बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : देउवालाई शेखरको चेतावनी, गुरुङलाई महासचिवको अफर

बुधबार, २१ पुस २०७८, २१ : ००
बुधबार, २१ पुस २०७८

 

आज २०७८ पुस २१ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

१)  महासचिव बन्न प्रस्ताव 

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले वर्षमान पुन र  जनार्दन शर्माको महासचिवमा दाबेदारी आइरहेकाले सहमतिमा लैजाने प्रयास भइरहेको बताएका छन् । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले सहमतिमा जान नसकेमा वरिष्ठ नेताहरूबाट सहमतिमा जाने कुरा चलेकोले महासचिवमा आफ्नो नाममा प्रस्ताव आएको पनि बताए । उनले आफूले हालसम्म पार्टीका कुनै पदमा दाबी नगरेको भन्दै सहमति मिलाउन महासचिव बन्ने प्रस्ताव आए अस्वीकार नगर्ने र तोकिएको जिम्मेवारी पूरा गर्न तयार रहेको स्पष्ट पारेका हुन् ।

२)  पार्टीमा दुर्घटना हुन्छ

काँग्रेस नेता शेखर कोइरालाले पार्टीमा 'लाइक' र 'डिस्लाइक'बाट व्यक्तिको छनोट गरे पार्टीमा दुर्घटना हुने बताएका छन् । बुधबार आफू निकटको बैठकमा ४ बुँदे धारणा राख्दै उनले सभापति शेरबहादुर देउवाले कुन मापदण्ड अपनाएर केन्द्रीय समितिमा मनोनयन गरेका हुन् भन्ने प्रश्न पनि गरेका छन् । 

३) तीन सयभन्दा बढीविरुद्ध पक्राउ पूर्जी

ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका तीन सय जनाभन्दा बढीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)लाई अनुमति दिएको छ । बालुवाटार जग्गा अनियमितता प्रकरणको अनुसन्धान गरिरहेको सीआइबीले जिल्ला अदालतसमक्ष उनीहरुका नाममा पक्राउ अनुमति माग गरेको थियो ।

४)  उखुको मूल्य निर्धारण

सरकारले उखुको मूल्य निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिमेट्रिक टन ५९० रुपैयाँ गरेको छ । उखुको मूल्य निर्धारणको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । 

५)  प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरु र विभिन्न मन्त्रालयका सचिवलाई सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्धनका लागि निर्देशन दिएका छन् ।  बुधबार मन्त्रीहरु र सचिवहरूलाई निर्देशन दिँदै उनले सबै तहका सरकारी कार्यालयलाई चुस्त बनाउन भनेका हुन् ।

६)  र्‍यापिड एक्सन प्लानको तयारी

भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएसँगै कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढिरहेको छ । संक्रमण दर बढेपछि दिल्लीमा साप्ताहिक सार्वजनिक बिदाका दुई दिन चहलपहल नियन्त्रण गर्ने उद्देश्यले कर्फ्यु जारी गरिएको छ । नेपाल सरकारले पनि कोभिड–१९ को नयाँ भेरियन्ट फैलिन नदिन थप सतर्कता अपनाउन निर्देशन दिइसकेको छ ।

७)  एमाले जिल्ला अधिवेशनको ‘काउन्टडाउन’ सुरु

नेकपा एमालेले पुस २३ गते गर्ने जिल्ला अधिवेशनको तयारी लगभग पूरा भएको जनाएको छ । भूगोलतर्फका ७७ वटा जिल्लाको अधिवेशन एकैपटक गर्ने तयारी गरेको एमालेले यसअघि वडा र पालिकाको अधिवेशन पनि एकैपटक गरेको थियो ।

८)  भारतसँग मल किन्ने

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट जीटुजीमार्फत मल खरिद गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मल खरिद गर्नका लागि सम्झौता गर्ने निर्णय गरेको  मन्त्रालयले जनाएको छ । 

९)  मलाई कोरोनाले छोएको छैन

एमाले अध्यक्ष केपी ओलीले मिर्गौला प्रत्यारोपण गरेकाले आफ्नो इम्युन सिस्टम शून्य भएको बताएका छन् । तर, यस्तो अवस्थामा पनि आफ्नो प्रतिरोधी क्षमता देखेर आश्चर्यमा परेको उनको भनाइ छ । संस्कृति बचाउ अभियानले बुधबार भक्तपुरको बालकोटस्थित उनको निवास पुगेर अध्यक्ष ओलीसँग भेट गरेको थियो । अभियानमा कलाकार मोहन निरौला, रवीन्द्र खड्का, उत्तम केसी, घनश्याम खतिवडालगायत सहभागी थिए ।

१०)  मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी

सरकारले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरूको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ । चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिएको गुनासो आएको भन्दै शिक्षा मन्त्रालयले पटक–पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजहरूको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप