बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : शनिबार महाधिवेशन सक्दै माओवादी, चुनावपछि विशेष महाधिवेशन

शुक्रबार, १६ पुस २०७८, २१ : ५९
शुक्रबार, १६ पुस २०७८

आज मिति २०७८ साल पुस महिनाको १६ गते शुक्रबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको सन्ध्याकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ ।

१. माओवादी महाधिवेशन शनिबार सकिने

नेकपा माओवादी केन्द्रको राजधानीमा जारी आठौं महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न हुने भएको छ । शुक्रबार अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिएका छन् भने शनिबार विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नको सम्बोधन भएर सो प्रस्ताव पारित भएपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ । माओवादीले सहमतिमै नेतृत्व र केन्द्रीय कमिटी चयन गर्ने बताइएको छ ।

२. माओवादीले विशेष महाधिवेशन गर्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचारको निर्माण गर्न चुनावपछि विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा जारी पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रमा आफ्नो दस्तावेजमाथि उठेका प्रश्नमा जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिबाट आएका प्रश्न तथा सुझाव समेटेर ठोस विचार विकास गर्न छुट्टै महाधिवेशन गरिने जानकारी गराएका हुन् ।

​३. धानको उत्पादन घट्यो

यस वर्ष धानको उत्पादनमा ह्रास आएको छ ।  गत वर्षभन्दा यसवर्ष चार लाख ९० हजार मेट्रिकटन धान कम उत्पादन भएको मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयका एक अधिकारीका अनुसार गत वर्षको तुलनामा ८।७४ प्रतिशत धान कम उत्पादन भएको हो ।

धानको तथ्याङ्क सार्वजनिक गर्ने तयारी अवस्थामा रहेको मन्त्रालयका अनुसार यस वर्ष ५१ लाख ३० हजार ६०० मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्ष ५६ लाख २१ हजार मेट्रिकटन धान उत्पादन भएको थियो ।

​४. राप्रपाको निर्णय

राप्रपाले पार्टीका ४ जिल्ला तहका नेतालाई निष्काशनको घोषणा गरेको छ । शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले काभ्रेपलाञ्चोक जिल्ला कार्य समितिको सिफारिस अनुसार अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा, उपाध्यक्ष गंगामाया लामा र सचिव धनजित लामालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गर्ने निर्णय गरेको हो।

​५. कोरोनाबाट ४ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप २३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २१२ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ९ हजार ८४ जनाको नमुना संकलन गरेर परीक्षण गर्दा २३५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ४ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ४ हजार ८७९ जना सक्रिय संक्रमित रहेका छन् ।

​६. र्यापर पक्राउ प्रकरण

र्यापर लाउरेसँगै पक्राउ परेका ४ जनालाई जिल्ला अदालत कास्कीले ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बुधवार प्रहरीले पोखराको न्युरोडबाट उनीहरुलाई पक्राउ गरेको थियो । लाउरे भनेर चिनिने आशिष रानामगर  चर्चित र्यापर हुन् । उनीसँगै पक्राउ पर्नेमा ध्रुव थापा, नविन गुरुङ र सुस्मिता गुरुङ छन् ।

​७. एकीकृत समाजवादीमा साध्यबहादुर

राष्ट्रिय जागरण परिषद नेपालका संयोजक साध्यबहादुर भण्डारीसहितका नेताहरु नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । संयोजक भण्डारीसँगै उपाध्यक्ष भीमकुमारी गुरुङ, महासचिव हेमनाथ सेढाई, सचिव दुर्गानन्द चौधरी, गोकर्ण तामाङ, अर्जुन थापा, गोकुल थापा लगायतका नेता एकीकृत समाजवादीमा मिसिएका हुन् । परिषदबाट ८४७ जना एकीकृत समाजवादीमा समाहित भएको शुक्रबार आयोजित एकता घोषणा कार्यक्रममा जानकारी दिइएको छ ।

८. राप्रपा–साझा विवेकशील एकताको पहल

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच शुक्रबार भेटवार्ता भएको छ । अध्यक्ष लिङ्देन महामन्त्री डा धवलशमशेर राणा समेतलाई साथमा लिएर मिश्रलाई भेट्न शुक्रबार बिहान उनकै निवासमा पुगेका हुन् । सो क्रममा आपसी सहकार्यका साथै पार्टी एकताबारे समेत सामान्य छलफल भएको बताइएको छ ।

​९. प्रतिकूल मौसम

बिहीबारदेखि राजधानीमा वर्षा हुन छाडे पनि मौसम अझै खुल्न सकेको छैन । काठमाडौं उपत्यकामा शुक्रबार बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । हुस्सुको कारण भिजिबिलिटी कमजोर बन्यो।

आसन्न राष्ट्रियसभा निर्वाचनका लागि नेकपा (एमाले) ले कर्णाली प्रदेशबाट सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । एमाले कर्णाली प्रदेश कमिटीको आज सम्पन्न सचिवालय बैठकले नौ जनाको नाम सिफारिस गरेको हो । तीमध्ये प्राथमिक क्रमअनुसार तीन जना उम्मेदवार छानिने छन् । कर्णाली प्रदेशमा रिक्त तीन जना राष्ट्रियसभा सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ ।

​ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले १२० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । गत आइतबार यता पहिलो पटक ७७ जना, त्यसपछि ४५ जना र आज आठ जना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको उक्त अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले जानकारी दिए।

​प्रधानसेनापति प्रभुराम शर्मा भारत जाने भएका छन् । उनी स्वास्थ्य परीक्षणका लागि भारत जान लागेको नेपाली सेनाले जनाएको छ । त्यसका लागि उनको बिदा स्वीकृत भएको सेनाको विज्ञप्तिमा उल्लेख छ ।

एमसीसी सम्झौता राष्ट्रघाती भएको निष्कर्षमा पुगेको नेपाल मजदुर किसान पार्टीले सो सम्झौता संसदमा पेश समेत नगर्न सरकार र सांसदहरुलाई दवाव दिँदै खबरदारी सभा गरेको छ ।

नेपाली काँग्रेसले आज ‘४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ विभिन्न कार्यक्रम गरी मनायो । काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका लागि यस वर्ष औपचारिक कार्यक्रम राखेन । तर विभिन्न जिल्लामा नेताहरुले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएका हुन् । आजै प्रधानमन्त्री शेरबहादुर देउवा सुन्दरीजल पुगेका थिए ।

​थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप