शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले अधिवेशन : दैलेखमा फेरि मतदान गर्न निर्देशन

बिहीबार, २९ पुस २०७८, १३ : ०७
बिहीबार, २९ पुस २०७८

एमाले जिल्ला अधिवेशन अन्तर्गत विवादित बनेको दैलेखमा पुनः मतदान हुने भएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले पुनः मतदान गर्न निर्देशन दिएको हो ।  सोमबार भएको मतदानमा खसेकोभन्दा ३१ बढी मतपत्र मत पेटिकामा भेटिएपछि विवाद भएको थियो । जम्मा मतदाताको संख्या ७२१ रहेको दैलेखमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मतपत्र भेटिएपछि मतगणना रद्द गरिएको थियो ।

पार्टीभित्रको आन्तरिक चुनावमै दलका नेताहरुबीच टकराव हुन थालेपछि कार्यकर्ताहरूले नेताहरूमाथि नैतिक प्रश्न उठाइरहेका छन् ।  एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहले रातोपाटीसँग कुरा गर्दै भने, ‘अब चुनाव हुन्छ । मिति तोकिएको छैन । यसअघिको बदर गर भन्ने कुरा पार्टी केन्द्रबाट निर्देशित छ ।’

उनले जसबाट जे गल्ती भए पनि गम्भीर अपराध भएकाले छानबिन गरिने र कारबाहीको विषय बनेको बताए । ‘छानबिनको पाटो अर्कै हो, कसले गल्ती गर्यो भन्ने कुरा माथिल्लो कमिटी (प्रदेश कमिटी)ले निर्क्यौल गर्छ ।’

बिहीबार एमाले कर्णाली प्रदेशका इञ्चार्ज यामलाल कँडेललको टोली दैलेख जान लागेको छ । एमाले दैलेख जिल्ला इन्चार्ज तथा अध्यक्ष मण्डलका प्रमुख लक्ष्मीप्रसाद पोखरेलले पार्टीभित्रको चुनाव भएकाले आन्तरिक रुपमै समाधान गरिने बताए ।

उनले भने, ‘एउटा पक्षबाट केही न गल्ती भएकै हो भन्ने देखिन्छ । हामी  खोजी गर्छौं ।’ अध्यक्षका उम्मेदवार सुर्यबहादुर शाही पक्षले भने शर्मा पक्षले नै ‘सेटिङ’ गरेर पार्टीको नीति, सिद्धान्त विपरीत गतिविधि गरेको आशंका गरेको छ ।

स्रोतका अनुसार विशेषगरी निर्वाचनका लागि खटिएका कर्मचारीले एउटा पक्षको सपोर्ट लिएर ठुलो गल्ती भएको देखिन्छ । शाहीले भने, ‘पार्टीभित्रको निर्वाचन भएकाले जे डिसिजन हुन्छ, त्यही मान्य हुन्छ । निर्वाचनका देखिएका सबै प्रक्रियामा कमजोरी भएको रिपोर्टिङ पार्टीलाई गरिसकेको छु ।’

तर अध्यक्षका उम्मेदवार शर्मा भने फरक मत राख्छन् । उनले चुनावमा जानुबाहेक केही विकल्प नरहेको तर्क गरे । उनले भने, ‘अर्को पक्षले जे भन्यो त्यही गर्छु ।’ उनले अध्यक्ष मण्डलमाथि पनि प्रश्न उठाए ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप