शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘शिक्षामन्त्रीले किताब किने, अरू नेता झुल्किएनन्’

राप्रपाको महाधिवेशनमा बेच्ने किताबको अभाव
आइतबार, १८ पुस २०७८, १० : २६
आइतबार, १८ पुस २०७८

मङ्सिर–पुसको जाडोमा राजनीतिक दलका महाधिवेशनहरू भइरहेका छन् । महाधिवेशनमा पार्टीका आगामी कार्यदिशाबारे छलफल चलिरहँदा कार्यक्रमस्थल बाहिर विभिन्न पुस्तक बिक्रीका लागि खटिएका पुस्तक व्यापारीहरू भने निराश अवस्थामा भेटिए ।

नेकपा एमालेको महाधिवेशन चितवनमा सम्पन्न भयो । त्यहाँ पनि सडक छेउमा पुस्तक फिँजाएर बिक्रीका लागि राखिएकै थिए । काँग्रेस र राप्रपाको काठमाडौँमा सम्पन्न महाधिवेशनमा पनि पुस्तक विक्रीका लागि राखिएका थिए । अहिले माओवादी केन्द्रको महाधिवेशन काठमाडौँको प्रज्ञा भवनमा चल्दैछ । यहाँ पनि पुस्तक बिक्री गर्ने व्यापारीहरू खटिएका छन् ।

विभिन्न कार्यक्रममा पुस्तक बेच्दै हिँड्नेमध्येका एक हुन्– रामेछाप घर भएका दीपक श्रेष्ठ । उनी २०६५ सालमा काठमाडौँ आएका थिए । काठमाडौँ आएपछि उनले जीविकोपार्जनका लागि धेरै काम खोजे तर, कुनै टिकाउ भएनन् । अन्ततः उनी पुस्तक बेच्दै हिँड्न थाले ।

विभिन्न पार्टीका महाधिवेशन, सम्मेलनहरूमा गएर भुइँमै पुस्तक फिँजाएर धुलो धुवाँ, जाडो गर्मी नभनी दिनभरि पुस्तक बिक्री गर्नु सजिलो पेसा पक्कै होइन । तर जीवन निर्वाहका लागि पनि गर्नु नै पर्‍यो । श्रेष्ठ भन्छन्, ‘प्रायः कार्यक्रमसँग सम्बन्धित पुस्तकहरू बढी बिक्छन् । कार्यक्रम कस्तो छ, त्यहीअनुसारका बिक्री हुन्छन् । अहिले माओवादीका कार्यक्रममा कम्युनिस्टसँग सम्बन्धित पुस्तक बढी बिकेका छन्’, उनी भन्छन् ‘खास गरी अहिले माओ र समाजवादसँग सम्बन्धित पुस्तक बढी खोजी भइरहेको छ ।’

दीपकले माओवादीको महाधिवेशनमा मात्र होइन, एमालेको महाधिवेशनमा पनि चितवन पुगेर पुस्तक बेचे । त्यति टाढासम्म किताबको भारी बोकेर चितवन पुग्दा कति नाफा कमाउनुभयो भन्ने प्रश्नमा उनी भन्छन्, ‘तुलनात्मकरूपमा हेर्दा एमालेकै महाधिवेशनमा बढी बिकेको छ । एमालेको महाधिवेशनमा जनसहभागिता पनि अलि बढी नै थियो ।’

उनी ठूला पार्टीको महाधिवेशनमा मात्र होइन, राप्रपाको कार्यक्रममा पनि पुस्तक लिएर महाधिवेशनस्थल पुगे । तर, खासै बिक्री नभएको उनले सुनाए । उनले भने, ‘राप्रपाकोमा एक दिन मात्र गएँ, फेरि गइनँ । किनभने राप्रपाको कार्यक्रमलाई सपोर्ट गर्ने खालका पुस्तकहरू खासै छैनन्, बिक्री पनि त्यति भएनन् ।’

खासगरी बजारमा जुन विषयको बढी चर्चा हुन्छ, त्यस्तै किताबको खोजी गरेर ग्राहकहरू आउने गरेको उनको अनुभव छ । फेसबुक र अनलाइनमा चर्चा भएका पुस्तकहरूको पनि खोजी हुने गरेको श्रेष्ठ बताउँछन् ।

बजारमा विभिन्न विषयका पुस्तकहरू उपलब्ध छन् । कुन विधाका  पुस्तक बढी बिक्छन् भन्ने प्रश्नमा उनी भन्छन्, ‘उपन्यास, कथा जस्ता आख्यानहरू अलि बढी बिक्री हुन्छन् ।’ पछिल्लो समय कविताका पुस्तकहरूको बिक्री घटेको उनी बताउँछन् ।  

शिक्षामन्त्रीले किताब किने, अरू नेता देखिएनन्

दीपककै छेउमा राजकुमार श्रेष्ठ पनि पुस्तक बिक्रीका लागि ग्राहक कुरिरहेका थिए । ०७२ मा अखिल क्रान्तिकारीमा लागेका तर विप्लव फुटेर गएपछि राजकुमारले विद्यार्थी राजनीति छाडे । र, अहिले उनी पुस्तक बिक्रीतिर लागेका छन् । उनी भन्छन्, ‘पार्टी फुटेपछि माओवादीको सदस्यता त्यागेँ ।’

राजकुमारले कार्यक्रमहरुमा गएर पुस्तक बेच्न सुरु गरेको धेरै भएको छैन । ‘योचाहिँ अभियान अन्तर्गत हो’ उनले रातोपाटीसँग भने, ‘वैज्ञानिक समाजवाद निर्माण अभियान भन्ने एउटा संस्था छ, त्यसको संयोजक रमेश सुनुवार हुनुहुन्छ । उहाँले मार्क्सवाद, इतिहास, दर्शन र साइन्सको गहन अध्ययन गर्नुभएको छ । उहाँ २५–३० वर्षदेखि अध्ययनमा मात्र लाग्नुभएको छ । हामी उहाँका विद्यार्थी पनि हौँ र यो वैज्ञानिक समाजवाद अभियानमा म पनि जोडिएको छु ।’

यो अभियानले मार्क्सवाद, इतिहास र विज्ञान प्रविधिसम्बन्धी छ महिने प्रशिक्षण पनि गराउने राजकुमारले सुनाए । यसले नयाँ–नयाँ पुस्तक लेख्ने, अनुवाद गर्ने र प्रकाशन गर्ने काम पनि गर्दै आएको उनले बताए ।

श्रेष्ठले भने, ‘किताब बेच्ने यो कार्य चाहिँ २–३ वर्षदेखि गर्दै आएको छु । तर, सबैका कार्यक्रममा बेच्ने होइन । पेसाका रूपमा पनि होइन, पार्टटाइम जबका रूपमा गर्दै आएको छु ।’

बिक्रीका आधारमा भन्दा मार्क्सवादी किताब पढ्नेहरूमा  माओवादी कार्यकर्ता नै बढी देखिएको राजकुमारको अनुभव छ । अहिले कुन पुस्तक बढी बिक्री भएको छ भन्ने प्रश्नमा श्रेष्ठ भन्छन्, ‘हामी मार्क्सवादी पुस्तकसम्बन्धी काम गर्ने हुँदा त्यही बढी बिकेको छ ।

‘सहयोगी समाज’ भन्ने पुस्तक बढी बिक्री भएको उनले सुनाए । ‘शून्य लागतमा सहयोगी समाज’ भन्ने यो किताबका लेखक अमेरिकी नागरिक हुन् ।  उनको ‘थर्ड इन्डस्ट्रियल’ भन्ने पुस्तक निकै चर्चामा थियो, चिनियाँ सरकारले उनको भाषामा अनुवाद गरेर लाखौँ कपी बेचेको थियो,’ श्रेष्ठ भन्छन्, ‘यो पुस्तकमा साइन्स एन्ड टेक्नोलोजीले नाफामुखी पुँजीवादी व्यवस्थालाई अन्त्य गर्छ र समाजवादी मोडल अथवा सहयोगी समाज कसरी स्थापित हुन्छ भन्नेबारे उल्लेख गरिएको छ ।’

अहिले माओवादीको डकुमेन्टमा पनि विज्ञान प्रविधि र समाजवादको चर्चा भएकाले यो पुस्तक एकदमै खोजी गरेर पढ्ने गरेको उनले सुनाए ।

माओवादीको महाधिवेशनस्थल प्रज्ञा परिसरमा बिहानदेखि बेलुकासम्म ४ दिन निरन्तर बसेका श्रेष्ठ भन्छन्, ‘यो पुस्तक पसल अगाडिबाट थुप्रै गाडीहरू गए । तर, सिनियर नेताहरूको हकमा भन्नुहुन्छ भने एउटा नेताले पनि गाडीबाट ओर्लिएर किताब बेच्नेहरूलाई हालखबर सोध्ने, कतिको पुस्तक बिक्री भएको छ भन्ने र एक–दुईवटा किताब किनिदिने त कुरै छोडौँ, फर्केर हेरिदिनेसम्म पनि  गर्नुभएन । आजचाहिँ शिक्षामन्त्री देवेन्द्र पौडेल आउनुभयो । गाडीबाट झर्नुभयो र यो लाइनका सबैका किताब किनिदिनुभयो । मेरो पनि अलिकति किताब किनेर लानुभयो । कस्ता–कस्ता किताब आएका छन् र कतिको बिक्री भएको छ भनेर सोधिखोजी गर्नुभयो ।’

श्रेष्ठ भन्छन्, ‘अध्यक्ष प्रचण्डलाई पुस्तक बेच्ने हामी कसैले पनि देखेनौँ । टिभी स्क्रिनमा मात्र देख्यौँ । अरू उच्च नेताहरू कसैलाई पनि देख्न पाएका छैनौँ । प्रतिनिधिहरू, केन्द्रीय सदस्य स्तरका नेताहरूले चाहिँ अलि–अलि पुस्तक किन्नुभएकै छ ।”

निराशाको व्यापार

पुस्तकबाट हुने नाफाका बारे राजकुमार भन्छन्, ‘पब्लिकेशनहरूले किताब बेच्नेहरूलाई ३० देखि ४० प्रतिशतसम्म छुट दिन्छन् । हामीले पनि ग्राहकलाई छुट दिनुपर्छ २० देखि २५ प्रतिशतसम्म छुट दिनुपर्छ । कतिपय पुस्तकबाट थोरै नाफा हुन्छ । यो पेसाबाट मात्रै हाम्रो गुजारा चल्दैन ।’

अर्का विक्रेता दीपक श्रेष्ठ पुस्तक मात्र बेच्दैनन्, आफैँ पढ्छन् पनि । ग्राहकहरूको खडेरी पर्दा मन भुलाउन भए पनि पढ्ने गरेका उनी सुनाउँछन्, ‘दर्शनसम्बन्धी पुस्तकतर्फ मेरो रुचि भएकाले त्यस्ता प्रकारका पुस्तक बेलाबेला हेर्ने गर्छु । सेल्फ हेल्प र विज्ञान कथासम्बन्धी पुस्तक बढी अध्ययन गर्छु । बेलाबखत दिक्क लाग्दा आध्यात्मिक खालका पुस्तक पनि हेर्ने गरेको छु ।’

राजधानीमा पुस्तक व्यापारबाटै घर र गाडी जोड्नेहरू पनि छन् भन्ने सुनिन्छ, तपाईंले कतै जग्गा जमिन लिनुभएको छ ? यो प्रश्नमा दीपक भन्छन्, ‘ठुलो स्केलमा व्यापार गर्न सक्नेहरूले चाहिँ किनेका छन् । तर, हामीले त्यति ठुलो स्केलमा व्यापार गर्न सकेका छैनौँ । त्यसका लागि सुरुमा अलि बढी नै लगानी पनि चाहियो । त्यो नभएपछि सानै स्केलमा जाने हो ।’

श्रेष्ठ भन्छन्, ‘८–९ वर्ष भयो यसरी पुस्तक बेच्दै हिँडेको । बुक सर्भिस भनेर फेसबुकको एउटा पेज पनि बनाएको छु । त्यसमार्फत आएका अडरहरू पनि पुर्‍याइदिने गरेको छु । अनलाइनबाट र यस्ता कार्यक्रमतिर गएर बेच्ने गर्छु ।’

श्रेष्ठ थप्छन् ‘पुस्तकमा नाफा कम हुन्छ, उनी भन्छन् ‘ग्राहकलाई पनि डिस्काउन्ट गरेर दिनुपर्छ, त्यसरी दिँदा ५ देखि १५ प्रतिशतसम्म नाफा हुन सक्छ ।’

बिक्री नभएको समयमा यो पेसाप्रति दिक्क लागेर आउने गरेको दीपकले सुनाए । तर, ८÷९ वर्ष यही पेसा अपनाएकाले अर्कोमा हात हाल्न उनलाई कठिन लागेको छ । वाल्मीकि क्याम्पसमा दर्शनशास्त्र पढ्दै गरेका उनी भन्छन्, ‘म अध्ययन पनि गर्दैछु । यो कामले अध्ययनका लागि आर्थिक सपोर्ट गरेको छ ।’

उनलाई यो पेसाबारे निकै जानकारी भएकाले उनी अब यही पेसा अपनाउने बताउँछन् । उनी पसलमा लगानी थपेर एउटा सफल प्रकाशक बन्ने सपना बुनिरहेका छन् । उनी भन्छन्, ‘यो क्षेत्रमा मैले धेरै ज्ञान हासिल गरेको छु । अरूतिर खोज्नुभन्दा यो केही सहज छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मोहनप्रसाद दाहाल
मोहनप्रसाद दाहाल
लेखकबाट थप