बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बसन्त चौधरीका दुई पुस्तक लोकार्पण

मङ्गलबार, २० पुस २०७८, १८ : १४
मङ्गलबार, २० पुस २०७८

व्यवसायी तथा कवि बसन्त चौधरीको ‘तिमीविनाको म’ र ‘अनेक पल और मे’ काव्यकृति सार्वजनिक भएको छ । लूनकरण दास–गङ्गादेवी चौधरी साहित्य कला मन्दिरद्वारा अग्रवाल सेवा केन्द्र कमलपोखरीमा मङ्गलबार आयोजित कार्यक्रमा यी दुई कृति लोकार्पण गरिएको हो । 

वरिष्ठ कवि तुलसी दिवसको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नाट्या प्रज्ञा प्रतिष्ठानका कुलपति हरिहर शर्मा, प्राध्यापक भुवन ढुङ्गाना, मेघा चौधरी र सर्जक बसन्त चौधरी लगायतले संयुक्त रुपमा  उक्त दुई कृतिको लोकार्पण गरेका थिए । 

उक्त कविता सङ्ग्रहहरुको प्राध्यापक भुवन दुङ्गाना र मुम्बई विश्वविद्यालय, हिन्दी विभागका प्राध्यापक करुणाशङ्कर उपाध्यायले समीक्षा गरेका थिए । 
‘तिमीविनाको म’ कविता सङ्ग्रहको समीक्षा गर्दै प्रा. ढुङ्गानाले मान्छेका खुसी सानो सानो कुरामा अड्किएको हुँदो रहेछ, आफूलाई अभिव्यक्त गर्ने एउटा माध्यम कविता हो, कवि चौधरीलाई साहित्य साधनाले सन्तोष दिलाएको पाएँ भनिन् । उनले भनिन्, “मानिसलाई अजर अमर बनाउने काम साहित्यले गर्छ ।  यस कविता सङ्ग्रहमा प्रकृति, प्रेम, जीवनको उद्देश्य, आफ्ना रुचिका विषयका भावहरु, आफ्नी जीवन सङ्गिनीबाट प्राप्त प्रेरणहरु यस सङ्ग्रहमा समेटिएका छन् ।” कविता सङ्ग्रहमा मातापिताप्रतिको प्रेम, केही राजनीतिक चेत र आफ्नो जन्मका बारेमा समुद्रको गहिराइबीचको मोतीका रूपमा कविले प्रस्तुत गरेको उनले बताइन् । अति सरल भाषा र गहन भाव यस कविता सङ्ग्रहमा छन् । 

‘तिमीविनाको म’ कविता सङ्ग्रहका प्रकाशक मेघा चौधरीले आफ्ना पिता व्यावसायमा भन्दा साहित्य सिर्जनामा बढी रमाएको, खुसी देखेको र उहाँकै कविताको अध्ययनपछि आफूलाई साहित्यमा रुचि बढेका बताइन् । उनले भनिन्, “त्यसैले बुबाको खुसीको माध्यम म आफैँ किन नबन्ने ? भन्ने सोचेर यो साहित्य प्रकाशनको अभिभारा पनि मैले लिने प्रण गरेर प्रकाशन गरेकी हुँ ।” यो एक पुस्तान्तरणको कार्य पनि भएको पनि उनले बताइन् । 

कवि वसन्त चौधरीेले मानव मनले हरेक क्षण नयाँ नयाँ कुराहरु सोचिरहन्छ, सोचेर मन कहिल्यै नथाक्ने हुन्दा आफूले तिनै परिघटनालाई शब्दमा बुनेर कविता लेखिएको उनले बताए । “मातापिता, दिदीभाई, आफन्त, छोराछोरीहरु जो छन्, उनीहरु बेलाबेलामा विछोडिँदै गएका छन्, पृथक् हुन पुग्छन्”, उनले भने, “तर आफूले बाँच्ने जीवन पृथक् हुँदैन । हो यही नै भावभूमिमा सिर्जना भएको छ तिमीविनाको म कविता सङ्ग्रह ।”  
यसैगरी कार्यक्रलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले कविता कृतिहरुमार्फत जीवनको आधारभूत कुरा प्रेम र प्रकृति हो, यो प्रेम र प्रकृतिको भावलाई कवि वसन्तले सुललीत तरिकाले प्रस्तुत गरेको कुरा बताए । उनले भने, “यी दुई कृति मात्र होइनन्, यसअघिका आठवटा कृतिहरु पनि उत्तिकै सरल, सहज र सुललीत छन् ।”

कवि तुलसी दिवसले हरेक सिर्जनामा मौलिकपन आवश्यक हुने र त्यो कुरा कवि चौधरीका कविता सङ्ग्रहमा रहेको बताए । उनले भने, “कवितामा अरूलाई मनपराउने कुरा राख्नुपर्छ भन्ने जरुरी छैन, आवश्यकता पनि छैन । कविले आफ्नो कुरा इमानदारपूर्वक व्यक्त गर्नुपर्छ र त्यो इमानदारिता आफ्नो लेखनमा कायम राख्नुपर्छ । यो कुरा कवि वसन्तले कायम गरेका छन् ।” 

कवि चौधरीको ‘तिमीविनाको म’  नेपाली भाषाको कविता सङ्ग्रह हो भने ‘अनेक पल और मैं’ हिन्दी भाषाको काव्यकृति हो । यी दुवै कृतिलाई रोमनमा पनि अनुवाद गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप