बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रातोपाटी ब्रिफिङ : माओवादी केन्द्रको महाधिवेशन सम्पन्न, पाल्पामा बस दुर्घटना- ८ जनाको मृत्यु

आइतबार, १८ पुस २०७८, २१ : ३६
आइतबार, १८ पुस २०७८

आज २०७८ पुस १८ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा केन्द्रीय सदस्यहरु चयन गर्दै माओवादी केन्द्रको महाधिवेशन सम्पन्न, पदाधिकारी भोलि चयन हुने, राष्ट्रियसभाका लागि भागवण्डा मिलाउन सत्तारुढ गठबन्धनको बैठक सोमबार बस्ने, काँग्रेस बैठक पनि भोलि नै, देउवाले गरे काँग्रेस केन्द्रीय सदस्यमा मनोनयन निर्मला पन्तको हत्या आरोपमा एक शंकास्पद व्यक्ति पक्राउ, मलामी बोकेको बस दुर्घटनामा ८ जनाको मृत्यु लगायत छन् ।

१. केन्द्रीय सदस्यहरु चयन गर्दै माओवादी केन्द्रको महाधिवेशन सम्पन्न, पदाधिकारी भोलि चयन हुने
नेकपा माओवादी केन्द्रको महाधिवेशन आइतबार सम्पन्न भएको छ । उद्घाटन भएको आठौं दिन आइतबार केन्द्रीय सदस्यहरुको नामावली घोषणा गर्दै नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको हो । पदाधिकारीहरु भने सोमबार चयन हुने बताइएको छ ।

२. राष्ट्रियसभाका लागि उम्मेदवार छान्न भोलि काँग्रेस बैठक
नेपाली काँग्रेसले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार छान्नका लागि सोमबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा बस्ने बैठकले पार्टीका तर्फबाट राष्ट्रियसभामा उम्मेदवार बन्नेको नाम चयन गर्ने जनाइएको छ । माघ २० गते हुने निर्वाचनका लागि पुस २० गते उम्मेदवारी दर्ता गर्नुपर्ने छ ।

३. राष्ट्रियसभाका १९ सीटमा सत्तारुढ गठबन्धनले भोलि भागवण्डा लगाउने
सत्तारुढ गठबन्धनले भोलि राष्ट्रियसभाका १९ सीटमा भागवण्डा लगाउने भएका छन् । १९ सदस्य पदका लागि हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा कुल दलले कति उम्मेदवार दिने भन्नेबारे सोमबार बस्ने गठबन्धनको बैठकले तय गर्ने बताइएको छ । 

४. देउवाले गरे काँग्रेस केन्द्रीय सदस्यमा मनोनयन
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । उनले हालै सम्पन्न महाधिवेशनमा विभिन्न पदमा पराजित तीन नेतालाई केन्द्रीय सदस्य बनाएका हुन् । 

५. महाधिवेशन छल्दै अध्यक्ष पदमा महन्थ ठाकुरको निरन्तरता 
लोकतान्त्रिक समावजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पार्टीको सर्वोच्च निकाय महाधिवेशन बिनानै लामो समय अध्यक्ष पदमा रहँदै आएका छन् । पार्टी एकता, पार्टी विभाजनजस्ता शृङ्खला प्रयोग गर्दै उनी महाधिवेशन बिना नै पार्टीको अध्यक्ष बनिरहन सफल भएका हुन् ।  

६. नेतृत्व चयनबारे यस्तो छ माओवादी केन्द्रका प्रतिनिधिको धारणा
नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनले नेतृत्व चयन गर्दैछ । महाधिवेशन प्रतिनिधिहरु भने नेतृत्व चयनका बारेमा फरकफरक मत व्यक्त गरिरहेका छन् । कसैले लोकतान्त्रिक प्रणाली अन्तर्गत चुनावमार्फत नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् भने कसैले सर्वसम्मत नेतृत्व चयन गरी पार्टी एकताको सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिएका छन् ।

७. निर्मला पन्तको हत्या आरोपमा एक शंकास्पद व्यक्ति पक्राउ
कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एक शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक हुन् । दुई साता अघि नै पक्राउ गरिएका उनको डीएनए रिपोर्ट आउन बाँकी रहेकाले सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ ।

८. एमसीसीविरुद्ध साना दल सडकमा
एमसीसी सम्झौता राष्ट्रघाती रहेको भन्दै साना दलहरु सडकमा उत्रिएका छन् । नेकपा (क्रान्तिकारी माओवादी) सहित २२ दल तथा संघ–संगठनले आइतबार राजधानीस्थित माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

९. जुवाखालबाट निमित्त प्रशासकीय अधिकृत, वडाध्यक्षसहित १४ जना पक्राउ
जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाअध्यक्षसहित १४ जनालाई प्रहरीले जुवाखालबाट पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा आइतबार बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

१०. मलामी बोकेको बस दुर्घटनामा ८ जनाको मृत्यु
पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मृतकमध्ये ६ जनाको सनाखत भएको छ ।

डिएपी मल खरिदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामाग्री कम्पनी लिमिटेडका प्रमुख नेत्र भण्डारीसहित १२ जनामाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा भारतको नयाँ दिल्ली पुगेकी छन् ।  काँग्रेस केन्द्रीय सदस्यसमेत रहेकी राणा अकस्मात दिल्ली पुगेकी हुन् ।

राप्रपाले पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र पेस गरेको छ ।  

सुर्खेतस्थित रातोपाटीकर्मी पंखबहादुर शाहीलाई ज्यान मार्नेसम्मको धम्की दिनेलाई तत्काल कानुनी दायरामा ल्याउन नेपाल पत्रकार महासंघले माग गरेको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप