पनि असुहाउँदो हुन्छ । उहाँको निर्णयलाई मान्ने हो । तर उहाँलाई सही निर्णय गर्नका लागि सही समयमा सही सुझाव पनि दिने हो, जुन कुरा मैले दिएको पनि छु ।

पार्टी सभापतिलाई एउटा अभूतपूर्व मौका आएको छ । जुन समूहबाट उहाँ सभापति हुनुभयो, त्यो समूहको केन्द्रीय समिति, अरू संरचनामा वर्चश्व देखिएको छ । त्यसबाट उहाँले अभूतपूर्व शक्ति प्राप्त गर्ने अनुकूलता छ । 

अर्कातर्फ उहाँसँग प्रतिस्पर्धा गरेर ४० प्रतिशत मत ल्याएको उम्मेदवारले सार्वजनिकरुपमा ‘म भागबण्डावाला राजनीतिमा लाग्दिनँ’ भनिरहेको छ ।  किनभने, सार्वजनिकरुपमा बोलेको कुरामा मान्छे जवाफदेही हुनुपर्छ ।  

नेपाली काँग्रेसमा गएको १५–२० वर्षयता भागबण्डावाला राजनीति एउटा दीर्घरोग जस्तो भएर बसेको छ । यसले पार्टीलाई गाँजेर बिरामी बनाएको छ । अहिले यसबाट मुक्त हुने अभूतपूर्व अवसर आएको छ । यतिखेर सभापतिको पदाधिकारी भएका हिसाबले म उहाँको सहयोगी पनि हुँ । उहाँलाई मैले भनिरहेको छु, भन्न चाहेको छु, यो मौकालाई छोप्नुपर्छ । यसो गरिए सिङ्गो पार्टीलाई मदत पुग्छ । यसमा सबैभन्दा बढी सभापतिको स्वार्थ छ ।

दुई–चार महिनापछि काँग्रेसमा सभापतिभन्दा तल भयानक प्रतिस्पर्धा छ । हाम्रो बीचमा अर्को महाधिवेशनको प्रतिस्पर्धा छ । सभापतिसँग न प्रतिस्पर्धा न केही । सभापति हामीभन्दा धेरै माथि हुनुहुन्छ भनेर देखिनुपर्छ । पार्टी सभापति सबैको सभापति हो । पार्टी सभापतिको तहबाट हेर्दा हिजो कसले कसलाई मत हाल्यो भन्ने कुरामा निर्णयमा देखिनुहुँदैन ।

पार्टी सभापतिले सबैलाई समान व्यवहार गर्नुभएको छ र बाँकी रहेका मान्छेहरू प्रतिस्पर्धा गरिरहेका छन् भन्ने अवस्था सिर्जना हुनुपर्छ । काँग्रेसका लागि त्यो चाहिएको छ । यो बेलामा सभापतिको यतातिर दृष्टि पुगिदेओस् भन्ने हाम्रो चाहना हो ।

हामी दुईजना महामन्त्री सल्लाह गरिरहेका छौँ । हामी तीनवटा कुरामा बढी लागौँ भन्ने छ । एउटापार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्ने सन्दर्भमा हामी सचेत रहनुपर्छ । यहाँभित्र हामीले पार्टी सभापतिलाई प्रभावित पनि गर्नुपर्छ, सहजीकरण पनि गर्नुपर्छ ।

पार्टी संरचनामा सभापति शेरबहादुर देउवाको वर्चश्वले आशा गरिएका नेता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पङ्गु हुने धेरैको अनुमान छ । यो चुनौतीका बीच आफूलाई कसरी खरो उतार्ने प्रयत्न गर्नुहुन्छ ?

महामन्त्रीको काम नै सभापतिलाई बलियो बनाउने हो । त्यसैले सभापति बलियो हुँदै गर्दा हामीले असहज ठान्दै ठान्दैनौँ । महामन्त्रीलाई विधानले निश्चित भूमिका दिएको छ । त्यो भूमिका महामन्त्री बाहेक कसैले गर्दैन र गर्नै सक्दैन । विधानले दिएको त्यो भूमिकालाई हामीले इमानदारितापूर्वक कार्यान्वयन गर्ने हो । त्यो कार्यान्वयन गर्ने कुरामा हामी महामन्त्री खरो रूपमा उत्रिएर सभापतिलाई बल पुर्‍याउँछौँ ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा कसरी अगाडि बढ्दै छन् ?

हामी दुईजना महामन्त्री सल्लाह गरिरहेका छौँ । हामी तीनवटा कुरामा बढी लागौँ भन्ने छ । एउटापार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्ने सन्दर्भमा हामी सचेत रहनुपर्छ । यहाँभित्र हामीले पार्टी सभापतिलाई प्रभावित पनि गर्नुपर्छ, सहजीकरण पनि गर्नुपर्छ ।

केही समयपछि स्थानीय निर्वाचन आउँदैछ । पार्टीको दैनिक काम गर्दा गर्दै हामी स्थानीय निर्वाचनमा आइपुग्छौँ । सिङ्गो पार्टी पङ्क्तिलाई स्थानीय निर्वाचनका लागि तयार गर्न सबै काम हामी गरौँ । पार्टी सभापतिलाई त्यसमा सँगै जोड्दै लिएर जाऊ भन्ने हाम्रो दोस्रो कुरा हो ।

तेस्रो कुरा, अहिले पार्टी सरकारमा छ । सरकारमा नभएको भए प्रति पक्षीय भूमिका कसरी बलियो बनाउने भन्ने कुरा पार्टीको महामन्त्रीका रूपमा हामीले हेर्नुपर्थ्यो । अहिले हामी सरकारमा छौँ । सरकारको परफर्मेन्ससँग पार्टी जोडिन्छ । हामी सरकारसँग अलग रहनुहुँदैन । सरकार मन्त्रीहरूको जिम्माको हो । हामीले पार्टीको काम गर्नुपर्छ भनेर हुँदैन । सरकारको कामले पार्टीको कामलाई पनि प्रभावित गर्छ । सरकारले सही काम गरोस्, गर्नुपर्ने काम गरोस्, नगर्नु पर्ने काम नगरोस् भन्ने कुरामा पार्टीका तर्फबाट सरकारलाई मद्दत गर्ने र झक्झकाउने काम हामीले गर्नुपर्छ । यो पनि सँगसँगै गर्दै जाऊँ भन्ने छ । यसरी गयौँ भने आजका दिनमा महामन्त्रीका रूपमा गर्नुपर्ने हाम्रो काम हुन्छ भनेर छलफल गरिरहेका छौँ ।

तपाईंहरु महामन्त्रीमा आइसकेपछि काँग्रेसभित्र र बाहिर एकखालको उत्साह छ । तपाईंहरूसँग अपेक्षा पनि बढी नै छ । अब त्यहीअनुसारको डेलिभरी पनि दिनुपर्छ होला । यसमा कत्तिको च्यालेन्ज ठान्नु भएको छ ?

एकदमै ठूलो च्यालेन्ज छ । काँग्रेस अधिवेशन, त्यसमा पनि महामन्त्रीको निर्वाचनको परिणामलाई विशेषरुपमा लिएको पाएको छु । यसबाट म अत्तालिएको त भन्दिनँ । तर, अहिले आएका प्रतिक्रियाले अझै बढी जिम्मेवारीको भारी बोक्न तयार हुनुपर्छ भन्नेतर्फ सचेत बनाएको छ । एउटा पार्टी पंक्तिभित्र उत्साह आएको छ । हाम्रो पार्टीमा ९१० लाख पार्टी पङ्क्ति छ । हामीलाई भोट पनि त्यसरी नै आयो । उत्साह पनि त्यसरी नै छ । अब हामीले कुनै कुरामा यो भएन त्यो भएन भन्न पाउने अवस्था छैन । 

मलाई महत्त्वपूर्ण लागेको के हो भने पार्टी सदस्यता नलिएको, पार्टी पङ्क्तिभन्दा बाहिर रहेको मान्छे, जसलाई काँग्रेस पार्टीसँग कुनै सम्बन्ध नै छैन, तर, तिनले काँग्रेस महामन्त्रीको परिणामपछि अबचाहिँ केही हुन्छ भन्ने सोचेका छन् । महामन्त्रीको भूमिका निर्वाह गर्दा यिनले काँग्रेसलाई ठिक ठाउँमा उभ्याउँछन् र काँग्रेसलाई ठिक ठाउँमा उभ्याउँदा राष्ट्रिय राजनीतिमा सकारात्मक प्रभाव पर्छ भन्ने अपेक्षा गरेका छन् । त्यो सकारात्मक प्रभावले म काँग्रेसको सदस्य नभए पनि मलाई फाइदा हुने हो  भनेर नै यस्तो सोचेका हुन् । त्यसैले चुनौती एकदमै धेरै छ । त्यसले मलाई उत्साही पनि बनाएको छ । अब लर्तरो पाराले अहिले जे गरिरहेको छु । त्यत्ति गरेर मात्र पुग्दैन । अझ बढी मिहिनेत गर्नुपर्छ, अझ बढी सचेत हुनुपर्छ । अझै बढी समर्पित भएर लाग्नुपर्छ भन्ने मैले महसुस गरेको छु ।

१३ औँ महाधिवेशनलगत्तै तपाईंले १४ औँ महाधिवेशनबाट काँग्रेसमा डिपार्चर चेञ्ज हुन्छ भन्नुभएको थियो, त्यो भयो त ?

यो महाधिवेशनमा म एउटा समूहबाटै महामन्त्री लडेको हुँ । मैले सभापतिमा मत दिएको व्यक्ति पार्टी सभापतिमा परास्त हुनुभयो । पार्टीको सभापतिले महामन्त्रीमा मत हालेको व्यक्ति पनि महामन्त्रीमा परास्त हुनुभयो । हामी कसैले पनि चाहेको जस्तो भएको छैन । सभापतिले पनि त मलाई महामन्त्रीमा मत हाल्नुभएको होइन । मैले पनि सभापतिलाई मत हालेको होइन । तर, महाधिवेशनको हलले एउटा निर्णय गरिएको छ ।

पुस १० गते हामीले पदभार ग्रहण गरेपछि महाधिवेशनको कुरालाई छोडेर आआफ्नो दायित्व निर्वाह गर्ने भनेर एउटा सामूहिक सङ्कल्पका साथ अगाडि बढेको अवस्था छ । त्यसैले महाधिवेशनले रूपान्तरणको यात्रा थालनी गर्छ भनेको जे कुरा सोचेको थिएँ ।  मैले सोचेका सबै कुरा भएनन् । अर्कोले सोचे जस्तो पनि भएन । तर, जे जति कुरा भएको छ, यसबाट अगाडि बढ्नका लागि आधारचाहिँ आएको छ । महाधिवेशनपछि सभापतिजीले सबैको सभापति बन्छु भन्ने कुरा सोच्नुभयो । त्यसबाट म उत्साहित छु । उहाँसँग प्रतिस्पर्धा गरेको नेताले म भागबण्डावाला राजनीतिमा लाग्दिनँभनेको कुराले पनि उत्साहित बनाएको छ ।

अहिलेको प्रधानमन्त्रीले गर्ने डेलिभरीमा पनि पहिलेको भन्दा गुणात्मकरुपले फरक आयो । काँग्रेसमा नयाँ केटाहरू आए, यिनीहरूको कुरा प्रधानमन्त्रीले सुन्नुभयो । सरकार चलाउने तरिका पनि बदलियो । पार्टीको काम गर्ने तरिका पनि बदलियो भन्ने सन्देश प्रवाहित गर्दै जान सक्यौँ भने हामीलाई कुनै अप्ठ्यारो हुँदैन । अब हामी कुनै कुरामा रोकिनेभन्दा पनि यो अवधिभित्र धेरै कुरा ठिक बनाउनुपर्छ ।

अर्को कुरा, पार्टीभन्दा बाहिर रहेको थुप्रै युवाहरूलाई पार्टीसँग कसरी जोड्नेहोला भनेर सोचिराख्थ्यौँ । अहिले उनीहरू सबै काँग्रेसमा जोडिन तयार भएर बसेको  अवस्था छ । हामीले अलिकति ठिक काम गर्‍यौँ भने पाँच लाख मानिस अहिले नै थप्न सक्छौँ । यो कुराले पनि मलाई उत्साही बनाएको छ ।

१३ औँ महाधिवेशनपछि तपाईं निरन्तर नेतृत्व परिवर्तनको पक्षमा हुनुहुन्थ्यो । नेतृत्व परिवर्तनपछि मात्र काँग्रेसमा अन्य मान्छे जोड्न सकिन्छ भन्ने तपाईंको दलिल थियो । तर, १४ औँ महाधिवेशनले मूल नेतृत्व परिवर्तन गर्न सकेन । शेरबहादुर देउवा नै दोहोरिएको अवस्था छ । काँग्रेसको आगामी यात्रा कस्तो रहला ?

हामीले यसमा अतिरिक्त मिहिनेत गर्नुपर्छ । आम चुनाव हुन बाँकी यो एक वर्षको अवधिमा हामीले पार्टी कसरी सञ्चालन गर्छौँ ? खासगरी देश कसरी सञ्चालन गर्छौँ ? हामी शासन कसरी गर्छौँ र डेलिभरी कसरी गर्छौँ भन्ने कुरा हाम्रा लागि महत्त्वपूर्ण हुन्छ । किनकि हामी अर्को निर्वाचनमा जाँदै गर्दा कसैलाई मन परे पनि नपरे पनि पार्टीभित्रको शक्ति संरचनामा सभापति अभूतपूर्वरुपमा बलियो आउनुभएको छ । काँग्रेसले चुनाव जित्यो भने पनि प्रधानमन्त्री को बन्ला ? स्वभाविकरुपमा हेर्दै गर्दा त पार्टी सभापति नै देखिनुहुन्छ । उहाँ प्रधानमन्त्री हुने कुरा कुनै नौलो कुरा भएन । उहाँ अहिले पनि प्रधानमन्त्री हुनुहुन्छ । त्यसै कारणले यो एक वर्षको अवधि (पुस देखि मङ्सिर) मा हामीले गर्ने डेलिभरी र हामी नचुक्ने कुराले यिनीहरूले गर्न सक्छन् है भन्ने पार्न सक्नुपर्छ ।

अहिलेको प्रधानमन्त्रीले गर्ने डेलिभरीमा पनि पहिलेको भन्दा गुणात्मकरुपले फरक आयो । काँग्रेसमा नयाँ केटाहरू आए, यिनीहरूको कुरा प्रधानमन्त्रीले सुन्नुभयो । सरकार चलाउने तरिका पनि बदलियो । पार्टीको काम गर्ने तरिका पनि बदलियो भन्ने सन्देश प्रवाहित गर्दै जान सक्यौँ भने हामीलाई कुनै अप्ठ्यारो हुँदैन । अब हामी कुनै कुरामा रोकिनेभन्दा पनि यो अवधिभित्र धेरै कुरा ठिक बनाउनुपर्छ ।

१४ औँ महाधिवेशनबाट शेरबहादुर देउवालाई ज्योतिषीले भने झैँ ७ पटक प्रधानमन्त्री बन्ने परिस्थिति बन्यो है ? उहाँको विकल्पमा काँग्रेसले कसैलाई अगाडि सार्ने अवस्था देख्नुहुन्न ? त्यसका लागि तपाई आफैँ पनि जमर्को गर्न सक्नुहुन्न र ?

उपयुक्त समयमा विभिन्न विकल्पबारे छलफल पनि गरौँला । पार्टीभित्र छलफल हुन्छ । मैले स्वाभाविक कुरा भनिरहेको छु । उहाँ पार्टी सभापति हुनुहुन्छ । हामी चुनावमा जान्छौँ । संसदीय व्यवस्थामा पार्टीको नेतृत्वमा चुनावमा जाँदै गर्दा सामान्यतः पार्टीको नेतृत्व नै सरकार चलाउने ठाउँमा आइपुग्छ ।

अब हामी त त्यो कुराका लागि तयार हुनुपर्‍यो । सभापति उहाँ नै हो । व्यक्ति उहाँ नै हो । नेता उहाँ नै हो । तर, प्रवृत्ति बदलिएको छ । काम गर्ने तरिका बदलिएको छ । उहाँसँग भएको पहिलेको टीम र अहिलेको टीम फरक हो । पार्टीभित्र उत्साहको कुरामात्र होइन, क्षमताको कुरा पनि हो । नयाँ साथीहरू आएका छन् । नयाँ उत्साह बोकेर आएका छन् । नयाँ योग्यता बोकेर आएका छन् । उनीहरूको डेलिभरी गर्ने तरिकै बदलिएको छ भन्ने कुरा बनाउनुपर्छ । म त यसरी पनि सोच्दै जाऊँ, यसरी पनि काम गर्दै जाऊँ भन्नेमा छु । यसरी जाँदा हामी जुनसुकै परिस्थितिका लागि तयार हुन्छौँ ।

तर, हामीले केही कुरा पनि बदलेनौँ भने जनतासँग के भनेर अफर गर्ने ? हामीसँग नेतृत्व पनि पहिलेकै छ, काम गर्ने तरिका पनि जस्ताको त्यस्तै छ, डेलिभरी पनि पहिला जस्तो गर्थ्यो, अहिले पनि त्यस्तै छ भने हामीसँग अफर गर्ने कुरा केही हुँदैन । हामीलाई मौका देऊ भन्दा किन भन्ने प्रश्नको उत्तर दिन सक्दैनौँ । त्यसैले यो एक वर्षको अवधिलाई महत्त्वपूर्ण भनिरहेको छु ।

शेरबहादुर देउवाले सांगठनिक शक्ति पूर्णरुपमा आर्जन गरेको अवस्था छ । १३ औँ महाधिवेशनका प्रतिस्पर्धी रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाको सद्भाव पनि उहाँलाई नै देखियो । सभापतिमा तीनजना प्रत्यासी पनि उहाँकै पक्षमा उभिए । अब उहाँले सांगठनिक शक्ति र व्यक्तित्व निर्माणका लागि के–के गर्नुपर्छ जस्तो लाग्छ ?

उहाँको सांगठनिक शक्ति अबका निर्णयहरूमा सबैले जितेको अनुभूति गर्ने कुरा हुनुपर्छ । त्यो भएन भने बिस्तारै कतिपय कुराहरू प्राविधिक लाग्न थाल्छन् । अर्ग्यानिक बनाउनुपर्‍यो । भोलि आम निर्वाचनमा टिकट लगायतका कुरामा गुटबन्दी नहोस् । सभापति त्योभन्दा माथि भएको अवस्था मान्छेलाई लाग्न थालोस् । त्यसले आफैँमा एउटा ताकत दिन्छ ।

अर्को, उहाँले सरकारको नेतृत्वमा रहेर अहिले गर्ने डेलिभरी मुख्य कुरा छ । अहिले जनतासँग जोडिएका सयौँ विषय छन् । कोरोनाको खोप, मल अभाव, शैक्षिक संस्था बन्द, माइतीघरमा उभिएर न्याय मागिरहेका मानिसहरूको विषय सरकारसँग जोडिएका विषय छन् । यो ठूलो कुरा होइन, दैनिक मान्छेले देखिरहेको कुरा हो । अहिले सरकारले यी सबै कुराको हल हामी गर्न सक्छौँ, यो नेतृत्वले गर्न सक्छ भनेर प्रमाणित गर्नुपर्ने छ ।

अर्को कुरा, अब आउने निर्वाचनबाट पाँच वर्षका लागि मत माग्न जाने काँग्रेसले हिजो के गरेर आयौँ भनेर होइन, पाँच वर्ष के गर्ने भन्ने कुराको योजना राखेर जानुपर्छ । त्यो पनि घोषणापत्रमा लेखेजस्तो योजना होइन । आजको हाम्रो अवस्था, स्रोत साधन, आफ्नो आवश्यकता सबै कुरालाई हेरेर डेलिभर गर्न सक्ने योजना दिन सक्नुपर्छ ।

यो एक वर्ष एकातिर डेलिभेरी गर्नैपर्‍यो । अर्कातर्फ, अर्को पाँच वर्षको तयारी गर्नुपर्‍यो । हामी पाँच वर्षको पूर्वतयारी र एक वर्ष डेलिभेरी गर्नुपर्ने ठाउँमा छौँ । अर्थतन्त्र, स्वास्थ्य तथा गैरस्वास्थ्यको क्षेत्रको सुधारका लागि सरकारले मौका पाएको छ । त्यसमा खरो उत्रिन सक्नुपर्छ । अब हामी महामन्त्रीले त्यसलाई संगठित गर्ने, नेतृत्वको छविलाई उज्यालो बनाइदिने काम गर्छौँ । त्यसका लागि हामीलाई ठोस कुरा चाहियो ।

आगामी निर्वाचनका काँग्रेसले उठाउने योजनाका विषयमा महामन्त्रीका रूपमा तपाईंले कसरी गृहकार्य गरिराख्नुभएको छ ?

करिब एक वर्षदेखि नेपाली काँग्रेसमै आफ्नो जीवन बिताउनुभएका केही सिनियर र केही युवा प्रोफेसरहरूसँग मिलेर काँग्रेसले पाँच वर्षमा के गर्ने भनेर तयारी थालेको पुस ५ गते एक वर्ष भयो । यो काम हाम्रो निरन्तर छ । त्यतिबेला स्वयंसेवीका रूपमा नेपाली काँग्रेसलाई मद्दत गर्ने भनेर काम गरेका थियौँ । अब यही कामलाई पार्टीको सम्पत्ति बनाउने विषयमा पार्टी सभापति र अन्य साथीहरूसँग कुरा गर्छु ।

हामीले एक मत नभएका विषयमा पनि बनाउँछौँ । हामीभित्र भएको एक मतलाई जनमत बनाउँछौँ ।

राष्ट्रिय राजनीति यतिबेला गिजोलिएको छ । अदालतदेखि संसद्सम्म सहज अवस्थामा चल्न सकेको छैन । यी विषयलाई सत्तारुढ काँग्रेसले कसरी समाधान गर्छ ?

अब एकदुई दिनपछि पार्टीका पदाधिकारी हामी बसेर सरकार र राष्ट्रिय राजनीतिमा देखिएका थुप्रै मुद्दामाथि छलफल गरेर साझा धारणा बनाउँछौँ । सरकारको जिम्मेवारीका हिसाबले प्रधानमन्त्रीमा मात्र होइन, आजका दिनमा काँग्रेस निर्णायक शक्ति हो भन्ने देखाउनु छ । हामीले दिशा दिने हो ।

हामीले ०६० सालको जस्तो काँग्रेस भएर सोच्नुपर्छ । त्योबेलामा हामी सरकारमा थिएनौँ, तर निर्णायक थियौँ । देशलाई संविधानसभा चुनावमा लाने कि नलाने ? लाने सोच्यौँ, लाग्यौँ । शान्ति सम्झौता गर्ने कि नगर्ने ? गर्ने भन्ने सोच्यांै गर्‍यौँ । हामीले जे सोच्थ्यौँ, देशलाई त्यो बाटोमा डोर्याउँथ्यौं । हामीले के सोच्ने हो, हामीसँग त्यो आत्मा विश्वास हुनुपर्‍यो । त्यसका लागि पार्टी सभापतिलाई सिंगो पार्टीको बल भयो भने आत्मविश्वास हुन्छ । पार्टी सभापतिको ताकत भनेको पार्टी हो । चाहे अदालतको विषय होस्, चाहे एमसीसी होस्, चाहे अरू विषय हुन् । यी विषयमा हाम्रोबीचमा छलफल गरौँ, हामी एउटा धारणा बनाऔँ । पार्टी नेतृत्वलाई सिंगो पार्टीको ताकत दिऔँ ।

राष्ट्रिय राजनीतिमा देखिएका समस्याका विषयमा काँग्रेसभित्र दुईमत छैन भनेर बुझ्ने हो ?

हामीले एक मत नभएका विषयमा पनि बनाउँछौँ । हामीभित्र भएको एक मतलाई जनमत बनाउँछौँ । ०६० सालमा पनि पार्टीभित्र फरकफरक धारणा रहन्थे । तर, पार्टीमा छलफल गर्दै गएपछि नेतृत्वले यो हो निर्णय भनेर पार्टीको मत बनाउँथ्यो । त्यो पार्टीको मतलाई सिंगो पार्टी पङ्क्तिले देशभरि जनमत बनाउँथ्यो । त्यो नै जनमत बन्थ्यो । पछिल्लो समय काँग्रेसमा यो रोकिएको जस्तो छ । हामी हाम्रो मतमै अलमलमा भएजस्तो हुन्छ । अब हामीले देखिने, बुझिने, बोलिने काँग्रेस बनाउनु छ । कहिलेकाहीँ केही विषय अप्रिय होला । तर, हामीले एक मत बनाऔँ । त्यो बनाएको मतलाई जनमत बनाऔँ ।

हिजोका दिनमा तपाईंले सडकमा राख्ने मत पार्टीको मत बन्छ कि बन्दैन  ? काँग्रेसको महामन्त्रीका रूपमा त्यो मत अब सानेपामा जाहेर गर्नुहुन्छ ?

मेरा व्यक्तिगत अनुभवका आधारमा नेपालको राष्ट्रिय राजनीतिमा यस्ता कैयौँ विषय छन्, जुन विषय सडकमा सबैभन्दा पहिला उठाउनेमध्ये म परेँ । त्यही विषयलाई उठाएँ । पार्टीभित्र ठूलो आलोचना पनि भयो । तर, केही समय पछाडि पार्टी त्यही लाइनमा गयो । चाहे पहिलो संविधान सभाको चुनाव होस्, चाहे संसद् पुनर्स्थापनसम्म किन नहोस् । मैले कुनै पनि विषय आवेगमा आएर उठाएको होइन । पार्टी त्यसमा जानुपर्छ, किन जानुपर्छ भन्ने तथ्य र मेरो आत्मविश्वासका आधारमा उठाएका कुरा थिए । त्यसैले फरक के कुरामा हुन्छ भने हिजो स्वतन्त्र ढङ्गले सडकमा उठाउन सक्थेँ । मलाई अलि सजिलो थियो । अब मलाई लागेको कुरा पहिला पार्टी पङ्क्तिलाई कन्भिन्स गर्नुपर्छ । अब मेरो राय कतिपय कुरामा हिजोको भन्दा ढिलो आउन सक्छ । तर, राय बदलिन्छ भन्ने होइन । म बदलिन्छु भन्ने होइन ।

म आफू उभिएको ठाउँमा पार्टीलाई उभ्याउने कोसिस गर्छु । तर, मलाई समय लाग्न सक्छ । हिजो यस्तो हुनुपर्छ भनेर म सार्वजनिकरुपमा पहिला बोल्थेँ । त्यो भनेको पार्टीभित्र मेरो मत बनाउने तरिका हो । बाहिर बोल्थेँ, सञ्चार माध्यममा आउँथे, पार्टीको बैठकमा कुरा राख्थेँ । मेरो कुरा पहिला मानिन्नथ्यो । एकदुई महिना समय लाग्थ्यो । म बोलिराख्थेँ, लागि राख्थेँ, बिस्तारै गएर पार्टीको मत बन्थ्यो ।

अब मेरो काम गर्ने तरिका फरक हुने भयो । म यसरी बोल्न नपाउने भएँ । मलाई लागेको कुरामा म उभिन्छु । पार्टी सभापतिलाई भन्ने भएँ । पार्टीका साथीहरूलाई भन्ने भएँ । म पार्टीको मत बनाउने कुरामा लाग्ने भएँ । तर, कसरी लाग्ने भएँ भने पहिला बाहिर माहौल बनाएर भित्र ल्याउने होइन कि भित्र माहौल बनाएर बाहिर लाने ठाउँमा पुगेँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप