बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचनमा अलि प्रतिकूल परिणाम आउनसक्छ : ओली

शुक्रबार, २३ पुस २०७८, २२ : २३
शुक्रबार, २३ पुस २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा आफ्नो पार्टीले सोचे अनुसारको परिणाम हासिल गर्न नसक्ने स्वीकार गर्दै यसबाट आत्तिन भने जरुरी नरहेको प्रस्ट पारेका छन् । पार्टीको जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले संसदीय संघर्षको मैदानमा एमालेमाथि गर्न सक्ने हानिकारक प्रहारको अन्तिम किस्ता नै यो राष्ट्रियसभाको निर्वाचन हुने बताए । 

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको परिणाम एमालेका लागि अलि प्रतिकुल आउन सक्ने भन्दै उनले त्यो आजको जनमत र आजको यथार्थ नहुने पनि बताए । उनले भने, ‘साढे चार वर्ष अघि जनमत ल्याउँदा विभिन्न पक्षलाई सन्तुलन मिलाएर, विभिन्न प्रकारका व्यवस्थापनका नाममा त्यसलाई सम्बोधन गर्ने नाउँमा सीट बाँडेका थियौं ।’

अहिले कम्युनिस्ट आन्दोलनलाई भित्रैबाट सखाप पार्न केही तत्व लागेको र पुरानो जनमतलाई समेटेर गठबन्धन बनाएको भरमा एमालेसँग उनीहरुले प्रतिस्पर्धा गरिरहेको ओलीको भनाइ थियो । ‘अहिले पनि हामी एक्लै अरु पार्टी भन्दा मजबुत छौं । हिजोको जनमत र हिजोको परिस्थिति दुरुपयोग गरेर प्रतिकुल परिणाम आउन सक्छ,’ उनले भने, ‘तर त्यो आजको जनमत, आजको यथार्थ होइन । यसमा हाम्रो सकारात्मक परिणाम आएन भनेर अनौठो मान्न कुनै आवश्यकता छैन ।’

जो जति कमजोर छ, त्यसले नै उत्तिकै चर्को स्वरमा यो गठबन्धन चुनावसम्म जानुपर्छ भनेर कराइरहेको उनले बताए । ‘एमालेलाई गठबन्धन चाहिएको छैन,’ उनले भने, ‘एक्लै चुनौती सामना गर्न सक्छ । देशका लागि खटेको, जनताका लागि काम गरेको विकासप्रेमी, शान्तिप्रेमी पार्टी हो । जनताको पार्टी हो, जनताबाट कसैले अलग गर्न सक्दैन ।’

त्यो एउटा ‘ड्रामा’ थियो 

ओलीले सरकार विस्थापन गर्ने, नयाँ सरकार गठन गर्ने जिम्मेवारी संसदको भएपनि आफू नेतृत्वको सरकार हटाएर अर्को सरकार बनेको संसदले नै थाहा नपाएको बताए । उनले नेकपा एमाले विरुद्ध एक प्रकारको घेराबन्दी भएको बताए । 

उनले नेकपा एमालेबाट देश र जनताले धेरै ठुलो अपेक्षा गरेको पनि बताए । एमाले एक प्रकारको घेराबन्दीमा परेको भए पनि जनताको रक्षाकवच प्राप्त भएकाले फेरि जनमतबाटै एमालेले देशको नेतृत्व गर्ने उनले प्रस्ट पारे । उनले अहिलेको सरकार सत्तामा बस्न उपयुक्त नभएको पनि दाबी गरे । जनताले आदेश नदिएका मान्छेहरु अन्यत्रबाट सरकारमा सामेल भएको उनको भनाइ थियो ।

‘संसदले सरकार परिवर्तन भएकै थाहा पाएन,’ उनले भने, ‘संसदले एकैचोटी विश्वासको मत लिने बेलामा मात्र सरकार परिवर्तन भएको थाहा पायो ।’ जबकि, प्रधानमन्त्री हटाइएको, अर्को प्रधानमन्त्री नियुक्त भएको संसदले थाहा पाउनुपर्ने उनको भनाइ थियो । ‘एकैचोटी विश्वासको मत लिने ड्रामा भयो,’ उनले भने, ‘असंवैधानिक क्रियाकलापबाट गरिएको एउटा ड्रामा थियो त्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप