शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ज्येष्ठ नागरिकका समस्या, परिवार अनि राज्यको दायित्व

आइतबार, १८ पुस २०७८, १४ : ५२
आइतबार, १८ पुस २०७८

हिजोसम्म आफ्ना खेतीपाती, बस्तुभाउ,  घरपरिवार तथा सारा राजपाट चलाउँदै आउने मुखिया बाजे, काजी साहेब र जिम्बालको नामले चिनिने परिवारहरूको समाजमा बोली बिक्थ्यो । एक अर्काको पीरमर्का बुझ्थे, बाबु आमाको अंशमा लोभी पापीहरू देखिन्नथे । गाउँ समाजलाई मिलाएर कुशलतापूर्वक राख्थे र आफू पनि ढलिमलि गरेर खुसी साथ बसेका हुन्थे । प्रत्येक घरको मेरुदण्ड तथा सल्लाहकारको रूपमा आफ्नो पहिचान बनाएका ती तमाम जिम्बाल बाजे जस्ता ज्येष्ठ नागरिकहरू आजको परिस्थितिमा पुरानो क्यालेन्डरझैं भएका छन् । घरको कुनामा, बृद्धाश्रममा, मन्दिर पाटी पौवामा र सडकका किनार र गल्लीहरूमा आफ्ना अशक्त शरीर लिएर जताततै बेसहारा भई भौंतारिरहेका छन् ।

हाल तमाम ज्येष्ठ नागरिकहरूको असक्त जीवनको कथा–ब्यथा केही घरमा रुपमा फरक देखिन सक्छ । तर, सारमा अधिकांश घर परिवारको आ–आफ्नै किसिमका अपमान, उपेक्षा, पीडा र रोदन भने आँखा चिम्लेर बस्नेखाले देखिदैन । ज्येष्ठ नागरिकहरूलाई अनुत्पादन शक्तिको रुपमा तल्लो नजरले हेर्ने, सामाजिक स्वतन्त्रताबाट टाढा र परिवारबाट उपेक्षित रहनुपर्ने, छोरा बुहारीको नजरमा बोझ देख्ने संकीर्ण दृष्टिकोण डरलाग्दो किसिमले समाजमा हुर्किदै जानु निश्चय पनि चिन्ताको बिषय हो । विश्वको ५७ देशको एक सर्वेक्षणमा ६० प्रतिशत व्यक्ति बृद्धबृद्धाहरूप्रति नकारात्मक धारणा राख्ने गरेको देखाउँछ । यस प्रकारको कुसंस्कार गाउँभन्दा सहरमा र अशिक्षितभन्दा शिक्षित घर परिवारमा बढी देखिनु अझ दुःखद र उदेकलाग्दो स्थिति इंगित गर्छ  । 

हामी सबैको उद्धेश्य असल परिवार तथा सभ्य समाज निर्माण गर्ने धुनमा हुन्छ,  फेरि पनि हाम्रा दैनिक गतिविधि र बाहिरी परिवेशले हामीलाई आफ्ना मूल्य मान्यताविरुद्ध उभ्याएको पत्तो पाउँदैनौं । यसको मूल कारण हो, नयाँ पुस्ता र पुरानो पुस्ताबीचको द्वन्द्वले उब्जाएको विशेष परिस्थिति । यसलाई एउटा पुस्ता अन्तरालको रुपमा बुझ्नु मनासिब हुनेछ ।

कतिपय ज्येष्ठ नागरिकको शेष जीवन घर आँगन या पर्खालभित्र खुम्चिएको छ भने कतै कैदीको रूपमा पनि व्यवहार गर्ने गरिन्छ । यस्तो अवस्थामा घरमा कोही पाहुना आएमा बृद्धबृद्धाहरू मनका वेदना पोख्न खोज्छन् । तर घरमा छाडिएका सुराकीहरूका कारण मनको कुरा मनमै गुम्स्याएर कुण्ठापूर्वक बाँच्न बाध्य हुन्छन् ।

वर्तमानमा ज्येष्ठ नागरिक  

जीवनको विभिन्न चरण पार गर्दै साठ्ठी लागेपछि औसत जीवन बृद्धावस्थाको अन्तिम चरणमा पुगिसकेको हुन्छ । शक्तिहीन शरीर, शिथिल मन अनि आर्थिक र मानसिक समस्या कष्टका कारण बन्दै गएका हुन्छन् । विश्वको एउटा ठूलो हिस्सा यस्तो छ, जहाँ ज्येष्ठ नागरिक सामाजिक र आर्थिक कारणले असुरक्षा र कष्ट भोग्न बाध्य छन् । शारीरिक असमर्थताका कारण लठ्ठी टेकेर हिँड्न विवश तिनका आफन्तमध्ये कोही विदेशमा छन्, त कोही छोराछोरी र नातिनातिनाहरूको मोह र मायाबाट अलग्गिएका छन् । कोही आर्थिक कारणले लाचार र विवश छन् भने कोही कर्तव्यबाट विमुख हुनेहरू पनि छन् ।

      यसरी ज्येष्ठ नागरिकको शेष जीवन घर आँगन या पर्खालभित्र खुम्चिएको छ भने कतै कैदीको रूपमा पनि व्यवहार गर्ने गरिन्छ । यस्तो अवस्थामा घरमा कोही पाहुना आएमा बृद्धबृद्धाहरू मनका वेदना पोख्न खोज्छन् । तर घरमा छाडिएका सुराकीहरूका कारण मनको कुरा मनमै गुम्स्याएर कुण्ठापूर्बक बाँच्न बाध्य हुन्छन् । आजको नयाँ पुस्ता पुरानो पुस्तासँग बस्न र कुरा गर्नु आफ्नो समयको बर्बादी ठान्दछ ।      

ज्येष्ठ नागरिकहरू एक गाँस अन्नका लागि कहिले छोराहरूको घर घरमा पालैपालो खान कुर्नुपर्ने त कहिले छोरीहरूको घरको ढोका ढकढक्याउनु पर्ने त कहिले आफन्त र मन्दिर, पाटीपौवातिर भौंतारिएर शरण  लिनुपर्ने करुणामयी अवस्थाले जो सुकैको पनि आँखा रसाउँछ । धेरैजसो छोरा बुहारीबाट, कोही छोरी ज्वाइ या नातिनातिनाबाट पनि सताइएका हुन्छन् । बृद्ध आमाबुबाको नाउँमा रहेको चल अचल सम्पत्तिमा टिकेको गिद्धेदृष्टिको कारण घरभित्रै नजानिदो किसिमले घेराबन्दीमा पारेर स्वार्थ पूरा गर्न खोज्छन् । स्वार्थ पुरा भएपछि घर न घाटको बनाउँछन् ।हिजो तिनै आमाबाबुले आफ्ना छ सात सन्तान जन्माएर आफू खाइ नखाई हुर्काउँछन् । तर, पछि तिनका कुनै सन्तानले पनि आफ्ना आमाबुवा पाल्न नसक्ने असमर्थता प्रकट गर्नु यस समाजको लागि यो भन्दा लज्जास्पद र दुःखद बिषय अर्को के हुन सक्छ र । 

समस्याका कारक तत्व

आजको बदलिँदो परिवेशमा भौतिक सुखसुविधा प्राप्ति, रहनसहन र जीवन शैलीमा परिवर्तन आएको छ । ठूला शहरको ब्यस्त जीवनमा आफ्नी श्रीमती, एक या दुई छोराछोरीमा सीमित एकल परिवार–सुखी परिवार समयको माग बनिसकेको छ । हिजोको संयुक्त परिवारमा जस्तो संगै बस्ने, संगै खाने अनि संगै बाँच्ने परम्पराबादी सोंचमा आएको परिवर्तनका कारण अधिकांश घर परिवारका ज्येष्ठ नागरिकहरू परिवारबाट क्रमशः किनारा लाग्न थालेका छन् । आजका नयाँ पुस्ता भौतिक सुख सुविधामा रमाउन खोज्छ, बूढाबूढीहरूसंग होइन  । आफूले ईच्छाएका हरेक मँहगो इलेक्ट्रोनिक बस्तु किन्छ तर आमाबाबुको औषधोपचार र धर्मकर्मको लागि पैसाको अभाव हुन्छ । नयाँ पुस्ता एक्लै छुट्टिएर बाक्लो दाल खान र स्वतन्त्रपूर्वक बाँच्नका लागि  छुट्टिन्छ तर पुराना पुस्तासंग मिलेर बस्न रुचाउँदैन । दोश्रो कुरा, धन सम्पत्ति कमाउने तीव्र आंकक्षाले ज्येष्ठ नागरिकको सेवा गर्न भ्याउँदैन ।

    तेस्रो कुरा, अंश बाँडफाँटको हो । बृद्धबृद्धाहरू छोराबुहारीबाट उपेक्षित भएपछि कतिपय अवस्थामा छोरीज्वाइँले समय समयमा सहयोग गर्ने र आफैसंग राखेर पाल्ने गरेका पनि छन् । आजको  समाजमा छोराछोरी समान मानिन्छन् । अहिलेको परिपे्रक्षमा कताकता छोराले भन्दा छोरीले आफ्ना आमाबुवालाई विशेष रेखदेख र माया गरेको पाइन्छ । आमाबुवा बित्दा छोरासरह छोरीहरू मलामी जाने, काजक्रिया बस्ने, श्राद्ध गर्ने उदाहरण पर्याप्त उदाहरण देखिदैछ । यसरी समयको परिवर्तनसंगै महिला र पुरुषलाई हेर्ने सोच र चिन्तनमा सुधार आएको छ ।

हरेक बृद्धबृद्धाहरूलाई यो थाहा छ कि हामीले जीवनको अन्तिम चरणको लागि केही धन सम्पत्ति जोहो नगर्ने हो भने सन्तान या आफन्त भन्नेहरूले आजको समयमा बूढाबूढीहरूलाई दुधको झिंगाझैं सडकमा फाल्ने निश्चित छ । आजको आडम्बरी समाजमा बूढाबूढीहरूको सेवा सत्कार र माया उसको बाँकी सम्पत्तिमा निर्भर गर्न थालेको हुँदा आमाबुबाको महिमाभन्दा पनि आजको कलियुगमा धनको महिमालाई स्वतः बुझ्न सकिन्छ ।

यतिमात्र होइन, जन्मदिने आफ्नो आमाबुबालाई एक गाँस खान दिएबापत नाति नातिनाहरूलाई स्कुल पुर्याउन लगाउने, दूध र तरकारी किनेर ल्याउने, शेयर बजार धाउने, बिजुली, फोन, खानेपानीको बिल समयमा तिर्ने, लुगा धुन लगाउने, खाना पकाउने, सरसफाइ गराउने, घरको सुरक्षाको लागि घर कुरुवाजस्ता दबाबमूलक कार्य गराइएको हुन्छ । यसले ज्येष्ठ नागरिकको गुम्सिएको जिन्दगी एउटा चौकीदार तथा दयाको पात्रको रूपमा बाँच्न विवश हुन्छ, जुन आजको कटु यथार्थ हो ।

शास्त्रको नजरमा ज्येष्ठ नागरिक  

हाम्रो शास्त्रले बुबालाई पालक र रक्षकको रुपमा मान्दै आएको छ । भनिन्छ, दस उपाध्यायहरू भन्दा माथि एक आचार्य, सय आचार्यहरू भन्दा माथि एक बुवा र हजार बुवाहरू भन्दा अझ माथि आमाको मन र महिमालाई बताइएको छ । महाभारतमा बुबालाई आकाशभन्दा माथि र आमालाई पृथ्वीभन्दा भारी मानिएको छ । अन्य कतिपय स्थानमा आमा सबै तीर्थ हुन् र बुबा सम्पूर्ण देवताको स्वरुप मानिन्छ । यसै किसिमले मनुस्मृतिमापनि ज्येष्ठ  नागरिकहरूको सन्दर्भमा जब कुनै ब्यक्ति आफ्नो जीवनमा  हजुरबुबा बनेपश्चात् पितृऋणबाट मुक्त होइन्छ भन्ने ठूलो जनविश्वास रही आएको छ । अर्को हिसाबले जब कुनै ब्यक्तिको कपाल फुल्न थाल्छ, छाला चाउरिन थाल्छ, आँखाले धमिलो देख्न थालेपछि ब्यक्तिले संसारिक सुख त्यागेर वानप्रस्थ जीवनलाई अंगीकार गर्न भनिएको छ ।

शास्त्रानुसार पचास बर्षभन्दा माथि लागेपछि आफ्ना उत्तराधिकारी जेठो छोरालाई सम्पूर्ण जिम्मेवारी सुम्पेर गृहस्थ आश्रमबाट वानप्रस्थ जीवन ब्यतित गरी समाज कल्याणको क्षेत्रमा लाग्न भनिएको छ । वानप्रस्थबाट सन्यासी र सन्यासीबाट मोक्षको बाटो पाईन्छ भन्ने जनविश्वास रहेता पनि हाम्रो सामाजिक बनौट, सन्तान मोहले गर्दा गृहस्थ आश्रमको बन्धन तोड्ने आँट गर्न सकेका छैनन् । बूढाबूढीहरूको सन्तान मोह, खेतबारी, बस्तुभाउ घर आँगनमै जिन्दगी रुमलिएका हुन्छन् । 

आजको आधुनिक युगमा श्रवण कुमारजस्ता  छोरा पाउन ज्यादै कठिन छ । किनकि आजको शिक्षामा किताबी ज्ञानबाहेक ब्यवहारिक शिक्षा तथा आध्यात्मिक शिक्षा दिन नसकिने उत्पादनले मानवीयता अपनत्व तथा भाइचारालाई बुझ्न या ठम्याउन नसक्ने शिक्षाबाट सभ्य समाजको निर्माण कसरी  सम्भव होला ? त्यसैको फलस्वरूप थोरै पढेका र बढी आधुनिकताको हावाले छोएका कतिपय घर परिवारको संकीर्ण सोच र रुखो स्वभावका कारण यी बूढाबूढीहरू कतै गए हुन्थ्यो या आश्रममा बसिदिए हुन्थ्यो भन्ने आकाँक्षा पाइन्छ । कुचोले बढार्ने कसिंगर हुरी बतासले उडाइ दिए हुन्थ्यो, भगवानले लगे हुन्थ्यो भन्ने भित्री चाहना लुकेर बसेको पाइन्छ । तर सामाजिक लोकलज्जा, डर र संकोचले आफ्ना आमाबाबु या हजुरबुबा आमालाई बृद्धाश्रमा राख्ने आँट जुटाउन सक्दैनन् ।

हिजोआज आधुनिकताको नाउँमा कुकुर पाल्न इज्जत र शान सम्झिने तर जन्म दिने आमाबुबालाई सडक र बृद्धाश्रममा छाड्ने कुपात्रहरूले के बुझ्न जरुरी छ भने रुप, यौवन, तागत, धन, बैभव र ऐय्यासी क्षणिक र अस्थायी मात्र हुन्, सबै थोक सम्झनु महाभूल हो । 

सकारात्मक सोचको खाँचो     

विशेष गरी ज्येष्ठ नागरिकको हकमा शारीरिक तथा मानसिक रुपले स्वस्थ्य रहनका लागि सकारात्मक चिन्तन अपरिहार्य देखिन्छ । हाल हरेक घरका सन्तान काम र मामको खोजीमा विदेश पलायन हुँदा घरका बृद्धबृद्धाहरूमा एक्लोपना, आर्थिक समस्या एबं नैराश्यताको अनुभूति हुन्छ । यस्तोमा सन्तुलित जीवनशैली, मानसिक शान्ति तथा उच्च मनोबल बनाई राख्न सकारात्मक सोच जीवनमा सहायक सिद्ध हुन्छ  ।

ज्येष्ठ नागरिकको चाहना भनेको ईश्वरको भक्ति र आराधना हुन् । बाँच्नको लागि एक मुठ्ठी तातो भात, सम्मानको नाउँमा यसो फुर्सदमा संगै बस्ने, भलाकुसारी गर्ने, घरका खास निर्णयहरूमा सल्लाह लिने, विरामी पर्दा स्वास्थ्योपचारको ब्यवस्था, तीर्थयात्रा एबं धार्मिक कार्यमा संलग्न गराउने जस्ता अत्यावश्यक सेवाको चाहना हुन्छ । तर सबैको चाहना कहाँ पो पुरा हुन्छ र ?

बालबालिका तथा युवाहरू बिहानको उदाउँदो सूर्य हुन् । उनीहरूको सहरी परिवेश अनि रातदिनको ब्यस्त जीवनमा न्यूनतम चाहना पूरा गर्न भ्याइ नभ्याई भएको बेलामा ज्येष्ठ नागरिकहरूले पनि देश विदेशमा रहेका सन्तानहरूको आन्तरिक समस्या  र चाहनालाई बुझ्ने कोसिस गर्नु पर्दछ । उनीहरूको प्रगति र खुसी आशिर्वाद बन्नु पर्दछ । जहिले पनि नकारात्मक या एकांकी ढंगले बिषयबस्तुको विना विश्लेषणले तिक्तता बढाउने हुँदा समस्याको समाधान आन्तरिक समझदारीबाट खोजिनु पर्दछ । 

नयाँ पुस्ताले पनि जन्म दिने आमाबुबाको संघर्ष योगदान र अतितलाई नबिर्सी असक्त तथा बृद्ध आमाबुवाप्रति आफ्नो कर्तव्यबाट बिचलित नभई निरन्तरको सेवा र सहयोग नै असल सन्तानको कर्तव्य हो । आमाबुबाको सेवाको अवसर पटक पटक जीवनमा आउने होइन । जसमा थोरै मात्र संस्कार छ भने पनि उसले आधा पेट खाएर या संघर्ष झेलेर पनि जन्मदिने आमाबुबाप्रति सामाजिक दायित्व निर्वाह गरेको हुन्छ ।

सबै थोक भएर पनि आमाबुवाको सेवा र सहयोगमा मुन्टो बटार्ने सन्तान बिना पुच्छरको पशु मानिन्छ । आजका छोरा भोलिका बुवा र पर्सिका हजुरबुबा पनि हुन् भन्ने कुरालाई ध्यानमा राख्नेहरूले समानजस्यता कायम गर्नु जरुरी छ । यो एउटा स्वस्थ्य र सभ्य समाज निर्माण गर्ने सन्दर्भमा आजको नयाँ पुस्ताको भूमिकाले भोलिको समाज कस्तो बनाउने कुरालाई तय गर्दछ । निमको बिरुवा रोपेर आँपको आशा गर्न सकिन्न । तसर्थ सबैले आआफ्नो घर परिवारमा के शिक्षा दिन जरुरी छ भने सत्य आफ्नो लागि, प्रेम अरुको लागि र दया सबैको लागि भन्ने मूल मन्त्र जीवनको ब्याकरण मानिन्छ । र, यही कुराले घर परिवारलाई एउटा सुन्दर, शान्त र पवित्र मन्दिर बनाउने तागत सकारात्मक सोचले मात्र दिन सक्दछ ।

राज्यको दायित्व 

जसरी तीब्र विकास बढ्दै जान्छ, त्यसरी नै आधुनिकरणको सिधा प्रभाव समाज र परिवारमा पर्न थाल्छ । समाजमा बृद्धाश्रमलाई तत्कालै स्वीकार्न नसकेता पनि भविष्यको आवश्यकता भने धेरैलाई खटकिएको छ । किनकि देशको राजनैतिक अस्थिरता, चरम गरिबी र बढ्दो बेरोजगारीका कारण हरेक घरका युवा वैदेशिक रोजगारीमा जाने, कोही सधैंको लागि युरोप पलायन आदिले गर्दा घरका बूढाबूढीहरू कोही घर कुरुवा बन्ने त कोही बेसहारा बन्ने बस्तुगत अवस्थालाई नकार्न सकिन्न । अहिले पनि पहाडी तथा दुर्गम जिल्लाका कतिपय घर बस्तीहरू मानवविहीन बिरानो बनेका छन् । त्यसैले, सरकारले हरेक ज्येष्ठ नागरिकहरूको हक हितमा ठोस नीति तथा कार्यक्रमको साथ अगाडी बढाउन धेरै ढिलाइ गर्नु हुन्न ।

सरकारले ज्येष्ठ नागरिक सम्बन्धि ऐन २०६३ र ६५ मा धेरै असल बिषय समेटिए पनि बृद्धभत्ता, सवारी साधनमा आरक्षित सीट, यातायातमा छुट, स्वास्थ्य बीमा, ज्येष्ठ नागरिक कार्यालय सञ्चालन आदि जस्ता बिषयमा थोरै चारा छरेर धेरै यश बटुल्न खोजेको पाउँछौं । शीत चाटेर प्यास मेटाउन सकिदैन । ज्येष्ठ नागरिकहरूको दुरवस्थालाई दृष्टिगत गर्दा सरकारले कम्तीमा चारवटा काम तत्काल थाल्न अति जरुरी देखिएको छ । पहिलो अंश दिने आमाबुबाहरूको जीवनको अन्तसम्म ग्यारेन्टीको ब्यबस्था गर्न सम्बन्धित सरोकारवालाबीच न्यायसंगत बाँडफाँट गर्ने तर पैत्रिक धन सम्पत्ति नहुनेको हकमा या सरोकारवाला नभएको खण्डमा ज्येष्ठ नागरिकहरूको बाँकी जीवनको ग्यारेन्टी राज्यले लिनु पर्दछ ।

 दोश्रो सेवा ग्राम या बृद्धाश्रम निर्माण कार्यलाई केन्द्र सरकारले हरेक तीर्थस्थलहरूमा आधुनिक आश्रम निर्माण हो । यस्तो आश्रममा आवास भोजन मन्दिर पार्क प्रवचन हल, पत्रपत्रिका, टेलिभिजन, पुस्तकालय, औषधालयको व्यवस्था होस् । आश्रमले कुनैपनि बृद्ध, असक्त्त उपेक्षित एबं कुण्ठापूर्वक बाँचिरहेका ज्येष्ठ नागरिकहरूका लागि आनन्ददायी एवं  ईश्वर प्राप्तिको सहज माध्यम बन्न सकोस् । यसो भनि रहँदा धर्म र परम्परा विरुद्ध गएको भान पर्न सक्छ । तर, विगतको जस्तो आफ्ना छोरा, बुहारी, नातिनातिनाहरूसंग बस्ने या बाँच्ने अठोट बोकेका मुस्किलले दुई प्रतिशत आमाबुबाहरू होलान्, जो आफ्नो स्वाभिमानलाई जोगाएर छोरा बुहारी नातिनातिनाहरू संगै बाँच्ने उत्कट अभिलाषा राख्दछन् । भोलिको अझ ब्यस्त दिनमा त्यो सम्भावना पनि नरहने देखिन्छ ।

यस्तो अवस्थामा ज्येष्ठ नागरिकहरूले घर परिवारबाट सिर्जित एकांकी जीवन, अपमान या तिरस्कार सहनुभन्दा राज्यद्वारा प्रदान गरिएको आश्रम उत्तम विकल्प मानिने हुँदा सरकारबाट ज्येष्ठ नागरिकहरूका लागि आधुनिक आश्रम निर्माणतर्फ यथाशीघ्र ध्यान पुग्नु आवश्यक देखिन्छ । तेश्रो यदि राज्यले ज्येष्ठ नागरिकहरूको लागि आधुनिक  बृद्धाश्रमको ब्यवस्था गर्न नसकेको खण्डमा ६५ बर्ष माथिकालाई मासिक दस हजारका दरले  बृद्धभत्ता अनिवार्य गरेर बृद्ध जीवनको सहजीकरणमा अहम् भूमिका खेल्न सक्नु पर्दछ ।

    चौथो ज्येष्ठ नागरिकहरूलाई घर परिवारका सदस्य तथा आफन्तजनबाट बेला बखतमा ज्यान मार्ने धम्की दिने, दुर्ब्यवहार गर्ने, खान नदिने, दवाव र असुरक्षालाई दृष्टिगत गर्दा राज्यले ज्येष्ठ नागरिकहरूको हितमा चौबीसै घण्टा हटलाइन नम्बर उपलब्ध गराई उनीहरूको जीवनरक्षाको लागि अत्यावश्यक प्रवन्ध मिलाउन नितान्त जरुरी देखिन्छ । 

हरेक ज्येष्ठ नागरिकहरूको सम्मानपूर्वक बाँच्न पाउने र त्यसको ग्यारेन्टी गर्ने काम राज्यको हो । जनतासंग हरेक बस्तुमा कर असुल्नुको अर्थ केवल प्रशासनिक संयन्त्र चलाउनु या विशिष्ट ब्यक्तिहरूको सेवा सुविधा थप्दै जाने दुषित नीतिलाई न्यायसंगत मान्न सकिदैन । नेपालको संविधानको धारा ४१ ले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने ब्यवस्था गरेको छ । तर, कार्यान्वयनको अभावले समस्यालाई थुपार्दै लानु अशोभनीय मानिन्छ ।

राज्य सबैको अभिभावक भएपछि सोही अनुरुपको निष्पक्ष भूमिका र ठोस नीति नहुँदा एकातिर सामाजिक बेथिती जन्मिने, अर्कोतिर कुल जनसंख्याको झण्डै २० प्रतिशत ज्येष्ठ नागरिकहरू आर्थिक र सामाजिक परिस्थितिका कारण बहिष्कृतमा परेर सास्ती खेपिरहन बाध्य छन् ।

सारांश   

हेरक वर्ष एक अक्टुबार ज्येष्ठ नागरिक दिवसको रुपमा मनाइन्छ । एउटा सम्मान र सुरक्षाको सांकेतिक सन्देशको रूपमा लिने र सोही अनुसार पाको उमेरलाई सधैं इज्जत र सम्मानको नजरले हेर्ने शिक्षा दिन्छ त्यो दिनले । हिन्दू धर्ममा मातृदेवो भवः, पितृदेवो भवः, अतिथि देवो भवः जस्ता बृहत् उच्च भावनाले ओतप्रोत समाजमा ज्येष्ठ नागरिकलाई सधैं आँखा र शिरमा बसाल्ने शिक्षा दिदै आएको समाज हो । यस्तो उत्कृष्ट समाजमा पनि हिजोआज आधुनिकताको नाउँमा कुकुर पाल्न इज्जत र शान सम्झिने तर जन्म दिने आमाबुबालाई सडक र बृद्धाश्रममा छाड्ने कुपात्रहरूले के बुझ्न जरुरी छ भने रुप, यौवन, तागत, धन, बैभव र ऐय्यासी क्षणिक र अस्थायी मात्र हुन्, सबै थोक सम्झनु महाभूल हो । 

ज्येष्ठ नागरिक जीवित इतिहास हुन् । समाजमा ज्येष्ठ नागरिकलाई आदरभाव तथा श्रद्धापूर्वक हेर्नुपर्ने ठाउँमा उल्टै सामाजिक चुनौती या बोझको रूपमा हेर्नु या व्यवहार देखाउनु दरिद्र मानसिकताको उपज हो । बुढ्यौली जीवनको एउटा स्वाभाविक प्रक्रिया हो । भोलि हामी सबैले यही नियति भोग्नु पर्दछ भन्ने कुराको हेक्का सबैले राख्न जरुरी छ । उनीहरूका प्राप्त अनुभव ज्ञान, उपदेश, आशिर्वाद, संस्कार आदि जीवनमा अनुशरण गर्न सक्नुपर्छ । 

जसरी  बाल्यकालमा हिजो हामीलाई हुर्काउन आमाबुबाको आवश्यकता पर्यो, त्यसरी नै आज बृद्ध आमाबुबाको हेरविचार र सेवामा हाम्रो आवश्यकता पर्दछ भन्ने कुरालाई आजका नयाँ पुस्ताले एक पटक सोचेर मनन गरिदिए जय जय हुन्थ्यो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुरुषोत्तम पोखरेल
पुरुषोत्तम पोखरेल
लेखकबाट थप