शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बसन्त बस्नेतले ल्याए ‘महाभारा’

शनिबार, २४ पुस २०७८, १८ : ०३
शनिबार, २४ पुस २०७८

 पत्रकार एवम् लेखक बसन्त बस्नेतको नयाँ औपन्यासिक कृति ‘महाभारा’ लोकार्पण गरिएको छ । काठमाडौंको बौद्धस्थित तारागाउँ म्युजियममा शनिबार आयोजित ‘महाभारा मेला’ विशेष कार्यक्रममा बस्नेतकी छोरी अनुदिता बस्नेतले पुस्तक लोकार्पण गरिन् ।

मेलामा पुस्तक लोकार्पण कार्यक्रमसँगै उपेन्द्र सुब्बाले किताबबारे टिप्पणी गरे । युद्धको क्रूर समयमा हुर्केको सुन्दर प्रेम कथा नै ‘महाभारा’ रहेको उनको भनाइ छ । ‘मलाई त यस्तो लाग्छ, यो पहरामा फुलेको अम्लारी फुङ (सुनाखरी फूल) हो,’ उनले भने ।  

कार्यक्रममा लेखक बस्नेतसँग पत्रकार एवं लेखक शिवानीसिंह थारुले संवादसमेत गरिन् । संवादमा थारुले पुस्तक लेखनदेखि यसका पात्रहरूको मनोविज्ञानका विविध पक्षमा आधारित रहेर बस्नेतसँग संवाद गरेकी थिइन् । नेपाली भाषालाई लिम्बू लबजको व्याकरणमा मिलाएर लेखिनु नै यो उपन्यासको सबल पक्ष रहेको थारुले बताइन् ।

‘नेपालका विभिन्न क्षेत्रमा विभिन्न किसिमका लबजमा नेपाली भाषा बोलिन्छ । त्यसलाई साहित्यमा ल्याउने काम जटिल नै छ,’ उनले भनिन्, ‘तर बसन्तजीले पूर्वेली लिम्बू लबजलाई नेपाली भाषामा जसरी उतार्नुभएको छ, त्यो अति मीठो छ । यही नै यसको सशक्त पक्ष हो ।’

तत्कालीन युद्धरत पक्ष माओवादी र नेपाली सेना थिए । तिनका बीचमा सर्वसाधारण जनता पिल्सिएका थिए । तर पुस्तकमा लेखकले द्वन्द्वको चित्रण गर्दा सबै पक्षबीच ‘ब्यालेन्स’ मिलाएको पनि थारुको भनाइ छ ।

कोभिडका कारण सुरु भएको लकडाउनमा आफूले समय पाएको र त्यही बेला उपन्यास लेखनलाई गति दिएको लेखक बस्नेतले बताए । ‘लकडाउनले धेरैलाई कवि बनायो । मलाई उपन्यासकार,’ उनले भने, ‘एउटा कथानक धेरै अघिदेखि हृदयमा गुम्फिइरहेको थियो, जुनसुकै बेला ल्यापटपमा तप्किन तयार । पहिलो मस्यौदा लेखिइँदा म नेपाल म्यागजिन सम्पादन गर्दै थिएँ । अग्रज आख्यानकार नारायण वाग्लेलाई एकसरो देखाएर सुझाव लिने बेलासम्म पत्रिकाको नेतृत्वबाट बाहिरिइसकेको थिएँ । मसँग उपन्यासका लागि सोच्ने पर्याप्त समय भइदियो । फुर्सदमा व्यस्त बन्न पाएँ । त्यसैले यो किताब तयार हुन सक्यो ।’

संवादसँगै रिदम कँडेलले साङ्गीतिक प्रस्तुति समेत दिएका थिए । कँडेलको प्रस्तुतिपछि कवि नवराज पराजुलीले कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा लोचन रिजालले समेत साङ्गीतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा प्रकाशकका तर्फबाट फाइनप्रिन्टका अजित बरालले आफ्नो धारणा राखेका थिए । आफू ‘महाभारा’लाई लिएर अति उत्साहित भएको उनले बताए ।

कार्यक्रममा गायिका झुमा लिम्बू र उनको रैथाने समूहको प्रस्तुतिसमेत रह्यो । उनको समूहले विशेषगरी ‘महाभारा’ पुस्तकको थिममा आधारित रहेको साङ्गीतिक प्रस्तुति दिएको थियो । कार्यक्रममा टोमस कारोस्को र मनीष गन्धर्वको समेत प्रस्तुति थियो ।  
प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक द्वन्द्वमा बुनिएको महाभारा मूलतः डुक्पाको कथा हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप