बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : बढ्यो कोरोना संक्रमण, मन्त्रीको चेतावनीपछि भत्काइयो नारायणहिटी भित्रको संरचना

शुक्रबार, २३ पुस २०७८, २० : १६
शुक्रबार, २३ पुस २०७८

आज २०७८ पुस २३ गते शुक्रबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा बढ्यो कोरोना संक्रमण, अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन, कार्यकर्तालाई ओलीले भने– राष्ट्रियसभा निर्वाचनमा हाम्रालागि प्रतिकूल परिणाम आउँछ, मन्त्री आलेको चेतावनीपछि भत्काइयो नारायणहिटीभित्रको संरचना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसरी भइरहेछ अनियमितता, राष्ट्रियसभा सदस्य पदका लागि निर्वाचन हुने १९ वटै सिट क्लिन स्वीप’ गर्ने तयारी, पदाधिकारी चयन गर्न माओवादी केन्द्रले बोलाएको बैठक अनिश्चितकालका लागि स्थगित लगायत छन् ।

१. बढ्यो कोरोना संक्रमण, अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन
नेपालमा केही दिन यता कोरोना संक्रमणको ग्राफ उकालो लाग्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार ५४० जनामा संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट २४ जना संक्रमित भएका छन् । योसँगै सरकारले अस्पतालहरुलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।

२. कार्यकर्तालाई ओलीले भने– राष्ट्रियसभा निर्वाचनमा हाम्रा लागि प्रतिकुल परिणाम आउँछ
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा निर्वाचनका एमालेका लागि प्रतिकुल परिणाम आउने बताएका छन् । २०७४ सालकै जनमतको आधारमा चुनाव हुने र पाँच दलबीचको गठबन्धनसँग एमाले एक्लैले प्रतिस्पर्धा गर्नुपर्ने भएकाले प्रतिकुल परिणाम आउने भन्दै उनले कार्यकर्तालाई ढाडस दिएका हुन् ।

पार्टीको जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै उनले राष्ट्रियसभा निर्वाचनले ताजा जनमतको प्रतिनिधित्व नगर्ने पनि बताए । उनले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए ।

३. मन्त्री आलेको चेतावनीपछि भत्काइयो नारायणहिटीभित्रको संरचना
नाराणहिटी दरबार क्षेत्रमा क्याफे सञ्चालनका लागि बनाइएको संरचना अन्ततः शुक्रबार भत्काइएको छ । दरबार परिसरमा रहेको संग्रहालयभित्र क्याफे सञ्चालन गर्न भन्दै बतास समूहले बनाएको भौतिक संरचना भत्काउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले तीन दिनको समय दिएका थिए । उनले आइतबार १२ बजेसम्ममा नभत्काए आफै गएर भत्काउने चेतावनीसमेत दिएका थिए । 

​४. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसरी भइरहेछ अनियमितता
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आवास र जमिनमा विभिन्न व्यक्ति तथा कम्पनीले कब्जा जमाइरहेका छन् । यसरी प्रतिष्ठानको जग्गा कब्जा गर्नेमा भारतीय नागरिक र कम्पनीसमेत छन् । यतिमात्र होइन, प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरी नक्कली प्रोफेसर भएकोसमेत खुलेको छ । हालै उनले आफ्नो नेमप्लेटबाट ‘प्रा’ (प्राध्यापक) फुर्को हटाएका छन् । यसअघि उनले आफ्नो नामको अगाडि ‘प्राडा’ लेखेकोमा अहिले ‘डा’ मात्र लेखेका छन् ।

५. राष्ट्रियसभा सदस्य पदका लागि निर्वाचन हुने १९ वटै सिट क्लिन स्वीप’ गर्ने तयारी
सत्तारुढ गठबन्धनले राष्ट्रियसभा सदस्य पदका लागि निर्वाचन हुने १९ वटै सीटमा ‘क्लिन स्वीप’ गर्ने गरी आवश्यक योजना र तयारी थालेको छ । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले राष्ट्रियसभा निर्वाचनलाई केन्द्रित गर्दै सातै प्रदेशमा समिति बनाएर क्रियाशील तुल्याउने निर्णय गरेको छ ।

६. पदाधिकारी चयन गर्न माओवादी केन्द्रले बोलाएको बैठक अनिश्चितकालका लागि स्थगित
नेकपा माओवादी केन्द्रले पदाधिकारी चयन गर्न भन्दै पुस २५ गतेका लागि बोलाएको केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । केही नेतामा कोभिड–१९ संक्रमण देखिएकाले बैठक स्थगित गर्नुपरेको जनाइएको छ । 

७. माधवकुमार नेपाल भन्छन्– ओलीले हार स्वीकार गरे
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ बल्ल टुट्न थालेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा आफ्नो पार्टी पराजित हुने स्वीकार गरेको चर्चासमेत गरे ।

८. ललिता निवासको जग्गा व्यक्तिका नाममा गरिदिएबापत जग्गा नै उपहार
बालुवाटारस्थित ललिता निवासको जग्गा राणा परिवारको नाममा गरिदिए बापत मालपोत कार्यालयका तत्कालीन प्रमुख, कर्मचारीदेखि प्रमुख जिल्ला अधिकारी लगायत अन्य सरकारी कर्मचारीले जग्गा नै उपहार पाएको तथ्य प्रकाशमा आएको छ । ११२ रोपनी जग्गा यसरी व्यक्तिको नाममा दर्ता गरिदिए बापत उनीहरुले १२ रोपनी जग्गा उपहार पाएको तथ्य फेला परेको हो ।

९. ओलीसँग सम्वाद गर्ने जिम्मा प्रधानमन्त्रीलाई 
प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग सम्वाद गर्ने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइएको छ । शुक्रबार बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसदको गतिरोध अन्त्यका लागि ओलीसँग सम्वाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको हो ।

१०. राष्ट्रिय भूमि आयोगले लगत संकलनका लागि स्थानीय तहसँग सम्झौता गर्दै
राष्ट्रिय भूमि आयोगले शनिबार काठमाडौंमा एक कार्यक्रमबीच स्थानीय तहसँग सहमति गर्ने भएको छ । भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको लागत संकलन गर्न यसरी सहमति गर्न लागिएको हो । 

११. र यो पनि,
सरकारले चालु आर्थिक वर्षको मंसिरसम्ममा आर्थिक सहायताको नाममा तीन करोड रुपैयाँ बाँडेको छ । उच्च पदस्थ व्यक्तिको उपचार खर्च, आर्थिक सहायताका साथै सर्वसाधारणलाई पनि उपचार खर्च र आर्थिक सहायताका नाममा राज्यकोषबाट उक्त रकम खर्च गरिएको हो ।  

लिभिङ टुगेदर बसेका एक युवा जोडी काठमाडौंको कपनमा मृत भेटिएका छन् । संखुवासभा घर भएका २६ वर्षीय अनिश जिमी र खोटाङ घर भएकी युसिना राई मृत अवस्थामा भेटिएका हुन् । 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण गरिएको सुविधा सम्पन्न सभाहल स्थानीय वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । दुई चरणमा निर्माण योजना रहेको सभाहल पहिलो चरणको काम सकिएसँगै हस्तान्तरण भएको हो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप