शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालय शिक्षामा सुधारको खाँचो : राष्ट्रपति भण्डारी

बुधबार, २१ पुस २०७८, १६ : ५५
बुधबार, २१ पुस २०७८

 राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्ने बताएकी छन् । बुधबार सुदूरपश्चिम प्रदेशबाट तालिमका लागि काठमाडौं आएका प्रतिनिधिहरुसँगको भेटघाटमा राष्ट्रपति भण्डारीले विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएकी हुन् ।

उनले युवा, युवतीबीच हुने अपहरण, बलात्कारजस्ता विकृतिलाई समाजबाट न्यूनिकरण गर्न सामाजिक संघसंस्थाहरुको ठूलो भूमिका रहेको भन्दै सामाजिक संस्थाहरुले सरकारसँग मिलेर समाजका विकृति, विसंगति समाधान गर्नुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले बालबालिकाहरुले सर्वाङ्गिण विकास पाउन र सकुशल अगाडि बढ्न शिक्षामा अग्रगामी कदम चाल्न आवश्यक रहेको बताइन् ।

कतिपय सरकारी विद्यालयमा पूर्वाधारहरु कमजोर रहेको र गुणस्तर, शिक्षक र शिक्षकहरुको वृत्ति र तालिमको समस्या रहेकोले त्यसलाई समाधान गर्दै लैजानु पर्ने उनको भनाइ छ । राष्ट्रपति भण्डारीले विद्यालयमा सुशिक्षा दिएमा मात्रै विकृतिका चाङहरुमा न्यूनिकरण गर्न सकिने दाबी गरे ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘युवा युवतीको बीचमा अपहरण, बलात्कार, हत्या जस्ता विकृतिहरु हटाउनको लागि हाम्रो भोलेन्टियर संस्थाहरुको ठूलो भुमिका हुन्छ । हामी सबैले ध्यान लगाउनुपर्ने क्षेत्र भनेको विद्यालय क्षेत्र हो । यो देशमा पैदा भएको नानीबाबु, बच्चा, छोरा, छोरी सकुशल अगाडि बढोस्, उसको स्वास्थ्य राम्रो होस्, उसलाई कुनै आँच नआओस् र उसको सर्वाङ्गिण विकासको क्षमता पाओस् भन्नको लागि विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्छ ।’

राष्ट्रपति भण्डारीले समाजमा विकृति र विसंगति नहोस् भन्नका लागि आफ्नो ठाउँबाटै परिवर्तन गर्नुपर्ने बताइन् । उनले पश्चिममा छाउपडीको समस्याले विभिन्न दुर्घटनाहरु निम्त्याइरहेको भन्दै यसको समाधान गर्न सबैभन्दा पहिला आफ्नो दिमागको छाउपडीको गोठ भत्काउन आवश्यक रहेको बताइन् ।

राष्ट्रपति भण्डारीले कतिपय ठाउँमा छाउपडीकै कारण महिलाहरुमाथि आपराधिक घटनाहरु भइरहेकोले दिमागमा जरो गाडेर बसेको छाउ गोठ भत्काएपछि मात्रै छाउपडी प्रथाको अन्त्य हुने विश्वास व्यक्त गरिन् ।

महिला र पुरुष भएर नै संसार चल्ने भन्दै राष्ट्रपति भण्डारीले समाजमा महिलाप्रतिका कुसंस्कारलाई हटाएर पुरुषरह नै अधिकार दिनुपर्ने बताइन् । उनले राष्ट्रपति महिला उत्थान कार्यक्रम महिलाहरुका लागि सफल भइरहेकाले यस्तै अन्य कार्यक्रम ल्याएर समाज विकासमा लाग्नुपर्ने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप