बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मलेसियामा जेल जीवन बिताइरहेका २५ नेपाली स्वदेश फर्किए

शुक्रबार, २३ पुस २०७८, २१ : ३४
शुक्रबार, २३ पुस २०७८

वैदेशिक रोजगारीको लागि मलेसिया पुगेर त्यहाँ विभिन्न कारणले जेल जीवन बिताइरहेका २५ नेपाली स्वदेश फर्किएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा बिहिबार २ महिलासहित २५ नेपाली स्वदेश फर्किएका हुन्।

यसरी फर्किनेमा मलेसियामा मृत्युदण्ड सुनाइएका सप्तरीका ३८ वर्षीय राजकुमार शाह समेत छन्।  सन् २०१८ को २९ जुलाईमा उच्च अदालतले राजकुमारसहित मलेसियाका अन्य दुई व्यक्तिलाई ‘लागूऔषध’ कारोबारमा दोषी ठहर गर्दै मृत्यु दण्डको फैसला सुनाएको थियो। 

उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएपछि त्यहाँस्थित नेपाली दूतावासको आर्थिक र अन्य सहयोगमा राजकुमारले माथिल्लो अदालतमा पुनरावेदन गरेका थिए। मृत्युदण्डको सजाय पाएका राजकुमारले पुनरावेदन गर्दा आफूमाथि लगाइएको अभियोग नै घटाएर पुनरावेदन गरेका थिए। अन्तत सन् २०२० को १३ जुलाईमा माथिल्लो अदालतले राजकुमारको पुनरावेदनलाई सदर गर्दै उनको सजाय घटाएर १० वर्ष जेल र १०  कोर्रा हान्ने ‘छडीले हिर्काउने’ आदेश दिएको थियो।

बिहीवार उनै राजकुमारसहित जेलमा कैदी जीवन बिताइरहेका २५ नेपालीलाई एउटै उडानमा स्वदेश फर्काइएको हो । संघका उपाध्यक्ष डा.बद्री केसीले संयोजन गरिरहेको संघको वैदेशिक रोजगार तथा कल्याणकारी विभाग अन्तर्गतको राहत तथा उद्दार कार्यक्रममार्फत यी २५ नेपालीलाई जेलबाट छुटाएर स्वदेश फर्काइएको हो।

एनआरएनए एनसीसी मलेसिया र क्वालालम्पुरस्थित नेपाली दूतावासले उनीहरुको स्वदेश फिर्तीका लागि समन्वय गरेका थिए। संघले जरिवाना तिरेर जेलबाट छुटाउने, कागजी प्रक्रिया मिलाउने र ट्राभल डकुमेण्ट बनाएर पीसीआर परीक्षण गरेपछि उनीहरु स्वदेश फर्कन बाटो खुलेको थियो।

शाहसहित भूपेन्द्र भण्डारी, हिमाञ्चल मौरिया, ओकेकुमार यादव, टिकाराम प्रजा, पारसनाथ यादव, कर्णबहादुर तामाङ, हृदेश केवत, राजकुमार शाह, कृष्णकुमार मण्डल, कैमुल्ला मिया, राजकुमार माझी, कर्णबहादुर पुन, बेलबहादुर थामी, पूर्णबहादुर सुनारी, आशबहादुर कामी, बाबुराम थापा, दिशन सुनार, सन्जयकुमार यादव, जगलाल तामाङ, रामनाथ पण्डित, सपना तामाङ, जुनुमाया बोम्जन, बलन राई र छत्रबहादुर न्यौपानेलाई जेलबाट उद्धार गरी नेपाल ल्याइएको हो ।

काठमाडौं ओर्लिएपछि उनीहरुलाई संघको समन्वयमा प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) को सेल्टरमा बसोबासको व्यवस्था गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप