शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘मन्त्री बन्नकै लागि उपेन्द्र यादवलाई साथ दिएका होइनौँ’

प्रमोद साह, प्रमुख सचेतक, जसपा
शुक्रबार, २३ पुस २०७८, ०८ : ५८
शुक्रबार, २३ पुस २०७८

पछिल्लो समय मन्त्रिपरिषद् विस्तार हुँदा जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट सांसद प्रमोद साह (सर्लाही) को नाम पनि चर्चामा थियो । तर, अन्तिम समयमा आएर उनको नाममा ‘टिपेक्स’  लागेर महेन्द्रराय यादवको नाम सार्वजनिक भयो । अहिले क्षतिपूर्तिस्वरुप प्रमोद साहलाई जसपाले संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेको छ । २०५४–०५५ सालदेखि नेपाल सद्भावना पार्टीमा आबद्ध भएर काम गरेका साह लामो समय लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोको साथमा रहेर काम गरेका थिए । तर पार्टी विभाजनको क्रममा उनले अन्य ५ सांसदलाई साथमा लिएर उपेन्द्र यादवको पक्षमा लागे । भनिन्छ, नेता साहकै कारण उपेन्द्र यादवको पार्टी जोगिएको थियो । प्रस्तुत छ, पार्टीको समसामयिक विषयवस्तुमा केन्द्रित रही रातोपाटीले जसपाका कार्यकारिणी सदस्य रहेका संसदीय दलका प्रमुख सचेतक प्रमोद साहसँग गरेको कुराकानी :

तपाईं झन्डै मन्त्री बनिसक्नु भएका मान्छे, अहिले प्रमुख सचेतकमा नियुक्त हुँदा कस्तो महसुस गरिरहनु भएको छ ?

–मन्त्री भएपछि मान्छेले हेर्ने दृष्टिकोणमा फरक हुँदो रहेछ । मानौं कि मन्त्री नै सबैथोक हो । तर मन्त्रीबाहेकका पनि थुप्रै यस्ता पद छन्, जो मर्यादित र जिम्मेवारीपूर्ण छन् । त्यसमध्येको प्रमुख सचेतक पद पनि हो । सचेतक पद भनेको नीति निर्माणमा भूमिका खेल्ने पद हो । त्यसैले म यो जिम्मेवारीलाई मन्त्रीभन्दा कम ठान्दिन । पार्टी अध्यक्ष उपेन्द्र यादवले मेरो मूल्याङ्कन गरेरै सो पदमा पठाउनु भएको होला । पार्टीले मलाई एउटा ठूलो जिम्मेवारी दिएको महसुुस भएको छ । राजनीतिमा लागेको छु, आज न भए भोलि मन्त्री बनुँला कुनै दिन । तर पार्टीले जे जिम्मेवारी दिन्छ, त्यसलाई ईमान्दारीपूर्वक निभाउने हो । 

तपाईंलाई मन्त्री बनाउन नसकेको कारण क्षतिपूर्तिस्वरुप प्रमुख सचेतक बनाएको टिप्पणी भइरहेको छ । यसबारे के भन्नुहुन्छ ?

–यो गलत टिप्पणी हो । मन्त्री बनाउनुभन्दा पहिला नै पार्टीले सर्वसम्मतबाट मलाई प्रमुख सचेतकको पदमा पठाउन चाहेको थियो । यो पदमा म भन्दा सिनियर तथा अनुभवीलाई पठाउँदा नै राम्रो हुने भन्दै मैले नै इन्कार गर्दै आइरहेका थिएँ । कानुन तथा संसदीय राजनीतिलाई लामो समय अनुभव गरेकालाई जिम्मेवारी दिँदा राम्रो हुने भन्दै आइरहेका थिएँ । अहिले आएर पार्टीमा जिम्मेवारी बाँडफाँट भयो । केही नेताहरू मन्त्री हुनुभयो, कोही अन्य अन्य पदमा जानुभयो । पार्टीले फेरि मलाई नै यो पद सम्हाल्न जिम्मेवारी दियो । यो कुनै क्षतिपूर्तिस्वरुप पाएको पद होइन । 

पहिले मन्त्री पाउने लोभमा प्रमुख सचेतक पद लिनु भएन, अहिले मन्त्री नपाएपछि लिनु भएको भनिन्छ नि ?

–संयोगले त्यस्तो भयो र भन्ने ठाउँ बन्यो । मैले त्यतिबेला नै लिइसकेको भए सायद यस्तो कुरा हुँदैनथ्यो । मन्त्री बन्नेमा मेरो पनि चर्चा थियो तर म मन्त्री हुन सकिन । म फेरि पनि यही भन्छु कि  मलाई मन्त्रीहरुको नाम पठाउनुभन्दा केही दिन अगाडिदेखि नै प्रमुख सचेतक बन्न भनिएको थियो तर मभन्दा सिनियर र अनुभवीलाई पठाउनुस् भन्दै आइरहेको थिएँ । अहिले पार्टीको निर्देशन मानेरै म यो पदमा गएको हुँ । मन्त्री बन्ने इच्छा कसको हुँदैन ? तर पार्टीले त्यो लायक बुझेन होला, त्यही भएर दिएन, कुरा सकियो । 

भनिन्छ, तपाईंको नाम पार्टीबाट प्रधानमन्त्री कार्यालयसम्म गएको थियो रे । तर राष्ट्रपति कार्यालयबाट नामावली आउँदा तपाईंको नाम किन काटिएको होला जस्तो लाग्छ ?

–म मन्त्री बन्दैछु भन्ने कुरा सञ्चारमाध्यमबाट थाहा पाएको थिएँ । आधिकारिक जानकारी कहीँबाट आएको थिएन । मिडियामा नाम आएपछि साथी भाइ आफन्तले बधाईसमेत दिए । पछि पार्टीको नेतृत्व पंक्तिबाट पनि बधाई आउँदा म ढुक्क थिएँ । तर पछि अध्यक्ष उपेन्द्र यादवले भन्नुभयो, म तपाईप्रति सकारात्मक छु तर कुनै कारणले तपाईंलाई मन्त्री बनाउन सकिएन । मुख्य कुरा पार्टी हो, पार्टी रहेसम्म हामी सबै रहने हो । अगामी दिनमा पार्टीले तपाईंको उचित मूल्याङ्कन गर्नेछ ।’ यदि म मन्त्री नबनेर पार्टी जोगिन्छ भने यस्ता थुप्रै मन्त्री पद त्याग्न तयार छु । र, त्यसमा मलाई कुनै पीडा हुने छैन । 

तत्कालीन महन्थ ठाकुर पक्षबाट तपाईंले आफूसहित ६ जना सांसद लिएर उपेन्द्र यादवलाई सघाउनु भएको थियो । तपार्इंकै कारणले यादव पक्ष बलियो भएको भनिन्छ । तर त्यसको मूल्याङ्कन नभएको भन्नेहरु अधिक छन् । यसमा तपाईंको टिप्पणी के छ ?

हो, सही भन्नुभयो । जुन परस्थितिमा मैले जसपामा उपेन्द्र यादव पक्षलाई साथ दिएका थिए, वास्तवमा त्यो ‘क्रिटिकल’ समय नै थियो । सायद त्यही कारणले होला, कतिपयले सही मूल्याङ्कन नभएको भन्ने गरेका छन् । तर कुरा त्यति मात्र होइन । म उपेन्द्र यादव पक्षलाई मन्त्री बन्नकै लागि मात्र साथ दिएको भन्ने कुरा भ्रम हो । पहिलो कुरा हामीले जसपा जोगाउने अभियानमा लागेका थियौं । जसपा जहाँ हुन्छ, जसको पक्षमा हुन्छ, त्यही पक्षमा हामी पनि हुन्छौ भनि निर्णय गरेका थियौं । अर्को कुरा, तत्कालीन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले जुन प्रतिगामी कदम चाल्नुभएको थियो, त्यसलाई साथ दिने काम अर्को पक्षबाट भएको थियो । त्यसैले, नैतिकताले पनि त्यहाँ बस्न हामीले उचित ठानेनौ र हामी मूल पार्टी जसपामै बस्यौं । 

तपाईं प्रमुख सचेतक भइसक्नु भयो । तर, तपाईंसँगका अन्य सांसदहरु जसले यादवलाई साथ दिएका थिए, ती त अहिले असन्तुष्ट छन् । यसलाई कसरी ‘म्यानेज’ गर्नुहुन्छ ?

–जहाँसम्म मेरो बुझाइमा उहाँहरु असन्तुष्ट हुनुहुन्न । अब त त्यो एपिसोड नै सकिसक्यो । सबैजना पार्टीमा काम गरिरहनु भएको छ । सबैजनालाई पार्टीले मूल्याङ्कन गरेर कुनै नकुनै उचित जिम्मेवारी दिन्छ । म त्यो कुरामा ढुक्क छु । पार्टीमा सबैजनाले मन्त्री, प्रमुख सचेतक, संसदीय दलको नेता, पदाधिकारी मात्र पाउने होइन । 

तपाईं लामो समय राजेन्द्र महतोको साथमा काम गर्नुभयो । एक किसिमले पारिवारिक सम्बन्ध नै भइसकेको अवस्थामा उहाँलाई छाडेर अर्कोतिर जानेबेला केही नराम्रो ‘फिल’ भएन ?

–तत्कालीन समाजवादी पार्टी र राजपाबीच एकीकरण गरेर जसपा बनाउने महत्वपूर्ण भूमिका राजेन्द्र महतोले खेल्नु भएको थियो । यसलाई कसैले नकार्न सकिने अवस्था छैन । तर पछि पार्टी विभाजनका लागि गुटबन्दी सुरु भयो । जसमा एउटा गुटको नेतृत्व राजेन्द्र महतोले गरिरहनु भएको थियो । पार्टी विभाजन हुने अवस्था नै सिर्जना भयो । त्यस अवस्थामा मैले निर्णय लिएँ कि जहाँ संस्थापक पक्ष अर्थात् जसपा हुन्छ, म त्यही बस्छु । 

विगतमा पार्टी एकीकरण गर्ने नेताज्यूहरु नै पार्टी विभाजनका लागि उद्दत हुनुहुन्थ्यो । आखिर पार्टी एकीकरण किन भयो र विभाजन किन हुँदैछ ? यो कुराको उत्तर खोजे तर पाइएन । म जहाँबाट चुनाव जितेको छु, त्यहाँको मनोभावना पार्टी विभाजन थिएन । आफ्नो स्वार्थका लागि पार्टी मिलाउने र विभाजन गर्ने पक्षधरको म होइन । राजेन्द्र महतोज्यूसंग व्यक्तिगत र पारिवारिक सम्बन्ध आफ्नो ठाउँमा छ तर राजनीतिक सम्बन्ध अर्कै कुरा हो ।     

अहिले राजेन्द्र महतोसँग तपाईंको सम्बन्ध कस्तो छ ?

–व्यक्तिगत सम्बन्ध र राजनीतिक सम्बन्ध फरक–फरक कुुरा हो । उहाँसँग भेटघाट हुँदा म अहिले पनि त्यही आदर सम्मानका साथ कुरा गर्छु । व्यक्तिगत सम्बन्ध राम्रै छ, कुनै अप्ठ्यारोे छैन । तर पहिला जस्तो पनि छैन । पहिला राजनीतिक र व्यक्तिगत सम्बन्ध दुवै हुँदा भेटघाट र छलफल अलि बाक्लो हुन्थ्यो तर अहिले पातलिएको छ । राजनीतिमा न कोही अस्थायी शत्रु हुन्छ, न मित्र । पार्टी फरक भएपनि एकखालको राजनीतिक सम्बन्ध त रहन्छ नै । 

काम गर्न कोसँग सजिलो भइरहेको छ राजेन्द्र महतो कि उपेन्द्र यादवसँग ?

–मलाई काम गर्न त्यहाँ पनि सजिलै थियो । तर त्यहाँको गुटबन्दीले गर्दा सबै माहोल बिगारी दियो, काम गर्ने वातावरण नै भएन । उपेन्द्र यादवलाई पहिलादेखि नै चिन्दछु तर यसरी प्रत्यक्ष सँगै काम गर्ने मौका पाएको पहिलो पटक हो । अहिले धेरै भएको पनि छैन । तर जेजति समय भएको छ, त्यो राम्रै नै वितेको छ । उहाँ राम्रो सहयोग गर्नुहुन्छ, रेसपोन्स राम्रो गर्नुहुन्छ । उहाँ कामप्रति इमान्दार र लगनशील हुनुहुन्छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप