बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

न्युरो सर्जन रोका : विदेशमा पढेर स्वदेशमा निरन्तर सेवा

शनिबार, २४ पुस २०७८, १६ : ००
शनिबार, २४ पुस २०७८

विराटनगरमा न्यूरो सम्बन्धी जटिल समस्याको उपचारको लागि सम्झने नाम हो, ५० वर्षीय डा.यामबहादुर रोका । हँसिलो अनुहार, फिट शरीर र हक्की स्वभाव भएका वरिष्ठ न्यूरो सर्जन डा.रोका विगत १३ वर्षदेखि विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालमा कार्यरत छन् ।

दैनिक ५० जना बिरामी जाँच्दै आएका उनले २० वर्षको अवधिमा लाखभन्दा बढी बिरामीको सफल उपचार गरिसकेका छन् । हजारौं विरामीलाई नयाँ जीवन दिइसकेका डा. रोका हरेक बिरामीको परिवारमा खुसीको प्रकाश छर्न सफल छन् ।   
२०६६ सालमा न्यूरो अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्ट तथा कार्यकारी निर्देशक अनिशा विष्टले त्यसबेला पूर्वाञ्चलमा न्यूरो सर्जरी सेवाको आवश्यकता महसुस गरेर उनको नेतृत्वमा न्यूरो सजरी सेवा सुरू गरेका थिए ।

न्यूरो अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू गरेपछि डा. रोकाले  हालसम्म ५ हजारभन्दा बढी जटिल शल्यक्रिया सफलतापूर्वक गरिसकेका छन् । त्यही सफलताले नै उनलाई  अहिलेको चर्चित र व्यस्त न्युरो सर्जन बनाएको छ । डा. रोकाले पूर्वमा न्यूरो सर्जरी सेवा सुरू गर्नुभन्दा अघि यहाँका विरामी भारतको सिलगुढी र काठमाडौं जानुपर्ने अवस्था थियो ।

सवारी दुर्घटनामा परी घाइते भएका विरामीले समयमै उपचार नपाएर ज्यान गुमाउने अवस्था थियो । अहिले पूर्वमा नै न्यूरो सर्जरी सेवा सुरु भएपछि त्यो बाध्यता अन्त्य भएको छ । न्यूरो अस्पतालमा सेवा सुरु भएपछि प्रदेश १ र २ का  विरामीले न्यूरो सम्बन्धी सम्पूर्ण सेवा यहीँबाट पाउने गरेका छन् ।

अहिले पूर्वी नेपालमा न्यूरो अस्पतालबाहेक ८ वटा अस्पतालहरुमा न्यूरो सर्जरी सेवा सुरू भएको छ । उनले सेवामात्रै दिएका छैनन् । दक्ष जनशक्ति उत्पादनमा पनि उस्तै भूमिका खेलेका छन् । हाल उनीसँग सिकेका ७ जना चिकित्सकहरु न्यूरो सर्जन भइसकेका छन् ।

डा. रोकाका अनुसार प्रदेश १ मा मात्र १७ जना न्यूरो सर्जनहरु कार्यरत छन् । जसले गर्दा यहाँका बिरामीको दुर्घटना वा अन्य न्यूरो सर्जरीसँग सम्बन्धी रोगबाट हुने मृत्यु दरलाई धेरै नै कम गर्न सफल भइएको छ । उनका अनुसार भारत गएर न्यूरो सर्जरीको लागि महँगो उपचार खर्च गर्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ । झण्डै दुई दशकदेखि न्युरो सर्जरीमा सक्रिय उनले ठूला शल्यक्रिया मात्रै पाँच हजारभन्दा बढीको गरेको बताउँछन् ।

१३ घण्टा निरन्तर शल्यक्रिया
रोकाले कामका क्रममा केही अविश्मरणीय पल पनि संगालेका छन् । सोही क्रममा उनले एउटा यस्तो शल्याक्रिया गरेका छन्,जुन शल्यक्रिया गर्दाको समय १३ घण्टा लागेको उनीसँग अनुभव छ । उनले विगत सम्झदै भने, ‘मेरो करिअरमा मैले १३ घण्टा बिताएको छु।’ यति लामो समय सम्म कुनैपनि बिरामीको अहिलेसम्म शल्यक्रियामा बिताएको क्षण मसँग छैन।’ एक जना विरामीको ब्रेन ट्युमरको शल्यक्रिया गर्दा यति धेरै समय लागेको थियो ।  डा. रोका दैनिक १२ घण्टा वा त्यो भन्दा बढी बिरामीको सेवामा खटिँदै आएका छन् । कहिलेकाहीँ सर्जरी गर्दागर्दै बिहान उज्यालो भइसक्छ । कहिले त रातभरि नै अस्पतालमै हुन्छन् उनी ।

वि.सं. २०७२ सालको महाभूकम्पकै बेला डा. रोकाले ब्रेनका समस्या भएका विरामीको शल्यक्रिया गरेका थिए । जीवनमा पैसालाई कहिल्यै महत्व नदिएको बताउने उनले राम्रो काम र सेवा गरेमा पैसा आफै प्राप्त हुने बताउँछन् ।
उपचार पश्चात सबैभन्दा खुसी बिरामी निको बनाएर घर पठाउने बखत हुने उनी बताउँछन् ।  त्यो बेला बिरामी र आफन्तले दिने सम्मान र आर्शिवाद आफ्ना लागि अतुलनीय खुशी हुने उनको भनाइ छ ।

डा. रोका राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुप्रवल जनसेवाश्री पदकबाट विभूषित बनेका छन् । त्यसबाहेक नेपाल भारत शिरोमणी अवार्ड, आइकन अफ हेल्थकेयर अवार्ड, सिगांपुर, फोकस नेपाल अवार्ड, दाहाल अन्तराष्टिय अवार्ड, जनबिद्रोह पत्रिका अवार्ड, आर. जिलिन्कास अवार्ड बाट सम्मानित भइसकेका छन् ।

डाक्टरसँगै कवि !

पेसाले चिकित्सक डा. रोका कवि पनि हुन् । बाल्यकालदेखि नै साहित्य सिर्जनामा झुकाव राख्ने रोकाले दुई वटा कवितासंग्रह प्रकाशित गरिसकेका छन् । उनले अंग्रेजी कविता संग्रह ‘१०८ कविताको भोल्युम १ र २’ बजारमा ल्याएका छन् । डा. रोकाको कविता संग्रहमा १ सय ८ वटा अंग्रेजी कविता छन् । ३ देखि ७ भोल्युमको अर्को अंग्रेजी कविता संग्रह पनि बजारमा ल्याउने तयारीमा लागेका उनी बताउँछन्।

स्वर्गीय क्याप्टेन पदम बहादुर र आमा मीनकुमारी रोकाको सुपुत्र उनी बागलुङमा जन्मिएका हुन् । बावु इण्डियन आर्मी भएकाले भारतमा गएर शिक्षा हासिल गर्ने अबसर डा रोकालाई मिलेको थियो । उनले मध्यमिक तहको पठाई भारतको मद्रासबाट पुरा गरेका थिए भने त्यसपछि उच्च शिक्षा दार्जिलिङबाट हासिल गरेका थिए । एमबीबीएस र एमएस सर्जरी भारतमै पूरा गरेका हुन् ।

पढाई  विदेशमा भए पनि पेशागत दक्षता स्वदेशमै उपयोग गर्ने उनको इच्छा थियो । पढाई सकेपछि २८ वर्षको उमेरमा डा. रोका नेपाल आएका थिए । त्यसबेला उनी जनरल  सर्जन थिए । पढाइ सकिनेबित्तिकै भारतमै जागिरको अफर आएको थियो । तर, उनलाई स्वदेशमा सेवा गर्ने  इच्छा प्रबल थियो । उनले  चिकित्सा पेशाको शुरुवाती २०५६ सालमा धरानस्थित बीपी कोइराला स्वास्थ्य  विज्ञान प्रतिष्ठानबाट सेवा सुरु गरेका थिए ।

उनले तीन वर्ष बीपीमा असिस्टेन्ट प्रोफेसर भएर काम गरका डा रोकाले यही विचमा वीर अस्पतालबाट न्यूरो सर्जरी पूरा गरे । उनी वीर अस्पतालकोको फस्ट एमसीएच न्यूरो सर्जन पनि हुन् । त्यसपछि दुई वर्ष सिंगापुरमा पनि गएर थप पढाई सकेपछि न्यूरो सर्जन भएर पूर्वाञ्चल आए । बीपीमा एक वर्ष सेवा गरेपछि विराटनगरस्थित न्यूरो अस्पतालमा जोडिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप