शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दैनिक ५ लाखका दरले कोरोनाविरुद्धको खोप घोषणामै सीमित

कोरोना विरुद्धको खोपमा समन्वय अभाव
मङ्गलबार, २० पुस २०७८, १८ : १८
मङ्गलबार, २० पुस २०७८

सरकारले पुस मसान्तभित्र १८ बर्ष माथिका ६६ प्रतिशत जनसङ्ख्यालाई कोरोनाविरुद्धकोखोप लगाइ सक्ने घोषणा गरेको थियो । उक्त लक्ष्य पूरा गर्न गर्न यही १२ पुसमा महत्वाकांक्षी घोषणा गर्यो, अबको १५ दिन दैनिक ५ लाखलाई खोप लगाइने छ । तर, स्वास्थ्य मन्त्रालयबाट जारी गएको तथ्याङ्क हेर्दा भने घोषणा गरेअनुसार खोप दिन नाकाम छ । 

पहिलो दिन घोषित लक्ष्य पुरा भए पनि अर्को दिनदेखि खोप लगाउने मात्रा खस्किँदै गयो । मन्त्रालयको तथ्याङ्कअनुसार घोषित कार्यक्रमको अर्को दिन गत पुस १३ गते मंगलबार देशभर २ लाख ८२ हजार २ सय २६ जनालाई खोप लगाइएको थियो । यस्तै, गत बुधबार २ लाख २ हजार ६ सय ८७ जना, विहीबार ५६ हजार १ सय १२ जना, शुक्रबार १ लाख ३९ हजार १ सय ५२ जनाले खोप लगाए भने शनिबार देशभरबाट जम्मा ५९ हजार  १ सय १२ जनाले खोप लगाएको पाइयो ।

पुस १८ गते आइतबार १ लाख ३३ हजार ८ सय १२ जना र सोमबार ३ लाख ४४ हजार ४४ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ । अघिल्लो सोमबार पुस १२ गते ५ लाख ६८ हजार ३ सय १९ जनालाई खोप लगाउँदा प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका थिए । स्वास्थ्य मन्त्रालयले उक्त दिन सूचना जारी गरेको थियो, ‘जोखिमपूर्ण हुनबाट रोक्न कोरोना रोग, अपरिहार्य छ लगाउ खोप । ५ लाख प्रतिदिन, १५ दिन कोही नछुट्नुहोस्, कोरोनाको अर्को लहरबाट बच्नु होस्’ । यद्यपि सरकारले लक्ष्य अनुसार खोप लगाउन सकेको छैन । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले स्थानीय सरकारले पूर्ण रुपमा समन्वय नगर्दा दैनिक दैनिक ५ लाख खोप लगाउन नआएको रातोपाटीलाई बताइन् । खोप कभरेज बढाउने विषयमा मन्त्रालयको उच्च तहको नेतृत्वले छलफल गरिरहेको उनको भनाइ थियो ।

राज्यमन्त्री र प्रमुख विषेशज्ञहरुको टोली खोप अभियानमा सहभागिताबारे अवलोकन गर्न जिल्ला–जिल्ला पुगिरहेको मन्त्रालयको भनाइ छ । प्रवक्ता डा. मिश्रा भन्छिन्, ‘खोप कभरेजमा कुन जिल्लाको, कुन पालिकामा किन कम भयो, कसरी कभरेज बढाउने भन्ने विषयमा छलफल भइरहेको छ ।’ 

यता परिवार कल्याण महाशाखाले सबै जिल्लामा खोप पठाएको र सबै पालिकालाई खोप लगाउन निर्देशन दिएको बताएको छ । धेरैले कोरोनाविरुद्धको पहिलो खोप लगाएको तर दोस्रो मात्रा खोप लगाउन चार साता कुर्नुपर्ने भएकाले लक्ष्यअनुसार खोप केन्द्रमा नपुगेको देखिएको खोप शाखाका एक जनस्वास्थ्य अधिकृतले बताए ।

कतिले लगाए खोप ?
नेपालको कुल जनसङ्ख्या ३ करोड ३ लाख ७८ हजार ५५ छ, जसको ४७.३ प्रतिशतले कम्तिमा एक मात्रा खोप लगाएका  छन् । यस्तै, ३४.९  प्रतिशतले भने पूर्ण मात्रा खोप लगाइसकेका छन् । सरकारले पुस मसान्त सम्ममा कुल जनसङ्ख्याको १८ वर्षभन्दा माथिका लक्षित समूह  १ करोड ९९ लाख २२ हजार १६४ लाई पूर्ण खोप दिने लक्ष्य राखेको छ । 

पुस १९ गते सोमबारसम्म कम्तिमा एक मात्रा खोप ७२.१ प्रतिशतले लगाएका छन् भने ५३.२ प्रतिशतले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप अभियान सुरु भएदेखि अहिलेसम्म २ करोड ४९ लाख ५८ हजार ४८० मात्रा खोप दिइ सकिएको छ । जसमा कम्तीमा एक मात्रा खोप १ करोड ४३ लाख ६० हजार ६८३ लगाएका छन् भने पूर्ण मात्रा खोप १ करोड ५ लाख ९७ हजार ७९७ जनाले लगाएका छन् ।

नेपालमा २०७७ माघ १४ गतेबाट कोरोना विरुद्धको खोप अभियान सुरु भएको थियो । सरकारले २०७८ चैत सम्ममा १८ वर्ष माथिका सबैलाई कोरोना विरुद्धको खोप लगाइ सक्ने लक्ष्य राखेको छ । हालसम्म नेपालले अनुदान र खरिदमार्फत् ३ करोड ९२ लाख ३९ हजार २६ हजार डोज खोप प्राप्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप