ad
x

पृथ्वीनारायण शाह अत्याचारी राजा वा नेपालका निर्माता ?

person explore access_timeपुस २७, २०७८ chat_bubble_outline0

पृथ्वीनारायण शाह अत्याचारी राजा थिए वा आधुनिक नेपालका निर्माता ? यो बहस प्रत्येक वर्षको पृथ्वी जयन्तीमा उठ्ने गरेको छ । तत्कालीन ईसाई पादरीहरू र बेलायती राज्य विस्तार अभियानमा संलग्न अंग्रेज निकट लेखकहरूले सुरुदेखि नै पृथ्वीनारायण शाहलाई एउटा अत्याचारी शासकका रूपमा चित्रित गर्दै आएका हुन् । बेलायती वा पश्चिमा स्कुलिङको यसै निन्दा अभियानलाई केही नेपाली बुद्धिजीविहरूले आज पनि  पच्छाएको पाइन्छ ।


गोर्खालीहरूसित अनेकौं पटक लडाईं लडेर पनि सुगौली सन्धि भन्दा पहिलेका हरेक लडाईंमा पराजित भएका अंग्रेजहरूका लागि बेलायती राज्य विस्तार अभियानविरुद्ध चट्टानजस्तै उभिएका पृथ्वीनारायण शाह र उनी मातहतको गोर्खाली फौजको क्रूर चित्र प्रस्तुत गर्नु नितान्त जायज थियो । किनभने युद्धरत दुवै पक्षले एकअर्कालाई अत्याचारी र क्रूर भनेर मात्र आफ्नो युद्धलाई न्यायपूर्ण देखाउन सक्छन् ।



       पहिले राज्य कब्जा गर्ने र त्यहाँको शासकलाई बदनाम गर्ने अंग्रेजहरूको नीतिकै  यो अभिन्न अंग थियो । तर, नेपालका केही बुद्धिजीविहरूबाट पृृथ्वीनारायण शाहलाई अंग्रेजकै आँखाबाट हेरिनु अचम्म लाग्दो छ । यसमा दुइवटा कारण रहेको देखिन्छ । पहिलो, त्यस्ता बुद्धिजीविहरूमा रहेको घोर अन्धराष्ट्रवादी चेतना र दोस्रो इतिहासमा राष्ट्रहरूको निर्माण युद्धबाट नै भएको थियो भन्ने सामान्य ज्ञानको पनि उनीहरूमा देखिएको अभाव ।



पृथ्वीनारायण शाहको नेतृत्वमा बाइसे, चौबीसे राज्यहरूको एकीकरणको अभियान सुरु नभएको भए  निश्चित थियो कि वर्तमान नेपालको उत्तरी हिस्सा चीनमा र दक्षिणी हिस्सा भारतमा समाहित हुने थियो । यसरी नेपाल नामको मुलुकको कुनै अस्तित्व  रहने थिएन । त्यसैले, आधुनिक नेपालको निर्माणको मुख्य श्रेय पृथ्वीनारायण शाहलाई जान्छ ।



जहाँसम्म गोर्खाली फौजले कीर्तिपुर लगायतका राज्यमा नृशंश अत्याचार गरेको कुरा हो, केही हदसम्म यो सही भएता पनि यो कुरा पनि मननीय छ कि युद्ध राज्य विस्तार र रक्तपात एक अर्कासित अभिन्न रूपमा जोडिएका घटना हुन् । अर्थात् राज्य विस्तारका क्रममा युद्ध हुनु र युद्धका क्रममा रक्तपात हुनु नितान्त स्वाभाविक कुरा हुन् । संसारमा जति पनि राज्य छन्, चाहे अमेरिका होस्, भारत वा चीन होस्,  ती सबै तत्कालीन शासकहरूले युद्धबाटै हत्याएका हुन् । र, युद्धमा अनिवार्यतः रगत बग्दछ, मारकाट हुन्छ । गोर्खा राज्य विस्तार अभियान पनि यसको अपवाद हुन सक्तैन ।



 अर्कोथरि बुद्धिजीविहरूले पृथ्वीनारायण शाहको राज्य विस्तार अभियान एकीकरण थिएन, यो त फौजीकरण थियो भन्ने गरेको पनि पाइन्छ  । यो एउटा  निरर्थक बहस हो । आजभन्दा अढाई सय वर्ष पहिलेको नेपाली समाजमा पृथ्वीनारायण शाहले एकीकरणको महान उद्देश्यबाट प्रेरित भएर लडाई लडेका थिए वा युद्दोन्मादी  भएकाले लडाईमा आफू र आफ्नो फौजलाई झोकेका थिए भन्ने प्रश्न नै हास्यास्पद छ ।  तत्कालीन समयमा भूमि समाजको अस्तित्वको मुख्य आधार थियो भने युद्धबाट भूमि (इलाका) कब्जा गर्नु राज्य र त्यसका शासकहरूको अस्तित्वका लागि अनिवार्य थियो । अर्थात् राज्य विस्तार पृथ्वीको  हरेक कुनामा रहेका शासकहरूको जीवन पद्धति बनेको थियो । 



पृथ्वीनारायण शाहको पालामा राष्ट्र राज्यहरूको उदय  भएको थिएन । त्यसैले उनको राज्य विस्तारको अभियान  राष्ट्र राज्य निर्माण गर्ने ध्येयका लागि अर्थात् एकीकरणको उद्देश्यबाट अभिप्रेरित थियो वा थिएन भन्ने प्रश्न पनि निरर्थक छ । पृथ्वीनारायण शाहको राज्य विस्तार अभियान ऐतिहासिक आवश्यकता थियो । यसका दुइवटा पक्ष थिए, एकातिर ससाना राज्यहरूको एकीकरणबाट मात्र अंग्रेजसित मुकाबिलाका लागि शक्तिशाली राज्य निर्माण हुन सक्तथ्यो । अर्कोतिर काठमाडौं उपत्यकामा भारत र तिब्बतबीचको मध्यस्थ  व्यापारबाट पैदा भएको व्यापारिक पूँजीका लागि पनि फराकिलो बजारको आवश्यकता थियो, जो राज्य विस्तारबाट मात्र सम्भव थियो । यसैले काठमाडौं र पाटनको व्यापारीहरू पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानको पक्षमा लागेका थिए । यो ऐतिहासिक आवश्यकतालाई पृथ्वीनारायण शाहले पुरा गरेका हुनाले नै उनी आधुनिक नेपालका जन्मदाता हुन पुगेका हुन् ।  उनले नेपालको भौगोलिक एकीकरण गरेर आधुनिक नेपालको निर्माणमा मुख्य भूमिका निर्वाह गरे ।



पृथ्वीनारायणको शेषपछि भीमसेन थापालगायतको नेतृत्वले त्यो भूमिकालाई अगाडि बढाए । पृथ्वीनारायण शाहले गरेको गोर्खा राज्यको विस्तारलाई गलत देख्नेहरूले नेपाल फेरि २२ जोड २४ गरी जम्मा ४६ वटा राज्य (मुलुक) बन्नु पर्दछ भन्ने मान्यतामा पुग्नु र  इतिहासको चक्रलाई पछि धकेल्न खोज्नु सरह हुन्छ, जो असम्भव छ ।

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।