शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘व्यक्तिगत स्वार्थ र कुन्ठा साँध्न अलगिएकासँग असली कार्यकर्ता पछि लाग्दैनन्’

आइतबार, १८ पुस २०७८, ०७ : ०१
आइतबार, १८ पुस २०७८

साढे दुई दशक लामो विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका युवा नेता दिलिप न्यौपानेले नेकपा एमालेको पोखरा महानगर कमिटी अध्यक्ष हुन् । गण्डकी प्रदेशका प्रभावशाली नेताद्वय खगराज अधिकारी र पृथ्वी सुब्बा गुरुङ निकटका आधादर्जन आकांक्षीमध्येबाट अध्यक्षमा निर्विरोध चयन गरिएका न्यौपाने सबै नेता कार्यकर्ताको भावनालाई समेटेर अगाडि बढ्ने बताउँछन ।

उनले पार्टीमा कुनै गुट–उपगुट नरहेको दाबी गर्दै पार्टी एकढिक्का भएर संगठन निर्माणमा लाग्ने बताए । पार्टीको संगठनलाई तीव्ररुपमा विस्तार गरी आगामी निर्वाचनमा पार्टीलाई पूर्ववत् अवस्थामा निर्वाचन जिताउने गरी अघि बढ्ने उनको योजना छ ।

प्रस्तुत छ, पोखरा महानगरमा एमालेको अवस्था, संगठन निर्माण र आगामी योजनाका बारेमा केन्द्रित रहेर रातोपाटीले अध्यक्ष न्यौपानेसँग गरेको कुराकानीको सम्पादित अंश–

नेकपा एमालेको विभाजन भएको बेला भौगोलिक हिसावले देशकै ठुलो महानगरको नेतृत्वमा आउनु भएको छ, कसरी अगाडि बढ्दै हुनुहुन्छ ?

पोखरा महानगरपालिका देशकै ठुलो महानगर हो । ४६ हजार ४२४ वर्गकिमी क्षेत्रफल र ३३ वडा भएको यस महानगर विभिन्न जात, भाषा, संस्कृति र राजनीतिक हिसाबले पनि ऐतिहासिक छ । अर्कोतर्फ राजनीतिलाई विकाससँग जोड्नु पर्दछ भन्ने मान्यता लिएको देशको सबैभन्दा ठुलो पार्टी नेकपा एमालेले महानगर अधिवेशनबाट मलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ । धेरै आशा र अपेक्षाबीच म निर्वाचित भएको छु ।

हामी चुनौतीका बिचमा छौं । पार्टी एकता प्रकृया राम्रोसँग नटुङ्गिदै प्रचण्ड र माधव नेपालको निहीत स्वार्थका कारण पार्टी विभाजन हुन पुग्यो । हामीले वडा, पालिकाको अधिबेशन र महाधिवेशन सम्पन्न गरिसकेका छौं । अब, जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्दैछौं । पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा मुलुकमा भएका ऐतिहासिक विकास निर्माणका काम, पार्टी विभाजनका कारण र जनविरोधी शक्तिका षड्यन्त्रका बारेमा भण्डाफोर गर्दै आगामी दिनमा टोल टोलमा अभियान चलाउने छौं । त्यसैगरी आगामी दिनमा जनतालाई सचेत र जागरुक बनाउन व्यापक रुपमा कार्यकर्ता परिचालन गर्दै अगाडि बढ्ने योजनामा छौं ।

तपाईं खगराज अधिकारीको गुटबाट निकै रस्साकस्सी बीच निर्वाचित हुनुभयो, अन्य समूहसँग कसरी सहकार्य गर्दै हुनुहुन्छ ?

सबै नेता कार्यकर्ताको सर्वसम्मतिमा म आगामी कार्यकालका लागि महानगरको अध्यक्षमा निर्वाचित भएको हुँ । यो कुनै गुट, उपगुटको विषय होइन । पार्टीबाट माधव नेपालको बहिर्गमन भएपछि पार्टीभित्र कुनै गुट, उपगुट छैन । प्रतिस्पर्धा वा आकांक्षालाई कुनै न कुनै नेता विशेषसँग जोडेर हेर्नु गलत कुरा हो । खगराज अधिकारी हाम्रो आदरणीय नेता हुनुहुन्छ । उहाँमात्र होइन, पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ लगायतका अन्य नेताहरुको पहल र सहयोगले मात्र सर्वसम्मत नेतृत्व चयन सम्भव भएको हो ।

जहाँसम्म सहकार्यको कुरा छ, पार्टीका आफ्नै मूल्य, मान्यता, विधि, विधान छन् । सोही अनुसार पार्टी चल्छ र चलाइन्छ पनि । अग्रजलाई सम्मानसहित उहाँहरुको सहयोग लिन कुनै कसर बाँकी राखिने छैन । सबैको योगदानबाट मात्र पार्टी बन्छ र चल्छ भन्ने मेरो मान्यता छ ।

स्थानीय र संसदीय निर्वाचनको सँघारमा पार्टी विभाजन भएकाले पार्टीलाई पूर्ववत् अवस्थामा चुनाव जिताउन चुनौती त होला नि ?

निर्वाचनमा विजय हासिल गर्न कुनै पनि पार्टीले तीन वटा महत्वपूर्ण कार्य गरेको हुन जरुरी छ । ती हुन्– पार्टीको सिद्धान्त, संगठन, मुद्दा वा नारा । नेकपा एमालेसँग जनताको बहुदलीय जनवादजस्तो नेपाली माटो सुहाउँदो मार्क्सवादी सिद्धान्त छ, जसले जनताको जीवनसँग आफूलाई एकाकार गरिसकेको छ । पार्टीको संगठन नेपालमा मात्र नभएर दुनियाँकै लागि नमुना बन्दै गएको छ । मुद्दाका हिसाबले पनि एमालेसँग जस्तो अन्य पार्टीसँग छैन । हामी गौरवका साथ विकास, सुशासन र समृद्धिका योजनासहित जनताका बिचमा जान्छौं । नेता, कार्यकर्तालाई संगठित र परिचालन गर्छाैं । दलित, सुकुम्वासी, जनजाति, महिला लगायतका क्षेत्रमा व्यापकरुपमा पार्टी परिचालित हुनेछ ।

जहाँसम्म विभाजनको कुरा छ, जनताको तहमा पार्टी विभाजन पुगेकै छैन र पुग्दैन पनि । केही नेताहरु व्यक्तिगत स्वार्थ केन्द्रित भएर अलगिएको आम एमालेका नेता कार्यकर्ता पंक्तिमा छर्लङ्ग भएकाले उनीहरुको पछि लाग्ने अवस्था छैन । कुनै सैद्धान्तिक र वैचारिक अन्तरसंघर्ष बिना व्यक्तिगत स्वार्थ र कुन्ठाले अलग भएका नेतासँग लामो त्याग गरेका आमकार्यकर्ता पछि लाग्ने कुरै आउँदैन । पार्टीका केही स्वार्थी नेता अलग हुँदैमा पार्टीलाई नोक्सान हुने अवस्था छैन । आगामी निर्वाचनमा हामी शानदार बहुमतका साथ विजयी हुनेछौं ।

पार्टी विभाजनसँगै ठुलो संख्यामा नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादीतर्फ लागेको अवस्थामा तपाईंले दाबी गरेजस्तो सहज होला र ?

फेरि पनि तपाईं विभाजन भन्दै हुनुहुन्छ । माधव नेपालले सडेगलेको माल सामान राखेर एउटा पसल खोल्नु भएकोमात्र हो । त्यहाँ कुनै योग्य र क्षमतावान नेता नै छैनन् । उहाँले पार्टीमा कुनै वैचारिक र सैद्धान्तिक अन्तरसंघर्ष भएर पार्टी खोल्नु भएको होइन । व्यक्तिगत स्वार्थ र कुन्ठा साँध्नका लागि अलगिएकासँग कोही असली नेता कार्यकर्ता पछि लाग्ने अवस्था छैन । त्यहाँ कुनै आकर्षण छैन । केही मन्त्रीका आकांक्षीको उक्साहट र माधव नेपालको कुण्ठाबाहेक त्यहाँ केही छैन । यसको आयु ६ महिनाभन्दा बढी जानेवाला छैन । त्यो पार्टीमा तीन किसिमका मान्छे छन् । पहिलो त, असन्तुष्टहरुको झुण्ड छ । दोस्रो च्याँखे दाउ थाप्नेहरुको गुट छ, जसले त्यो पार्टीमा हैसियत बनाएर एमालेमा बार्गेनिङ गर्दछन् । तेस्रो, माधव नेपालसँग लिगेसी जोडिएको पंक्ति छ ।

मैले अगाडि नै भनिसकेँ, समाजवादीमा एमालेबाट लागेकाभन्दा ठुलो कार्यकर्ता पंक्ति माओवादी केन्द्रबाट एमालेमा एकताबद्ध भएर लागिसकेका छन् । विभाजन जनताको तहमा पुगेको छैन, पुग्ने वाला पनि छैन ।

अहिलेको मुख्य चुनौती के हो ?

खासगरि नेकपा एमालेको नीति र नेतृत्वमाथि घेरावन्दी र प्रहार भइरहेको छ । नेकपा एमालेविरुद्ध भ्रम सिर्जना गर्ने खालका कार्य भइरहेका छन् । यो एमालेको मुख्य चुनौती हो । दोस्रो त, समग्र नेपाली कम्युनिष्ट आन्दोलन र एमालेभित्र देखिएको दक्षिणपन्थी अवसरवाद हो । तेस्रो, व्यक्तिवादको जगमा उठेको अराजकतावाद हो । संगठनात्मक सिद्धान्तप्रतिको निष्ठा डगमगाएको छ । केन्द्रीयता र जनवाद बिचको सन्तुलन बिग्रदा संगठनमा अराजकता देखिन थालेको छ ।

हामी लामो समयदेखि अधिकार प्राप्तिको आन्दोलनमा लाग्दै आयौं । पार्टीमा फुल टाइमर कार्यकर्ताका रुपमा कार्य गर्दै आयौं । तर, आज समय बदलियो । राजनीतिक रुपले गणतन्त्र ल्याएका छौं । विज्ञान र प्रविधिको क्षेत्रमा ठुलो परिवर्तन आएको छ । तर, हाम्रा पुरानै चिन्तन, विचार र कार्यशैलीले नराम्रोसँग जरा गाडिरहेको छ । आम नागरिकको अपेक्षा अनुसार नयाँ दिशामा हिड्ने सकिरहेका छैनौं ।

एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रकृया नटुङ्गिदै गुटगत कृयाकलापले पार्टी विभाजन हुन पुग्यो । पार्टी एकीकरणको प्रक्रियामा रहेकाले लामो समयसम्म नेता कार्यकर्तामा वैचारिक तथा नेतृत्व विकासका कार्य हुन सकेनन् । त्यस कारण ठुलो संख्याका कार्यकर्तालाई पार्टीका नीति, विचार र पद्धतिप्रति प्रशिक्षित गर्न सकिएन । तसर्थ पार्टी संचालनको कार्यशैलीमा समेत समस्या देखिन थालेको छ ।

त्यस्तै पार्टीका पुराना कार्यकर्तामा गणतान्त्रिक व्यवस्था आउँदासमेत आफ्नो जीवनस्तरमा कुनै परिवर्तनको महसुस गर्ने वातारण नबनेकाले नैराश्यता बढ्दो छ । तसर्थ कार्यकर्ताको शिक्षा, स्वास्थ्य र रोजगारीका बारेमा पार्टी योजनाबद्धरुपमा अगाडि बढ्नुपर्ने अवस्था छ ।

तपाईंको तहबाट यी चुनौती सामना गर्न कस्तो भूमिका निर्वाह हुन्छ ?

लामो समयसम्म पार्टी एकीकरणका नाममा पार्टीमा प्रभावकारी काम नहुँदा अहिले केही समस्या देखिए पनि पार्टी अधिवेशन सकेर विस्तारै नियमित काम गर्न थालेपछि समस्याहरु हल भएर जाने छन् । गतिशिलताले अस्तित्वको निर्माण गर्दछ । जसरी बगिरहेको नदी शुद्ध हुन्छ, त्यसैगरी गतिशिल संगठनले मात्र पार्टी प्रभावकारी हुँदै जाने जाने हो । मैले माथि उल्लेख गरेका धेरै समस्या पार्टी संचालन र प्रशिक्षणका माध्यमवाट समाधान गर्दै जानेछौं ।

मैले देखेको केही चुनौतीको समाधान गर्न विषय विज्ञहरुसँग छलफल मै छु । म तपाईंसँग आत्मविश्वासका साथ प्रण गर्न चाहन्छु कि अब, केही समयमै एमाले पोखरा महानगरभित्रका कुनै पनि पार्टी सदस्यले उपचारका लागि ऋण खोज्दै भौतारिन पर्ने छैन । तमाम नेता कार्यकर्तालाई पार्टीले सुखदुःखको सहयात्री र अभिभावक बनेर अगाडि बढाउँछ ।

पछिल्लो समय राजनीतिमा युवा पुस्ताको आकर्षण बढिरहेको छ, तपाईं पनि विद्यार्थी राजनीतिबाट पार्टीमा आउनु भएको छ, साँच्चै अब युवाले नेतृत्व गर्छन् ?

नेपालका ठुला दलहरुले अहिले वडादेखि केन्द्रसम्मका अधिवेशनहरु सम्पन्न गरिरहेका छन् । पार्टीहरुमा नयाँ नेतृत्व चयन भएको छ । त्यसमध्ये उल्लेख्य संख्यामा नयाँ पुस्ताका साथीहरु निर्वाचित हुनुभएको छ । यो निकै सकारात्मक कुरा हो । हाम्रो देशमा अहिले १६ देखि ४० उमेर समूहका मात्रै ४० प्रतिशत भन्दा बढी युवा साथीहरु निर्वाचित हुनु भएको छ । युवा शक्ति राजनीतिमा आउनु भनेको शक्ति राष्ट्र निर्माणको आधार बन्नु पनि हो । त्यसैले राजनीतिमा मात्र होइन, सामाजिक परिवर्तनको अभियान, व्यवसाय, उद्योग, निर्माण लगायतका क्षेत्रमा समेत युवा पुस्ताको सहभागिता जरुरी छ । राजनीतिले नै हरेक क्षेत्रलाई प्रभावित पार्दछ । त्यस कारण आजको युगको आवश्यकता अनुसार राजनीतिलाई हाँक्नका लागि पनि युवा पुस्ताको नेतृत्व आवश्यक हुन्छ । यो आकर्षणले युवा हस्तक्षेप बढेको छ । यो आफैमा परिर्वतनका लागि सकारात्मक सन्देश हो भन्ने ठानेको छु ।

एमालेको हालै सम्पन्न महाधिवेशनले आम जनतामा के सन्देश दिएको ठान्नु हुन्छ ?

मेरो विचारमा एउटा जिम्मेवार राजनीतिक दलले समाज परिवर्तनको नेतृत्व गर्न सक्नु पर्दछ । अर्थात् हरेक क्षेत्रमा अगुवाई गर्न सक्नु पर्दछ । नेकपा एमालेले महाधिवेशनबाट समाजलाई नयाँ सन्देश दिएको छ । छोटो समयमा एमालेले वडा अधिवेशन र महाधिवेशन सम्पन्न गर्नु सामान्य विषय होइन । त्यसमा पनि व्यवस्थापकीय हिसाबले एकदमै चुस्त र दुरुस्तरुपमा प्रतिनिधि व्यवस्थापन ग¥यो । सुरक्षा चेकजाँच सम्मका लागि डिजिटल प्रविधिको प्रयोग भयो । अन्य दलहरुले ट्यांकीलाई मतपेटिका बनाईरहँदा एमालेले इलेक्ट्रिक मेसिनको प्रयोगबाट मतदान ग¥यो । यसबाट के प्रमाणित हुन्छ भने एमाले समय अनुरुप जनताको आवश्यकता अनुसार अगाडि बढ्न सक्ने दल हो ।

त्यतिमात्र होइन, एमालेले चितवनको नारायणी किनारमा गरेको महाधिवेशनमा देखिएको जनताको उपस्थितिले एमाले निर्विकल्प राजनीतिक दल हो भन्ने कुरा स्थापित गरेको छ । एमालेको महाधिवेशनमा जनसागर उर्लिएको देखेका अन्य दलले त्यस प्रकारको अधिवेशन गर्ने आँट गर्न सकेका छैनन् । त्यस्तै नेतृत्व चयनका दृष्टिकोणले उन्नत लोकतान्त्रिक संस्कारको विकास गरेको छ । तसर्थ नेकपा एमालेको महाधिवेशनले एमाले वृत्तमा मात्र होइन, सिंगो राष्ट्रलाई नयाँ सन्देश र उत्साह दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप