मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राणा परिवारका नाममा जग्गा दर्ता गरिदिएवापत् १२ रोपनी जग्गा उपहार !

यी हुन् उपहार लिने सरकारी कर्मचारीका आफन्तहरू
शुक्रबार, २३ पुस २०७८, १२ : ३९
शुक्रबार, २३ पुस २०७८

बालुवाटारस्थित ललिता निवासको जग्गा राणा परिवारको नाममा गरिदिएवापत् मालपोत कार्यालयका तत्कालीन प्रमुखदेखि कर्मचारी र, प्रमुख जिल्ला अधिकारी लगायत अन्य सरकारी कर्मचारीको आफन्तको नाममा बोनसमा दिइएको खुलासा भएको छ । 

रातोपाटीलाई प्राप्त एक तथ्याङ्क अनुसार ललिता निवासको ११२ रोपनी जग्गा राणा परिवारका नाममा दर्ता गरिदिएवापत् मालपोत कार्यालयका प्रमुख, सरकारी कर्मचारी, प्रमुख जिल्ला अधिकारी आदिका परिवारलाई उपहारस्वरूप १२ रोपनी जग्गा दिइएको पाइएको छ । सबैभन्दा बढी जग्गा काठमाडौँका प्रमुख जिल्ला अधिकारी गेहनाथ भण्डारीको आफन्तको नाममा गएको देखिन्छ । 

काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी गेहनाथ भण्डारीले २०४९ सालमा करिब ६ रोपनी जग्गा आफन्तको नाममा हालैको बकसपत्रबाट उपहारस्वरूप लिएको देखिएको छ । बकसपत्र भनेको किनबेच नगरी सित्तैमा लिएको जग्गा हो । शेषपछिको बकसपत्र भन्नाले कुनै व्यक्तिको मृत्यु भएपछि भन्ने बुझिन्छ भने हालैको बकसपत्र भन्नाले तत्कालै दिएको भन्ने बुझिन्छ । 

रातोपाटीलाई प्राप्त तथ्याङ्क अनुसार ललिता निवासको साबिकको २३ ह ११ नम्बर कित्ताको ११ आना २ पैसा जग्गा, २३ ह १७ नम्बर कित्ताको ३ रोपनी ५ आना जग्गा, २३ ह ३६ नम्बर कित्ताको १ रोपनी २ दाम जग्गा २३ ह १९ नम्बर कित्ताको १० आना जग्गा काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी गेहनाथ भण्डारी र गृह मन्त्रालयका तत्कालीन शाखा अधिकृत सुधीर कुमार शाहको आफन्तको नाममा हालैको बकस पत्र मार्फत दर्ता गरिएको पाइएको छ । ती जग्गाहरूमध्ये करिब २ रोपनी ११ आना जग्गा गृह मन्त्रालयका तत्कालीन शाखा अधिकृत सुधीरकुमार शाह र ३ रोपनी ५ आना जग्गा तत्कालीन सिडिओ गेहनाथ भण्डारीको आफन्तको नाममा दर्ता भएको थियो ।

सो जग्गाहरू मध्ये २३ ह ११ नम्बरको ११ आना २ पैसा जग्गा भुवनकुमारी चापागाईँ र उर्मिला शाहको नाममा दर्ता भएको पाइएको छ । त्यसै गरी २३ ह १७ नम्बरको ३ रोपनी ५ आना तथा २३ ह ३६ नम्बरको १ रोपनी २ दाम जग्गा भुवनकुमारी चापागाईँ र उर्मिला शाहको नाममा दर्ता भएको पाइएको छ । त्यसै गरी २३ ह १९ नम्बरको १० आना जग्गा भने सोदा कुमारी चापागाईको नाममा दर्ता भएको छ । 

जग्गा दर्त गरिएका उनीहरूमध्ये भुवनकुमारी चापागाईँ तत्कालीन प्रमुख जिल्ला अधिकारी गेहनाथ भण्डारीकी श्रीमती हुन् भने सोदा कुमारी चापागाईँ गेहनाथ भण्डारीका सासू रहेको स्रोतले बताएको छ । त्यसै गरी उर्मिला शाह भने गृह मन्त्रालयका तत्कालीन शाखा अधिकृत सुधीरकुमार शाहका श्रीमती हुन् । 

त्यस्तै ललितानिवासभित्र रहेको साबिकको २३ ह १८ नम्बर कित्ताको १ रोपनी १४ आना २ पैसा जग्गा खिमादेवी आङबुहाङ र मोहन भट्टराईको नाममा हालैको बकसपत्रबाट दर्ता गरिएको थियो । खिमादेवी आङवुहाङ डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख मालपोत अधिकृत प्रेम खापुङको श्रीमती हुन् भने मोहन भट्टराई तत्कालीन भूमिसुधार सचिव शरद भट्टराईका आफन्त हुन् । 

त्यसै गरी साबिकको २३ ह २८ नम्बर कित्ताको २ रोपनी ८ आना जग्गा र २३ ह २७ नम्बर कित्ताको जग्गा मिठुदेवी चापागाईँ र इन्द्र बहादुर थापा क्षेत्रीको नाममा गएको देखिन्छ । मिठुदेवी चापागाईँ तत्कालीन समयमा मालपोत कार्यालय डिल्लीबजारका नायब सुब्बा जगत पुडासैनीको दिदी हुन् भने इन्द्र बहादुर थापा क्षेत्रीका बारेमा भने स्पष्ट रूपमा खुलेको छैन । 

तत्कालीन समयमा करिब २४ रोपनी जग्गा राणा परिवारले उपहारस्वरूप विभिन्न सरकारी कर्मचारीलाई दिएको बुझिएको छ । यद्यपि सरकारी संयन्त्रमा रहेका उनीहरूले आफ्ना नाममा भन्दा पनि श्रीमती, सासू ससुरा, दिदीबहिनी, नजिकका आफन्त आदिका नाममा उक्त जग्गा नामसारी गराएका थिए ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप