शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमण बढ्न थालेपछि सुदूरपश्चिमका जिल्ला प्रशासनले गरे कडाई

बुधबार, २८ पुस २०७८, १८ : ५४
बुधबार, २८ पुस २०७८

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयहरूले आवश्यक कडाई गर्न थालेका छन् । यसै क्रममा बुधबार डोटी र कैलाली जिल्ला प्रशासन कार्यालय आदेश जारी गरेका छन् । बुधबार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले कडाई गर्न सिफारिस गरेसँगै जिल्ला प्रशासन कार्यालय डोटीले आदेश जारी गर्दै मेला महोत्सव र सार्वजनिक भेला गर्नमा रोक लगाएको छ ।

त्यस्तै, २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न, होटल, रेस्टुरेन्ट सिनेमा हल, रङ्गशाला, हवाई यात्रामा र सार्वजनिक स्थलमा जाँदा माघ ७ गतेदेखि कोभिड विरुद्धको खोप लगाएको कार्ड साथमा राख्नुपर्ने आदेशमा भनिएको छ ।

डोटी जिल्ला प्रशासन कार्यालयको आदेशमा सार्वजनिक सेवा लिँदा खोपकार्ड अनिवार्य हुनुपर्ने र विवाह ब्रतबन्धमा पनि २५ जनामात्रै भेला भई स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उल्लेख छ ।

कैलालीमा पनि कडाई

कैलालीमा कोरोना दर बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले पनि बुधबार राति १२ बजेदेखि लागू हुने गरी आवश्यक कडाई गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जारी गरेको आदेशमा एकै स्थानमा २५ जनाभन्दा बढी जम्मा भई कुनै क्रियाकलाप नगर्न, सार्वजनिक स्थान होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रामा जाँदा आगामी माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा राखेको हुनुपर्ने उल्लेख छ ।

घर बाहिर निस्कँदा वा सार्वजनिक स्थलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गरी गतिविधि सञ्चालन गर्न र राम्ररी साबुन पानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आह्वान गरिएको छ ।

स्थानीय तहसँगको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले सबै विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउने गरी कार्यतालिका बनाएर कार्यान्वयन गर्न पनि जिल्ला प्रशासन कार्यालय कैलालीले आह्वान गरेको छ ।

शिक्षा मन्त्रालयको निर्देशन बमोजिम माघ १५ सम्म भौतिक उपस्थितिमा पठनपाठन नगराउने र पूर्वनिर्धारित सेमेष्टर तथा वार्षिक परीक्षाको हकमा स्वास्थ्यका मापदण्ड अपनाई जेड आकारमा बसाई व्यवस्थापन गर्न आदेश दिइएको छ ।

यस्तै सार्वजनिक सेवा प्रवाहमा चाप हुने कार्यालयमा भिडभाड नहुने उपयुक्त तरिका अपनाएर काम गर्न भनिएको छ । जिल्लाभित्रका निजी स्वास्थ्य संस्था र स्थानीय तहलाई विगतमा तयार पारिएको उपचार र आइसोलेसन केन्द्रलाई सुदृढ गरी सञ्चालनमा ल्याउन आदेश दिइएको छ ।

अक्सिजन सिलिन्डर आपूर्ति सहज बनाउन, कोरोनाको दोस्रो लहरमा प्रयोग भएका सिलिन्डर अस्पताल, उद्योग र स्थानीय तहलाई हस्तान्तरण गर्न आग्रह गरिएको छ। सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क नलगाएका यात्रु नचढाउन र सबै प्रकारका मापदण्डको प्रयोग गर्नसमेत आह्वान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप