शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सत्तारुढ गठबन्धनभित्र राष्ट्रिय सभाका १९ सिटमा यसरी हुनेछ भागबण्डा

राष्ट्रियसभा चुनावबारे छलफल गर्न बैठक बोलाउने काँग्रेसको तयारी
शुक्रबार, १६ पुस २०७८, ०६ : ५१
शुक्रबार, १६ पुस २०७८

आगामी राष्ट्रिय सभाको निर्वाचनका लागि सत्तारुढ नेपाली काँग्रेस आन्तरिक छलफलमा छ । काँग्रेसले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको आन्तरिक रूपमा गृहकार्य गरिरहेको छ । यही पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेकाले उम्मेदवार छान्न र सत्तारुढ गठबन्धनमा भागबण्डा मिलाउन काँग्रेस तयारीमा जुटेको हो ।

महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय सभाको उम्मेदवार विधिसम्मत रूपमा चयन गरिने बताए । रातोपाटीसँग शर्माले भने, ‘राष्ट्रिय सभाको उम्मेदवार छान्ने विषयलाई केन्द्रीय कार्यसमिति हुँदै संसदीय बोर्डबाट टुङ्ग्याउनु पर्ने हुन्छ । हामी चाडै केन्द्रीय कार्यसमितिको बैठक बसेर विधिवत प्रक्रियाबाटै जान्छौँ ।’

यही पुस १७–१८ गतेतिर केन्द्रीय कार्यसमितिको बैठक बस्ने बुझिएको छ । बैठकले प्रचार प्रसार समिति गठन गर्ने छ । वैधानिक व्यवस्था अनुसार काँग्रेसले राष्ट्रिय सभाका उम्मेदवार चयन गर्छ । त्यसका लागि केन्द्रीय कार्यसमितिले संसदीय बोर्ड अधिकार सुम्पिने छ । तर काँग्रेसमा संसदीय बोर्ड गठन भएको छैन । १४ औँ महाधिवेशनबाट १३ जना पदाधिकारी निर्वाचित भएर आएका छन् । उनीहरू संसदीय दलको पदेन सदस्य रहन्छन् । महामन्त्री शर्माका अनुसार संसदीय बोर्डको दुई वटा स्वरूप हुन्छ ।

‘एउटा पदेन हुन्छ । एउटा मनोनीत हुन्छ । पदेन १३ जना र मनोनीत ११ जना हुने व्यवस्था छ । सभापतिले केन्द्रीय कार्यसमितिका सदस्यमध्येबाटै ११ जना मनोनीत गर्न पाउनुहुन्छ,’ उनले भने । अहिले संसदीय बोर्ड बनेन भने पनि निर्वाचित १३ जना पदाधिकारीलाई केन्द्रीय कार्यसमितिले अधिकार प्रत्यायोजित गर्नेछ । विधान अनुसार केन्द्रीय समितिले विभिन्न प्रदेशबाट इच्छुक नामहरू लिने छ ।

१९ सिटमा यसरी हुने छ भागबण्डा

आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।

राष्ट्रपतिबाट मनोनीत हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ । सत्ता गठबन्धन आबद्ध दलहरू काँग्रेस, माओवादी, एकीकृत समाजवादी जसपा गठबन्धन बनाएर चुनावमा जाने तयारीमा छन् ।

प्रतिपक्षी नेकपा एमाले भने एक्लै चुनावमा जानुपर्ने अवस्था देखिन्छ । यस्तो अवस्थामा एमालेलाई पहिलेका ८ वटा सिट जोगाउनुपर्ने चुनौती छ । प्रदेश एक बाहेकका प्रदेशमा गठबन्धनका उम्मेदवारले जित्ने देखिन्छ । यद्यपि प्रदेश एकमा साना दल र स्वतन्त्र सांसदलाई आफ्नो पक्षमा पार्न सके गठबन्धनले चुनाव जित्न सक्ने आधार भने बाँकी छैन ।

काँग्रेस र माओवादी, एकीकृत समाजवादी र जसपा राष्ट्रिय सभाको सिटमा भागबण्डा मिलाउने तयारीमा छन् । काँग्रेसका ३, माओवादी र एकीकृत समाजवादीका खाली भएका चार– चार सिटमा भने भागबण्डा हुने छैन ।

काँग्रेस स्रोतले भन्यो, ‘चार सिट माओवादीको, चार सिट एकीकृत समाजवादीको र ३ सिट नेपाली काँग्रेसको खालि भएको छ । तत् तत् सिट लिने कुरा स्वाभाविक हो । त्यसपछि एमालेबाट ८ सिट बाँकी रहन्छ ।’

त्यसमा १ जनता समाजवादी दललाई दिने काँग्रेसको रणनीति छ । स्रोतका अनुसार काँग्रेसले बाँकी एक–एक सिट माओवादी र एकीकृत समाजवादीलाई दिन तयार हुनेछ ।

त्यसो गर्दा काँग्रेसले ७, माओवादीले ५, एकीकृत समाजवादीले ५ र जसपाले एक सिट पाउने छ । सातै प्रदेशमा मत भारका हिसाबले दोस्रो पोजिसनमा भएकाले ५ सिटमा काँग्रेसले लिने स्रोतको भनाइ छ ।

स्रोतले भन्यो, ‘काँग्रेसले राष्ट्रिय सभामा कम्तीमा ८ सिट लिन्छ । माओवादीले ५, एकीकृत समाजवादीले ५ र जसपाले १ सिट पाउने छ ।’

राष्ट्रिय सभाको सिटमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको उच्च स्तरीय राजनीति समन्वय समितिले भागबण्डा मिलाउने बुझिएको छ । सत्तारुढ गठबन्धन १९ वटै सिट जित्ने गरी रणनीति बनाएर अगाडि बढ्ने खोजेको छ ।

यस्तो छ अंकगणित

प्रदेश नम्बर १

प्रदेश नम्बर १ मा गाउँपालिका तथा नगरपालिका स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरेर २ सय ७२ जना मतदाता रहेका छन् । यस्तै ९२ जना प्रदेश सभा सदस्य रहेका छन् ।

यहाँ एमालेको मतभार ४ हजार ५ सय ४२, काँग्रेसको २७ सय ३६ माओवादी केन्द्रको ९ सय ६०, नेकपा एकीकृत समाजवादीको ६७८, जसपाको २ सय १६, राप्रपाको २ सय १०, लोकतान्त्रिक फोरमको १ सय २६, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८र स्वतन्त्र एक सांसदको ४८ मतभार छ ।

०७४ मा फोरम लोकतान्त्रिक समाहित भएपछि काँग्रेससँग २७ सय ३६ मतभार रहेको छ । फौजदारी कसुरमा अदालतले कैद सजायको फैसला गरेसँगै एमाले सांसद गुलेफुन खातुन फरार छिन् । उनले राष्ट्रियसभामा मत हाल्न पाउने छैनन् । त्यसो हुँदा एमालेका ४८ मतभार घट्ने छ ।

प्रदेश नम्बर २

प्रदेश नम्बर २ मा स्थानीय तहबाट २ सय ६८ मतदाता छन् भने प्रदेश सभा तर्फबाट १ सय ४ जना छन् ।

यी मतदाताको राजनीतिक दलका आधारमा मतभार हेर्दा प्रदेश २ मा काँग्रेसको २२ सय ६२ मतभार, माओवादी केन्द्रको ११ सय ९४, एमालेको ९ सय ४२, नेकपा एसको ७ सय ५०, जसपाको २९ सय ८८, लोसपाको १५ सय ६०, लोकतान्त्रिक फोरमको १ सय ८, संघीय समाजवादी पार्टीको ४८ र २ पालिकाबाट स्वतन्त्र ३६ मत  छ । फोरम लोकतान्त्रिक काँग्रेसमा आइसकेको छ । प्रदेशमा काँग्रेससँग २३७० मतभार रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशमा स्थानीय तहबाट २ सय ३७ मतदाता छन् भने प्रदेशसभाबाट १ सय ९ जना रहेका छन् । यहाँ कुल ९ हजार ४ सय ९८ मतभार रहेको छ । यहाँ कुल ९ हजार ८ सय ८८ मतभार छ ।

यो प्रदेशमा एमालेको ४१ सय ५२ मतभार, काँग्रेसको २२ सय ६२ मतभार, माओवादी केन्द्रको १६९८ मतभार, विवेकशील साझाको १ स ४४ मतभार, राप्रपाको १ सय ३२ मतभार, नेमकिपाको ९६ मतभार र एक सांसद र २ पालिका प्रतिनिधिबाट ८४ स्वतन्त्र मतभार छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा स्थानीय तहबाट १ सय ७० मतदाता रहेका छन् भने प्रदेश सभाबाट ५९ जना मतदाता छन् । यहाँ कुल ५ हजार ८ सय ७४ मतभार छ ।

यो प्रदेशमा सबैभन्दा धेरै एमालेको २५ सय ३८ मतभार, काँग्रेसको २१ सय ७८ मतभार, माओवादी केन्द्रको ७९२, जसपाको ९६, राष्ट्रिय जनमोर्चाको ९६, राप्रपाको १८ र स्वतन्त्र १ सय ३८ मतभार रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा स्थानीय तहबाट २ सय १५ जना मतदाता रहेका छन् भने प्रदेश सभातर्फ ८१ जना रहेका छन् । लुम्बिनीमा कुल ७ हजार ७ सय ६४ मतभार रहेको छ ।

यहाँ एमालेको ३२ सय ७६ मतभार, काँग्रेसको २ हजार ६४, माओवादीको १६ सय ५०, नेकपा एसको १ सय २०, जसपाको ३ सय २४, लोसपाको ३६, राजमोको ४८, राप्रपाको ३६, लोकतान्त्रिक फोरमको ३६, एक सांसदको ४८ र स्वतन्त्र १ सय २६ मतभार छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशमा स्थानीय तहबाट १ सय ५६ मतदाता रहेका छन् भने प्रदेश तहबाट ३५ जना मतदाता रहेका छन् । कर्णालीमा कुल ४ हजार ५ सय २४ मतभार रहेको छ ।

यहाँ माओवादी केन्द्रको मतभार १४ सय ९४, एमालेको १४ सय ३४, काँग्रेसको १ हजार ८, राप्रपाको ८४ र स्वतन्त्र १ सय ८ मतभार छ ।

सुदूर पश्चिम प्रदेश

सुदुरपश्चिम प्रदेशमा स्थानीय तहबाट १ सय ७५ मतदाता रहेका छन् भने प्रदेश सभाबाट ५२ जना मतदाता रहेका छन् । यहाँ कूल ५ हजार ६ सय ६४ मतभार छ ।

यहाँ काँग्रेसको मतभार १८ सय ७२, एमालेको १७ सय ८८, माओवादी केन्द्रको ९ सय ६६, नेकपा एकीकृत समाजवादीको ९ सय ६, जसपाको ४८, लोसपाको ४८, लोकतान्त्रिक फोरमको ३६ मतभार छ ।

 


 

शम्भु दंगालको सहयोग

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप