शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सहमतिपछि मनिपाल कलेज प्रशासनको ताला खुल्यो

बिहीबार, २२ पुस २०७८, ०७ : ०८
बिहीबार, २२ पुस २०७८

पोखरा । पोखरास्थित मनिपाल मेडिकल कलेजमा लगाएको ताला एक महिनापछि खुलेको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु गण्डकीले कलेज प्रशासनले विभिन्न बहानामा विद्यार्थीसँग बढी शुल्क लिएको आरोप लगाउँदै गत २० मङ्सिरमा प्रशासनमा लगाएको ताला सहमतिपछि खुलेको हो ।

बुधबार अस्पताल प्रशासन र विद्यार्थी संगठनबीचको वार्तामा चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी लिइएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न कलेज सहमत भएपछि ताला खोलिदिएको हो । मनिपालले विद्यार्थीसँग ६ लाख रुपैयाँ नियमभन्दा बढी शुल्क असुलेको भन्दै अनेरास्ववियुले तालाबन्दीसहित आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएको थियो । 

कलेजले विद्यार्थीसँग असुली गरेको ६ लाख रकम अर्को वर्ष तिर्नुपर्ने शुल्कमा समायोजन गर्ने गरी कलेजले र अनेरास्ववियुबीच सम्झौता भएको अनेरास्ववियु गण्डकीका संयोजक प्रकाश पौडेलले बताए । उनले भने,‘अवैध कलेज प्रशासनले शुल्क उठाइरहेको जानकारी पाएपछि १ महिना अघि २४ घण्टाको अल्टिमेटम दिएर प्रशासनमा तालाबन्दी गरेका थियौँ । तर, प्रशासन पेलेरै जाने पक्षमा देखियो । हाम्रो निरन्तरको खबरदारीपछि अन्ततः कलेज प्रशासन सहमतिमा आउन बाध्य भयो । कलेज प्रशासनले लिएको शुल्क फिर्ता गर्ने सहमतिपछि विद्यार्थी र अभिभावकले न्याय पाएका छन् । 

कास्की जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, मनिपाल कलेजका रितेशकुमार यादव, अनिल महतो र जनप्रतिनिधिका तर्फबाट वडा सदस्य राजेश गुरुङको रोहबरमा सम्झौता गरिएको हो ।

कलेजका प्रशासन प्रमुख भानु भारद्वाज, भर्ना निर्देशक गौरव यादव नेसनल मेडिकल एसोसिएसन गण्डकीका उपाध्यक्ष अनिल सिन्हा र अनेरास्ववियु गण्डकी संयोजक प्रकाश पौडेलले ५ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप