शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कथा : पर्खाल

शनिबार, २४ पुस २०७८, ०९ : ०२
शनिबार, २४ पुस २०७८

अनायास मेरा आँखा पार्कको कुनापट्टि ठोक्किए– एउटा दृश्यमा । गोलो पारेर काटेको धुपीको बोटको आडमा एक जोडी आइसक्रिम चाट्दै थिए, एउटै कोनमा पालैपालो ।आइसक्रिम सकिँदै गएपछि खोसाखोसजस्तै पर्यो, दुबैवीच । उसले अलिकति टोक्यो कोन । उसले झम्टी र झन बढी कर्याप्प पारी । उसले थुत्यो उसको हातबाट र मुखमा अट्ने जति मर्क्यायो । उसले पनि बाँकी रहेको टुप्पो फुत्काई र कप्ल्याक कुप्लक पारी । दुबै हाँसे मरी मरी । दुबैले आफैंलाई विजयी ठानेका होलान् ।

त्यसपछि उसले दुबै हातको माला बनाएर अँगालो हाली उसलाई । दुबैले केहीबेर आँखा जुधाएर भाका पढे । बिस्तारै दुबैको सामीप्य बढ्दै गयो । दुरी घट्दै गयो । चुम्बकझैं क्रमशः तानिँदै गएर एकै ठाउँमा खप्टिए दुईजोडी ओठहरु ।

कतिधेरै खुलेर रमाइलो गरे उनीहरुले ।

केटो भित्तामा अडेस लागेर ढल्कियो । उसका काखमा ढल्किई केटी पनि । केटाले उसको केश सुम्सुम्याउन थाल्यो एक हातले र अर्को हातले अँगालो हाल्यो । लोलाएका आँखा बनाएर टाँसिइरही ऊ पनि । मानौं, उसको वषौंदेखिको कुण्ठाले आज तृप्ति पाइरहेको छ ।

गोधूली साँझ । दृश्य रोमाञ्चकारी । तर, मैले त्यो दृश्यबाट आनन्दानुभूति गर्न सकिनँ । काउकुति लगाउन सकेन त्यो रोमाञ्चकारी दृश्यले । मलाई टाउकोमाथि सैयौं किलोको भारी बोकेजस्तो भयो । चीट–चीट पसिना आयो । हात खुट्टा फतक्क भए । एउटा कहालीलाग्दो दुर्घटनामा पर्दाको क्षणजस्तै भयो मलाई । मुटुको स्पन्दन तीव्र भयो । अझ भनौं शरीरका सम्पूर्ण अवयवहरु स्तव्ध भएझैं भए । म क्रमशः शिथिल हुँदै गएँ । विस्तारै मेरो अँगालो खुकुलिएपछि उसले पनि चाल पाई कि के हो, विस्तारै मतिर हेरेर भनी –“के भयो ?”

“केही भा’ छैनको भावमा मैले टाउको हल्लाएँ । हातहरु एकापसमा रगडिन थाले । मभित्र आक्रामक उत्तेजना जागृत भयो । के गरौं र कसो गरौंको अवस्थामा मुछिएँ म । प्रेमरसमा डुबल्की मारिरहँदा म एक्कासी रौद्ररुपको भाव–मुद्रामा देख्दा ऊ पनि डराएजस्ती भई, छक्क परी । अनायाश ममा आएको परिवर्तन देखेर ।

तर, ममा परिवर्तन ल्याउने विषयवस्तु वा कारणबारे भने ऊ अनभिज्ञ नै थिई । ऊ पनि त मेरो न्यानो अँगालोमा तृप्तता खोज्दै थिई, आफूलगायत सारा दुनियाँलाई नै वेवास्ता गरेर । विचरा ऊ पनि त्यही नारी त थिई, जो मायाको मीठो भ्रममा होमिन्छन्, बत्तीमा पुतली होमिएजस्तै गरेर । अनि घाइते भएर बाँच्न विवश हुन्छन् जीवनभर ।

उताको दृश्यमा उही मुद्रा र अवस्था थियो । मैले फेरि आँखा पुर्याउँदा । 

बेलाबेला म काठमाडौं जान्थें । बेलाबेला ऊ नै विराटनगर आउँथी । यसरी नै हामी नियास्रो लागेका बेला हाम्रा रहर, चाहना र आवश्यकताहरु पूरा गर्थ्यौं । सधैं, सँगै बसेका बेलाको भन्दा मन मस्तिष्क र शरीरले चाहेपछिको भेटघाट रमाइलो र आनन्ददायक महशुस गर्थ्यौं दुबैले ।

मभित्रको जलन झन बढ्यो । म पनि भित्र–भित्र एकदमै डराएको थिएँ । मैले जुरुक्क उठेर उसको हात समाउँदै भनें, “नीरु हिँड जाउँ कोठामा नै ।”

“ऐले भर्खर त आएको हैन कोठाबाट ?”

“यहाँ त झन नरमाइलो लाग्यो मलाई त । बरु हिँड कोठैमा जाउँ । ”

म उसको प्रतिक्रिया नै नसुनी अघि लागेँ । ऊ आफूलाई समेट्दै मेरो पछि लुरुलुरु आई ।

सरासर काउन्टरमा गएर मैले चेकआउटका लागि अनुरोध गरेँ । तर, तीन दिनका लागि बुक गरिएको कोठाको एकैचोटि अग्रिम भुक्तानी गरिसकेको थिएँ होटलको नियमअनुसार । तर, आज दुई दिनमात्र भएकाले पैसा फिर्ता दिन नमिल्ने बताएपछि ममा झन बढी छटपटी थपियो ।

म आफ्नो कोठामा गएर बिच्छ्यौनामा डंग्रङ्ग पल्टिएँँ । एकातिर डर, अर्कोतिर आवेग र रिसको द्वन्द्वमा म छटपटिरहेको थिएँ । बाहिरको दृश्यमा देखिएकी केटी अरु कोही नभएर मेरै पत्नी थिई ।

...

हुन त इमान्दारिताका साथ भन्ने हो भने मलाई कुनै प्रकारको प्रतिक्रियात्मक भाव सिर्जना हुन नपर्ने हो । किनभने ऊ जसरी अर्काको अँगालोमा बाँधिएर तृप्तता खोज्दै थिई, म पनि त अर्कैलाई अँगालोमा च्यापेर तृप्तता खोज्दै थिएँ नि । यदि मैलेचाहिँ उसलाई नदखेर उसलेचाहिँ मलाई आलिँगनवद्ध अवस्थामा देखेकी भए ? उसको पनि त मनोदशा मेरोभन्दा कम हुन्थ्यो होला र ?

नीरु ममा एक्कासी आएको परिवर्तन देखेर मलाई टुलुटुलु हेरिरहेकी थिई । यसको कारण ऊ आफैं पो हो कि सोच्दै थिई । म आफैंमा हराउँदै गएँ । ऊ मेरो छेउमा बसेर नारीत्व पस्किन थाली ।

मेरो निधार थिचिदिन र केशराशी सुम्सुम्याएर सहज बनाउन प्रयत्न गर्न थाली । किन हो, मलाई भने उसको सामीप्य वा मायालु स्पर्श नै असहजजस्तो लाग्दैथ्यो । तर, पनि उसले के भन्ली ? चित्त पो दुखाउली कि भनेर कुनै नकारात्मक प्रतिक्रिया देखाइनँ । र, म सतर्क पनि थिएँ नदेखियोस् भन्नेमा । तर, भित्र–भित्रै चाहिँ मलाई नछोए पनि हुन्थ्यो भइरहेको थियो । किनभने म अन्तै हराइरहेको थिएँ, यथार्थमा उसकै अगाडि भए पनि ।

खाना तयारी भएको खबर काउन्टरबाट आयो । खान त पटक्कै पनि मन थिएन । न त भोकको महशुस थियो, न त थकानको नै । न त रमाइलोको नै । तर, नखाई पनि त भएन, के सोच्ली नीरुले फेरि ? उसका लागि भए पनि त मैले स्वाभाविक पार्नु थियो आफूलार्ई । त्यसैले पनि औपचारिकता पस्केँ ऊप्रति ।

“नीरु के खाने ? यहीँ कोठामा नै मगाउँ न है ?”

ऊ अलि चञ्चल हँुदै भनी “कोठामा त जहिले पनि खाइहालिन्छ नि तल रेस्टुरेन्टमा नै गएर खाउँ न है, कति रमाइलो हुन्छ । ”

केही दिनको रमाइलोका लागि नै त मैले उसलाई यहाँ लिएर आएको थिएँ, कसरी नमान्नु र उसको कुरा ? नचाहेरै पनि म उठेँ र तानिएँ उसको पछि ।

मैले कुनाको टेबल नै रोजें । ता कि म सबै दृश्यावलोकन गर्न सकौं । तर, मलाई कसैले नदेखुन् वा त धेरै कमले मात्र देखुन् ।

नीरुलाई नै मेनु हेरेर खाना अर्डर गर्न भनेँ । उसका आँखा मेनुमा छरिए भने मेरा आँखा भरिएका प्रत्येक टेबलमा र भरिने गरेकामा पनि ।

सहज बन्न बेलाबेलामा म गिलासमा राखिएको पानीको चुस्की लिन्थेँ र नीरुतिर हेरेर ङिच्च गरिदिन्थेँ । उसले मेरो मनोदशा पढेकी त थिई । तर, बुझेकी भने थिइनँ कारकतत्व के हो भनेर ।

टेबलमा खाना आयो । सबै नीरुको च्वाइसमा । हुन त मेरो केही च्वाइस उसलाई पनि थाहा भइसकेको थियो । त्यसैले केही परिकार मेरै स्वादका पनि थिए । रहरभन्दा पनि बढी करले म खाँदै थिएँ । आँखा हल वरिपरि नै कुदिरहेका थिए ।

अनायाशै मैले मेरो आँखाले खोजेको वस्तु भेट्टाएँ । हामी बसेको टेबलको सामुन्नेको कुनामा भएको टेबलमा उसको जोडी थियो । उनीहरु वियरको चुस्की लिँदै रमाउँदै थिए । संयोग भनौं, म र ऊ आमुन्ने–सामुन्ने फर्केका थियौँ । मैले उसलाई, उसले मलाई सजिलैसँग देख्न सक्थ्यौं टाढैबाट भए पनि ।

म उसलाई नै नियाली रहेको थिएँ, आफू पनि डराउंँदै । खाना नआउँंदै मैले उसलाई देखेको भए त म टेबल चेञ्ज गर्ने थिएँ । तर, अब त खाना आइसकेपछि त्यो पनि सम्भव भएन ।

किन आज परिस्थिति यस्तै असहज मात्र बन्दैछ, सोचेंं मैले । धेरैबेरपछि अनायाश उसका र मेरा चार आँखा भए । एक्कासी ऊ साँझको कमलजस्तै भई । उसको उन्मुक्त हाँसो स्याप्पै भयो ।

धेरैपछि हामीले एकअर्कालाई देखेका थियौँ । तैपनि हामीलाई उत्साहको सट्टा त्रास उत्पन्न भयो । एक अर्काको अकस्मात उपस्थिति पनि असहज भयो एक अर्कालाई । किंकर्तव्यविमूढ भएर हेरिरह्यौँँ एकअर्कालाई । दुबैका आँखामा प्रश्नै प्रश्न झुण्डिएका थिए ।

एक अर्काका अगाडि हामी दुबै नै अपराधी सावित भएका थियौं । यस्तो परिस्थिति सिर्जना होला भन्ने अनुमान पनि थिएन हामीमा । एकअर्कालाई देखेता पनि न त म ऊतिर जान नै सकें, न त ऊ नै मतिर आउन सकी ।

मभन्दा पनि बढी ऊ असहज देखिई । त्यसैले होला सायद चाँडोभन्दा चाँडो उसको जोडी त्यो टेबलबाट उठेर बाहिरियो । म स्वाभाविक बन्ने प्रयास गर्दै खाएझैं गर्दै थिएँ । नीरु आनन्दले खानाको स्वाद लिइरहेकी थिई ।

भूइँचालोपछिको गाउँजस्तै भएको थियो मेरो मनस्थिति । अस्तव्यस्त । कोठामा गएर त्यसैगरी पल्टिएँ जसरी पार्कबाट फर्केर आएपछि पल्टेको थिएँ । आँखामा निद्रा लेश मात्र पनि थिएन । अनेकौँ प्रकारका भाव सम्मिश्रण भएर एकैचोटि आउँथे । सामना गर्नै गाह्रो भइरहेको थियो मलाई ।

नीरु रोमान्टिक वातावरण बनाउने प्रयास गर्दै मसँग टाँसिन आई । मेरो मनस्थितिबाट अनभिज्ञ उसले मेरो सर्टको माथिल्लो टाँक खोलेर मेरो छातीको रौं खेलाउन थाली औंलाले । मैले मूड ठीक नभएको भन्दै सुत्न अनुमति मागें । आज्ञाकारी भइदिई ऊ ।

म अर्कोपटि फर्केर सुतेको नाटक गरें । मभित्रको तनाव उसलाई नदेखाउन चाहन्थें । टीभी हेर्दै थिई, एकक्षण पछि ऊ पनि निदाइछे ।

क्रमशः वातावरण चकमन्न हुँदै गयो । होटलका भान्साघरबाट आउने आवाज पनि बन्द हुँदै गयो । बाहिरबाट रेस्टुरेन्टमा रमाउन आएका पाहुनाहरु पनि गएको संकेत उनीहरुको गाडीको आवाजले दिइरहेको थियो एक क्षण अघिसम्म । त्यो पनि चकमन्न भयो । राात्रिकालीन आनन्दमा चुर्लम्म भयो वातावरण ।

तर, मभित्र भने चैते हुरीले लगाएको डढेलो दन्किरहेको थियो । कसरी यस अप्रत्याशित घटनालाई सहज मान्ने भन्ने सोचमात्रै आइरहेको थियो मेरो मन मस्तिष्कमा । नीरुतिर हेरें, ऊ अस्तव्यस्त लुगा पारेर निदाइरहेकी थिई ।

डाहा तीव्र भएपछि म विस्तारै उठेर कोठाबाहिर निस्कें । हामी बसेकै फ्ल्याटको अगाडि बरण्डा थियो । बरण्डामा निस्केर चुरोटको धूवाँसँगै आफूलाई भुलाउन थालेँ । शान्ति भनेको बाहिर खोजेर पाइने वस्तु हो र ? मनमा ज्वालामुखी दन्केका बेला बाहिरको कुनै पनि दृश्य, ठाउँ र वस्तुले शान्ति दिन सक्दैन । झन छटपटी भयो ।

बाहिर झलमल्ल बत्ती बलिरहेको थियो । उफ् यहाँबाट त झन राम्ररी पो देखिँदो रहेछ । उफ् त्यो धूपीको बोट, जसको फेदमा मैले दिउँसो उसको जोडीलाई देखेको थिएँ । त्यो त झन मेरै सामुन्ने पो पर्दोरहेछ । अनायाश नै रिस बढ्यो, त्यो बोट देख्दा । लहलहाउँदो हरियो धूपीको बोट पनि मलाई तीखा काँडैकाँडा भएको डम्फरको बोटजस्तै पो लाग्यो, जसका तीखा काँडाले घोचेर र चिथोरेर म रक्ताम्य भएको छु ।

०००

मैले समय, ठाउँ र परिवेश परिस्थितिअनुसार बिक्न सकिन्छ भनेर नै पढेलेखेकी केटी बिहे गरेँ । बिहेपछि जागिर पनि छोडेकी थिई उसले । मेरो पुर्खौली सम्पत्ति नै मेरो सन्तानसम्मलाई पुग्ने ठानेर मैले पनि जागिरमा हात हालिनँ । बरु एउटा बोर्डिड चलाएर बसेँ ।

छोरो स्कूल जान थालेपछि शालु फुर्सदिलो हुन थाली । जागिरको स्वाद उसलाई ताजै थियो । उसले बारम्बार आफ्नो योग्यता र क्षमताको दुरुपयोग हुन दिन्न भनेर जिद्दी गरेपछि जागिर खाने अनुमति दिएँ मैले । ऊ आफ्नो योग्यतानुसारको जागिर खान काठमाडौं हानिई ।

अनुभव, योग्यता, दक्षता र आफन्त सबै मिलेकाले सजिलै जागिर पनि पाई उसले । तर, जागिर वा परिवार दुईमा एक रोज्नुपर्ने भयो उसले । परिवार विराटनगर र जागिर काठमाडौं ।

मलाई नै उसले कर गरी कि हाम्रो परिवार नै काठमाडौंमा जाने । तर, मैले मानिनँ । किनकि मेरो मान, शान र पहिचान नै त्यही स्कूल थियो, जसलाई म छोडेर जान पनि सक्तिनथेँ । बच्चालाई आमाले बाबुको पनि माया दिन सक्छन्, तर बाबुले आमाको पनि माया दिन सक्दैनरहेछन् । त्यसैले हाम्रो छोरोलाई पनि उसैले लिएर गई ।

बेलाबेला म काठमाडौं जान्थें । बेलाबेला ऊ नै विराटनगर आउँथी । यसरी नै हामी नियास्रो लागेका बेला हाम्रा रहर, चाहना र आवश्यकताहरु पूरा गर्थ्यौं । सधंै, सँगै बसेका बेलाको भन्दा मन मस्तिष्क र शरीरले चाहेपछिको भेटघाट रमाइलो र आनन्ददायक महशुस गर्थ्यौं दुबैले ।

भौगोलिक रुपमा टाढा भएता पनि अघाउञ्जेल गफ गर्न दुबैका हातमा मोवाइल, इमेल वा च्याट थिए । कहिलेकाहिँ म मजाक गर्थेँ, “तिम्रो त छोराले ओच्छ्यान तातो बनाइराखेको होला, आफ्नो त न त चिया तताइदिने छन्, न त ओच्छ्यान तताइदिने नै कोही छन् ।”

“ल्याउनु नि त एउटी, ओच्छ्यान पनि तताइदिन्छे, अनि चिया पनि ।” ऊ सहजै भन्थी ।

होस्, तिमी छोरा च्यापेर सुत म तिमी सम्झेर सिरानी च्यापेर सुत्छु । म उसैलाई ठूलो बनाइदिन्थेँ । ऊ मख्ख पर्थी ।

क्रमशः हाम्रो भेटघाटको समय लम्बिन थाल्यो । कहिले छोराको विदा नमिल्ने र कहिले आफ्नो अफिसकै कामको व्यस्तता देखाएर ऊ आउन सकिनँ भन्थी । म पनि धेरै फुर्सद भएर पनि व्यस्त हुन्थें । कहिले बन्द कहिले हड्ताल, कहिले काम । यी विभिन्न कुराले पनि म जान पाउन्नथें ।

हाम्रो भेट बर्षमा एक दुईचोटि मात्र हुन थाल्यो । यसले गर्दा हाम्रा मानसिक, शारीरिक आवश्यकताको परिपूर्तिमा पनि कठिनाइ भएको थियो । टेलिफोन र कम्प्युटरका भित्तामा जति मजाक र रोमान्टिक भए पनि त्यही रोमान्टिक मजाकले नै हामीलाई शारीरिक रुपमा भड्काउँथ्यो ।

मलाई एउटी आइमाईको स्पर्शको कमी महशुस हुँदै गयो र यो कमी शालुलाई पनि भएका होला भनेर म सोद्धथेँ पनि । तर, ऊ उपाय नभएको गुनासो गर्थी । मान्छेलाई पेटको भोक मार्न सजिलो रहेछ तर यौनको भोक मार्न कति गाह्रो ।

थाहै नपाइकन मैले गाउँमै नीरुसँग स्पर्श साट्न थालेँ । तर, शालुलाई आभास पनि हुन दिएको थिइनँ । न त कहिल्यै उसलाई पनि मेरो पुरुष स्पर्श सुख कसरी पूरा गर्छ्यौ भनेर नै सोधेँ । तर, जसरी म शालुको कमी नीरुबाट पूरा गर्दै थिएँ, त्यसै गरी मेरो कमी पनि त शालुले अरु कोहीबाट पूरा गर्न सक्छे भन्ने अहँ मैले सोच्नै सकेको रहेनछु । यदि यति सोच्न सकेको भए आज वास्तविकताको सामना गर्न सजिलो हुन्थ्यो मलाई । र, यदि मैले पनि सत्य करा पहिले नै शालुलाई भनेको भए ऊ पनि त सहज हुन्थी होला नि आज ।

मलाई लाग्यो, गल्ती हामी दुबैको हो । अनि दुबैको हैन पनि ।

डढेलोमा खिचडी पाकिरहेकै थियो । अनायाश एउटा नारी आकृति अँध्यारो प्यासेजमा बिस्तारै बरण्डातिर नै आइरहेको देखियो । मधुरो बत्ती र अलिक टाढै भएकाले ठम्याउन सकिनँ को हो भनेर । शंका गरें, नीरुले ब्युँझेर हेर्दा ओछ्यानमा मलाई नदेखेर खोज्दै आएकी हुनुपर्छ । चोर पक्रिने डरले ऊ नजिकै आइपुग्नु अगाडि नै म उठेँ कोठातिरै जान ।

दुईचार कदम मात्र के बढाएथेँ टक्क रोकिए आफैं पाइलाहरु । मुखबाट एक्कासी निस्कियो, ‘शालु ।’

ऊ मभन्दा केही कदम पर नै उभिई । 

न त मैले परपुरुषसँग लागेको आरोप लगाएर गाली गर्न नै सकें, न त उसले मलाई परस्त्रीसँग लागेको भनेर रिसाउन नै । ऊ पनि लाचार थिई । म पनि लाचार थिएँ । दुवैका आँखामा विवशताको प्रश्न थियो । ऊ मपट्टि हेर्दै गह्रौं मनस्थिति बोकेर आफ्नो कोठाभित्र छिरी । म किंकर्तव्यविमुढ भएर उभिइरहें ।

कस्तो विडम्बना । पहिला पहिला म काठमाडौं जाँदा वा ऊ नै विराटनगर आउँदा नै पनि ढोकामै आफ्ना झोला फ्याँकेर हुण्डरीझैं हुन्थ्यौँ र चुम्बकझैं टाँसिन्थ्यौँ एक अर्कामा । तर, आज ऊ अगाडि बढ्न नै सकिनँ । न त म नै गएर उसलाईं अँगालोमा च्यापेर उसको निधार चुम्न नै सकेँ ।

दुबैजना मूर्तिवत उभिइरह्यौँ । दुबैको एउटै मनोदशा, एउटै स्थिति र एउटा प्रश्न थिए एक अर्काप्रति । तर, शब्दमा हामीले सोध्न सकेनौं केवल आँखाले मात्र प्रश्नमाथि प्रश्न सोधिरह्यौँ ।

म ऊ पहिला बोले हुन्थ्यो भन्ठान्थेँ । शायद ऊ पनि म नै पहिला बोले हुन्थ्यो भन्ठान्दी होला । तर, ममा अलिकति भए पनि पुरुष दम्भ थियो । गल्ती नै गरेको भए पनि उसको लोग्ने हुनुको अहम् थियो ।

अन्ततः ऊ नै हारी । नारी हुनुको धर्म निभाई उसले ।

“हजुर यहाँ ?”

मैले पनि भनेँ, “तिमी पनि यहाँ ?’

“यो सब हजुरले गर्दा भएको हो,” उसले मलाई नै दोष लगाई ।

“तिम्रो कारणले चाहिँ हो,” मैले पनि उसैलाई फर्काएँ ।

“हजुर काठमाडौंमा आएर बसेको भए यस्तो हुन्थ्यो र ?”

“तिमी विराटनगरमा नै बसेको भए यस्तो हुने थिएन नि ।”

“म त बाध्य थिएँ नि त ।”

“म पनि त बाध्य थिएँ नि ।”

दुबैका आरोप प्रत्यारोप सबै जायज थिए । दुबै सही, दुबै गलत ।

यौन पनि हाम्रो शरीरको एक भाग हो । शरीरलाई जसरी खानाको आवश्यकता पर्छ, त्यसैगरी यौनको पनि । आवश्यकताअनुसार मान्छेले जसरी पेटको भोक मार्छ, त्यसैगरी शरीरको भोक पनि मर्यादित किसिमले मार्नु कुनै पाप वा अपराध हैन भन्ने समान सोच हामी दुबैको भएता पनि हामीले एक अर्काबीच वास्तविक जानकारी गराएनौँ ।

हामीले आफ्ना आवश्यकता आफ्नै किसिमले पूरा गरेका रहेछौं । हाम्रा लागि यो सबै स्वाभाविक भएता पनि समाजका दृष्टिमा यो अनैतिक वा अपराध मानिन सक्छ र यही समाज वा आफन्तको नजरबाट बच्न नै म पोखरा आएको थिएँ, निरुलाई लिएर ।

शालु पनि त यही सोचेर यहीँ आएकी हुन सक्छे । तर, संयोग कस्तो परिदियो भने ठाउँ, समय मात्र नभएर होटल पनि अझ भनौँ फ्ल्याट पनि पो एउटै परेको थियो ।

यो परिस्थिति सिर्जना हुनमा हामी दुबैको समान सहभागिता थियो । अन्ततः हामी दुवै आफ्ना गल्ती आफैंले महसुस गरेर दुवै चुप भयौं । धेरै बेरसम्म दुबैले दुबैलाई केही सोध्ने, भन्ने आँट गरेनौं । मुखामुख गर्नुबाहेक ।

आँखाको भाव पढ्दा दुबैको उही भाव । उही माया, उही समर्पण । उस्तै विश्वास । उही आत्मियता छचल्किरहेको । हामीले चाहेर एकअर्कालाई धोका दिएका थिएनौँ । एक अर्कालाई छोडेर धोका दिने मनस्थिति थिएन दुबैको । समय र परिस्थितिको आवश्यकतालाई आ–आफ्नै प्रकारले परिपूर्ति गरेका थियौं, एकअर्काले थाहा नपाओस् भनेर । यही गल्तीको सजायँ दुबैले एकै प्रकारको पाएका थियौँ आज ।

अपराध पनि उस्तै, सजाय पनि उस्तै । परिस्थितिले एउटै मोडमा जम्काभेट गराइदिएर समान सजाय दियो हामीलाई ।

हामी निकै अप्ठेरो परिस्थितिमा थियौं । सँगै थियौँ, तै पनि धेरै टाढा थियौँ । म पनि उसलाई नै च्यापेर सधैंको खुशी सुत्न चाहन्थें र शायद ऊ पनि । आफैँमा स्वतन्त्र वा सारा आफन्त, समाज र आफैँबाट अधिकार प्राप्त भए पनि हामी वद्ध थियौं । न म लोग्नेको अधिकार जताएर उसलाई कोठामा लगेर सँगै सुत्न सक्थेँ । न त ऊ नै स्वास्नीको नाताले मलाई आफ्नो कोठामा हिँड सुत्न जाउँ नै भन्न सक्थी । कति अप्ठेरो स्थिति ।

म लोग्ने, ऊ स्वास्नी । सारा संसारले दिएको अधिकार । सामिप्यता र नजिक जति थियो, दूरता उति नै बढी । विवश थियौं । आफैँले सिर्जना गरेको अप्ठेरो अवस्थामा थियौँ ।

एकक्षण अघिसम्म ऊ उही वा उसैको केटा साथीसँग कति उन्मुक्त खुशी साट्दै थिई । म पनि त नीरुसँग थिएँ । तर, अहँ अहिले हामी दुबै एक अर्काको अभावले अतृप्त देखियौँ ।

एक्कासी मैले उसलाई अँगालोको मुद्रामा हात फैलाएँ । ऊ हुण्डरीजस्तै आएर मसँग टाँसिई, मेरो छातीमा । बल्ल मन हलुँगो हुँदै गयो मेरो । ऊ घुँक्क–घुँक्क गरिरहेकी थिई । कठोर पुरुष वर्गमा परिभाषित भए पनि मेरो पनि आँखाबाट अश्रुधारा बगिरहेका थिए । अविरल रुपमा ।

अनायाश उसको कोठामा बत्ती बलेको प्रकाश टल्कियो, शिशाको झ्यालबाट । ऊ मेरो अँगालोमा भए पनि झस्किएर डराई । डराएर मलाई बेरिरहेका हात पनि क्रमशः खुकुलिँदै गए । म पनि परिबन्दको दास थिएँ । हामी दुवैले नचाहँदा नचाहँदै पनि अँगालो मुक्त गरिदियौँ एक अर्कालाई ।

उफ् कस्तो अवस्था यो । न त मैले लोग्नेको अधिकार देखाएर हप्काएर रोक्न नै सकेँ । न त ऊ स्वास्नीको नाताले डराउन नै सकी । न त उसले नै जान्छु भन्न सकी । न त मैले नै नजाउ भन्न नै सकें । आफ्नै आँखा अगाडि, आफ्नै स्वास्नीलाई अर्को परपुरुषसँग रातभर सँगै सुत्न जाने मौन अनुमति दिन बाध्य भएँ म ।

न त मैले परपुरुषसँग लागेको आरोप लगाएर गाली गर्न नै सकें, न त उसले मलाई परस्त्रीसँग लागेको भनेर रिसाउन नै । ऊ पनि लाचार थिई । म पनि लाचार थिएँ । दुवैका आँखामा विवशताको प्रश्न थियो । ऊ मपट्टि हेर्दै गह्रौं मनस्थिति बोकेर आफ्नो कोठाभित्र छिरी । म किंकर्तव्यविमूढ भएर उभिइरहें ।

एकक्षण पछि उसको कोठामा देखिएको प्रकाश झ्याप्प भयो । उसको कोठामा मात्र हैन, मेरा वरिपरि सारा संसारमै अँध्यारो घोप्टियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मन्दिरा मधुश्री
मन्दिरा मधुश्री
लेखकबाट थप