बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शिक्षक टीकाराम रेग्मीको उपन्यास ‘उज्यालोतिर’ विमोचन

शनिबार, १७ पुस २०७८, १८ : ०८
शनिबार, १७ पुस २०७८

लामो समय विद्यालय शिक्षण पेसामा रहेका शिक्षक टीकाराम रेग्मीको उपन्यास ‘उज्यालोतिर’ विमोचन भएको छ । शनिवार काठमाडौँमा गरिएको विद्यालय शिक्षाले बालबालिकालाई कस्तो दिशानिर्देश गर्दैछ ? छलफल तथा विमोचन समारोह कार्यक्रममा रेग्मीको उपन्यास विमोचन गरिएको हो । पुस्तकको शिक्षाविद्हरू डा.मनप्रसाद वाग्ले, डा.विद्यानाथ कोइराला, डा.काशीराज पाण्डे, डा.मिनाक्षी दाहालले संयुक्त रूपमा विमोचन गरेका हुन् । 

कार्यक्रममा उपन्यासमाथि समीक्षा गर्दै डा.मित्रबन्धु पौडेलले अहिलेको विद्यालय शिक्षा कता गइरहेको छ भन्नेबारे पुस्तकले उजागर गरेको उल्लेख गरे । पुस्तकमा प्राथमिक तहका बालबालिकाको विषय उठाएको र समयानुकूल परीक्षा  प्रणाली सुधार गर्नुपर्ने विषय उठाएको बताए । लेखकले उपन्यासमार्फत बालबालिका र शिक्षकबिच सम्बन्ध बलियो बनाउन संवेदनात्मक इन्टेलिजेन्स आवश्यक रहेको विषय उठाएको उल्लेख गरे । 

उपन्यासकार टीकाराम रेग्मीले आफ्नो उपन्यासबारे बोल्दै वर्तमान शिक्षाले विद्यार्थीमा सिर्जनात्मक क्षमता मार्दै छ र भुत्ते बनाउँदै लगेको बताए । उनले आफूले ३९ वर्ष शिक्षणका क्रममा भोगेका घटनाहरू र शिक्षणका क्रममा आफूले विद्यार्थीका लागि पहिले यसरी सिकाउन पाएको हुन्थ्यो भन्ने पश्‍चाताप समेत उपन्यासमा पोखेको उल्लेख गरे । 

उनले अहिलेको शिक्षा प्रणालीका साथै पढाउने तरिका फेर्नुपर्ने आवश्यकता रहेको बताउँदै विद्यार्थीको क्षमता अनुसार सिकाइलाई अगाडि बढाउनुपर्ने बताए । 

उनले भने–‘मैले पढाएका विद्यार्थी खाडी मुलुकमा कुल्ली र ज्यामी भएपछि मैले यो पुस्तक लेखेको हुँ । विद्यार्थीको क्षमता, दक्षता, रुचि जे मा थियो त्यही अनुसार पढाउन पाएको भए उनीहरू असफल हुने थिएनन् । हामीले माछालाई रूख चढ्न सिकाएर कहिल्यै सफलता पाउन सक्दैनौँ, जसको जे क्षमता छ त्यही अनुसारको शिक्षा दिने अवस्था छैन ।’

डा.काशीराज पाण्डेले उपन्यासको शीर्षक ‘उज्यालोतिर’ राम्रो नाम भएको बताउँदै हरेक शिक्षक, अभिभावक र विद्यार्थीका लागि उत्प्रेरक रहेको बताए । शिक्षाविद् डा. विद्यानाथ कोइरालाले शिक्षकहरू र शिक्षक हुन खोज्नेले पढ्नै पर्ने उपन्यास उज्यालोतिर रहेको बताए । डा.मनप्रसाद वाग्लेले अहिलेको बाल शिक्षण पद्धति परिवर्तन गर्न आवश्यक रहेको बताउँदै उपन्यासमा शैक्षिक समाजलाई थप उज्यालोतिरको बाटोमा डोर्‍ याउने प्रयास गरिएको उल्लेख गरे । ३ सय ९५ पृष्ठको उपन्यास सुन वर्षी बुक हाउसले बजारमा ल्याएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप