बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पढेर कति अगाडि बढे महिलाहरु ?

शनिबार, १७ पुस २०७८, १० : १४
शनिबार, १७ पुस २०७८

एउटा निजी एयरलाइन्स कम्पनीमा कार्यरत छदाँ अफिसमा मेरो एकजना मिल्ने साथी थिइन् । पदले सिनियर भए पनि उनले मलाई साथी बनाइन् । अफिसमा म्याम भनेर बोलाए पनि अफिस बाहिर उनले मलाई नामले बोलाउन भन्थिन् । म गाउँबाट आएकी थिएँ, उनी काठमाडौंकी थिइन् । तरपनि हामीबीचको मित्रता गहिरो थियो ।

एकदिन उनले मलाई घरमा खाना खान बोलाइन् । छुट्टीको दिन पारेर म गएँ । सासू–ससुरा जेठाजु र जेठानी रहेछन् परिवारमा । सबै पढेलेखेका शिक्षित र सम्पन्न थिए । सबैजना आ–आफ्नो फोनमा व्यस्त थिए । तर, त्यहाँ साथीकी जेठानी एक्लै भ्याई– नभ्याई काम गरेको गर्यै देखिन्थिन् । हामी सबैलाई ब्रेकफास्ट उनैले गराइन् । र, फेरि किचनमा खाना बनाउनतिर लागिन् ।

एक मनले साथीलाई जाउ न दिदीलाई सघाउ भन्न मन लागेको लाग्यो । तर, अर्काको घर, के भन्ने, के नभन्ने भयो । मलाई ती दिदी एक्लै खटिएको देखेर मनले मानेको थिएन । खाना पाकेपछि खाना खान लाज लाग्यो ।

मैले साथीसँग सोधें, तिमीलाई सन्चो छैन ? उनले प्रतिपक्ष्श्न गरिन्, ‘किन ?’ मैले फेरि सोधें, ‘दिदीले एक्लैले खाना बनाउनुभयो ।’

साथीले हास्दै जवाफ दिइन्– घरमा काम गर्ने मान्छे छन्, तर सासू–ससुराले बाहिरी मान्छेले पकाएको खानुहुन्न । दिदीले नै हो सधैं खाना बनाउने ।

त्यो त ठिकै छ । तर, तिमीले नि अलि–अलि सघाउँदा हुन्छ नि ।

सघाउने कुरा सुनेर उनले अचम्म परेर मलाई हेरिन् र भनिन्– मैले खाना बनाउनु ? बिहे गरेर आउँदा ट्रकको–ट्रक दाइजो लिएर आएकी हँु । यो घरका जति पनि महङ्गा सामान देखेकी छ्यौ नि, यी सबै मेरा बाबुआमाले दिएर पठाएका हुन् । जेठानी दिदी रित्तो हात आएकी हुन्, उनैले गर्छिन काम । मलाई सासू–ससुराले एक शब्द बोल्न सक्दैनन् । गाली खाने काम पनि जेठानीको र काम गर्ने पनि उनै हुन् । जसले दाइजो बोकेर आउन सक्दैन, उसैले सहनुपर्छ ।

उनको कुरा सुनेर म स्तब्ध भएँ ।

अर्को घटना छ ।

मेरी साथी बिहे भएको छोटो समयमै गर्भवती भइन् । उनको खुसीको सीमा थिएन शुरुका दिनमा । जब गर्भ ६ महिनाको हुन थाल्यो, उनलाई पेटमा छोरा छ, कि छोरी भन्ने कुराले असाध्यै सताउन थाल्यो । त्यो हुनु स्वभाविक पनि होला एउटा गर्भवतीलाई । तर, उनले भगवान् मेरो छोरै होस् भनेको सुनेर म हैरान परें । जति बेला पनि छोरा होस् भनेको देखेर वाक्क लाग्यो र सोधें– तिमीलाई छोरा नै किन चाहियो ? जे जन्मिए पनि स्वस्थ्य बच्चा जन्मिए हुँदैन ?

स्वस्थ्य त हुनु नै पर्छ, तर छोरा भए ढुक्क, आनन्द हुन्छ नि । छोरा पाएसी बुढाको माया, सासू–ससुराको माया, आफन्त र समाज सबैतिरबाट मानसम्मान पाइन्छ । पहिलो बच्चा त छोरी भए पनि जन्मिन्छे, तर दोस्रो त छोरा हो कि छोरी भनेर चेक गर्नुपर्ने हुन्छ । केही गरी दोस्रो बच्चा पनि छोरी नै रैछ भने त फाल्नुपर्छ । ज्यान कति कमजोर हुन्छ त्यसरी । कति महिला यो समस्या झेलेर बसेका छन् । पढेलखेको श्रीमान् त भन्ने मात्रै हो, छोरा पाउने लालसाले कति श्रीमतीको ज्यान यिनीहरुले बिगारेका छन् । छोरीमात्र पाउनेहरुको हालत हेर्न घरपरिवार समाजमा ? कुन नारीलाई मानप्रतिष्ठाको जिन्दगी चाहिएको छैन भन त ? पहिलो बच्चा छोरा जन्मिएपछि दोस्रो बच्चा जे जन्मिएनि चिन्ता हुन्न नि त । उनले बेलिबिस्तार लगाइन् ।

तेस्रो घटना ।

भोलिपल्ट शिवरात्री थियो । अफिसमा क– कसले लाइभ गर्ने भन्ने मिटिङ अघिल्लो दिन नै हुन्छ । जसमा मेरो नाम बिहानको लाइभमा पर्यो । बिहान ५ बजेदेखिको पशुपतिको रौनक देखाउने जिम्मा मेरो थियो । तर त्यही राती मेरो पिरीयड भयो । म घरमा चाहिँ त्यति बार्दिनथें । अटेर गर्थें । त्यसैले आमाले भन्नुहुन्थ्यो– घरमा डर नमाने पनि मन्दिर नजिक चाहिँ नजानु, भगवानको डर मान्नु ।

तर, मलाई लाग्यो, भगवानको पनि के डर मान्नु । त्यसपछि म बिहान पशुपति पुगें भक्तजनहरुसँग रमाइलो, मिठो कुरा गरें । पत्रकारिता जति दुःख छ, त्यत्ति नै रमाइलो पनि । कतिले बोल्दा–बोल्दा थाक्नुभयो होला भनेर प्रसाद पनि खान दिए ।

आफ्नो डिउटी सकेर अफिस फर्किएँ । काममा बिजी हुँदा पेट दुःखेको याद नै भएन । अफिस पुगेपछि पेट दुख्यो भन्दै यसो सुस्ताएको, छेउकै एकजना साथीले दुर्गामाताले भन्दा ठूलो मुख पारेर भनिन् – तिमी मिन्स भएर पनि पशुपति लाइभमा गएकी ?

मैले भनें, के ठूलो कुरा भो र ? मेरो काम हो लाइभ गर्नु । त्यसमाथि रजस्वला हुँदा मन्दिर जान हुँदैन भन्ने कुरा म मान्दिनँ ।

साथीले भनिन्, ‘तिमी त पढेलेखेकी मान्छे, मिन्स हुँदा नबार्नुलाई आधुनिक, प्रगतिशील, क्रान्तिकारी हुन्छेउ वा बन्न खोजेकी हौली । तर, त्यहाँ आएका कति भक्तजनहरुको आस्थामाथि प्रहार गर्यौ तिमीले ? अझै प्रसाद नै पो खाएर हिँड्न सक्ने ?’

उनलाई मिल्ने साथी भएर केही व्यक्तिगत कुरा सुनाएकी थिए पहिले । मेरा जिन्दगीका केही असफलताका कुरा सुनाएकी थिएँ । वादविवाद बढ्दै जाँदा अन्तमा उनले भनिन्, ‘तिम्रो जिन्दगीमा जति पनि दुर्घटना भए, यत्रो कोसिसका बावजुद पनि नमिठो असफलता भोग्न पर्यो नि, त्यो सबको कारण तिम्रो यही प्रवित्तिले हो ।’

यो विषयप्रति अब तर्क नै गर्नु नपर्ने गरी उनले टुङग्यादिइन्  । कुनै विषयमा व्यक्तिगत कुरा निस्केपछि के तर्क गरेर बस्नु ?

केही समयपछिको अर्को घटना । ऋषिपञ्चमीमा पनि एकचोटि यस्तै बहस चल्यो ।

वर्षभरी कहिँकतै छोइएको पाप पखाल्न दत्तिवन चपाउन र ऋषिपञ्चमीको पूजा गर्न नसक्ने कुरा गर्दै थिए । एकजना साथी भोलिपल्ट परेको ऋषिपञ्चमीका लागि दत्तिवन तयार गरेर बसेकी रहिछन् । उनलाई बडो रीस उठेछ । तिमीलाई पूजा गर्न मन छैन भने नगर, तर यो मान्दिनँ र त्यो मान्दिनँ भन्दै हिन्दू धर्ममाथिको प्रहार म सहन सक्दिनँ । तिमी क्रिश्चियनको चर्चमा जान्छौ भन्दैमा ऋषिपञ्चमीलाई ढोङ भन्ने अधिकार तिमीलाई छैन ।

ओहो चर्च कस्तो हुँदो रैछ भनेर म घुम्न गएकी थिएँ । आफूलाई त संसारभर भएका पर्वहरु मनाउन मन लाग्छ । कम्तिमा नेपालमा मनाइने हरेक जात जातिका पर्वमा म समावेश भएकै हुन्छु । म आस्था भन्दा खुसी खोज्ने मान्छे । चर्च, गुम्बा, मन्दिर जहाँ गए पनि मलाई शान्ति मिल्न पर्यो । उनले त्यही चर्चको फेरो समातेर बहस गरिन् ।

धर्मलाई लिएर बहस गर्न मलाई मन लाग्दैन । तर, यत्ति कुरा के हो भने महिनावारीलाई पाप भनेर म स्वीकार गर्न सक्दिनँ । र, म आफ्ना छोरीहरुलाई महिनावारी पाप हो भनेर सिकाउन सक्दिनँ ।

यी केही प्रतिनिधिपात्रहरुलाई पढ्दा सामान्य लाग्छ । तर, यिनै सामान्य कुराहरुबाट हामी आज पनि माथि उठ्न सकिरहेका छैनौं । सदियौंदेखि महिलाहरुले आफ्नो स्वतन्त्रताको लडाइँ लड्दै आएका छन् । महिला आज पनि स्वतन्त्र छैनन् । त्यसैले लडाइँ आज पनि जारी छ । तर, पृतिसत्तात्मक सिद्धान्तले महिलालाई महिलाकै विरुद्ध उभ्याइदिएको छ, धर्म र संस्कृतिका नाममा । यो लडाइँ यति सजिलो पनि छैन । तर, असम्भव पनि छैन  । सिर्फ हरेक महिलाले परिवर्तनका लागि एक पालला मात्रै अगाडि बढाए पुग्छ ।

सन् १९०८ मा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित ¥याली गरेसँगै संघर्षको बीजारोपण भएको थियो । त्यसकै एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो । यसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने उपाय क्लारा जेट्किनको थियो । उनले सन् १९१० मा कोपनहेगनमा भएको कामकाजी महिलाको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा यो उपाय सुझाएकी हुन् ।

अहिले अन्तर्राष्ट्रिय महिला दिवस महिलाहरू समाज, राजनीति र आर्थिक क्षेत्रमा कहाँ आइपुगे भन्ने मनाउने दिन बनेको छ । राजनीतिक र आर्थिकरुपमा महिला केही हदसम्म अगाडि बढे पनि सामाजिक रुपमा जहाँको त्यहीँ भेटिन्छन् । डिग्रीको सर्टिफिकेट छ, सम्पत्तिका मालिक छन् तर छोरा नपाइने हो कि भन्ने डर छ ।

छोरा नजन्माएर हुने सामाजिक अपहेलनाविरुद्ध पढेलेखेका महिलाले कहिले आवाज उठाउँछन् ? जसलाई माइतीको दाइजोको घमण्ड छ, दाइजोका नाममा हाम्रा छोरी बुहारीहरुमाथि हुने हिंसाको जिम्मेवार तिमी पनि होइनौ ? धर्मका नाममा महिनावारीलाई हामीले कहिलेसम्म पापको रुपमा स्वीकार गर्ने ?

त्यसैले, शिक्षित महिलालाई सोध्न मन लाग्छ– पढेर कति अगाडि बढे महिलाहरु ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता न्यौपाने
सीता न्यौपाने
लेखकबाट थप