शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : प्रचण्डको मुद्दा संयुक्त इजलासमा, लोसपामा असन्तुष्टि चुलियो

बिहीबार, २९ पुस २०७८, २० : २७
बिहीबार, २९ पुस २०७८

आज मिति २०७८ साल पुस महिनाको २९ गते बिहीबार । आज दिनभर देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ–

१. कोरोना बढ्दै, आधा काठमाडौंमा

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै १४४९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ३१७ र भक्तपुरमा १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै आधा बढी संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार हाल काठमाडौंमा ५ हजार ८४२ जना सक्रिय संक्रमित रहेका छन् भने ललितपुरमा १५९१ र भक्तपुरमा ९६३ जना रहेका छन् । हाल देशभर १४ हजार ३४० जना कुल सक्रिय संक्रमित रहेका छन् । यस हिसावले काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमित ८ हजार ३९६ जना रहेका छन् ।

​२. बिरामी बढ्दै

यसैबीच पछिल्लाे समय उपत्यकामा कोरोना संक्रमणका विरामी बढ्न थालेका छन् । टिचिङ अस्पतालमा एक साता अघिसम्म दैनिक एक दुई जना मात्रै कोभिड बिरामी भर्ना हुने गरेकोमा बुधबार मात्रै ९ जना कोभिड बिरामी भर्ना भएका छन् ।

जबकि त्यहाँ होल्डिङ सेन्टरमा १० जनासम्म बिरामीलाई मात्र राख्न मिल्छ । अस्पतालका छाती रोग विशेषज्ञ तथा कोभिड संयोजक डा  निरज बम भन्छन्, ‘कोरोनाका बिरामी कम हुँदा ननकोभिड बिरामीलाई उपचार गर्दै आएको टिचिङले वार्डलाई पुनः कोभिड वार्ड बनाउने भएका छौं ।’

३. प्रचण्डको मुद्दा संयुक्त इजलासमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीका तर्फबाट निर्वाचित भएर अर्को दलमा सामेल भएका स्थानीय तहका जनप्रतिनिधिलाई गरिएको कारवाही सदर गरि पाउन सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन फेरि संयुक्त इजलासमा फर्काइएको छ ।

नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भइ पछिल्लो समय अन्य दलमा सामेल भएको भन्दै माओवादी केन्द्रले स्थानीय तहका केही जनप्रतिनिधिलाई कारवाही गरेको थियो । सोही आधारमा निर्वाचन आयोगले उनीहरुको पद रिक्त गरेको थियो । तर, सर्वोच्च अदालतमा उनीहरुले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उनीहरुलाई कामकाज गर्नबाट नरोक्न अन्तरिम आदेश जारी गरेको थियो ।

सोही आदेश खारेजीका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रिट निवेदन दिएका थिए ।

​४. धादिङमा सुख्खा पहिरो

उत्तरी धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङमा पहिरोमा परी बेपत्ता भएका ३ जना अझै फेला परेका छैनन् । हाल तिप्लिङ नेपाली सेनाका मेजरको कमाण्डमा ३६ जना सुरक्षाकर्मी र स्थानीय बासिन्दाले उद्धारको काम गरिरहेका छन् ।

धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार बिहीबार साँझसम्म पनि हराएका व्यक्तिहरु भेटिएका छैनन् । बिहीबार साँझ रात परेपछि खोजीकार्य स्थगित गरिएको र शुक्रबार बिहान ८ बजेबाट पुनः खोजी कार्य सुरु गरिने प्रजिअ लम्सालले रातोपाटीलाई बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माफियाहरूसँग राज्य नडराउने बताएका छन् । चिकित्सा शिक्षाका विद्यार्थीहरूमाथि भएको अनियमितताको बारेमा विभिन्न राजनीतिक दलका विद्यार्थी सङ्गठनहरूले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले कसैको धम्की, धुर्की र दबाब सरकारलाई मान्य नहुने बताएका हुन् ।

​६. राष्ट्र बैंकको प्रतिवेदन

बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको पाँच महिनामा अधिकतम् १० प्रतिशतभन्दा माथिले कर्जा लगानी बढाएको राष्ट्र बैंकले बताएको छ ।  यस्तो कर्जा तरलता अभावकै बीच बैंक तथा वित्तीय संस्थाहरुले वार्षिक विन्दुगत आधारमा पाँच महिनामा १०.४ प्रतिशतले बढाउँदै ४० खर्ब माथि लगानी गरेको राष्ट्र बैंकले बताएको हो । यस्तै रेमिट्यान्स घटेको पनि राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

​७. स्वास्थ्यकर्मीको करार थपिने

कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा सरकारले आवश्यकताअनुसार स्वास्थ्यका कर्मचारीको करार ३ महिना थप गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत माघ महिनादेखि आवश्यकता अनुसार स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि बढीमा ३ महिनासम्म थप्न सकिने गरी निर्णय गरिएको जनाएको छ  ।

​८. सेयर बजार

साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक ५४ अंकले बढेर बन्द भएको छ । कारोबार सुरू भएदेखि बढ्न थालेको नेप्से परिसूचक उत्साहजनक रूपमा बढेर बन्द भएको हो ।

यसक्रममा आज ६ अर्ब ६६ करोड ९७ लाख रुपैयाँ बराबरको एक करोड १८ लाख कित्ता सेयर किनबेच भएको छ ।

​९. लोसपामा असन्तुष्टि

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरुको माग पूरा नगरेको भन्दै सो पार्टीको असन्तुष्ट पक्ष पुनः आन्दोलन गर्ने तयारीमा जुटेको छ । अध्यक्ष ठाकुरले पार्टीको बैठक नबसाई एकलौटी निर्णयहरु गरेको दावी गर्दै सो पार्टीका असन्तुष्ट नेताहरुले संघर्षका कार्यक्रम ल्याउने तयारी गरेका हुन् ।

​१०. यो पनि ....

नुवाकोटको चर्चित गोरु जुधाई मेला स्थगित भएको छ । बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यो वर्षको गोरु जुधाई मेला स्थगित गरिएको हो ।

​प्रदेश १ सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले पाँच वटा विषयमा निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

मन्त्री आङ्बोका अनुसार, बैठकले कोभिड नियन्त्रण रोकथामका लागि निर्देशक समिति बनाउने निर्णय गरेको छ ।

​नेपाल रेल्वे कम्पनी लिमिटेडका पूर्व कर्मचारीको एक समूहले धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै नयाँ कर्मचारीलाई दिइरहेको तालिम तत्काल रोक्न माग गरेका छन् । बिहीबार धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाउँदै नयाँ कर्मचारीलाई नेपाल रेल्वेले दिइरहेको तालिम कानुन विपरीत रहेको भन्दै तत्काल रोक्न उनीहरुले माग गरेका हुन् ।

​नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षका लागि दोस्रोपटक सूचना प्रकाशन गर्दा १५ जनाको आवेदन परेको छ । डा.गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी, चिरञ्जीवी चापागाईँ, डा नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, कृष्णराज पोखरेल, डा जीवन अम्गाईं, रमेशकुमार हमाल, सीताराम थपलिया, डा केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल, निरज गिरी र हेमन्त बस्यालले आवेदन दिएका हुन् ।

थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप