ad
x
समाज

दृष्टिविहीन मयाप्रसादको जीवन : एउटीको घात, अर्कीको साथ

person explore access_timeपुस ३०, २०७८ chat_bubble_outline0

वीरेन्द्रनगर बसपार्कको दक्षिण उत्तरतर्फ पर्ने सुकुम्बासी बस्तीमा मयाप्रसाद जैशीको सानो घर छ । नयाँ बसपार्कमा सवारी साधनको आवत–जावतले कोलाहलपूर्ण वातावरण, धुलो–धुँवाका बीच रहेर उनी जीवन सँगाल्दै छन् । सिमेन्ट र इँटाले बनाइएको, जस्तापाताले छाएको उनको सानो कटेरो (उनको भाषामा) को बाहिर लेखिएको छ–रेनुका निवास । बुधबार दिउँसो ३ बजे त्यहाँ पुग्दा छोरीको हात समात्दै यता–उता हिँडडुल गरिरहेको अवस्थामा भेटिए उनी । उनकी पत्नी रेनुका कोइराला (जैशी) घरभित्रको काममा व्यस्त देखिन्थिन् ।


मयाप्रसादका अनुसार २०६० सालमा श्रीमतीलाई सँगै लिएर उनी रोजगारीका लागि भारत गएका थिए । उनलाई उतै ‘जलविन्दु’ नामको रोगले च्याप्यो । ‘मैले बाहिरी संसार देख्न नसक्ने भएँ । दुवै आँखाको ज्योति गुम्यो,’ उनले रातोपाटीसँग भने, ‘मेरो लागि जीवनमा एउटा बज्रपात आइलाग्यो । त्यही रोगले जीवन एउटा अकल्पित मोडतर्फ धकेलिन पुग्यो ।’



पूर्ण रुपमा आँखा नदेख्ने भएपछि आफूहरु नेपाल फर्किएर सुर्खेतको सुकुम्बासी बस्तीमा शरण लिएर बस्न थालेको उनले सुनाए । उनको पुर्ख्यौली घर भने जाजकोट हो । ५१ वर्षका मयाप्रसाद तन्नेरी उमेरताका रोजगारीका लागि कालापहाड जाने गर्दथे । उतै काम गरेर घरखर्च चलाउँथे । काम गर्न नसक्ने भएपछि स्वदेश फर्किनुपरेको उनले बताए ।



जीवनले जतिसुकै कठिन मोडमा धकेल्न खोजे पनि मयाप्रसादले घस्रने हिम्मत् भने छाडेनन् । ‘कहिले लाग्थ्यो परिवारका लागि बोझ हुन्छु कि ? कहिले लाथ्यो अभागी पो परिएछ,’ उनले भने, ‘एक त अभावै अभावका बीच गुज्रिएको परिवार, अर्कोतर्फ अरुको सहारामा यात्रा गर्नुपर्ने जिन्दगी । त्यही भएर होला श्रीमतीले ममाथि विस्तारै अनावश्यक हैकम जमाउन थालिन् ।





दृष्टिविहीन हुनुअघि श्रीमतीबाट जुन आदर–सम्मान पाइएको थियो, त्यो विस्तारै गुमाउँदै गएको अनुभूति आफूलाई त्यसबेला भएको उनले सुनाए । उनले भने, ‘श्रीमतीले वास्ता गर्न छाडिन्, मेरो कुरा मान्न, सुन्न छाडिन् ।’



२०६६ सालतिर श्रीमतीले उनलाई नेपालगञ्जमा एउटा संस्थाले बोलाएको भन्दै कुरा राखिछन् । कुखुरा पालनको लागि पैसा ल्याउँछु भन्दै उनी त्यता जाने तयारीमा जुटिन् । ‘श्रीमती नेपालगञ्ज जाने भएपछि मैले आफन्तबाट ३ सय रुपैयाँ सापटी ल्याएर पठाएँ,’ उनले भने ।



आफैले गाडी भाडाको जोहो गरेर नेपालगञ्ज पठाएकी श्रीमतीले आफूलाई नै सदाका लागि छाडेर जाँदैछिन् भन्ने त्यो बेला पत्तो नपाएको उनले बताए । ‘नेपालगञ्ज गएको दुई दिनसम्म पनि उनी घर फर्किनन्, खोजी कार्य भयो । पत्तै लागेन,’ उनले भने, ‘त्यसपछि वीरेन्द्रनगर नगरपालिकाकै मेलमिलाप केन्द्रमा खोजी कार्यका लागि निवेदन दिएँ । तर त्यहाँबाट कुनै अत्तोपत्तो लागेन ।’



पछि उनले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिए । मयाप्रसाद भन्छन्, ‘आँखा नदेख्ने भएर त होला, त्यहाँ पनि मलाई प्रहरीले झुक्यायो । १० महिनापछि मेरा अन्य परिवारले केटी पक्षको मामा, आमा र बुबालाई ल्याएर जिप्रकामा तीन दिनसम्म थुने ।’

बेपत्ता भएकी उनकी श्रीमती त्यसपछि भने तुरुन्त त्यहीँ आइपुगेको उनले सुनाए । श्रीमतीले आफूले अर्को विवाह नगरेको र अब घर सम्हालेर बस्छु भनेपछि मुद्दा फिर्ता लिएको उनको भनाइ छ । तर, ६ दिनसम्म घरमा बसेपछि श्रीमती फेरि २ वर्षकी छोरीसहित दुई सन्तान छाडेर फरार भएको उनले बताए । खोजी कार्य गर्दा श्रीमती भारत गइसकेको खबर उनले पाए ।

दृष्टिविहीन उनी नेत्रहीन सेवा संघको अध्यक्ष थिए । त्यहीबीचमा उनी कामको सिलसिलामा काठमाडौं जानुपर्‍यो । त्यसैको मौका छोपेर घर आएकी श्रीमतीले छोराछोरीसमेत लिएर गइछन् ।

मदिरा, दोस्रो विवाह र आर्थिक अभाव

श्रीमतीको कारण घरबार टुटेको वियोगमा विचलित भएका मयाप्रसादले नेत्रहीन संघको जिम्मेवारी पनि छाडिदिए । उनले भने, ‘त्यसपछि कुलतमा फसेँ । बिहानदेखि बेलुकासम्म सुतिरहने गर्थेँ । संस्थाका व्यक्तिले पनि तँ सक्दैनस् भने, अनि मैले संस्थाको जिम्मेवारी पनि छाडेँ ।’

०६६ देखि ६८ सालसम्म उनी मदिराको लतमा फसे । अवस्था नाजुक बन्दै गयो । आफन्तबाट पनि वास्ता हुन छाड्यो । ‘जिन्दगी नै बेकार लाग्यो, आँखाको ज्योति गुम्यो, जीवनसाथीले छोडेर गई, आफन्तबाट टाढिएँ,’ त्यो बेलाको अनुभव सुनाउँदै उनले भने, ‘२०६९ साल भदौ महिनातिर मैले दोस्रो विवाह गरेँ ।’

दैलेखको खुर्सानीबारी घइभइ वीरेन्द्रनगरमै बस्दै आएकी रेनुका कोइरालासँग उनको दोस्रो विवाह भएको हो । रेनुका अहिले ३५ वर्षकी मात्र भइन् । उनी जन्मजात नै दृष्टिविहीन हुन् ।

‘अँध्यारो औंशीको रातमा पनि बल्दछ दियो विश्वासको,’ भनेजस्तै मयाप्रसादलाई रेनुकाको आवागमनले अँध्यारोभित्र पनि विश्वासको दियो बलेजस्तो भयो । तर आर्थिक अभावले उनलाई अर्कोतर्फ लेखेटिरहेको थियो ।

उनी सम्झिन्छन्, ‘दोस्रो बिहेपछि रेनुकाबाट जब पहिलो सन्तान जन्मियो, त्यही बेला (०७२ सालमा) आर्थिक अभावले पानी–बत्तीको बिलसमेत तिर्न नसक्दा लाइन काटियो । तनाव लाग्थ्यो । अब म बाँच्दिन । हामीजस्ताले बाँच्नु त बेकार रहेछ भन्ने सोच्थेँ ।’

यही बीचमा त्यतिबेलाको पीडा उनकी श्रीमती रेनुकाले पनि रातोपाटीलाई सुनाइन् । उनले भनिन्, ‘म बाँच्दिनँ  भन्नुहुन्थ्यो । छिमेकीहरु आउँथे, सोध्थे । मेरो पानी–बत्तीको बिल कसले तिर्छ ? भन्दै रुनुहुन्थ्यो । २ वर्षसम्मको बिल ३५ हजार पुगेको थियो । उहाँ हार खाँदै हुनुहुन्थ्यो ।’

पछि आफूले जिन्दगी जस्तोसूकै कठिन परिस्थितिमा गुज्रिएको किन नहोस्, हार नखानु, म छु भनेर सम्झाउने प्रयास गरेको उनले सुनाइन् । ‘माइतीबाट ल्याएको अठनी सुन थियो, त्यही धरौटी राखेर बिल तिरेँ,’ रेनुकाले भनिन् ।

जब पहिलो श्रीमतीले बच्चा ल्याएर छाडिदिइन्

जसोतसो मयाप्रसाद र रेनुका बाँच्ने हिम्मत गर्दैथिए, पहिलो पत्नीले फेरि थप समस्या थुपारिदिइन् । आफूसँगै लगेका एक छोरा र छोरीलाई ल्याएर उनले मयाप्रसादको घरमा छाडिदिइन् । त्यसै त आर्थिक अभाव झेलिरहेको समयमा हुर्के बढेका दुई छोराछोरीलाई ल्याएर छाडिदिएपछि उनको परिवारमा झनै समस्या थपियो ।

मयाप्रसादले उनीहरुलाई पढाउने प्रयत्न नगरेका होइनन् । विद्यालय पठाएका उनीहरु घर नफर्कि सिधै नेपालगञ्ज पुगे । त्यसपछि मात्र मयाप्रसादलाई थाहा भयो कि पूर्वपत्नी नेपालगञ्जमै बस्दिरहिछन् ।

उनले कसैसँग बिहे गरेकी रहिछन् । पहिलो श्रीमतीबाट जन्मिएका आफ्ना दुई सन्तानमध्ये हाल छोरीको बिहे भइसकेको र छोरो भने भारततिरै रहेको उनले सुनाए ।

कीर्ते कागज गरिदिएपछि

दृष्टिविहीन मयाप्रसादलाई उनकी श्रीमती, परिवार र आफन्तले त साथ छाडे, समाजले पनि लेखटिरह्यो । मयाप्रसाद दम्पती दुवै दृष्टिविहीन । उनीहरुले धरौटी राखेको सुनबाट बचेको रकम एक जनाले प्रतिसय पाँच रुपैयाँका दरले ब्याज दिने भन्दै माग्यो । ‘त्यसपछि हामीले कागज गरेर पैसा दियौं,’ रेनुका सुनाउँछिन्, ‘तर त्यो मान्छेले आँखा नदेख्ने भनेर कागज केरमेर मात्र गरिदिएको रहेछ । पछि रकम फिर्ता दिनै मानेन । धरौटीमा रहेको सुन माइतबाट २० हजार रकम ल्याएर फिर्ता लिएँ ।’

कीर्ते कागज गर्ने व्यक्तिको विरुद्धमा आफूहरुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएपछि भने उनका पिताले त्यो पैसा तिरेको रेनुकाले सुनाइन् ।

दृष्टिविहीन उनीहरुले अहिले भाँडा माझ्ने पाउडर उत्पादन गर्ने एउटा सानो उद्योग खोलेका छन् । त्यसबाट उनीहरुलाई केही आर्थिक सहयोग हुन्छ । तर त्यो अहिले पूर्ण रुपमा चलायमान नभएको उनीहरुले सुनाए । रेनुका भन्छिन्, ‘मेरो धर्मदाइ शेरबहादुर खड्काले खाद्यान्न सहयोग गर्नुभएको छ, अहिले महिनामा एक प्याकेट चामल दिनुहुन्छ ।’

‘अधिकारको आवाज’

पहिलो पत्नीका कारण कुनैबेला जिन्दगीबाट नै हरेस खान थालेका मयाप्रसाद आज अर्की पत्नीका साथले आफूजस्तै दृष्टिविहीनहरुको ‘लिडरसीप’ गरिरहेका छन् । परिस्थितिले ओराली लागेको मयाप्रसादको जीवन यात्रामा रेनुका नयाँ ऊर्जा र साहस बनेर आइन् ।

मयाप्रसाद भन्छन्, ‘जिन्दगीमा एउटा मान्छेको साथ र मायाले धेरै फरक पार्दो रहेछ । विगत सम्झेर खासै पछुतोचाहिँ लाग्दैन । समस्याहरु त जो–कोहीलाई हुन्छ । सबैभन्दा ठुलो कुरा त साथ–सहयोग रहेछ । आज रेनुकाको साथले मेरो विश्वास बढेको छ ।’

मयाप्रसाद दम्पतीका अहिले ७ वर्ष र ६ महिनाका दुई छोरी छन् । अहिले उनीहरुको दैनिकीमा केही सुधार छ ।

मयाप्रसाद सुर्खेत अपाङ्ग समाजको अध्यक्ष छन् भने रेनुका नेत्रहीन संघको । ‘म वर्गीय हिसाबले बोल्दिन,’ मयाप्रसाद भन्छन्, ‘आर्थिक विपन्नता भएका व्यक्तिलाई राज्यले हेर्नुपर्‍यो । अपाङ्गता भएकाहरुलाई बिरामी भएपछि उपचार गर्दा समस्या हुने गरेको छ । सबैभन्दा पहिलो कुरा त निम्न वर्गहरुको एकता हुनुप¥यो । जसले गर्दा हाम्रा एकत्रित आवाजहरू राज्यले सुन्नेछ र हाम्रा माग सम्बोधन हुनेछन् ।’

उनीहरु पूर्ण दृष्टिविहीनका लागि राज्यले एकजना सहयोगी अनिवार्य राखिदिनुपर्ने माग गर्दछन् । मयाप्रसाद अब अध्ययन गर्ने सोचमा छन् । उनले भने, ‘मसँग पाँच कक्षा पासको मार्कसिट छ । अब अर्को वर्षदेखि ६ कक्षामा भर्ना हुने हो ।’

मयाप्रसाद दम्पतीले कोरोना भाइरसको संक्रमणको भोगाइ पनि सुनाए ।

०७८ वैशाखमा मयाप्रसादलाई कोरोना संक्रमण भयो । वैशाख २४ गते कोरोना देखिएका उनलाई वैशाख २५ मा वीरेन्द्रनगरकै कटकुवा स्वास्थ्य चौकीमा जान भनियो । तर उनी अपाङ्ग व्यक्ति भएकाले त्यहाँ राख्न मानिएन । उनकी श्रीमतीले नगरपालिकाका केही व्यक्तिसँग हार–गुहार गरेपछि दुई दिनपछि मात्र स्वास्थ्य संस्थामा राखियो । तर उनलाई त्यहाँ असहजता भयो । आइसोलेशमा राखिएको तीन दिनमै उनलाई घर पठाईदिए जबकि उनी संक्रमणमुक्त भएका थिएनन् ।

उनलाई घरमा निकै गाह्रो भयो । रेनुकाले नगरपालिकाका केही व्यक्तिसँग हार–गुहार गरिन् । त्यो बेला उनको कोखमा बच्चा थियो । उनलाई आफूमात्र होइन, कोखमा हुर्किरहेको बच्चाको समेत चिन्ता थियो । त्यसपछि नगरपालिकाकै एक जनाको सहयोगमा मयाप्रसादलाई एम्बुलेन्समा प्रदेश अस्पताल कालागाउँ लगियो ।

कालगाउँका केही उपचार भएपश्चात एकै दिनमा फेरि कटकुवा स्वास्थ्य चौकी लगियो र औषधि चालु गरियो । त्यसपछि कटकुवामा दुई दिन राखियो । आफूलाई स्वास्थ्य संस्थामा रहँदा अपहेलना गरिएको उनको गुनासो छ । उनलाई अस्पतालमा नास्ता दिँदा बाहिर एउटा टेबुलमा ल्याएर राखिदिने रहेछ । उनी पत्तै पाउँदैन थे । ‘एक दिन त बिहानको खाना ल्याएर टेबुलमा राखिदिएको रहेछ, थाहै पाइनँ,’ उनले सुनाए, ‘त्यो दिनभर भोकै भएँ ।’

८ दिनपछि कोरोना नेगेटिभ आयो भन्दै अटो बोलाएर उनलाई घर पठाइदिए । उसो त उनकी श्रीमती रेनुकालाई पनि कोरोना पोजेटिभ देखिएको थियो । तर उनलाई गाह्रो भएन ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।