शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘पिपुल्स युनिभर्सिटी’ अर्थात् महाधिवेशन

शुक्रबार, १६ पुस २०७८, १२ : ३२
शुक्रबार, १६ पुस २०७८

 झकबहादुर मल्ल ‘सुदिप’ नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनलाई देशका सचेत नागरिक, राजनीतिकर्मी र कुटनीतिक वृत्तमा समेत रुचिपूर्वक हेरिएको छ । अन्तरपार्टी जनवादको अभ्यास गर्ने उच्चतम थलो महाधिवेशन नै हो । महाधिवेशन हरेक पार्टीको जीवनमा एउटा नयाँ कोसेढुङ्गा पनि हो । पार्टी मात्रै होइन, यस्ता अधिवेशनले आमजनतालाई नै नयाँ ढङ्गले प्रशिक्षित गरिरहेका हुन्छन् । त्यसैले यसलाई जनताको विश्वविद्यालय अर्थात् ‘पिपुल्स युनिभर्सिटी’ पनि भन्न सकिन्छ ।

पार्टीका नीति, सिद्धान्त र कार्यक्रम बारेमा विहङ्गम छलफल, बहस र तार्किक निष्कर्षमा जाने हुनाले सैद्धान्तिक र राजनीतिक दृष्टिले यो एउटा विश्वविद्यालय नै हो । अर्कोतिर बहुसंख्यक जनताका बीचमा गएर पार्टीको नीति सिद्धान्तका आधारमा संगठन गर्न योग्य नेतृत्व चयन पनि महाधिवेशनले गर्छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणापछि व्यवस्थित रुपमा अघि बढ्न सबै पार्टीहरुले महाधिवेशन गरेका हुन् । संवैधानिक र कानुनी हिसाबले पनि हरेक पाँच वर्षमा राजनीतिक पार्टीहरूले महाधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ । कानूनी र व्यवहारिक दुवै दृष्टिले आयोजना भएका महाधिवेशनले हरेक पार्टीलाई देशको नयाँ परिस्थितिअनुरुप अघि बढ्न मार्गनिर्देश गरेको छ ।

हालै सम्पन्न भएका नेकपा एमाले, नेपाली काँग्रेस र राप्रपाको महाधिवेशनले एक किसिमको सन्देश प्रवाह गरेका छन् । चितवनमा सम्पन्न एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा विचारको बहस कम र आफ्नो पार्टीको शक्ति प्रदर्शन बढी भएको देखिन्थ्यो । पार्टी विभाजन, केन्द्रदेखि प्रादेशिक सरकारबाट बहिर्गमन, राजनैतिक असमझदारी आदिको कारण पैदा भएको आक्रोश र कुन्ठा राम्रोसँग पोख्ने कार्यमा पार्टी नेतृत्वले सम्पूर्ण ध्यान केन्द्रित गरेको थियो । नीति सिद्धान्तमा बहस गर्नेभन्दा बढी नेतृत्व छनोटमा समय दिइयो । सर्वसम्मत नेतृत्व चयन गर्ने अथक प्रयत्न गर्दा पनि सहमति नजुटेपछि प्रायोजित खालको चुनाव गरेर महाधिवेशन सम्पन्न गरियो ।

 उता देशभरका चार हजारभन्दा बढी प्रतिनिधि जम्मा गरेर नेपाली काँग्रेसले आफ्नो चौधौँ महाधिवेशन सम्पन्न गर्यो । तर लिखित र व्यवस्थित दस्तावेजमा कुनै छलफल र बहस भएन । तर काँग्रेसले अवलम्बन गरेको नीतिमा पुनर्विचार गर्ने मौखिक दृष्टिकोणका साथ नेतृत्वको दाबी गर्दै विभिन्न प्यानल खडा गरेर निर्वाचनमा जाने कार्य भयो । नेतृत्वमा युवा पुस्ताको शानदार उपस्थितिले पनि काँग्रेसमा मात्रै होइन, काँग्रेस इतर शक्तिमा पनि देशको राजनीतिमा केही सकरात्मक परिवर्तनको अनुभूति भएको देखिन्छ । चुनावी प्रतिस्पर्धाका नकारात्मक पाटा नभएका भने होइनन् ।

 नेपाली राजनीतिमा निरन्तर फरक धारको नेतृत्व गरेको राप्रपाको समेत महाधिवेशन सम्पन्न भएको छ । राप्रपाले संवैधानिक र कानूनी अधिकारको प्रयोग गर्दै वर्तमान राज्यव्यवस्थाको विरुद्धमा निरन्तर आवाज वुलन्द गरिरहेको छ । राजतन्त्र र हिन्दु राष्ट्र पक्षधर राप्रपाको महाधिवेशन विशेष गरी चुनावी प्रतिस्पर्धाका माध्यमबाट नयाँ नेतृत्व चयन गर्न सफल भयो । रोचक कुरा त के भयो भने परम्परागत एजेण्डा बोकेको राप्रपाले नेतृत्व भने नयाँ निर्वाचित गर्यो । राप्रपाको अधिवेशनबाट नेपाली जनताले केही नयाँ अनुभूति गरेका छन् ।

  नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन वास्तवमै पिपुल्स युनिभर्सिटी भएको छ । सेल कमिटी गठन, टोल भेला, वडा सम्मेलन हुँदै पालिका र प्रदेश सम्मेलन माओवादी केन्द्रले सम्पन्न गरेको थियो । देशभित्र मात्र होइन, संसारभर छरिएर रहेका पार्टीका विभिन्न कमिटीहरुको समेत सम्मेलन सम्पन्न भएको थियो ।

साँगठनिक केन्द्रीकरण भएपनि महाधिवेशनलाई विश्वविद्यालयको रूपमा स्थापित गर्ने कार्य त्यतिले मात्रै पुग्दैन । मूलतः विचार, राजनीति र सैद्धान्तिक दृष्टिमा बृहत् छलफल हुनुपर्छ । छलफलका लागि महाधिवेशनको मूल विषय थियो, अध्यक्ष कमरेड प्रचण्डले प्रस्तुत गर्नुभएको ‘एक्काइसौं शताब्दीमा समाजवादी क्रान्तिको नेपाली बाटो’ । यसमा विज्ञान र प्रविधिमा भएका विकास र प्रगतिले मानव समाजमा पारेका प्रभाव राम्रोसँग प्रस्तुत गरिएको छ । समकालीन नेपाली राजनीतिमा यो मात्र एउटा यस्तो दस्तावेज हो, जसमा आआफ्ना विचार राख्न सबै प्रतिनिधिहरु ५ दिनदेखि निरन्तर बहस गरिरहेका छन् । दस्तावेज उपर इतिहासका तथ्यलाई द्वन्द्वात्मक भौतिकवादी ढंगले खोज र अनुसन्धान गर्नेदेखि विश्व अर्थव्यवस्थालाई केलाउने कोसिस गरिएको छ । पुँजीपति र श्रमिकहरूको अवस्थालाई राम्ररी नियाल्ने कोशिस गरिएको छ ।

 महाधिवेशनमा प्रस्तुत उक्त दस्तावेजमा विश्व कम्युनिष्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनको सुक्ष्म ढंगले विश्लेषण गरिएको छ । कम्युनिस्ट आन्दोलनमा भएका कमीकमजोरीको मात्रै होइन, स्वयं आफैले नेतृत्व गरेर खडा गरेको गौरवपूर्ण इतिहासका कमीकमजोरीको समेत निर्ममतापूर्वक समीक्षा गरिएको छ । वर्तमान विश्व राजनीति र नेपाली राजनीतिमा सर्वहारा श्रमजीवी वर्गको अवस्था चित्रण गर्दै एक्काइसौं शताब्दीमा समाजवादी बाटोको अन्वेषण गर्ने कोशिस गरिएको छ । दस्तावेज इतिहास र वर्तमानको सामान्य अध्ययन र बहस गरेर होइन अपितु गम्भीर प्रकारको खोज, अनुसन्धान र अन्वेषण गरेर तयार गरिएको छ । यसरी तयार गरिएको दस्तावेज सामान्य अध्ययन गर्नको लागि मात्र होइन, गम्भीर र आलोचनात्मक ढङ्गबाट अध्ययन गरेर थप नयाँ विषयवस्तु र सुझावका लागि आह्वान गरिएको छ । यो नै पिपुल्स युनिभर्सिटीको खास विशेषता हो ।

  जनवाद भनेको नेतृत्वका निम्ति चुनावी प्रतिस्पर्धालाई बुझ्ने एकखाले दृष्टिकोण हाम्रो समाजमा छ । जनवादलाई प्रायोजित रुपमा देखाउने र परिभाषित गर्ने अर्को अभ्यास पनि नेपाली राजनीतिमा छ । यसमा माओवादी पार्टीले आफ्ना फरक दृष्टिकोणका साथ फरक मान्यता स्थापित गरेको छ । त्यो भनेको पार्टीमा विचारको बहस हो । माओवादी पार्टीको महाधिवेशनमा सर्वाधिक उच्चतम किसिमको जनवादको अभ्यास भइरहेको छ । २५ वटा समूहमा भएका बहस छलफलको निष्कर्ष सुन्दा हलमा उपस्थित सबै प्रतिनिधिले उच्चतम जनवादको अभ्यास अनुभूति गरिरहेका छन् । यही जनवादको अभ्यासबाट विकसित हुने विचार, नीति र योजना नै माओवादी पार्टीको नयाँ प्रकारको मूल्य र मान्यता हो । यसैको जगमा तयार हुन्छ, पार्टीको नेतृत्व । यसैलाई भनिन्छ, विचारको आधारमा तयार भएको नेतृत्व ।

 नेकपा (माओवादी केन्द्र) कम्युनिष्ट आन्दोलनको गौरवपूर्ण इतिहास रचना गर्ने महान अभियानमा कमरेड प्रचण्डको नेतृत्वमा लामबद्ध छ । टुटफुट र विभाजनमा रहेको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने कार्यको सुरुवात २०४८ सालदेखि नै कमरेड प्रचण्डको नेतृत्वमा भएको हो । नेपाली राजनैतिक इतिहासमा तख्तापलट गरेर गणतन्त्रको इतिहास सुरुवात गर्ने ऐतिहासिक जनयुद्ध, जनआन्दोलन र शान्ति प्रक्रियाको नेतृत्व पनि कमरेड प्रचण्डबाटै भएको हो । महाधिवेशनको यो विश्वविद्यालयले कमरेड प्रचण्डको नेतृत्वमा समाजवादी क्रान्ति अघि बढाउने ढोका खोल्ने छ । इतिहासका विभिन्न कालखण्डमा ऐतिहासिक जिम्मेवारी पुरा गरेको नेतृत्वको टीम पनि कमरेड प्रचण्डको साथमा छ । यसपटकको पिपुल्स युनिभर्सिटीले कमरेड प्रचण्डको साथमा नेतृत्वको उपयुक्त कार्य विभाजनसहितको नयाँ टीमसमेत ‘फर्मेसन’ गर्ने छ ।

पिपुल्स युनिभर्सिटीमा प्रस्तुत उक्त दस्तावेजले राजनीतिशास्त्री, समाजशास्त्रीदेखि अर्थशास्त्री सम्मका लागि नयाँ अध्ययन, बहस र निष्कर्षका लागि मार्ग खुला गरेको छ । विज्ञानको खोज र अनुसन्धानमा क्रियाशील व्यक्तित्वदेखि दर्शनशास्त्रका शोधकर्ता सम्मलाई समेत राम्ररी उत्प्रेरित गर्नेछ । विश्व साम्राज्यवादी उत्पीडन र त्यसको विकल्प खोज्न लालयित आम श्रमजीवी वर्गलाई समाजवादको मार्गचित्रमा लामबद्ध हुन मार्ग प्रशस्त गर्नेछ । पिपुल्स युनिभर्सिटीको यो गरिमालाई नयाँ उचाइमा विकसित गरेर नै नेपाली मौलिकताको समाजवादी क्रान्ति अगाडि बढ्नेछ । नेपालमा भएका राजनीतिक पार्टीका अधिवेशन आफैमा पिपुल्स युनिभर्सिटी हुन् । उत्कृष्टताको खोजी जनताले स्वयं गर्नेछन् ।

मल्ल नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

झकबहादुर मल्ल (सुदीप)
झकबहादुर मल्ल (सुदीप)
लेखकबाट थप