बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध, राष्ट्रियसभाको १९ सीटमा सत्तारुढ गठबन्धनबीच भागवण्डा

सोमबार, १९ पुस २०७८, २० : १८
सोमबार, १९ पुस २०७८

आज २०७८ पुस १९ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध, अन्य पदाधिकारी चयन हुन बाँकी, राष्ट्रियसभाको १९ सीटमा सत्तारुढ गठबन्धनले मिलाए भागवण्डा, एमालेले राष्ट्रियसभाका १९ सीटमै उम्मेदवारी दिने, रेशम चौधरीको नेतृत्वमा नयाँ दल, काँग्रेसमा रामचन्द्र पौडेललाई दोस्रो वरीयता, पृथ्वी जयन्तीमा सार्वजनिक नदिए राप्रपाले विरोध प्रदर्शन गर्ने, प्रधानमन्त्रीलाई हृदयेश त्रिपाठीले पठाए पत्र लगायत छन् ।

१. माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध, अन्य पदाधिकारी चयन हुन बाँकी
नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको सोमबार बसेको बैठकले प्रचण्डलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । अन्य पदाधिकारी भने पछि चयन गरिने भएको छ । केन्द्रीय कमिटीको अर्को बैठक पुस २५ गते बस्ने छ ।

​२. राष्ट्रियसभाको १९ सीटमा सत्तारुढ गठबन्धनले मिलाए भागवण्डा
राष्ट्रियसभामा निर्वाचनका माध्यमबाट चयन गर्नुपर्ने १९ सीटका लागि सत्तारुढ गठबन्धनबीच भागवण्डाका आधारमा उम्मेदवारी दिने सहमति भएको छ । सोमबार बसेको गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले १९ वटै सीटमा उम्मेदवारी दिन भागवण्डा मिलाएको हो ।

​३. एमालेले राष्ट्रियसभाका १९ सीटमै उम्मेदवारी दिने
प्रमुख प्रतिपक्ष नेकपा एमालेले निर्वाचनका माध्यमबाट चयन गर्नुपर्ने राष्ट्रियसभाका १९ सीटमै उम्मेदवारी दिने भएको छ । सोमबार बसेको बैठकबाट एमालेले उम्मेदवारको टुङ्गो लगाएको हो । 

४. रेशम चौधरीको नेतृत्वमा नयाँ दल
टीकापुर घटनाको मुख्य योजनाकार भएको कसुरमा जेल जीवन बिताइरहेका रेशम चौधरीको नेतृत्वमा निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिइएको छ । सोमबार उनका समर्थकहरु जुलुससहित निर्वाचन आयोगको कार्यालयमा पुगेका थिए । नयाँ दलको नाम ‘नागरिक उन्मुक्ति पार्टी’ राखिएको छ ।

५. संसदीय समितिमा रासायनिक मलको अभावबारे चर्चा, सरकारले नसके निजी क्षेत्रलाई जिम्मा दिन सुझाव
अर्थ समितिमा सोमबार रासायनिक मलको अभावबारे छलफल भएको छ । बर्सेनि मलको अभाव हुने गरेको भन्दै सरकारले मल आपूर्ति सहज गर्न नसक्ने हो भने निजी क्षेत्रलाई जिम्मा दिन सरकारलाई सुझाव दिइएको छ । 

नेपाली काँग्रेसले नेता रामचन्द्र पौडेललाई दोस्रो वरीयतामा राखेको छ । सभापति शेरबहादुर देउवाले हालै केन्द्रीय सदस्यमा मनोनित गरेका पौडेललाई सभापतिपछिको वरीयतामा राखिएको हो । 

७. विवेकशील साझाका मिलन पाण्डेले दिएको उजुरी खारेज
निर्वाचन आयोगको निर्णयलाई पुनर्विचार गर्न विवेकशील साझाका तर्फबाट मिलन पाण्डेले दिएको निवेदनलाई आयोगले खारेज गरेको छ । पाण्डेले विधान संशोधन गर्ने पार्टीको निर्णय अवैधानिक रहेको र पार्टी नेतृत्वले बैठकको उपस्थितिमा किर्ते गरेको आरोपसहित आयोगमा पुनरावलोकनको निवेदन दिएका थिए ।

८. पृथ्वी जयन्तीमा सार्वजनिक नदिए राप्रपाले विरोध प्रदर्शन गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा नदिए विरोध प्रदर्शन गर्ने भएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा सोमबार उपत्यकाका अगुवा कार्यकर्ताहरूको भेलाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोह कार्यक्रम व्यवस्थापन समितिसमेत गठन गरेको छ । 

९. प्रधानमन्त्रीलाई हृदयेश त्रिपाठीले पठाए पत्र
जनता प्रगतिशील पार्टीले संविधान संशोधनसहित १० बुँदे माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएको छ । सो पार्टीका संयोजक हृदयेश त्रिपाठीको नामबाट पठाइएको पत्रमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन र गतिहीन रहेको वर्तमान अवस्थामा संविधानको कार्यान्वयनमा बाधा उत्पन्न भई देशको राजनीति नै लिकभन्दा बाहिर गइरहेको उल्लेख छ ।

१०. यो वर्ष पनि उखु किसान मारमै
सरकारले नगदेबाली उखुको समर्थन मूल्य निर्धारण नगरिदिँदा किसान मारमा परेका छन् । खेतमै उखु सुक्न लाग्दासमेत सरकारले मूल्य नतोकेपछि किसानले उद्योगलाई बिना मूल्य नै उखु बुझाउन थालेका छन् ।

राष्ट्रिय जनमोर्चाले भारत उत्तराखण्ड राज्यका राज्यपाल (गभर्नर) ले नेपालको दार्चुलास्थित कालापानी क्षेत्रका नाभी, कुटी, गुञ्जीको भ्रमण गरेको समाचारप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।

बागमती प्रदेशमा ४ वर्षको अवधिमा एक तिहाईभन्दा बढी सांसद् मन्त्री बनेका छन् । प्रदेश सरकार स्थापनाको ४ वर्ष पूरा हुनै लाग्दा ३८ जना प्रदेश सांसद मन्त्री र राज्यमन्त्री बनेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप