शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुराकुमिनः जापानका अछुतहरू

बिहीबार, २२ पुस २०७८, १७ : ०५
बिहीबार, २२ पुस २०७८

जाति प्रथालाई केवल भारतीय उपमहाद्वीप र विशेष गरी हिन्दु धर्मको खास विशेषताको रूपमा लिइन्छ । तर जाति प्रथा केवल हिन्दु धर्म र भारतीय उपमहाद्वीपमा मात्र सीमित छैन । यो लेखमा हिन्दु धर्म र भारतीय उपमहाद्वीप बाहिर जापानमा रहेको जाति प्रथाको बारेमा चर्चा गरिएको छ । 

बुद्ध धर्मलाई हिन्दु धर्मभित्र रहेको वर्णाश्रम विरुद्धको विद्रोहका रूपमा लिइन्छ । तर बुद्ध र  शिन्तो धर्म मान्ने देश जापानमै पनि जाति प्रथा रहेको छ ।  जापानमा १७ औँ शताब्दीतिर तोकुगावा शासनकालको बेला समाजलाई सामुराइ (योद्धा),  किसान,  कालिगढ र ब्यापारी गरी ४ तहमा वर्गीकृत गरिएको थियो । राजपरिवार र सोगुनहरूमुनि यस प्रकारको समूह थियो । 

सामुराइहरू योद्धा थिए, जसको मुख्य काम डोमोइ (सम्भ्रान्त वर्ग) को रक्षा गर्नु थियो  । किसानलाई यो वर्ण व्यवस्थाको दोस्रो क्रममा राखिएको थियो  । किसानलाई अरू जातभन्दा उच्च मानिन्थ्यो । धातु, काठ र अन्य चिजबाट सामग्री उत्पादन गर्ने कालिगडहरूलाई तेस्रो पदक्रममा राखिएको थियो । तर व्यापारीहरूलाई सबैभन्दा तल्लो दर्जा दिइएको थियो । व्यापारीहरूलाई यसरी सबैभन्दा तल्लो तहमा राख्नुको कारण थियो, उनीहरूले कुनै चिजको उत्पादन आफैले गर्दैनथे ।  नाफाखोरी मात्र गर्थे । यसको अर्को कारण थियो, चिनिया कन्फ्युसियन दर्शनमा व्यापारीहरूलाई राम्रो नजरले हेरिँदैनथ्यो । जापानी संस्कृति पनि कन्फ्युसियन दर्शनबाटै प्रभावित थियो । 

यो वर्ण व्यवस्था बाहिर अर्को जाति पनि थियो, जसलाई अछुत मानिन्थ्यो । यसमा बुराकुमिनहरू पर्थे । बुराकुमिनहरू सामन्ती जापानको सबैभन्दा अपहेलित र दयनीय अवस्थामा थिए । उनीहरूले आम जापानीभन्दा पृथक अलग्गै र टाढा बस्ती बसाएर बस्नुपर्थ्यो । उनीहरूले अरू गाउँमा पस्नु पनि अपराध मानिन्थ्यो । उनीहरूले त्यो पेसा अँगाल्नु पर्थ्यो, जुन अरू जापानीहरूले अपवित्र र फोहोरी मान्थे । बुराकुमिनहरूले कसाई, लास गाड्ने, जल्लाद र चर्मकार जस्ता पेशा अपनाउन बाध्य थिए । बुराकुमिनभित्र पनि ईटा र हिनिन भन्ने अरू तह थिए । ईटाको अर्थ हुन्थ्यो, फोहोरको थुप्रो भने हिनिनहरू मान्छेमै गनिँदैन थिए । अर्थात् उनीहरूलाई अमानिस भनिन्थ्यो । अछुत भनिने वर्गभित्र ईटाहरू माथिल्लो श्रेणीका मानिन्थे, तिनले हिनिनहरूलाई नोकर राख्न सक्थे । 

सम्राट मेजीले १८६८ मा तोकुगवा सोगुनको शासनलाई समाप्त गरी जापानलाई आधुनिकताको बाटोमा डोर्याए । त्यसै क्रममा उनले १८७१ मा एउटा आदेश जारी गरेर जापानमा जाति ब्यवस्थालाई उन्मुलन गरे । सबै जापानी नागरिकलाई समान बनाए । ई टा र हिनिन भन्ने पदावली खारेज गरे ।

शताब्दीऔंदेखि जापान साम्राज्यको सरहदभित्र रहेका प्रत्येक परिवारको सदस्यको नाम कोसिकी नामक पारिवारिक अभिलेखमा दर्ता गरिएको हुन्छ । र, यो रजिस्टरलाई जापानका विभिन्न स्थानीय कार्यालयमा संग्रहित गरिएको हुन्छ । खास जापानी भनेको त्यो व्यक्ति हो, जो नागरिकको रूपमा जापानको सिमानाभित्र कुनै स्थानीय तहमा दर्ता भएको हुन्छ । यो दर्ता प्रणाली यति व्यवस्थित हुन्छ कि जापानीहरूले आफ्नो पिताको तर्फको सयौं बर्ष अघिका पुर्खाहरू पत्ता लगाउन सक्छन् । तर बुराकुमिनहरूको नाम अलग्गै रजिस्टरमा दर्ता गरिन्थ्यो । उनीहरूलाई मानिसको रूपमा गणना नगरिने हुँदा उनीहरूले राज्यलाई कर भने तिर्नु पर्दैनथ्यो ।

बुराकुमिनहरूले अरू वर्गका मानिसहरूसंग बिहेबारी गर्न पूर्णतया प्रतिबन्ध थियो । निश्चित तोकिएको क्षेत्रमा बस्ने बुराकुमिनहरूले अरू मानिसले लगाएसरह लुगा लगाउन, कपाल कोर्न र काठको जुत्ता लगाउन पाउँदैनथे । उनीहरूले साधारण लुगा लगाउनु पर्थ्यो । अझ लुगामा ५ इन्च  चौडाई र ४ इन्च लम्बाई भएको आयताकार कपडाको टुक्रा आफ्नो लुगामा गाँस्नु पर्थ्यो । जसले गर्दा बुराकुमिनहरूलाई प्रस्ट रूपमा चिन्न सकियोस् । त्यस्तै अरू सामान्य मानिसको घरमा पस्नुभन्दा अगाडी बुराकुमिनहरूले टोपी र चप्पल खोल्नु पर्थ्यो । अरू वर्गका मानिससंगै बस्न, खान र धुम्रपान गर्न निषेध थियो । त्यस्तै बुराकुमिनहरूको अलग्गै मन्दिर हुन्थ्यो, जसलाई अशुद्ध मन्दिर मानिन्थ्यो । उनीहरूलाई अरू धार्मिक स्थलहरूमा प्रवेश बर्जित गरिएको थियो ।  

बुराकुमिनहरूले कुनै अपराध गरे सामुराइहरूले तिनलाई तत्काल हत्या गर्न सक्थे तर कुनै सजाय हुँदैनथ्यो । त्यसबेला जापानमा प्रचलित कानुनअनुसार एकजना ई टा (बुराकुमिन) को जीवनको मूल्य अरू जापानीको जीवनको एक भागको सात भाग मात्र थियो । १९औँ शताब्दीमा एउटा जापानी अदालतले दिएको फैसलाअनुसार सामुराइहरूले ७ जना ईटाको हत्या गर्दासम्म कसैलाई पनि ज्यानको मुद्दा लाग्न सक्दैन । 

बाँचुन्जेलसम्म त बुराकुमिनहरूले भेदभाव व्यहोर्नु पर्थ्यो तर मर्दा पनि उनीहरूले यसबाट मुक्ति पाउँदैनथे । जापानको बुद्ध धर्ममा कुनै पनि व्यक्ति मरेपछि मृतकलाई एउटा धार्मिक नाम दिईन्छ, जसलाई ‘काइम्यो’ भनिन्छ । अरुले सम्मानजनक काइम्यो पाउँदा बुराकुमिनहरूलाई जंगली जनावर, नोकर, लाटो आदि अपमानजनक नाम दिइन्थ्यो । 

सम्राट मेजीले १८६८ मा तोकुगवा सोगुनको शासनलाई समाप्त गरी जापानलाई आधुनिकताको बाटोमा डोर्याए । त्यसै क्रममा उनले १८७१ मा एउटा आदेश जारी गरेर जापानमा जाति ब्यवस्थालाई उन्मुलन गरे । सबै जापानी नागरिकलाई समान बनाए । ईटा र हिनिन भन्ने पदावली खारेज गरे । त्यस्तै सरकारले अरू मानिस र ईटा तथा हिनिनहरूको अलग अलग नागरिक पञ्जीकरण गर्ने ब्यवस्थालाई रोक्दै एउटै रजिस्टरमा गाभ्ने निर्णय गर्‍यो । साथै बुरकुमिनहरूले जहाँ गएर बसोबास गर्न सक्ने अधिकार पनि पाए । 

२०१६ मा जापानको संसद्ले बुराकु भेदभाव उन्मुलन गर्ने कानुन पारित गर्‍यो । तर यो कानुनले पनि भेदभाव गर्नेलाई कुनै दण्ड जरिवानाको व्यवस्था छैन । त्यसैले यो कानुनको प्रभावकारितामा बुराकुमिनहरू शंका व्यक्त गर्छन् ।  

तर सम्राट मेजीको क्रान्तिकारी कदमसँगै जापानमा नयाँ वर्ण व्यवस्था लागु गरियो ।  जापानी समाजलाई सम्भ्रान्त (काजोकु), सामुराइ बंशज (सिजोकु) र सर्वसाधारण (हेमिन) मा पुनवर्गीकरण गरियो । यसलाई संशोधित पारिवारिक रजिस्टर (कोसिकी)मा विस्तृत रूपमा टिप्ने व्यवस्था गरियो । यो रजिस्टरमा ईटा र हिनिनहरूलाई नयाँ सर्वसाधारण (सिन– हेमिन) भनेर दर्ता गरियो । ठेगानासमेत उल्लेख भएको यो प्रणालीले भविस्यमा बुराकुमिनहरूको लागि घातक साबित हुनेवाला थियो । अझै विभेद जारी

राज्यद्वारा जाति प्रथाको उन्मुलनपछि पनि बुराकुमिन माथिको विभेद पूर्ण रूपमा हट्न सकेको छैन । जापान सरकारले बुराकुमिनहरूको उत्थानको लागि धेरै काम गर्दै आएको छ । तर पनि ती कार्यले समाजमा रहेको कुरीति हटाउन सफल भएको छैन । उनीहरूको हकहितको लागि बुराकुमी मुक्त्ति लिग भन्ने संस्था दोस्रो विश्वयद्धपछि नै क्रियाशील छ । बुराकुमिन अधिकारकर्मीहरूले १९७० को दशकमा जापान भरिका बुराकुमिनहरूको नाम र ठेगाना समावेश भएको ३३० पृष्ठ हस्तलिखित किताब फेला पारे । 

उक्त किताब जापानका ठूल्ठूला संस्था जस्तै निशान, होन्डा, दाइहात्सु आदिले महँगो मूल्य तिरेर किन्ने गरेका थिए । यी ठूला कम्पनीहरूले जागिर खोज्न आउनेहरूको पृष्ठभूमि यो किताबमार्फत्  छानबिन गर्थे । आवेदक बुराकुमिन पृष्ठभूमिको भए जागिरको प्राथमिकतामा पर्दैनथ्यो । यो किताब फेला परेपछि जापानमा ठूलो तहल्का मच्चियो । सरकारले यो किताबको प्रकाशन र विक्री–वितरणमा प्रतिबन्ध लगायो । अहिले पनि यस्तो किताबको खोजी जारी छ तर फरक उद्देश्यको लागि । अचेल बुरामुकिनहरूको नाम ठेगाना भएको किताब बिहाबारी गर्ने बेला केटा र केटीको पारिवारिक पृष्ठभूमि पता लगाउने कामको लागि प्रयोग गरिन्छ ।

जापानको राजनीतिमा पनि बुराकुमिनहरूको लागि बाटो सहज छैन । त्यहाँको सबैभन्दा शक्तिशाली राजनीति लिबरल डेमोक्रेटिक पार्टी हो । यो दोस्रो विश्वयुद्धपछि प्रायः सधैँ सत्तामा रहेको छ । २००१ मा उक्त पार्टीभित्र प्रधानमन्त्री योशिरो मोरीको उत्तराधिकारी छान्न आन्तरिक प्रतिस्पर्धा भैरहेको थियो, त्यो पदको प्रमुख दावेदार थिए वरिष्ठ मन्त्री हिरोमी नोनाका । पार्टीको बैठकको क्रममा भविस्यका प्रधानमन्त्री तारो आसोले भने, ‘हामी बुराकुलाई प्रधानमन्त्री बन्न दिनेवाला छैनौं । के हामी दिन्छौ ?’ 

जापानमा अपराध गर्ने संगठित गिरोह छ, जसलाई ‘याकुजा’ भनिन्छ । एउटा अध्ययनअनुसार याकुजाका ७० प्रतिसत सदस्य बुराकुमिनहरू नै रहेको पाइएको छ । समाजले बेवास्ता र तिरस्कार गरेको र अगाडी बढ्ने कुनै बाटो नभएका मानिस अपराधको बाटोमा लाग्नु कुनै अचम्मको कुरो होइन । याकुजÞा जस्तो अपराधिक गिरोहले सायद यी मानिसलाई पहिचानको आभाष, अनुशासन र भातृत्वको बोध गराउँछ, जुन उनीहरूले अन्यत्र बिरलै पाउँछन् ।

एक तथ्याङ्कअनुसार अहिले जापानमा ४ हजार समुदायमा गरी करिब १० लाख बुराकुमिनहरू रहेका छन् । तर बुराकु लिबरेसन लिगका अनुसार  जापानमा ६ हजार समुदायमा गरी करिब ३० लाख बुराकुमिनहरू रहेका छन् । तिनको बसोबास मूलतः पश्चिम जापानमा छ । जापानको ओसाका र फुकोओका प्रिफेक्चर (जिल्ला) को १० प्रतिशत जति संख्या बुराकुमिनहरूको रहेको छ । अहिले पनि बुराकुमिनहरूलाई अरू जापानीसंगको बिहेबारी र जागिरमा गरिने भेदभाव यथावत् छ ।  

त्यस्तै बुराकुमिनहरूलाई लक्षित गरेर अपमानजनक गाली–गलौच, धम्कीपूर्ण चिठ्ठी पठाउने र उनीहरूको घरको भित्तामा अपमानजनक नारा लेख्ने काम जारी नै छ । अझै पनि उनीहरूले परम्परागत रूपमा गर्दै आएको काम जस्तै पशु वधशाला, सफाइ क्षेत्र, लास गाड्ने र जल्लादको काम गर्नेहरू माथिको समाजको घृणा यथावत् छ । यो भेदभावलाई अन्त्य गर्न २०१६ मा जापानको संसद्ले बुराकु भेदभाव उन्मुलन गर्ने कानुन पारित गर्‍यो । तर यो कानुनले पनि भेदभाव गर्नेलाई कुनै दण्ड जरिवानाको व्यवस्था छैन । त्यसैले यो कानुनको प्रभावकारितामा बुराकुमिनहरू शंका व्यक्त गर्छन् ।  

विश्वको सबैभन्दा विकसित देश मध्येको एक जापान बाहिरबाट हेर्दा समरूप र सौहार्दपूर्ण देखिन्छ । तर वास्तविकता त्यति रंगीचंगी छैन । अलिकति खोतलेर हेर्ने हो भने जापानी समाजको वास्तविक कुरुप  अनुहार देखा पर्छ, जहाँ जापानी अछुतहरूको दयनीय कथा व्यथा प्रस्ट देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

केदार सिटौला
केदार सिटौला
लेखकबाट थप