शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेप्से परिसूचक ४९.१९ अंकले वृद्धि

मङ्गलबार, २७ पुस २०७८, १६ : ०५
मङ्गलबार, २७ पुस २०७८

पछिल्लो दुई सातादेखि निरन्तर रुपमा बढेको शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि वृद्धि भएको छ ।

मंगलबार कारोबारको सुरुवातमा उच्च अंकले बढेको नेप्से दिनभरि उतारचढावका बीच कारोबारको अन्तिम समयमा २ हजार ८४८ विन्दुमा पुगेर तल झरेको छ । आज नेप्से परिसूचक ४९.१९ अंकले बढेर २ हजार ८३४.१३ विन्दुमा पुगेको छ । त्यस्तै आज ठूला कम्पनी मूल्य मापक सेन्सेटिभ इण्डेक्स ६.३४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि  २.२४ अंक बढेको छ ।

आज कारोबारमा आएका २३२ कम्पनीको १ करोड १९ लाख ७० हजार कित्ता शेयर ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको  छ । नेप्से उकालो लागे पनि आ कारोबार रकम भने सोमबारको तुलनामा केही घटेको छ । अघिल्लो कारोबार दिन ७ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

नेप्से परिसूचकका  १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहबाहेक अन्य सबै उपसमूहको परिसूचक हरियाली छाएको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ६.१५ प्रतिशत बढेको छ । लघुवित्त, जीवन बीमा, होटल तथा पर्यटन र विकास बैंकको सूचक ३ प्रतिशत र जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ । तर, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.४३ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका ५ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्य भोटेकोशीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । सिभिल लघुवित्त, न्यादी हाइड्रोपावर र मितेरी डेभलपमेन्ट बैंकको शेयर ९ प्रतिशतभन्दा बढी बढेको छ । यता माउन्टेन इनर्जी नेपालको शेयर मूल्य भने ३.५२ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा १६ करोडभन्दा बढीको शेयर कारोबार भएर अपि पावर कम्पनी पहिलो स्थानमा रहेको छ भने दोस्रोमा गोर्खाज फाइनान्स रहेको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप