बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यातना दिने शिक्षिकालाई काठमाडौँमा जेल सजायसहित क्षतिपूर्ति, पोखरामा के होला ?

बिहीबार, २९ पुस २०७८, १० : १८
बिहीबार, २९ पुस २०७८

गएको पुस ५ गते पोखरास्थित फलेपाटनमा रहेको सिद्ध माध्यमिक विद्यालयमा कक्षा नर्सरीमा पढ्ने एक बालकको लिङ्गमा रबरले बाँधिएको भेटियो । बिहान विद्यालयमा आएको समयमा विद्यालयकी एक शिक्षिकाले बालकको लिङ्गमा रबरले बाँधेको भेटिन् र हतारहतार उनको उद्धार भयो । 

सडक तथा अनाथ बालबालिकाको उद्धार, हेरचाह र शिक्षाको जिम्मा लिएको न्यु लाइफ स्कुल भन्ने होस्टलमा रहेका ती बालकले ओछ्यानमा धेरै पिसाब गरेको भन्दै होस्टलका कर्मचारीले बालकको लिङ्गमा रबरले बाँधिदिएको पोल खुल्यो । त्यसलगत्तै ती कर्मचारीलाई प्रहरीले पक्राउ गर्‍यो र यतिबेला उनीमाथि बालबालिकासम्बन्धी ऐन अनुसार मुद्दाको तयारी भइरहेको छ । 

पहिले पोखरामा भएको घटनाबारे विस्तृतमा बुझौँ । कास्की जिल्लाको फलेपाटनमा एउटा होस्टल छ, न्यु लाइफ स्कुलको नाममा । उक्त होस्टलमा केही अनाथ तथा सडक बालबालिका छन् । उनीहरूलाई शिक्षा, आवास आदिको व्यवस्था गरिएको छ । त्यहाँमा रहेका बालबालिकालाई होस्टेलले नजिकै रहेको सिद्ध माध्यमिक विद्यालयमा अध्यापन गराउने गरेको छ । 

गत पुस ५ गते सिद्ध माध्यमिक विद्यालयमा कक्षा नर्सरीमा पढाउने जाने शिक्षिका सिर्जना कँडेललाई एक बालिकाले एउटा रबर दिइन् । रबर किन दिएको भनेर सोध्दा बालिकाले एक बालकलाई देखाएर उसले धेरै पिसाब गर्छ त्यही भएर लिङ्गमा रबरले बाँधिदिनोस् भनेर सुनाइन् । शिक्षिकाले उक्त रबर डस्टबिनमा फालिदिइन् । तर ती बालिकाले फेरि पिसाब धेरै गरेकाले रेमन (होस्टलमै रहने बालक)को लिङ्गमा पनि रबरले बाँधिदिएको सुनाइन् । 

जब शिक्षिका कँडेलले बालकलाई हेरिन्, उक्त बालक रुन थाल्यो । शिक्षिकाले अहिले पनि लिङ्गमा बाँधिएको छ हो भनेर सोध्दा बालकले रुँदै हो भन्ने जवाफ दिए । शिक्षिकाले हतारहतारको बालकले लगाएको पाइन्ट खोलेर हेरिन् । नभन्दै बालकको लिङ्गमा कसिलो गरी रबरले बाँधिएको थियो । 

त्यसलगत्तै शिक्षिका सिर्जना कँडेलले विद्यालयकै सहायक प्रिन्सिपल र सहायक प्रिन्सिपललाई कक्षाकोठामै बोलाइन् र देखाइन् । तीनैजना शिक्षक मिलेर बच्चाको लिङ्गमा बाँधिएको रबर काटे । 

शिक्षिक कँडेलका अनुसार लिङ्गमा कसिलो गरी रबरले बाँधिएको कारण बालकको पेट फुल्लिएको थियो । पेट फुल्लिएको कारण बालकको नाइटोसमेत अस्वभाविकरुपमा बाहिर निस्किएजस्तो देखिन्थ्यो । अनुहारको भागभंगीमा पनि परिवर्तन भएको थियो र बालक असाध्यै धेरै पीडामा भएको अनुभूति गरिरहेका थिए । लिङ्गबाट तपतप पिसाबसमेत चुहिरहेको थियो । जब शिक्षक र शिक्षिका मिलेर बालकको लिङ्गमा बाँधिएको रबर काटियो, त्यसपछि बालकले अत्याधिक धेरै पिसाब गरे । 

बालकमाथि अमानवीय व्यवहार गरेको पाइएलगत्तै विद्यालयले यसबारे सोधखोज गर्‍यो । होस्टलमै रहेका अन्य बालबालिकासँग कुरा गर्दा होस्टलकै वार्डेन जानुका नेपालीले ती बालक तथा अन्य बालबालिकामाथि पनि त्यस्तै अमानवीय व्यवहार गर्ने गरेको थाहा भयो । नेपालीकै बच्चाले पनि ‘मामुले त्यसरी बाँधिदिनुभएको’ कुरा बताए । 

यस्तो घटनालगत्तै विद्यालयले होस्टल वार्डेन नेपालीलाई विद्यालयमा बोलाएर कुरा गर्‍यो । सुरुमा नेपालीले आफूले त्यस्तो अमानवीय कार्य नगरेको जवाफ दिइन् । तर धेरै सोधखोज गरिसकेपछि बच्चाले ओछ्यानमा पिसाब गर्ने गरेकाले तर्साउने नियतका साथ त्यसरी रबर बाँधिदिएको तर विद्यालय जाने बेलामा झिक्न बिर्सिएको बताइन् । 

होस्टल वार्डेनले नै त्यस्तो बताएपछि होस्टलका सञ्चालकलाई समेत बोलाएर विद्यालयले छलफल गर्‍यो । अनि अब आइन्दा त्यस्तो अमानवीय कार्य नगर्ने कागजसमेत गराइयो । 

तर अमानवीय हर्कत लुकाउन विद्यालय र होस्टेलले गरेको प्रयास सफल भएन । उक्त कुरा बिस्तारै सञ्चारमाध्यममा पनि आउन थाल्यो । त्यसपछि होस्टलले वार्डेन जानुका नेपालीलाई बर्खास्त गरेको जानकारी दिइयो । तर बालबालिकामाथि अमानवीय गतिविधि गर्ने वार्डेन नेपालीमाथि कानुनी कारबाहीको माग उठेपछि प्रहरीले वार्डेन जानुका नेपालीलाई पक्राउ गर्‍यो । कास्की प्रहरीका प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार प्रहरीले अनुसन्धान सकेर फाइल सरकारी वकिलको कार्यालयमा पठाइसकेको र अब चाँडै अदालतमा बालबालिकासम्बद्दधी कसुर गरेको अभियोगमा मुद्दा दायर गर्ने तयारी भइरहेको छ । 

पोखरामा बालकमाथि अमानवीय व्यवहार गर्ने होस्टल वार्डेनमाथि मुद्दा दर्ताको तयारी भइरहँदा काठमाडौँ जिल्ला अदालतले गरेको एउटा फैसला मननयोग्य हुन सक्छ । काठमाडौँ जिल्ला अदालतले २०७७ पुस २८ गते गरेको एक फैसलामा बालबालिकालाई यातना दिएको अभियोगमा एक शिक्षिकालाई एक महिना जेल सजाय, १० हजार रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्ति भराइएको थियो । 

काठमाडौँमा भएको के थियो ?

काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ मा पर्ने जागृति एकेडेमीमा कक्षा ६ र ७ मा पढ्ने करिब ४० जना बालबालिकालाई सामाजिक विषयको शिक्षिका सीतालक्ष्मी कर्माचार्यले ब्लेडले आफ्नै हात चिर्न लगाएर अमानवीय यातना दिएको कुरा बाहिर आयो । अभिभावकहरूले आफ्ना बालबालिकाको हातमा ब्लेडले काटिएको घाउ देखेपछि सोधपुछ गर्दा सामाजिक विषयको शिक्षिका सीतालक्ष्मी कर्माचार्यले २० पूर्णाङ्कको आन्तरिक कक्षा परीक्षामा १५ नम्बरभन्दा कम ल्याउने विद्यार्थीलाई सजायस्वरुप आफ्नै हात काट्न लगाएको बताए । ३३ जना विद्यार्थीले अदालत र प्रहरीसमक्ष दिएको बयानमा पनि सो कुरा बताएका छन् । 

खासमा शिक्षिका कर्माचार्यले क्लास टेष्ट लिँदा राम्रोसँग पढ्न र क्लास टेष्टमा १५ नम्बरभन्दा कम आएमा सजाय गर्ने पहिले नै बताइसकेकी थिइन् । तर के सजाय गर्ने भनेकी थिइनन् । जब उनले आन्तरिक परीक्षा लिइन् र अधिकांश विद्यार्थीको अङ्क २० भन्दा कम आयो, त्यसपछि उनले सजाय दिनेबारे सोचिन् । अनि विद्यार्थीलाई पेन्सिल कटरको ब्लेडले आफ्नै हात चिर्न लगाइन् । यसरी शिक्षिका कर्माचार्यले आन्तरिक परीक्षामा कम नम्बर ल्याएको भन्दै ३४ जना विद्यार्थीलाई आफैले आफैलाई यातना दिने भन्दै आफ्नै हात चिर्न लगाइन् । विद्यार्थीले बाध्य भएर आफ्नै हात चिरे ।

तर जब अभिभावकले यस्तो अमानवीय यातनाबारे जानकारी पाए, त्यसलगत्तै विद्यालयमा पुगेर शिक्षिकामाथि कारबाहीको माग गरे, तब विद्यालय आफैले प्रहरीमा निवेदन दिएर शिक्षिकामाथि कारबाहीको माग गर्‍यो । अनि शिक्षिका कर्माचार्यलाई यातना दिएको भोलिपल्टबाट नै बर्खास्त गरिएको पत्र थमायो । प्रहरीले घटनाको अनुसन्धान गरी शिक्षिकालाई पक्राउ गर्‍यो र अनुसन्धानपछि काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरायो । 

काठमाडौँ जिल्ला अदालतमा शिक्षिका सितालक्ष्मी कर्माचार्यले गरेको बयानमा पनि असल नियत (गुड फेथ)का साथ बालबालिकालाई आफैलाई सजाय गर्न भनेको तर हात नै चिर्न नभनेको बताएकी छिन् । आफूलाई फिल हुने गरी गरी सजाय गर्न भनेकोमा विद्यार्थीले पेन्सिल कटरको ब्लेडले हात नै चिरेको बयान दिएकी थिइन् । विद्यार्थीले त्यस्तो अमानवीय कार्य गरेमा रोक्नुपर्नेमा शिक्षिका कर्माचार्यले अर्को कक्षामा समेत गएर त्यस्तै अमानवीय यातना दिन लगाएकी थिइन् । 

यसरी विद्यार्थीमाथि अमानवीय र क्रूर यातना दिएर बालबालिकासम्बन्धी ऐन, २०७५ विपरीत कसुर गरेको पाइएकाले सोही ऐन बमोजिम कारबाही गर्न माग भएको थियो । 

उक्त मुद्दा २०७६ साल चैत ७ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको थियो । मुद्दा दर्ता हुँदासम्म शिक्षिका कर्माचार्य १५ दिन प्रहरी हिरासतमा बसिसकेकी थिइन् । मुद्दाको पुर्पक्षका क्रममा न्यायाधीश खतिवडाले १ लाख ५० हजार धरौटी लिई शिक्षिका कर्माचार्यलाई थुनामुक्त गराएका थिए । 

न्यायाधीश राजुकुमार खतिवडा

काठमाडौँ जिल्ला अदालतका एक नम्बर न्यायाधीश राजुकुमार खतिवडाले साक्षी र प्रमाण बुझ्ने काम सकाएपछि करिब १० महिना अर्थात् २०७७ साल पुस १९ गते बालबालिकासम्बन्धी कसुरमा उनको कसुर ठहर भएको थियो । न्यायाधीश खतिवडाले शिक्षिका कर्माचार्यमाथि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३८ बमोजिम कसुरको गम्भीरता बढाउने अवस्था नभएको र असल नियतका साथ गरिएको खराब कामको नतिजास्वरुप उनीमाथि १ महिना कैद सजाय, १० हजार रुपैयाँ जरिवाना र पीडित बालबालिकाहरूलाई एक लाख रुपैयाँ क्षतिपूर्ति पीडकबाटै भराउने आदेश दिएका थिए । उक्त आदेश अनुसार शिक्षिका कर्माचार्यलाई १५ दिन हिरासतमा बसेको समयबाहेक पनि थप १५ दिन कैद सजाय तोकिएको थियो । 

यसरी एक शिक्षिकाले बालबालिकामाथि दिन लगाएको यातना बालबालिकाविरुद्धको अपराध ठहर गर्दै काठमाडौँ जिल्ला अदालतले यातना दिने व्यक्तिविरुद्ध कैद सजाय, जरिवाना र क्षतिपूर्तिसमेत भराउने फैसला गरेका थिए । 

काठमाडौँ जिल्ला अदालतले गरेको यो फैसला नजिर नबने पनि उदाहरणका रूपमा भने लिन सकिन्छ । काठमाडौँ जिल्ला अदालतले असल नियतका साथ गरिएको खराब काम भन्दै सामान्य सजायको व्यवस्था गरिए पनि पोखरामा भएको अपराध भने यो भन्दा गम्भीर प्रकृतिको अपराध देखिन्छ । बालकको ज्यान नै जोखिममा पर्ने गरी लिङ्गमा रबरले बाँध्ने अपराध बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा २ झ अनुसारको कसुर मानिन्छ । बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ मा बालबालिका विरुद्धको कसुरबारे उल्लेख गरिएको छ । दफा ६६ को उपदफा २ मा के के कुरालाई कसुर मानिने भन्ने कुरा उल्लेख गरिएको छ । दफा ६६ को उपदफा २ मा ‘कसैले बालबालिका उपर देहाय बमोजिमको कुनै कार्य गरेमा बालबालिकाविरुद्ध हिंसा गरेको मानिनेछ’ भनी उल्लेख गरेको छ । उक्त उपदफाको झ मा भनिएको छ, ‘क्रूर अमानवीय व्यवहार गर्ने वा यातना दिने ।’

यसरी बालबालिकामाथि क्रूर वा अमानवीय व्यवहार गर्ने वा यातना दिनुलाई बालबालिकाविरुद्धको कसुर भनी ऐनले स्पष्ट पारेको छ । सोही ऐनको दफा ७२ मा सजाय सम्बन्धी व्यवस्था गरेको छ । दफा ७२ को उपदफा ३ को घ मा दफा ६६ को उपदफा (२) को खण्ड ज वा झ बमोजिमको कुनै कार्य गरेमा एक लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षसम्म कैदको सजाय हुने उल्लेख छ । 

यसरी पोखरामा एक बालकको लिङ्गमा रबरले बाँधेर स्वास्थ्य नै जोखिममा पर्ने गरी अमानवीय यातना दिने वार्डेन जानुका नेपालीमाथि १ लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षसम्म कैद सजाय हुन सक्ने बालबालिका सम्बन्धी ऐन, २०७५ ले निर्दिष्ट गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप