शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : कोरोनाको हटस्पट काठमाडौँमा कडाइ सुरु, मन्त्रालयको उर्दीलाई राप्रपाको चुनौती

मङ्गलबार, २७ पुस २०७८, १९ : ३४
मङ्गलबार, २७ पुस २०७८

आज २०७८ पुस २७ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका प्रमुख समाचारहरुमा  कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनको काठमाडौं उपत्यकामा कडाइ, भारतले एकपक्षीय रुपमा सडक विस्तारलाई तिव्रता दिएको भन्दै एमालेको विरोध, भेषनारायण दाहालको पदबाट राजीनामा, राजधानी र नामकरणका लागि प्रदेशसभामा मतदान हुने, कोरोना फैलिएसँगै मुलुकको राजनीतिक र प्रशासनिक गतिविधि पनि प्रभावित, नेप्से परिसूचक मंगलबार पनि वृद्धि लगायत छन् ।

१. काठमाडौँमा कडाइ

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले कडाइ गरेको छ । मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले 'स्मार्ट लकडाउन'सहित ​ कडाइ गर्ने निर्णय गरेको हो । ललितपुरका सीडीओ घनश्याम उपाध्यायले सीसीएमसीसी र गृह मन्त्रालयको सर्कुलर अनुसार आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको बताए ।  

देशभर कोरोना संक्रमितको संख्या बढिरहँदा काठमाडौँ उपत्यका कोरोनाभाइरस संक्रमणको हटस्पट बनेको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा १२ सय ८६ जना संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौँमा ९८० जना, ललितपुरमा २२१ जना तथा भक्तपुरमा ८५ जना रहेका छन् । यो सङ्ख्या कूल सङ्क्रमितको ५० प्रतिशतभन्दा बढी हो ।

२. एमालेको विरोध

नेकपा एमालेले नेपाली भूमिमा भारतले एकपक्षीय रुपमा सडक विस्तारलाई तिव्रता दिएको भन्दै विरोध गरेको छ । सो पार्टीका परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले मंगलबार एक विज्ञप्ति जारी गर्दै  राष्ट्रियतासँग सम्बन्धित गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको उल्लेख गरेका छन् । ​

३. किसानको नाममा राजनीति

सीके राउत नेतृत्वको जनमत पार्टी विगत तीन सातादेखि किसानको नाममा तराईमा आन्दोलनरत छ । तर सरकारी तवरबाट किसान आन्दोलनलाई सम्बोधन गर्ने कुनै पहल गरिएको छैन । सरकारी अधिकारी भन्छन्, 'माग अस्पष्ट छ, राजनीतिक रुपमा उठाइएको माग भएकाले त्यसलाई सोही रुपमा समाधान गर्नुपर्छ ।'

४. दाहालको राजीनामा​

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले पदबाट राजीनामा दिएका छन् । नारायणहिटी दरबार संग्रहालय परिसरको जग्गा बतास समूहलाई क्याफेटेरिया (रेष्टुरेन्ट) सञ्चालनका लागि ठेक्का दिएको प्रकरणमा विवादमा मुछिएका उनले कार्यकारी निर्देशकको पदबाट राजीनामा दिएका हुन् ।​


५. प्रदेशसभामा मतदान​

 प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा मतदान हुने भएको छ । प्रदेशसभामा पेस भएका नामकरण सम्बन्धी प्रस्तावमध्ये कुनैमा पनि सहमति नभएपछि मतदान गरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।सभामुख सरोजकुमार यादवले बोलाएको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको हो ।​

६. राजनीतिक र प्रशासनिक गतिविधि प्रभावित

 मुलुकमा कोभिड १९ को संक्रमण तीव्र रुपमा फैलिएसँगै मुलुकको राजनीतिक र प्रशासनिक गतिविधि पनि प्रभावित हुन थालेको छ । प्रमुख राजनीतिक दलहरुले आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्न थालेका छन् भने नियमित बस्ने मन्त्रिपरिषद बैठकसमेत कोरोनाकै कारण बस्न सकेन ।राजनीतिक दलका शीर्ष नेतादेखि मन्त्री र प्रशासकहरूमा धमाधम कोरोना संक्रमण पुष्टि हुन थालेपछि दलहरुले आफ्ना गतिविधिलाई स्थगित गर्दै पछि धकेलेका हुन् ।​


७. पृथ्वी जयन्ती मनाइयो

पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार पुगेका छन् । उनले सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका हुन् । यसअघि राष्ट्रपति विद्यादेवि भण्डरी पनि माल्यार्पण गर्न त्यहाँ पुगेकी थिइन् ।​

८. बालबालिकालाई खोप

काठमाडौँ र ललितपुरमा मङ्गलबारदेखि १२ देखि १८ वर्ष उमेरसम्मका बालबालिकालाई कोभिडविरुद्धको फाइजर र मोडर्ना खोप लगाइँदैछ । स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार मङ्गलबारदेखि हरेक स्थानीय तहमा कोरोनाविरुद्धको खोप उपलब्ध हुनेछ ।  ​

९. नेप्से परिसूचक वृद्धि 

पछिल्लो दुई सातादेखि निरन्तर रुपमा बढेको शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि वृद्धि भएको छ ।मंगलबार कारोबारको सुरुवातमा उच्च अंकले बढेको नेप्से दिनभरि उतारचढावका बीच कारोबारको अन्तिम समयमा २ हजार ८४८ विन्दुमा पुगेर तल झरेको छ । आज नेप्से परिसूचक ४९.१९ अंकले बढेर २ हजार ८३४.१३ विन्दुमा पुगेको छ ।​

१०. काम ठप्प

जनकपुर । जनकपुरधामस्थित खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय अहिले प्रायः सुनसान रहने गरेको छ । केही महिना अघि सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुर्व्यवहार गरेपछि यस कार्यालयको कामकाज नै प्रभावित भएको हो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप