शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सहिद स्मारक लिगमा नवौँ चरणका खेल : आज एपीएफसँग शेर्पा र मनाङसँग सातदोबाटो भिड्दै

शुक्रबार, ३० पुस २०७८, ०८ : ५०
शुक्रबार, ३० पुस २०७८

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज शुक्रबारबाट नवौँ चरणका खेल हुँदैछन् । पहिलो दिन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछन् । १ बजे हुने पहिलो खेलमा एपीएफ फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । रेलिगेशन जोनबाट उम्कने कोशिष गरिरहेको एपीएफ नविन लामाको कप्तानीमा हुनेछ भने तालिकाका मध्यक्रममा रहेका शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा मैदान उत्रनेछ । 

एपीएफ ८ खेलमा ७ अंक जोडेर दशौं स्थानमा छ । उसलाई आजको खेलमा जित निकाल्दै कम्तिमा रेलिगेशनको भय हटाउनु छ । शेर्पा भने मध्यक्रममा रहने प्रयासमा हुनेछ । रेलिगेशनको डर टारेको शेर्पाले आफुलाई शीर्ष ६ मा राख्न आजको खेल जित्ने योजना तयार पारेको छ ।

८ खेलमा ११ अंक जोडेको शेर्पा छैटौं स्थानमा छ । आज अपरान्ह पौने ५ बजे हुने खेलमा दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबलाई नवप्रवेशी सातदोबाटो युथ क्लबले चुनौती पेस गर्नेछ । 

अन्जन विष्टको कप्तानीमा रहेको मनाङ लय गुमाएको सातदोबाटोलाई हराउँदै कम्तिमा २४ घण्टाको लागि शीर्ष स्थानको दाउमा हुनेछ । सातौँ चरणमा शीर्ष स्थानमा रहँदै एएफसी कप छनोट हुने मौका गुमाएको मनाङ लिग उपाधि भने आफ्नो नाममा लेखाउने दाउमा छ । मनाङ १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । 

मानबहादुर तामाङको कप्तानीमा रहेको सातदोबाटोसमेत मनाङविरुद्ध अप्रत्याशित नतिजा निकाल्ने दाउमा छ ।  सुरुआती खेलमा उत्कृष्ट प्रदर्शन गरेको सातदोबाटोले पछिल्ला खेलहरूमा भने लय बिर्सिएको छ । उसले मनाङ विरुद्ध पुरानै प्रदर्शनलाई दोहोर्याउने योजना बनाएको छ । हाल सातदोबाटो ९ अंक जोडेर आठौं स्थानमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप