शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विधानविपरीत देउवा प्रस्थान, निरीह गगन र विश्वप्रकाश !

देउवाको पेलानमा शेखर, सानेपामा देखिएका तीन दृश्य
मङ्गलबार, २० पुस २०७८, १० : ३२
मङ्गलबार, २० पुस २०७८

नेपाली काँग्रेसले विधानको प्रक्रिया मिचेर राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार तय गरेको छ । सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट विधानको प्रक्रियाभन्दा बाहिर गएर उम्मेदवार चयन गरिएको हो । काँग्रेस विधानमा केन्द्रीय संसदीय समिति (बोर्ड)लाई राष्ट्रिय सभा सदस्यको उम्मेदवारी तय गर्ने अधिकार दिइएको छ ।

काँग्रेसको नयाँ विधान अनुसार २५ सदस्यीय संसदीय बोर्डमा १४ जना केन्द्रीय पदाधिकारी पदेन सदस्य हुन्छन्। साथै सभापतिले ११ जना सदस्य संसदीय बोर्डमा मनोनीत गर्न पाउने व्यवस्था छ। सोही संसदीय बोर्डबाट उम्मेदवार चयन गर्नुपर्ने काँग्रेसको विधानमा उल्लेख छ । विधानको धारा ३२ (९) मा प्रत्येक प्रदेश कार्यसमितिले मातहतका जिल्लाबाट सम्भावित नामको सूची माग गरी १ सिटका लागि ३ जनाको नाम केन्द्रमा पठाउने र केन्द्रले प्राप्त नाम आफूसँग विवरण राखी केन्द्रीय संसदीय बोर्डमा पठाउने उल्लेख छ ।

संसदीय बोर्डले प्राप्त नाममध्ये सहमति हुन सके सहमतिमा र सहमति हुन नसके बहुमतबाट निर्णय गरी केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराई पार्टीका तर्फबाट उम्मेदवारी घोषणा गर्ने वैधानिक व्यवस्था छ । तर नयाँ विधान लागू भएपछि भएको पहिलो निर्वाचनमा भने काँग्रेसले विधानले नचिन्ने पदाधिकारी र पूर्व पदाधिकारीको बैठकपछि केन्द्रीय कार्यसमितिबाट उम्मेदवारी तय गरेको छ ।

१३ औँ महाधिवेशनपछि विधान विपरीतको बाटोमा हिँडेका देउवाले १४ औँ महाधिवेशनपछिको दोस्रो बैठकबाट सोही पथ पछ्याएका छन् । देउवालाई विधान विपरीत दिशामा जान नदिने बाचा गरेका नेताहरु पनि निरीह देखिए । बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा शेखर कोइरालाले विधानअनुसार संसदीय समितिबाट नै उम्मेदवार तय गरिनुपर्ने बताएपनि उनकाे कुनै हस्तक्षेप देखिएन । ‘उम्मेदवार संसदीय समितिबाटै तय गर्नुपर्छ भन्ने आवाज आएको छ, अबदेखि संसदीय समिति बनाएरै उम्मेदवार तय गरिनुपर्छ,’  उनले भने।

यसपालि संसदीय समिति बनाउन समय अभाव भएजस्तो देखिएकाे भन्दै काेइरालाले विधान विपरीतकाे निर्णयमा माैन समर्थन जनाए । यद्यपि अबदेखि भने संसदीय समितिबाटै उम्मेदवार तय गरिनुपर्ने कोइरालाको भनाइ छ । ‘सत्तारूढ गठबन्धनमा उहाँहरूले आजै छलफल गरेर तालमेल गर्ने निर्णय लिनुभएछ। संसदीय समिति बनाएर उम्मेदवार तय गर्न अहिलेका लागि समय अभाव हुनेजस्तो देखियो ,’ उनको भनाइ छ।

तर कोइराला पनि विधान विपरीत राष्ट्रियसभा उम्मेदवार तय गर्दा साक्षी बसेका थिए । सोमबार केन्द्रीय समितिअघि बसेको पदाधिकारी बैठकमा उनी पनि सामेल थिए । कोइरालाले पदाधिकारी र केन्द्री समितिमा विधान सम्झाउने कुनै कष्ट समेत नगरेको एक पदाधिकारीले बताए ।

 गगन थापा र विश्वप्रकाश शर्मा पनि असफल

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय नजिकिएसँगै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पार्टीलाई विधानभन्दा बाहिर जान नदिने प्रयासमा लागेका थिए । सके २५ सदस्यीय संसदीय बोर्ड बनाउने र नसकेर संसदीय (बोर्डका पदेन सदस्य) पदाधिकारी मात्र राखेर संसदीय बोर्ड बनाएर जाने कुरामा उनीहरूको जोड थियो ।

सुरुमा थापा र शर्माले उपसभापति पूर्णबहादुर खड्कालाई विधानको प्रक्रियामा गएर राष्ट्रिय सभाका उम्मेदवार तयका लागि पहल गर्न आग्रह गरेका थिए । तर खड्काबाट सकारात्मक जवाफ नभएपछि  थापा र शर्मा आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे । त्यहाँ सभापति शेरबहादुर देउवासामु खड्कालाई राखेको आग्रह बिसाए । थापा र शर्माले देउवाबाट पनि समय अभावको रेडिमेड जवाफसहित विधानको प्रक्रियाबाट अगाडि बढ्न नचाहेको सङ्केत पाए । खड्काले नमाने पनि देउवाले आफ्नो कुरा सुन्ने अपेक्षाका साथ हल बाँधेर बालुवाटार पुगेका थापा र शर्मा निराश भएर फर्किए । 

सोमबार दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय कमिटी छोडेर थापा बिहान १० बजेतिर अर्घाखाँची लागे भने शर्मा विधान विपरीतको प्रस्ताव पेस गर्न केन्द्रीय कार्यालय सानेपा हानिए । आलोपालो सहमति अनुसार पहिलो केन्द्रीय कमिटी बैठकमा थापाले प्रस्ताव पेस गरेकाले दोस्रो बैठकमा प्रस्ताव पेस गर्ने पालो शर्माको थियो ।

सानेपामा सुरुमा शीर्ष नेता बसेर राष्ट्रिय सभाका उम्मेदवार छाने । शीर्ष नेताले छानेको नाममाथि छलफल गर्न पदाधिकारी, पूर्वपदाधिकारी र सभापतिका प्रत्यासी शेखर कोइरालासहितको बैठक बस्यो । काँग्रेस विधानले नचिन्ने उक्त बैठकले शीर्ष नेताको रोजाइका नाममा समर्थन जनायो । उक्त नाम बोकेर महामन्त्री शर्मा केन्द्रीय कार्यसमिति बैठक हलमा पुगे । 

शर्माले राष्ट्रिय सभा निर्वाचनमा पार्टीका तर्फबाट गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त युवराज शर्मा, दुर्गाकुमारी गुरुङ र  नारायणदत्त मिश्रको नाम पेस गरे । केन्द्रीय कमिटी बैठकले ताली ठोकेर अनुमोदन गर्‍यो । योसँगै (समय अभाव) का नाममा सभापति देउवा दोस्रो कार्यकालको दोस्रो बैठकबाट विधान विपरीतको लय फेरि समातेका छन् ।

विधानसम्मत पार्टी सञ्चालन गराउने महामन्त्री थापा र शर्माको दाबी पनि दोस्रो बैठकबाट खण्डित भएको छ । महामन्त्री थापा र शर्माले चाहेर मात्र काँग्रेसमा केही हुने छैन भन्ने सन्देश पनि दोस्रो बैठकले दिएको छ ।

बैठकपछि शर्माले रफु भर्दै केन्द्रीय समिति सबैभन्दा ठुलो निकाय भएकाले विधानसम्मत नै निर्णय लिएको बताए । पुस १५ गते रातोपाटीसँग शर्माले ‘राष्ट्रिय सभाको उम्मेदवार छान्ने विषयलाई केन्द्रीय कार्यसमिति हुँदै संसदीय बोर्डबाट टुङ्ग्याउनु पर्ने हुन्छ । हामी चाँडै केन्द्रीय कार्यसमितिको बैठक बसेर विधिवत् प्रक्रियाबाटै जान्छौँ,’ भनेका थिए ।

१९ गते पार्टी कार्यालयमा शर्माले रातोपाटीसँग आफ्नै भनाइ खण्डन हुने गरी धारणा राखे । यता सानेपामा विधानको प्रक्रिया विपरीत निर्णय हुँदै गर्दा महामन्त्री थापाले भने अर्घाखाँचीमा विधानसम्मत ढङ्गले पार्टीलाई चलाउने उद्घोष गरिरहेका थिए । उनी आफै सभापतिलाई विधानसम्म डोर्‍याउन असफल भएर अर्घाखाँची लागेका थिए ।

देउवाको पेलानमा शेखर 

काँग्रेस सभापति देउवाले सभापतिका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालालाई पेलेर जाने रणनीति बनाएका छन् । देउवाले पार्टीको वरियता, निर्णय प्रक्रिया र केन्द्रीय समिति बैठकको आसनसम्म शेखरलाई बेवास्ता गरेको पाइएको छ ।

१४ औँ महाधिवेशनका सहभागी नभए र विभिन्न पदमा पराजित पूर्व पदाधिकारी केन्द्रीय सदस्यमा मनोनीत भएपछि सभापतिका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाको वरीयता २७ औँ स्थानमा पुगेको छ ।

दोस्रो बैठकबाट सभापति देउवापछि दोस्रो वरीयतामा रामचन्द्र पौडेललाई राखिएको छ । तेस्रो र चौथोमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा पाँचौँ र छैटौँमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई राखिएको छ । सातौँदेखि चौधौँसम्म ८ जना सहमहामन्त्रीलाई राखिएको छ ।

पूर्वपदाधिकारीमा १५ औँ वरीयतामा गोपालमान श्रेष्ठ १६ औंमा प्रकाशमान सिंह, १७ औंमा विमलेन्द्र निधि, १८ औंमा विजयकुमार गच्छदार, १९ औंमा कृष्णप्रसाद सिटौला र २० औंमा शशांक कोइरालालाई राखिएको छ ।

यस्तै २१ औँ वरियतामा चित्रलेखा यादव, २२ औंमा डा. रामशरण महत, २३ औंमा सदस्य अजुर्ननरसिंह केसी, २४ औंमा डा. प्रकाशशरण महत, २५ औंमा  सुनिलबहादुर थापा र २६ औंमा शेखर कोइराला रहेका छन् । मनोनितपछि कोषाध्यक्ष सातौँ वरियता पाउँदा शेखरको वरीयता थप एक स्थान तल झर्नेछ  ।

इतर पक्षका पन्त र मिश्र यसरी बने उम्मेदवार

वरियतामा पछाडि पारिएका शेखर कोइरालालाई निर्णय प्रक्रियामा पनि देउवाले खासै स्थान दिएको पाइँदैन । देउवाले वरिष्ठ नेता पौडेल, सिंह निधि, सिटौलालाई साथमा लिएर शेखरलाई पेलेर जाने नीति लिएको काँग्रेस नेताहरू बताउँछन् ।

देउवाले कमला पन्त र नारायणदत्त मिश्रलाई पौडेलको प्रस्तावमा उम्मेदवार बनाएको काँग्रेसका एक पदाधिकारी बताए । पन्त शेखर कोइराला टिमबाट सहमहामन्त्रीकी उम्मेदवार थिइन् भने मिश्र सुदूरपश्चिम प्रदेश सभापतिका प्रत्याशी थिए । आगामी निर्वाचनमा कैलालीमा सन्तुलन मिलाउने संस्थापन इतर पक्षका मिश्रलाई उम्मेदवार बनाइएको बुझिएको छ ।

कैलाली पाँचमा देउवा पत्नी आरजु राणाको चुनावी रणनीति अनुसार पार्टीको विपक्ष खेमालाई मिलाउन मिश्रलाई देउवाले राष्ट्रियसभामा ल्याउन लागेको एक नेताले रातोपाटीलाई बताए । ०७४ को आम चुनावमा कैलाली पाँचबाट आरजु पराजित भएपछि  जिल्लामा पार्टीको विपक्षी खेमालाई मिलाएर जाने देउवाको सङ्केतका रूपमा मिश्रको उम्मेदवारीलाई लिइएको छ ।

आरजुलाई असहयोग गरेको भन्दै पुष्करराज ओझालाई पार्टीबाट निष्कासित गरेका देउवाले पूर्व जिल्ला सभापति मिश्रलाई अगाडि सार्न खोजेको छन् । ६ जना उम्मेदवार मध्ये शेखर कोइरालाले सिफारिस गरेको एक जना पनि छैन ।

उनी निकट एक नेताका अनुसार कोइरालाले वरिष्ठ अधिवक्ता हरिहर दाहाललाई राष्ट्रिय सभामा पठाउनुपर्नेमा जोड दिएका थिए । तर उनको कुरा सुनुवाइ भएन ।

केन्द्रीय समितिको किनारामा शेखर

शेखर कोइराला १४ औँ महाधिवेशनपछि पहिलो पटक सानेपा छिरेका थिए । पुस १० गते बसेको केन्द्रीय समिति बैठकमा अनुपस्थिति कोइराला सोमबारेको बैठकमा भने सहभागी भए । ढिलो गरी सानेपा पुगेका उनी पदाधिकारी बैठकमा सामेल भएर केन्द्रीय कार्यसमिति बैठकमा छिरेका थिए ।

केन्द्रीय कार्यसमिति बैठक हलकाे अन्तिम कुर्सीमा बसे । सुरुमा उनको दायाँ बायाँ समेत कुनै केन्द्रीय सदस्य भएनन् । पछि उनले आफू पक्षीय केन्द्रीय सदस्य मधु आचार्यलाई पछाडि बोलाए । आचार्य उनीभन्दा अगाडिको लहरमा बसेका थिए ।

पछाडिबाट कोइराला आफू बसेको ठाउँमा आउन इसारा गरेपछि आचार्य पनि अन्तिम लहरमा आएर बसे । शेखर कोइराला अन्तिममा कुर्सीमा बसेको आफूलाई नमिठो लागेको आचार्यलाई रातोपाटीलाई सुनाए ।

उनले भने, 'मैले अगाडि बस्नुहोस् भन्ने कुरा पनि भएन । तर पदाधिकारीले आएर उहाँलाई अगाडि राख्ने इच्छा देखाउनु भएन । उहाँ एक्लै पछाडि बसेको देखेपछि म पनि उहाँको छेउमा आएर बसेँ । बैठक सकिएपछि हामीसँगै बाहिर निस्कियौँ ।' काँग्रेसमा शीर्ष नेताहरू पदाधिकारीको लहरमै बस्ने गरेको पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप