शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच महिनामा ७० अर्ब ७४ करोड बराबरको थप धितोपत्र सूचीकृत

बिहीबार, २९ पुस २०७८, १७ : २०
बिहीबार, २९ पुस २०७८

चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाभित्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ७० अर्ब ७४ करोड रुपैयाँ बराबरको थप धितोपत्र (सेयर) सूचीकृत भएको छ । नेप्सेमा सूचीकृत कम्पनीको संख्या मंसिर मसान्तसम्म २२४ पुगेको छ । 

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा मंसिर मसान्तसम्म पूँजी बजारको अवस्थाबारे तथ्याङ्क उल्लेख छ ।  साउनदेखि मंसिरसम्म ४६ अर्ब १६ करोड बराबरको डिबेन्चर, नौ अर्ब ४६ करोड बराबरको साधारण सेयर, आठ अर्ब ९३ करोड बराबरको हकप्रद सेयर, तीन अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड र दुई अर्ब ४४ करोड रुपैयाँ बराबरको बोनस सेयर गरी कूल ७० अर्ब ७४ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।

२०७७ मंसिर मसान्तमा २०६१.४ रहेको नेप्से सूचकाङ्क २०७८ मंसिर मसान्तमा २४१४.६ पुगेको छ । धितोपत्र बजार पुँजीकरण ३३ खर्ब ९४ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो समीक्षा अवधि अर्थात २०७७ मंसिर मसान्तमा बजार पुँजीकरण २७ खर्ब ६३ अर्ब ६६ करोड रुपैयाँ रहेको थियो ।

नेप्सेमा सूचीकृत २२४ कम्पनीमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । ४५ जलविद्युत कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, पाँच होटल, पाँच लगानी कम्पनी, चार व्यापारिक संस्था र तीन अन्य समूहका रहेका छन् । २०७७ मंसिरमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६८ प्रतिशत रहेको छ ।  त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा १० प्रतिशत, लगानी कम्पनीको ६.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ प्रतिशत, होटलको हिस्सा १.५ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ९.३ प्रतिशत रहेको छ ।

नेप्सेमा २०७८ मंसिर सम्ममा सूचीकृत ६ अर्ब १८ करोड सेयरको चुक्ता मूल्य ६ खर्ब आठ अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।  समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले तीन अर्ब ८० करोड बराबरको डिबेन्चर, तीन अर्ब बराबरको म्युचुअल फण्ड, एक अर्ब ५८ करोड बराबरको साधारण सेयर र ६५ करोड बराबरको हकप्रद सेयर गरी कुल नौ अर्ब दुई करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशन निम्ति अनुमति दिएको छ ।

केन्द्रीय बैंकले मंसिर मसान्तसम्मको मात्रै तथ्याङ्क सार्वजनिक गरेको हो । भोलि (शुक्रबार) पुस मसान्त हो ।  यो एक महिना अवधिमा प्राथमिक निष्काशन बाहेक नेपालको पूँजी बजारको तथ्याङ्क बदलिइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप