बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

माओवादी नेपालको इतिहासकै सबैभन्दा समावेशी पार्टी बन्यो : दीपशिखा

आइतबार, १८ पुस २०७८, २० : ४३
आइतबार, १८ पुस २०७८

२३६ जना केन्द्रीय कमिटी सदस्य चयन गर्दै नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।  पुस ११ गतेदेखि जारी माओवादी केन्द्रको आठौँ महाधिवेशन आइतबार समापन भएको हो । महाधिवेशनले २३६ सदस्य केन्द्रीय सदस्यहरू चयन गरेको नेता कृष्णबहादुर महराले जानकारी दिए । खुल्लाबाट १११ जना र समावेशीबाट १२५ जना गरी जम्मा २३६ जना केन्द्रीय सदस्यहरूको नाम महाधिवेशनको बन्दसत्रले सर्वसम्मत रूपले पारित गरेको उनले बताए । बाँकी ६३ जना केन्द्रीय सदस्य र पदाधिकारीबारे निर्णय भने सोमबार नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक बसेर टुङ्ग्याइने उनले बताए ।

नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनले सबैभन्दा अग्रगामी, समावेशी र लोकतान्त्रिक तरिकाले केन्द्रीय कमिटी चयन गरेको भन्दै खुसी व्यक्त गरेका छन् । उनीहरूले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीप्रति कसैले पनि विमति नरहेको दाबी समेत गरेका छन् । केन्द्रीय सदस्यमा निर्वाचित रामप्रसाद सापकोटा दीपशिखाले अन्य राजनीतिक दलहरूभन्दा पनि बढी लोकतान्त्रिक ढङ्गले केन्द्रीय कमिटी चयन गरिएको भन्दै खुसी व्यक्त गरे । उनले ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलितसहितको केन्द्रीय कमिटी बनाएर आफ्नो पार्टीको महाधिवेशन ऐतिहासिक रूपमा सफल भएको दाबी समेत गरे । दीपशिखाले भने, ‘नेपालको राजनीतिक इतिहासमा सबैभन्दा अग्रगामी, समावेशी र सबैभन्दा लोकतान्त्रिक तरिकाले केन्द्रीय समिति निर्वाचित गरेको छ । यस मानेमाकी नेपालमा ३५ प्रतिशत महिला कुनै पनि राजनीतिक दलको कमिटीमा छैन । २० प्रतिशत युवा, कुनै राजनीतिक दलमा छैन । १५ प्रतिशत दलित कुनै राजनीतिक दलमा छैन ।’

महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीप्रति कसैको पनि विमति नरहेको अर्का नवनिर्वाचित केन्द्रीय सदस्य अनिल शर्माले बताए । उनले सर्वसम्मत रूपमा केन्द्रीय कमिटी चयन हुनु भनेको आफूहरूका लागि गौरवको विषय भएको र यसले मुलुकको राष्ट्रिय राजनीतिलाई नेतृत्व गरेर अघि बढाउने बताए । 

त्यसैगरी महाधिवेशनले लेखा आयोग प्रमुखमा पेशल खतिवडा, अनुशासन आयोग प्रमुखमा टंक राई र निर्वाचन आयोग प्रमुखमा विष्णुपुकार श्रेष्ठलाई निर्वाचित गरेको छ । माओवादी केन्द्रको पदाधिकारी भने केन्द्रीय समितिले चयन गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप