शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालकथा : सेवाधर्मको चमत्कार

सोमबार, २६ पुस २०७८, १२ : ११
सोमबार, २६ पुस २०७८

अघि कुनैबेला एकादेशमा एक जना सन्काहा राजा थिए । उनको हरेक काम सनकको भरमा चल्थ्यो । बोली रुखो थियो, व्यवहार क्रुर । कसैको ज्यानै लिनु पनि उनका लागि ख्यालख्याल थियो । उनका व्यवहारबाट कामदार लगायत घरपरिवारका सदस्यसमेत हैरान थिए तर भन्ने कसलाई, सुन्ने कसले । सबैको कथा र व्यथा एउटै थियो । सुन्नुपर्ने राजाले हो, उनी आफैँ कुनै हिंस्रक जनावरभन्दा कम थिएनन् । सानोतिनो गल्ती पनि सहन नसकी सजायमा उत्रने गर्थे । सजाय पनि बिचित्रको हुन्थ्यो । एउटै गल्तीमा पनि कोही अँध्यारो कोठामा भोकै थुनिन्थे, कोही गाउँबाटै निकालिन्थे, कोही देशबाटै निकालिन्थे भने कोही मृत्युदण्ड पाउनेमा पर्थे ।

उनका एक जना गोपाल नामक नोकर थियो । गोपाल सज्जन थियो । सेवालाई नै धर्म ठान्थ्यो । उसले राजाका सेवालाई आफ्नै खाना ठानेको थियो, आफ्नै नाना मानेको थियो । राजाको सेवा गरिएको र पो खान पाइएको छ भन्थ्यो । हरेक काम मन लगाएर गथ्र्यो तर उसको मालिक राजा दुर्जन थिए, हरेक काममा खोट देखाएर अपजस दिन्थे, सजाय दिने गर्थे । यदाकदा बिना कसुर पनि सजाय पाउने गथ्र्यो । एउटै काम पनि कहिले किन यसरी गरिस् भन्थे, कहिले त्यही कामलाई किन त्यसरी गरिस् भन्थे, सजाय दिन्थे । मान्छे हो काम गर्दै जाँदा सानोतिनो गल्ती हुन्छ, गल्ती गर्ने मान्छेले नै हो, गल्तीबाटै सिक्ने हो तर गोपालका निम्ति मालिकबाट यस्तो आशा गर्नु आकाशको फलबाहेक केही थिएन ।  

काम लगाउने मानिसले कामदारको नियत हेर्नुपर्छ, मनोज्ञान बुझ्नसक्नुपर्छ, गल्ती जानीजानी गरेको  हो कि अन्जानमा हुन पुगेको हो पत्ता लगाउन सक्नुपर्छ । जानाजान भएको, गरेको गल्तीमा सजाय सुहाउँछ, गर्नुपर्छ । सजाय पाउनेलाई पनि चित्त बुझाउन सजिलो हुन्छ, गल्ती गरिएको थियो सजाय पाइयो भन्ने हुन्छ । होइन भने पचाउन गाह्रोपर्छ, हैरान हुन्छ, छटपटिन्छ । गोपाललाई पनि त्यस्तै भएको थियो । उसले सकुन्जेल सह्यो, दिलोज्यानले सेवा ग-यो । जब असैह्य भयो त्यसपछि भने ताउलो, काम्लो बोकेर कुलेलम ठोक्यो ।

बिचरा गोपाल भाग्न त भाग्यो तर जाओस् कता । उसले राम्ररी दरवार परिसर  छाड्न पनि भ्याएको थिएन राजाका सिपाही खोजखबरमा चारैदिशामा फैलिसकेका थिए । उनीहरूका हातमा पर्नु भनेको जीवनबाटै हात धुनु हो भन्ने उसलाई राम्रै थाहा थियो । त्यसैले लुक्ने ठाउँ खोज्दै जङ्गलतिर लाग्यो र बस्ने ठाउँ खोज्न लाग्यो । खोज्दै जाँदा निकै पर एउटा ठूलो गुफा भेट्यो र त्यतै लाग्यो तर भइदियो के भने गुफामा एउटा अजङ्गको बाघ पहिलेदेखि नै बस्दै आएको रहेछ । 

गोपाललाई अर्को आपत प¥यो । गुफामा बसौँ बाघले खाने डर गाउँतिर लागौँ पक्राउ पर्ने डर । तथापि उसले हिम्मत भने हरेन र जे त होला भन्दै बिस्तारै बाघलाई सुमसुम्याएको जस्तो गर्न लाग्यो । बाघलाई पनि के लागेछ कुन्नि शिर झुकाएर नरम भाव देखायो । गोपालले यताउता हे¥यो बाघको खुट्टामा काँडा बिझेको रहेछ । कुनै जुक्ति निकालेर काँडा निकालिदियो, घाउमा पट्टी बाँधिदियो । बाघ बिस्तारै स्वस्थ हुँदै गएर हिँडडुल गर्न थाल्यो भने गोपाल सुरक्षित ठाउँ खोज्दै अन्तै हिँड्यो ।

तर, बिडम्बना लगत्तैजसो गोपाल पक्राउ प¥यो । सिपाहीहरूले पाता कसेर राजासमक्ष पेस गरे । उनी यसैको प्रतक्षामा थिए । तत्कालै भोको बाघलाई खुवाएर मार्ने आदेश दिए । सिपाहीहरू उसलाई थुनामा राखेर बाघको खोजीमा लागे । खोज्दै जाँदा एउटा बिरामी जस्तो भोको बाघ फेला पारे र राजालाई त्यसको जानकारी दिए । 

बाघ फेला परेको जानकारी पाउना साथ राजाले त्यसैलाई खुवाएर मार्नु भन्दै मार्ने दिन तोकिदिए । त्यस दिन रमिता हेर्न गाउँलेहरूलाई समेत बोलाइएको थियो । तोकिएको समयमा जल्लादले सबैको अगाडि गोपाललाई बाघको खोरमा धकेलिदिए । उसको अगाडि बाघको मुखमा जानुको विकल्प थिएन । गोपाल डरले काम्दै आँखा चिम्लिए बाघको अगाडि के उभिएको थियो आश्चर्य बाघले टोक्नुको सट्टा हात चाट्न थाल्यो । आँखा खोल्दा बाघले चाटिरहेको देखेर गोपालले नियालेर हे¥यो । बाघ उही रहेछ, जसको उसले उपचार गरेको थियो ।

त्यसपछि गोपाल बाघलाई सुमसुम्याउन थाल्यो । बाघ उसको शरीर चाट्न । यस्तो अद्भूत दृष्य देखेर सबै अचम्म भए । खबर राजासम्म पुग्यो । उनी आफैँ हेर्न आए । बाघ भने त्यतिबेला पनि गोपाललाई चाटिरहेको थियो । त्यसपछि उनले आश्चर्य मान्दै गोपाललाई खोरबाट बाहिर निकाल्न लगाएर त्यसको कारण सोधे ।

गोपालले बिस्तार लगाउँदै भने–

‘सरकार ! यो बाघलाई घाइते अवस्थामा केही दिन अघि सेवा गरेको थिएँ । अहिले त्यसैले गुन तिर्दैछ ।’

राजालाई उसको कुरामा विश्वास लागेन, कड्किँदै भने–

‘चाँडो बता, के जादू गरिस् । होइन भने कडा दण्ड पाउने छस् । बाघले पनि कतै मान्छेले जस्तो पुरानो कुरा सम्झेर गुन तिर्छ ?’

‘जादू होइन सरकार !’ गोपालले विनम्रतापूर्वक भन्यो–

‘योभन्दा कडा दण्ड के नै होला र महाराज ! जे मन लाग्छ त्यही गर्न सक्नुहुन्छ तर सत्य यही हो, बाघले गुन तिर्दैछ । जहाँसम्म बाघ पनि मान्छे हो र पहिलेको कुरा सम्झेर बस्छ ? भन्ने प्रश्न छ बाघ र तपाईँमा यही फरक छ । तपार्ईँ जीवनभर सेवा गर्दा पनि ज्यान लिन खोज्दैहुनुहुन्छ बाघले भने केही दिनको सेवाबाटै सन्तुष्ट भएर जीवनदान दिँदैछ ।’

गोपालको कुरा सुनेर राजा नराम्ररी झस्के । उनले बल्ल थाहा पाए दुनियाँको राजा ठानेर मन लागि गर्दै आएको त आफ्नो हैसियत एउटा भोको बाघको जति पनि रहेनछ । त्यसपछि उनले माफी माग्दै गोपाललाई हर्जाना सहित बिदा गरे । बाघलाई पनि जङ्गलमा लगेर छाड्न लगाए । त्यसपछि कहिल्यै त्यस्तो व्यवहार गरेनन् । यो एउटै घटनाले उनको जीवनचक्र नै बदलियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप